दयाकृष्णको जापानी सम्झना

Author : प्रकाश थाम्सुहाङ
Published on : July 02, 2009


  
प्रकाश थाम्सुहाङ
Author

अस्ति जुन २७ तारिख म निकै व्यस्त रहेँ । धेरै अन्तरालपछि साहित्यिक कार्यक्रममा म व्यस्त रहेँ । अझ यसो भनुँ म उपस्थित भएँ । धेरै समय बित्यो फुर्सदमै, केही सृजना गरेको होइन । साहित्यिक मित्रहरू बोलाउँछन्, कार्यक्रम हुँदी सहभागी हुन फिटिक्कै जाँगर चलेको होइन । मौसम प्रतिकूल छ मेरा लागि । आलस्यताले असाध्यै गाँजेको छ मलाई । मस्तिष्कले पढ्न लेख्न मलाई बन्चित गराएको छ । मेरो यस्तो अवस्था हुँदाहुँदै पनि एउटा संस्मरणसङ्ग्रह भने एकै बसाइमा पढिभ्याएँ । अस्ति जुन २७ तारिक यही संस्मरणसङ्ग्रहको विमोचन थियो । उक्त संस्मरण सङ्ग्रहका लेखक हुन् दयाकृष्ण राई ।

दयाकृष्ण राईलाई म कविको रूपमा चिन्दछु । विगतमा उनको दुई कविताकृति "लाहुरेको कथा र जापानको व्यथा" (२०६१) र ईश्वरको मलामी (२०६३) प्रकाशन भएका छन् । यही कवि व्यक्तित्व अहिले संस्मरणात्मक आख्यान लिएर पाठकसमक्ष फेरि आएका छन् । "सम्झनाको आलिङ्गनमा बाँधिएर" उनको संस्मरणको शीर्षक हो, जसलाई प्रकाशन गरेको छ नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले ।

प्रवासी नेपाली साहित्यको प्रतिनिधि जग्गा हङकङलाई अहिले भने बेलायतले दह्रो टक्कर दिइरहेछ । यस्तै गति रहिरहे बेलायतलाई प्रवासी नेपाली साहित्यको प्रतिनिधि जग्गा भन्नुपर्ने अवस्थाको सृजना हुन पुग्छ । लगभग दुई महिनाको अन्तरालमा बेलायतीहरूले धेरै राम्रा-राम्रा कृतिहरू प्रकाशन गरेका छन् । कवि काङमाङ नरेशको "अनुहारमा लुकाइएका चोटहरू" पछि कवि रक्ष राईको "सालिक उभिएर गोर्खाली" ले नेपाली साहित्य जगतलाई अर्थपूर्ण अंशदान दियो । त्यस्तै ६४ जना बेलायती कविहरूको संयुक्त कवितासङ्ग्रह "ग्रिनविचका प्रतिध्वनिहरू" पनि उल्लेख्य र गहन कृतिको रूपमा हामीले पाएका छौँ । गीतकार ईश्वर चाम्लिङको "स्पन्दित प्रवास" पनि भर्खरै प्रकाशित भएको छ । यो सङ्ग्रहले पनि गीतिक्षेत्रमा बहस र चर्चा भित्र्याएको छ । यही फेहरिस्तमा बेलायतबाट प्रकाशित पछिल्लो कृति दयाकृष्ण राईको "सम्झनाको आलिङ्गनमा बाँधिएर" हो । यो गति र कृतिको गहनतालाई बुझ्दा नेपाली प्रवासी साहित्यको प्रतिनिधि ठाउँ हङकङ हो भन्ने हाम्रो मान्यतालाई पुनर्विचार गर्नुपर्ने भएको छ । मिलिक्क टाइफुनजस्तै आएर हङकङ अहिले सुतेको छ । उसको साहित्यिक गतिविधि, प्रकाशन अहिले शून्य प्रायः छ । हङकङका साहित्यिक मित्रहरू ज्यादा कुरा गर्छन् । भनिन्छ- ठूलो गफ हाँक्नेले काम गर्दैन । बेलायती साहित्यिक मित्रहरूले ठूलो गफ गरेको मैले सुनेको छैन । उनीहरू चुपचाप काम गर्दा रहेछन् । सृजना गर्दा रहेछन् । दसी मेरो अगाडि चाङ लागेका यी पुस्तकहरू काफी छन् ।

