नाङ्गी द्रौपति

Author : दिपा एवाई राई
Published on : July 12, 2009


  
दिपा एवाई राई

नाङ्गी द्रौपति

आलिशान त्यस महलको

भव्य कुर्सीमा विराजमान

महाराज धृतराष्ट्रलाई

यो द्रौपतिको प्रणाम,

 

जंगल र तालहरूमा

गोपीनी नङ्ग्याउने 

कृष्णले भारी सभामा मेरो

वस्त्र हरण हुन दिएन

आज आफै

-अस्तित्वको लागि

-अधिकारको लागि

-न्यायको लागि

-कृष्णवादको विरुद्धमा

-दुस्साहसनवादको विरुद्धमा

-मनुवादको विरुद्धमा

सुलीमा चढेर

नाङ्गिन चाहान्छु

र भारी सभालाई चुनौति दिँदै

नाङ्गिन्दै सडकमा

प्रदर्शित हुन चाहान्छु,

 

दुस्सासनले मलाई नङ्गाएन

यो सय गजको धोती र पेटीकोटले

मलाई पुराणदेखि

आजसम्म बटारिरहेको छ

-स्वतन्त्रता

-अस्तित्व

-अधिकार

-समानता

मेरा सबैसबै

जीवनका मूल्यवान समय

त्यसैले स्वंय

यस महामानवहरूको सभामा

उपस्थित भएर

विद्रोह गर्न चाहान्छु,
 

-योद्धा

-राजनीतिज्ञ

-समाजसेवी

-साहित्यकार

-दार्शनिक

-पत्रकार

-आम जनता

सबै सबैको बीचमा

म द्रौपति तुरुन्तै

मेरो स्वच्छन्दताको

सीमारेखासम्म नाङ्गिन चाहान्छु,

 

मेरो वस्त्र हरणको समयमा

-युधिष्ठिरको सत्यवादी आत्मा

-विदुरको मौन नीति

-धृतराष्ट्रको पुत्र मोह

-भीष्मको प्रतिज्ञा

-द्रोणको गुरुचरित्र

-गान्धारीको पति प्रतिज्ञा

-दुर्योधनको अभिमान

र सकुनी मामाको षडयन्त्र

रसपादनको अट्टाहास

सबै सबैलाई

हृदयदेखी धन्यवाद छ,

 

मेरो अस्तित्वको कवज

मेरा पाण्डव पतिहरु

मलाई नै दाउमा राखेर

आफ्नो पुरुषार्थ

सिद्ध गरिरहेको बेला

स्वयं म महाभारतको

यस सभामा खडा भई

नाङ्गिएर ढुक्क हुन

र बनाउन चाहान्छु

कौरवहरुको प्यासी

लोभ र स्वाभिमानको अगाडि

कहिले नखोलिएको

मेरो नग्नताको पर्दा खोल्न चाहान्छु,

 

अपुरो वस्त्र हरणले

म निस्सासिएकी थिए

र वस्त्रले बेरेर मलाई

बलात्कार गरिएको थियो

योनीछेद गरिएको थियो 

जताततैबाट लैङ्गकि आक्रमण गरिएको थियो

म वस्त्रभित्र कुञ्जिएकी

निरीहताले जलेर राख भएकी 

अपमानबोधले 'सती'

यतिखेर आगोमा दनदनी बलिरहेकी छु,

 

��" गान्धारीहरू

आँखा खोलेर हेर

म कसरी 'दक्षप्रजापति'को अघि

जलिरहेकी छु 

आँखामा कहिलेसम्म

धृतराष्ट्र बोकेर हिँड्छौ

कहिलेसम्म विवेकमा

ठेडी कोचेर बस्छौ

मेरो विप्लब सुन्यौ होला

यहाँ उपस्थित सबै सबैलाई

म नाङ्गिएर प्रणाम गर्दछु !!!

-नाङ्गी द्रौपति