महाकविले टेकेको भूमिमा

Author : डा. गोविन्दराज भट्टराई
Published on : July 02, 2009


  
डा. गोविन्दराज भट्टराई

रुसयात्राको बारेमा केही लेखौँ भन्छु तर यो हृदयमा धेरै कुरा एकैचोटि उम्लेर आउँदा म अभिव्यक्तिको सङ्कटमा परेको जस्तो हुन्छु । यात्राको अविस्मरणीयता छ एकातिर, अनेक नवीनता छन्, ऐतिहासिकता छ, भिन्न अनुभूति छन् भने अर्कातिर कसरी यो परिस्थितिमा हामी पुग्यौँ, कसरी नेपाली जातिले यत्रा आयोजनाहरू सोच्न थाले, सम्पन्न गर्न थाले, यसले हाम्रो जातीय इतिहासलाई कुन कोणबाट हेर्दा विशेष अर्थ भेटिन्छ जस्ता प्रश्नले मलाई खेदिरहन्छन् ।

जेठ महिनाको तेस्रो साता रुसमा आयोजित साहित्यिक सप्ताहमा भाग लिने सौभाग्य मिल्यो । अनेक कार्यक्रम पूर्वनिर्धारित थिए तर ती सबै महाकविकै शतवाषिर्कीको अवसरमा आयोजित थिए । प्रा. चूडामणि बन्धूले भनेझैँ महाकवि नेपालका सर्वोच्च सांस्कृतिक धरोहर हुन्, विश्वसमक्ष उनलाई प्रस्तुत गर्दा, उनको उपस्थितिले उत्पन्न गरेको आभाले छुँदा प्रत्येक नेपालीले ठूलो गौरव गर्दछ, गर्दोरहेछ । अझ त्यसमाथि रुसीभूमीको लागि ता महाकवि एक सुपरिचित नाम हो, रुसी भाषासाहित्यमा उनी चिरपरिचित रहेछन् । उनको आफ्नै भ्रमणले, उनको प्रतिभाले र कृष्णप्रकाश श्रेष्ठ जस्ता नेपाली अनि ल्युद्मिला आगानिना जस्ता रुसी समकक्षीले महाकविलाई त्यहाँ स्थापित गराएका छन् । महाकवि त्यहाँ पुग्दा स्वागत गर्ने कोही नेपाली थियो कि थिएन ! आज हामी पुग्दा पन्ध्रसय नेपाली यो शतवाषिर्की महोत्सवको प्रतीक्षामा थिए ।

महाकविको शतवार्षिकी एक प्रकारले आधुनिक नेपाली साहित्यको पनि शतवाषिर्की नै हो । काठमाडौँ, वनारस, दार्जीलिङ र आसामतिर सीमित रहेको नेपाली भाषा साहित्यको स्वरूप फैलँदै गएर आज सबै महादेशमा पुगेको छ । अमेरिका, बेलायत, हङकङ, जापान, रसिया, खाडी मुलुक- सबैतिर नेपाली साहित्यको चिन्तनमा लाग्नेहरू छन् । यसको विस्तार र प्रवर्द्धनमा कसरी समर्पित भएर लागिपरेका छन् । अघि  लेटरप्रेसको समयमा धेरै कुरा सीमित थिए । आज कम्प्युटर प्रविधि र डेस्कटप पि्रन्टिङले, अनलाइन साइबरीय सेवाले घरघरमा छापाखाना छ, प्रत्येक व्यक्ति प्रकाशनगृह बनेको छ । एउटा ल्यापटप नै विशाल प्रकाशनगृह हो ! यतिखेर टमस फिटम्यानले 'द वल्र्ड इज फ्ल्याट' मा भनेझैँ संसार समरूप भएको छ ! कम्प्युटरसँग चल्ने प्रत्येक व्यक्ति लेखक बन्ने क्षमता राख्दछ ।