एकै बसाईमा पढिभ्याएको केही कृतिहरू मात्रै मेरो लिस्टमा पर्छन् । गणेश रसिकको संस्मरण "दसगजामा उभिएर" अनि अम्बर गुरूङको "कहाँ गए ती दिनहरू" मैले एकै बसाइमा पढिभ्याएको छु । अब "सम्झनाको आलिङ्गनमा बाँधिएर" पनि मेरो यो लिस्टमा परेको छ । व्यक्ति र उसले निर्माण गरिसकेको व्यक्तित्व हेर्ने हुँदा कतिपय अवस्थामा पाठकहरू झुक्किन्छन् । अपवादमा त्यस्ता केही लेखकहरू होलान् जसको सबै सृजना उत्कृष्ट हुन्छ । तर स्थापित लेखकहरूले लेखेको सबै उत्कृष्ट भन्न थाल्यौँ भने हामी पाठक गलत हुन्छौँ । जस्तो कृष्ण धरावासीले लेखेको सबै उपन्यास नछुटाइ पढ्न थालियो भने समय मात्रै बर्बाद हुन्छ । नवोदित लेखकहरू, व्यक्तित्व भर्खरै निर्माण गर्दै गरेका लेखकहरूको सृजना पनि उत्कृष्ट हुन्छ, रूचिकर हुन्छ भन्ने धारणा हामी पाठकहरूले दिमागमा राख्दा राम्रो होला । हुन त दुई कवितासङ्ग्रह प्रकाशित गरिसकेका दयाकृष्ण राई नेपाली साहित्यमा नयाँ नाम होइन । उनको पछिल्लो कवितासङ्ग्रह "ईश्वरको मलामी"ले नेपाली काव्यिक क्षेत्रमा राम्रै चर्चा पाएको थियो । हुन सक्छ कवि हृदयबाट निःसृत संस्मरण भएर होला "सम्झनाकेा आलिङ्गनमा बाँधिएर" कृति उत्कृष्ट र पढूँ-पढूँ लाग्ने भएको छ ।

"सम्झनाको आलिङ्गनमा बाँधिएर" लेखक जापान बसाइताका भोगेको जीवनको समयको दस्तावेज हो । जापान प्रवेश र त्यहाँको वातावरणमा, परिवेशमा लेखकले भोगेको समयको संस्मरण पढ्दा उपन्यास पो पढिरहेको छु कि जस्तो बोध हुन्छ । यो हो लेखकको सफलता । एउटै टेक्स्टमा विविध विधाहरूको मिश्रण गर्नु अहिलेको लेखन टेक्निक हो । यो टेक्निक सफल भएको छ । लेखक दयाकृष्ण राई कवि पनि हुन् । यसर्थ, उनको लेखनमा काव्यत्मकता पनि पाइन्छ । मोमिलाको निबन्धहरू यस्ता हुन्छन् । यस्तो लेखनकला पाठकलाई प्रिय लाग्छ । "सम्झनाको आलिङ्गनमा बाँधिएर"मा लेखक दयाकृष्ण राईले सरल लेखन अँगालेका छन् । यद्यपि, यो सरल लेखन साधारण लेखन भने होइन । साहित्यिक लेखन नै हो । सरल लेखन र साधारण लेखनमा ठूलो भिन्नता छ । समालोचकहरू यसै भन्छन् । "सम्झनाको आलिङ्गनमा बाँधिएर" संस्मरण सङ्ग्रह त हुँदै हो, त्यसभित्र पनि नियात्रा, यात्रा संस्मरण पनि हो । माथि नै भनेँ आजभोलिको लेखन एउटा विधा तोके पनि बहुविधाजस्तो लाग्छ । यो कृतिमा तथ्य छ । अनुभूति छ । वर्णन छ । छ वैचारिक सम्प्रेषण पनि । तस्बिर पनि । यो कृति जापानलाई आधारभूमि बनाएर कोरिएको जीवनको चित्र हो भन्दा पनि भयो । विशेष गरी प्रवासी नेपालीहरूको जीवन । उनीहरूको आरोह अवरोह, पीडा, हर्ष, नेपाल प्रेम नै समग्रमा "सम्झनाको आलिङ्गनमा बाँधिएर" को प्रमुख विशेषता हो ।

