वैचारिक अनेकानेकको पक्षमा

Author : हाङयुग अज्ञात
Published on : July 02, 2009


  
हाङयुग अज्ञात
Author

दार्शनिक रेने डेकार्टले सोचे- 'म सोच्छु तेसकारण म छु' । उनले यसरी सोच्दा 'म छु तेसकारण सोच्छु' भन्नेहरू आत्तिए । हिजोका संज्ञानहरूमा वर्तमान केलाउँदै भविष्यको रेखाङ्कन गर्नु कुनै पनि शास्त्रको सार्वभौमिक नियम रहेछ । हिजोहिजोमा आज खोज्दै भोलिको मिमांसा जगतको रूपाङ्कनमा तेही भएर अरूभन्दा कुनै पनि अर्थमा पृथक नरहेर सृजनशील अराजकताले पनि हुँदै आएको हो । त्यो हुनु या यो हुनु त्यै डेकार्टले भने झैं अस्तित्वसम्मत्को विचार हुनसक्ला । प्रथम सर्तमा बल गरिएको वैचारिक अनेकानेकलाई दर्शनको आधारमा सामाजिक बुनोटको मार्गचित्र अथवा रूसोको सोसियल कन्ट्रयाक्टकै पक्षमा पनि अनेक विचारलाई समाजको प्राङ्गणमा खेल्न दिनुपर्छ भन्ने अभिमत जाहेर गरेको थिदैं हो । कतिले सोझै यसवखत विश्वेश्वरप्रसादको समाजवाद भनिकन जाइलाग्लान् या प्रचण्डपथको फ्युजन साम्यवाद तोकिकन पनि छेउ लाग्लान्, कतिले मान्लान् मदन भण्डारीको जनताको बहुदलीय जनवाद । विश्वेश्वर, मदन र प्रचण्डको अराजकतासित थोरै मिल्न जान्छौं, यो धेरै अर्थमा अराजकताको अन्त्यसित छ । यसो भन्नुको मतलब राजकतामा शतप्रतिशत भइएको विचार होइन । राजकतामा नभइकन पनि अराजकताको अन्त्य हुनुसक्छ भन्नु नै सृजनशील अराजकता ठानेको हुँ । यसै सन्दर्भमा राजन मुकारूङ रङ्गीन आविष्कारमा लेख्छन्- 'साहित्य न सर्वहारा भनिएकाहरूका लागि मात्र हो, न त बुर्जुवाहरूको मात्रै । वैचारिक अनेकानेकको संकेतबाट विश्वजनिन् सम्पूर्णताहरूमाथिको विज्ञानबद्घ अनुभवनले प्रादुर्भूत गर्ने सु-सास्कृत र सन्तुलित काव्य-निस्सीमता नै साहित्यको विस्तृति हो ।' अराजकता र राजकता घामछाँयाजस्तो लुकामारी खेलिरहने थोक मात्र पनि हो । राणाकालका अराजकतावादी काङ्ग्रेस कम्युनिष्ट ०७ सालपछि राजकतावादी भए । १७ सालमा महेन्द्रले सत्ता थुतेर पञ्चायत लादेपछि ४६ सालसम्म नै हिजोका ती काङ्ग्रेस-कम्युनिष्ट फेरि अराजकतावादी भए । नेपाल कम्युनिष्ट पार्टी मा��"वादी फेरि ५२ सालदेखि ६३ सालसम्म अराजकतावादी भए । मा��"वादी पनि राजकतावादी भइसकेपछि पनि मधेस, लिम्बुवान, किरात प्रदेश लगायत अरू कतिकति विचारहरू अराजकतावादी भए, भइरहेकाछन् । यस्सै र अराजकतावादको सिलसिला घामछाँयाको छ । तेस्सै र राजकताको स्वभाव अस्थिर हुँदोरहेछ । यो विचार प्रक्रियालाई उता कुनै बेला मार्क्शलाई बाकुनिनले 'राज्यसत्तामा नपुगिकनै समाजको परिवर्तन गर्न सकिन्छ' भने जस्तै- बुझे पनि भयो । हिजोदेखिकै विचारहरूमा हामी रम्दै आएका छौं- निष्कर्ष बनाए पनि भयो ।

 