नेपालबाहिर अरू नेपाल छन्, तिनीलाई जोड्ने अनेक छाता छन् । दुइ दशक अघि अमेरिकामा स्थापित 'अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज' नेपाली जातिको विश्वएकेडेमीको रूपमा विकसित हुँदैछ । आज यसले अत्यन्तै अग्लो पिरामिडको रुप लिएको छ । यसको उचाइ अग्लिँदैछ, व्यास विस्तृत बन्दैछ । यसका प्रवर्द्धकहरू कोही जापानमा छन्, कोही बेल्जियममा, कोही बेलायतमा, हङकङमा, अमेरिकामा । विज्ञानले स्थानिक र कालिक दूरीको अन्त्य गराइदिएकैले यस्तो कुरा सम्भव भएको हो । यसले एकातिर भूगोललाई भत्कायो अर्कातिर साइबरको रसायनले नेपाली विश्वलाई जोड्यो । यसपालिको रुस-महोत्सव पनि यस्तै साइबरीय परिवेशमा कल्पित र आयोजित एक अद्वितीय कार्यक्रम थियो । पछि अरू होलान् तर यसअघि कुनै देशमा यति महत्वाकाङ्क्षी, यति भव्य कार्यक्रम भएको मलाई सम्झना छैन । यो महोत्सवमा एउटा डटकमको दशौँ वाषिर्कोत्सव पनि थियो । वर्तमान विश्वलाई जोड्ने साइबरीय महापथ- फ्रिनेपाल डटकम । यसका सम्पादक दिनेश वस्नेत पनि सङ्गै थिए ।  देवनागरीमा नेपाली चेतना ��"सारपसार गर्ने यो प्रथम सेवा हो । एक दशकमा यसले कति भाषा साहित्य ��"सारपसार गर्यो, त्यसको हिसाव गरिसाध्य छैन । पचासवटा प्रेसले पनि यति कर्मको उत्पादन र वितरण गर्न सक्ने थिएनन् । यसले के देखाउँछ भने नेपाली भाषा विश्वसँगै उड्न सक्ने भएको छ । रुसी-नेपालीले त्यसको उपयोग गरेका छन्, एउटा साहसिक र दूरगामी कर्मको थालनी गरेका छन् । त्यसो त रुसी-नेपालीले गरेका अरू पनि उदाहरणीय कर्म छन्, उनीहरूले नेतृत्वदायी भूमिका खेलेका छन्, त्यहीँबाट डा. उपेन्द्र महतो, जीवा लामिछाने जस्ता दूरदर्शी जातिप्रेमीहरू उदाएकाले गर्दा एनआरएन् जस्तो भूगोल बाहिरको अर्को नेपालको स्थापना भएको छ । जापानदेखि अमेरिकासम्म फैलिएको यो नेपाल हो साँच्चैको विशाल नेपाल, नेपाललाई विशालतर सीमाहीन बनाउँदै लैजाने एक ग्लोबल संयन्त्र ।

रुसी-नेपालीको सङ्ख्या ठूलो छैन तर चेतनाको स्तरले उनीहरुको योग्यता, भिजन, परिश्रम र विद्वताले ती माथ्लो कोटीमा गनिन्छन् । तिनीहरूले धेरै कुराको नेतृत्व लिएका छन्, पथप्रदर्शक भएका छन् ।

अव जहाँ बसिन्छ त्यही कर्मथलो हो ! त्यहाँ जन्मिने नयाँ पुस्ताको लागि नयाँ मातृभूमि, पितृभूमी पनि । यो वर्तमान विश्वसंस्कृति हो । नेपाली पनि त्यसमा भिज्दैछ । रसियामा त्यो देखियो । तर प्रत्येक डायास्पोरिक समुदायको निम्ति जातीय पहिचानको चिन्ता सर्वाधिक ठूलो प्रश्न हुन्छ । ऊ त्यहाँ सांस्कृतिक, साहित्यिक, धार्मिक, सामाजिक सबैप्रकारको 'आफू' भएर उभिन चाहन्छ, देखिन, चिनिन चाहन्छ । साहित्यिक सांस्कृतिक परिचयबेगरको जाति अपरिचित रहन्छ भन्ने उनीहरुले बुझे । उनीहरूको मन देशको गौरवसँग, देशको भलाइसँग पनि सधैँ जोडिएको छ ! त्यहाँ सधैँ एउटा उभयभावी, द्वैध चेतनामा छ । रसियाले तिनै चिन्ता र उत्साह देखायो । एक उदाहरणीय इतिहासको आरम्भ गर्यो ।