विमोचन कार्यक्रममा धरावासी बोले- "ठिक्क पर्यो, खुचिङ । कति पैसाले पनि नपुग्ने । त्यत्रो वर्ष बेलायतमा नोकरी गरेर पनि जापान पैसा कमाउनु जाने ।" उनले इङ्गीत गर्दै थिए लेखकले जापानमा भोग्नुपरेको दुःख । लेखकले जापानमा सुँगुरको लिदी पनि सोहोरेछन् । यस्ता केही इमानदार लेखक होलान्, जो सुँगुरको लिदी सोहोरेको निर्धक्क लेख्छन् । खल्तीमा भियग्रा बोक्दै वेश्यालय पसेको इमानदार लेख्छन् । मलाई लाग्दैछ, त्यही पीडाले संवेदनाले दयाकृष्णलाई लेखक बनायो । र एउटा राम्रो कृति हामीले पायौँ ।

बेसिक जापानिक भाषा मैले पनि पढेको हुनाले पुस्तकमा राखिएको जापनिज भाषाले मलाई झन् अर्थ व्यापकता गराइदियो । जापानको केही ठाउँ, रेललाई के भन्छ ? मलाई थाहा थियो । यसर्थ, यो संस्मरण कृतिले मलाई बेग्लै मिठास दियो ।

संस्मरण साँच्चै इमान्दार भएर गरेका छन् लेखकले । घटनाहरूलाई रोचक बनाउने लेखकको प्रस्तुति कृतिको थप अर्को विशेषता हो । लेखक काम दिने साहुसँगै जाइलाग्छन् । भनूँ न किराँती रिस देखाउँछन् । त्यस्तै, मध्यरातमा सुटुक्कै आउने मालिकको छोरीलाई किचकन्या देख्छन् । यो कवि मन हो । लेखक जापानमा इलिगल बसेका हुन्छन्, पुलिससँगको डर र पुलिस आउँदा ग्रिनहाउसभित्र लुकेको घटना पनि रोचक छ ।

समालोचक पूर्ण इन्फादा लेख्छन्- मौलिक जनजातीय जनजिब्रोले बोल्ने मीठो भाषामा उखानटुक्काको रसात्मक प्रयोग र काव्यात्मक सङ्घुलन गरिएका यी नियात्राहरूले जापानको भौगोलिक, सामाजिक र सांस्कृतिक पक्षलाई मात्र देखाएका छैनन्, त्यहाँको सम्भ्रान्त र निम्न वर्गीय समाजको दिनचर्याको चित्र पनि अत्यन्तै सरल ढङ्गले खिचिएको छ ।" इन्फादाले सही विश्लेषण गरेका छन् कृतिलाई ।

जम्मा २०४ पृष्ठको संस्मरण सङ्ग्रहमा जापानको तस्बिर छ । तथ्य छ । दोस्रो विश्वयुद्धमा तहसनहस जापान चाँडै प्रगतिको शिखर चढ्नुको रहस्य छ । हिरोसिमाको कथा छ । अमेरिकाले हिरोसिमामा खसालेको "लिटिल ब्वाय" आणविक बमको तथ्य छ । आणविक अस्त्रको विकिरण प्रभावले बिरामी भएकी सादाको नामकी एक बालिकाले एक हजार कागजको पानी हाँस बनाएमा रोग निवारण हुने कुरा सुनेपछि पानीहाँस बनाउँदै गर्दा उनको मृत्यु भएको सत्य कथा पढ्दा पाठकलाई अत्यन्तै भावुक बनाउँछ ।

संस्मरणको पछिल्लो खण्डमा लेखक जापानमा हुँदा भेट भएका विभिन्न व्यक्तिहरूसँगको संस्मरण छ । डा. कृष्ण भट्टचन, गोरेबहादुर खपाङ्गी आदिहरूसँगको भेटबारे लेखकले लेखेका छन् । डा. भट्टचन र खपाङ्गीले ब्राह्मणवाद र बाहुनहरूलाई गोमन सर्पभन्दा विषालु भनेर बोलेको उद्धरण राखेका छन् । यो उद्धरण धरावासी र डा. भट्टराईलाई मन परेन छ । विमोचन कार्यक्रममा थाहा पाइयो । ती दुईको उद्धरण राखेर लेखकले जातको होइन प्रवृत्तिको विरोध गरेका हुन् । ब्राह्मणवाद प्रवृत्ति जनजातिमा पनि हुन्छ । लेखकले स्वीकारेका छन् । खरो खपाङ्गी अन्ततः राजाको हातले टीका थाप्नु त्यसको दृष्टान्त हो । लेखकले खपाङ्गी प्रवृत्तिको पनि विरोध गरेका छन् ।

अन्त्यमा यति सुन्दर संस्मरण कृति लेख्ने दयाकृष्ण राईलाई बधाई ।