प्रचण्डले भनेको दुई ढुङ्गाबीचको डाइनामाइटको बिम्ब विनिर्माणका नेता ज्याक डेरिडाको विचार गर्ने फरक कोणको प्रतिफल पनि बुझेर जान सकिन्छ । तर, यसोभन्दा मा��" जेदोङमाथि अन्याय भएको प्रतिक्रिया तेस्सै आउँछ । मार्क्शले भन्यो धर्म अफिम हो, मा��"ले भन्यो धर्म मन्द विष हो । अब धर्मलाई मुक्ति मान्नेहरू पनि छन्, हिजो राजालाई विष्णु भगवानको अवतार मान्नेहरू आज परिवर्तनको गगन थापा भएका छौं । आखिर राजा पनि हामीजस्तै सर्वसाधारण मान्छे रहेछ । यसरी विचारहरूलाई सम्पादन गर्दोरहेछ राज्यले । र, राज्य सधैँ पनि एकल विचारले अगाडि बढिरहेको अवस्थाले समाज विकासमा नकारात्मक असर पार्दोरहेछ । यस्तो नकारात्मक असरले अनि मानव हुनुको कुनै मूल्य नहुँदोरहेछ । आफ्नै मात्र विचार प्रगतिशील या अग्रगामी भन्ने जिकिरले तब रगत बग्दोरहेछ । प्रगतिशील या अग्रगामी विचार त्यो मान्छु म कि जसले कुनै मानिसको रगत नबगाइकनै समाज परिवर्तन गरोस् । त्यो स्वतन्त्र रूपले अध्ययन र मननले मात्रै सम्भव छ । निर्देशित प्रतेक शिक्षाले कुनै यौटा पक्षको मात्रै भइने रहेछ । यो कुरामा विचार नपुर्याउँदा हिजोका विद्वान तथा दार्शनिकहरू फ्लप भएका छन् । गीताले आफ्ना कमिकमजोरीहरू सुधारेर जानुपर्छ नै, मुन्धुम र मुन्दुमहरूले त एक्कैचोटि पातालबाट आफूलाई फुत्त निकाल्नुपर्छ । मुन्धुमहरूको पहुँच आममानिसमा पुग्नैछ, गीता, वेद र पुराणहरूले जस्तै मुन्धुमहरूको आख्यानले पनि सर्वसुलभ समाजमा उपस्थिति जनाइदिनै पर्छ । यसरी मात्र विचारहरूको अनेकानेकको सार्थकता हुन्छ । हिजोकै कति कुराहरूमा, कति सिद्घान्तहरूमा, कति प्रयोगहरूमा, कति विमर्शहरूमा, कति विचारहरूमा अथवा काण्टले भनेझैं अनुभवहरूमा हामीले यो जीवन र जगतलाई घिसार्दै ल्याएका छौं । चीनमा महान् क्रान्ति गर्ने क. मा��"ले पनि मार्क्शलाई अघि सारेकै हुन् । तर, आफ्नो थोक पनि थपेर । तेसोरी क. प्रचण्डले पनि मा��"लाई अघि सारेकै हुन् तर आफ्नो थोक थपेर । नेपालमा प्रचण्डपथले जातीय, क्षेत्रिय र लैङ्गीक विभेदलाई उच्च रूपमा उठान गरेकै कारण अब वर्ग समन्वय पनि हुने देखिन्छ । वर्ग समन्वय भन्नाले वर्ग विभेदीकरणको अन्त्य । तेसो र पनि सामाजिक बनोटको आधारमा मार्क्शवाद या मा��" विचारधारा फरकफरक ढङ्गले प्रत्यारोपण हुनसक्दोरहेछ । यो राजनीतिक  दर्शनको कुरा भयो र साहित्यिक दर्शनमा पनि झण्डै यही प्रक्रिया अवलम्बन हुन्छ । तेस्रो आयामदेखि लीला लेखन र लीला लेखनदेखि सृजनशील अराजकता, सृजनशील अराजकतादेखि सृजनशील उत्तरवर्ती र सृजनशील उत्तरवर्तीदेखि विषेश रङ्गवाद, विषेश रङ्गवाददेखि मुक्त अभियान यी सप्पै साहित्यिक दर्शनहरूको विकास प्रणाली हिजोकै या आफू अघिकै संज्ञानहरूबाट अनुभवन् प्राप्त गर्दै आफ्नो पक्ष थप्दै भइआएको छ । तेस्रो आयामले पनि त उता दादावादबाट आफूहरूलाई सुसूचित गरेकै देखिन्छ र दादावादीहरूले पनि स्वछन्दतावादीहरूबाट सुसूचित गरेकै हुन् । यसरी ज्ञानको श्रृङ्खलाले आजको उत्तरआधुनिक संज्ञान पनि निर्मित भएको छ । सृजनशील अराजकतालाई तेसो र अरू संज्ञानहरूबाट अलग्गै जाँच्न सकिदैन । तेस्रो आयाम या लीला लेखनबाटै सृजनशील अराजकताको आकृति निर्माण हुँदै आएको छ । आफ्नो स्वत्व थप्दै जाने कुरामा वैचारिक अनेकानेकलाई पहिलो सर्तमै राख्नुको ध्येय पनि यही हो । हामीसित भिन्दाभिन्दै विचारहरू छन् र पनि हामी एकअर्काबाट भिन्दाभिन्दै भएर बाँच्न सक्दैनौं । मूल प्रसङ्गमा हामीले एक हुनैपर्छ । यसो र लोकतन्त्रको आधारभूत विचारले नै सृजनशील अराजकता बनेको हो ।