त्यहाँ भएका अविष्मरणीय घटनाहरूमा नेपाली साहित्यबारे उठाइएका चर्चा र विमर्श थिए । यसको ऐतिहासिक उठान केकस्तो छ, वर्तमान स्थिति कस्तो छ र भविष्यमा हामी कतातिर लाग्ने दिन आएका छन्- यिनै कुरामा अत्यन्तै गम्भीर चिन्ता र चर्चा भए । कुनै दिन नेपाली समुदायबीच, कुनै दिन रुसी प्राज्ञ र लेखकबीच । त्यसविषयका गोष्ठीपत्र र सम्वाद चले । किरण चित्रकारले आफ्ना बाजेले खिचेका ऐतिहासिक फोटा प्रदर्शन गरे ।

पुगेको पर्सिपल्ट नेपाली दूतावासमा एक भव्य कार्यक्रम थियो । हामीले त्यसवेला प्राप्त गरेका पुरस्कार र सम्मानका कुरा पछि गरौँला तर हाम्रा गोष्ठीपत्र र परिसम्वाद कार्यक्रमले उत्पन्न गरेका अनुभूतिहरू नेपाली साहित्यको इतिहासमा अमर क्षण थिए । त्यो दिन मैले त्यहाँ "विश्वपरिवेशमा नेपाली साहित्य: परिवर्तित समयको आह्वान र एक वैकल्पिक मार्गचित्रको परिकल्पना" शीर्षक गोष्ठीपत्र प्रस्तुत गरेँ यद्यपि यसको पूर्वाधारमा गत कार्तिकमा नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको प्रायोजनमा पोखरामा प्रस्तुत पत्र थियो । त्यही पत्र गत वैशाख २ गते गैसार (ईंटहरी) मा प्रस्तुत भयो । यसैको परिमार्जित रूप 'मस्को गोष्ठीपत्र' भयो । यसले नेपाली साहित्यलाई विश्वतिर फर्केर हेर्ने चेष्टाको चर्चा गर्दछ । महाकविको समयदेखि नै हामी कसरी विश्वतिर फर्किन थालेका थियौँ, त्यो प्रयत्न आज कहाँ पुग्यो र हाम्रो गन्तव्य कतातिर परिलक्षित छ भन्ने चर्चा गर्दछ । त्यसपछि डा. ध्रुवचन्द्र गौतमले आफ्ना लेखकीय अनुभूतिबारे बोल्नु भयो ।

त्यसको भोलिपल्ट एक अभूतपूर्व क्षणको सामुन्ने उभिनु पर्ने भयो । हामी १९० वर्ष लामो इतिहास भएको एक प्रतिष्ठानमा पुग्यौँ । त्यो थियो रसियाली विज्ञान प्रज्ञा-प्रतिष्ठान । प्रतिष्ठानमा नेपालविद्, भारतविद्, हिमालप्रेमी, बुद्धभक्त, उत्तरआधुनिक समालोचक, प्राच्यविद्याविद, प्राज्ञ, लेखक र समीक्षकको गरिमामय उपस्थिति थियो । हामी दुवैले एकएक गोष्ठीपत्र प्रस्तुत गर्नुपर्ने थियो ।

सुरुमा मलाई डरडर पनि लागेर आयो । त्यसो ता मैले ठूलाठूला अन्तर्राष्ट्रिय भेलामा पनि गोष्ठीपत्र प्रस्तुत गरेको छु तर आजको गरिमामय उपस्थितिले र विषयको गम्भीरताले म अलिक हच्केको छु । मैले रुसको निम्ता पाउनासाथ, त्यसमा मबाट अपेक्षित गोष्ठीपत्रको शीर्षक पढ्नासाथ कृष्णप्रकाश दाइलाई सोधेँ, मधुजी र जीवाजीलाई सोधेँ- पोस्टमोडर्निजम् इन नेपाली लिटरेचर- किन त्यहाँको साहित्य समितिले यति नौलो विषय रोज्यो । मार्क्सीय विचार ��"ढेको लेनिन र स्टालिनको देशमा यस्तो विषय सान्दर्भिक होला ? मैले खेरेर इमेल गरेको थिएँ । उहाँहरूले प्रष्टयाउनु भयो, विषय त्यही हो, सबैको सल्लाह अनुसार 'पोस्टमोडर्निजम इन् नेपाली लिटरेचर', वर्तमान रुसमा त्यही उपयुक्त हुनेछ । तपाईंले त्यसैमा गोष्ठीपत्र बनाउनु होला ।

त्यसो भए पनि मनमा उठेको डर राम्ररी निभेको थिएन । पोस्टमोडर्निजमको पूर्वाधार नै वैचारिक विविधता र बहुलता हो । दशकौँसम्म एक विचार, एक सिद्धान्त, एक दर्शनले वशिभूत रुसमा ग्लास्नोस्त र पेरेस्त्रोइकाले यस्ता उदार समाजको लागि सोच्न सक्ने स्वतन्त्र मस्तिष्कहरू जन्माएको होला ? त्यस्तो कठोर संरचनावादी पर्खालको स्वरूप आज कस्तो भएको होला ?

विहानको ठीक एघार बजे त्यो भव्य हलमा प्रतिष्ठानका डाइरेक्टर बसेपछि, हाम्रा महामहिमले आतीथ्यग्रहण गरेपछि, अनेकौँ प्राज्ञहरूका बीचमा डा. गौतम र अरू साक्षी राखेर मैले आभारका शब्द प्रकट गरेँ- आज विश्वका महान् साहित्यकारहरू जन्माउने यो पवित्र भूमिमा सशरीर उपस्थित भएर नेपाली साहित्यबारे केही कुरा सुनाउन पाउँदा मलाई आफ्नो जीवनको अत्यन्तै महत्वपूर्ण र सदा अविष्मरणीय क्षणमा उभिँदाको हर्षले छोपेको छ । आधा शताब्दी अघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले तासकन्दमा आयोजित आफ्नो-एसियाली लेखक सम्मेलनमा बोलेका कुराले आज पनि हाम्रो बाटो देखाइरहेछन् ! त्यो साहित्यिक रसायनले हाम्रा सम्बन्धहरू सदाको लागि प्रगाढ र मैत्रीपूर्ण बनाएको छ । त्यसैगरी आजको हाम्रो मैत्रीपूर्ण भ्रमण र यो विद्वत् मण्डलीसँगको भेटघाटको सम्झनाले, आज सुनेका कुरा र गरेका कर्मले नेपाली साहित्यमा अर्को कालखण्ड छुटयाउने माइलखुट्टीको काम गर्ने छ भन्नेमा हामी विश्वस्त छौँ ।

हामी यो देशको महान् साहित्यबाट अत्यन्तै प्रभावित छौँ । धेरै नेपाली पाठकलाई पुस्किनदेखि अलेक्जान्डर सोल्झेनित्सिनसम्मका महान् स्रष्टाबारे थाहा छ । उनीहरूले टाल्स्टाय पढेका छन्, गोर्की पढेका छन्, लेर्मेन्तोभ् पढेका छन्, उनीहरूले दोस्तोएब्स्की र चेखव पढेका छन् । मायाकोब्स्की, पास्टरनाक, नावाकोव, सोलाखोव्, बुल्कोब्स्सम्म पढेका छन् । गोर्कीका कति कृति अनुवादका पनि संस्करणहरू छन्, टाल्सटायका कति पाठयक्रममा छन्, चेखवका अनूदित र मञ्चित पनि छन् । राजनीतिक चिन्तनमा मार्क्स, एङ्गेल्स, लेनिन् सबैले पढेका छन् भने संरचनावादका जगमा बसेका रोमन याकोब्सन अनि भाषाचिन्तनमा मिखाइल बाख्तिन बहुपठित व्यक्तित्व हुन् । अङ्ग्रेजी हिन्दी नेपाली अनुवाद र प्रत्यक्ष पाठमार्फत रसियाली सिर्जनाको नेपालीमा गहिरो प्रभाव छ, प्रेम छ । त्यसमा पनि लामो समयदेखि यहाँ रहनु भएका कृष्णप्रसाद श्रेष्ठज्यूलाई हामीले रुस-नेपाल सम्बन्धका सांस्कृतिक दूत मानेका छौँ । आज गैरआवासीय नेपाली सङ्घ रुस च्याप्टर, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, फ्रिनेपाल पोर्टल जस्ता उदाहरणीय संस्था र तिनीहरूसँग सम्वद्ध डा. उपेन्द्र महतो, जीवा लामिछाने, डा. मणिराज पोखरेल, डा. मधुकृष्ण श्रेष्ठ 'माधुर्य', जस्ता व्यक्तिको प्रशंसा गर्दछौँ । आज यिनै महान् स्रष्टाहरू जन्मेको भूमिमा आएर यो विद्वत् मण्डलीमा, स्रष्टाहरूको यो अपूर्व भेटघाटमा सहभागी हुन पाउनुले हाम्रो जीवन धन्य भएको छ । हाम्रो व्यक्तिगत जीवन मात्र होइन, यी उपलब्धीहरू हाम्रा राष्ट्रिय जीवनमा अमर इतिहास बनेर रहने छन् । हामी यो भेटको क्षणलाई इतिहासमा सदाको लागि अमर र अविस्मरणीय बनाउन चाहन्छौँ । यस्तो संयोग जुटाइदिने तपाईंहरूप्रति हार्दिक आभार प्रकट गर्दछौँ ।

मेरा साथमा नेपाली आख्यानका सर्वोच्च शिखर एक लिभिङ लिजेन्ड हुनुहुन्छ- डा. ध्रुवचन्द्र गौतम । म यस गौरवशाली उपस्थितिमा 'नेपाली साहित्यमा उत्तरआधुनिकतावादको विकास' विषयक एउटा संक्षिप्त कार्यपत्र पढेर सुनाउने अनुमति चाहन्छु । यसले वर्तमान नेपाली साहित्य त्यहाँको सामाजिक राजनीतिक परिदृष्य भन्दा अझ अग्रगामी भएर एकातिर नेपालीत्व बोक्तै अर्कातिर विश्वपरिस्थिति सँगसँगै जाने प्रयत्न गर्दैछ भन्ने तथ्यको झलक देखाउँनेछ ।

यति मंगलाचरणपछि मैले गोष्ठीपत्र वाचनमा पचास मिनेट लगाएँ । सारा प्रसन्न भए । त्यसपछिका अनेक प्रश्न र जिज्ञासाको प्रत्युत्तरमा बोलेर बिसाएपछि डा. गौतमको पालो आयो 'समकालीन नेपाली गद्यका प्रवृत्तिहरू ।'

नेपाली साहित्यले विश्वको आागनमा उभिएर बोलेको यो ऐतिहासिक अवसर थियो । रुसी विद्वानहरूले पनि भने- देवकोटापछिको एक लामो मौनतालाई यस ऐतिहासिक घडीले जोडेको छ । अव रुसी-नेपाली स्रष्टा-चिन्तकबीचमा यस्ता आदानप्रदानका प्रयत्नहरू निरन्तर राख्नु पर्दछ ।

-प्रस्तुत शीर्षक २०६६ असार १३ गते नागरिक दैनिकको शनीवारिय परिशिष्टाङ्कमा प्रकाशित रचना हो ।)

tu.govinda@gmail.com