 

हामीले विपिको साहित्यिक अराजकतालाई मान्नु र फेरि हामीले नै प्रचण्डको विनिर्माणवादी विचारलाई मान्नु यो निश्चित रूपमा कुटनीति होइन । कहिले नौलो जनवादका पक्षमा मत खसाल्नु त कहिले जनताको बहुदलीय जनवादलाई सघाउनु रणनीति होइन हाम्रो न कार्यनीति हो । यो के हो भन्दा सृजनशील अराजकता हो, अराजकतालाई सृजनशील बनाउने काइदा हो । र, यो तेस्रो आयामले सुत्रबद्घ गरेको विचारको बेगल प्रस्ताव पनि हो । सम्पूर्णताका लागि सहायक सप्पै राख्ने । यस्सै भनेको छ आयामले । तर, फेरि विचार गरिल्याउँदाखेरिमा यो पनि झन्डै उपयोगितावादकै समिपमा पुग्दोरहेछ । जोन स्टुवर्ट मिलको मगजभित्र छिर्दारहेछौं । यौटा विचारको जरा समातेर अघि बढ्दाबढ्दै अर्को विचार अलि पर पुगेपछि समाउन पुगिन्छ । हामीले समातेको यौटा विचारको लठारो धेरैधेरै विचारहरूको डोरीले बनेको हुँदोरहेछ । यस्सै र हाम्रो समाज या हाम्रो जीवनमा यौटै विचारको पक्ष लाग्नु भनेको आधि मात्र बाठो हुनु रहेछ । आधि मात्रै बाँच्नु रहेछ । पुरै या सम्पूर्ण बाँच्नु (तेस्रो आयामकै भाषा र बोधमा) भनेको चाहिँ वैचारिक अनेकानेकको समावेशितामा रहेछ । यसरी सृजनशील अराजकताको प्रथम पाइला टेकियो । सप्पै विचारहरूलाई मान्दै जाने, सप्पै विचारहरूको महत्व थाहा पाउने, सप्पै विचारहरूको सम्मान गर्ने, सप्पै विचारहरूलाई जोख्नेतौलने, सप्पै विचारहरूलाई सुन्नेसुनाउने, सप्पै विचारहरूमा रमाउने, सप्पै विचारहरूमा जीवन र प्रगति देख्ने, सप्पै विचारहरूलाई स्पेस दिने । अब तत्कालै धेरै अर्थहरू लाग्नसक्छन् । हामीलाई सारसङ्ग्रहवादी भन्लान्, स्पेसवादी भन्लान्, अवसरवादी भन्लान् । यसो भन्नेहरू बिसौं शताब्दिको पूवार्धमै अल्मलिरहेका हुन्छन् । यतिबेला मार्क्शले दारी खौरिसकेको छ, स्टालिनले जुङ्गा ताछिसकेको छ र मा��"ले जुँङ्गा पालेको छ ।  समयले कम्युनिज्मलाई सूचना र ज्ञानको विश्वमा हुलिसकेको छ । समयले लोकतन्त्रलाई पनि अमेरिकाको चङ्गुलबाट फुस्काइसकेको छ । तेसो र पनि यतिबेलाको विश्वमा मानिसहरूमा विकसित भएको चेतनाको स्वलम्बन प्रवृत्तिलाई लोकतन्त्रवादी र साम्यवादी दुवैले बुझ्नु जरूरी छ, थाहा पाउनु जरूरी छ । सृजनशील अराजकताले मानेको दुवैलाई हो, दुवैले नेपालका आम नागरिकको चेतनाको परिप्रेक्ष्यमा आफूलाई नयाँ बनाउनुपर्छ । समय अनुसार, समाज अनुसार आफूलाई परिवर्तित रूपमा अघि लैजानुपर्छ ।

 

परिवर्तनको दर्शन नै मार्क्शवाद हो, तेसैले माक्र्सवादीहरूले त झनै सृजनशील अराजकतालाई  मित्रशक्ति मान्नुपर्छ । हामीले विपि कोइरालाले प्रस्ताव गरेको समाजवादलाई असल मान्दा रिसाउने कम्युनिष्ट मित्रहरू छन्, हामीले प्रचण्डपथलाई स्वागत गर्दा ठुस्किने लोकतन्त्रवादी मित्रहरू छन्, उनीहरू वैचारिक अनेकानेकमा छैनन् । नेपाली साहित्यले किन समाजमा आफ्नो प्रभाव बढाउन सकिरहेको छैन ? किनभने नेपाली साहित्यकर्मीहरू वैचारिक अनेकानेकमा छैनन् । मानवजीवनको दुःख नै वास्तवमा राजनीति भइरहेको छ । मानिसहरूलाई पक्ष-प्रतिपक्षमा बाँडेर राजनीतिले जुन हिंसा, अराजकता, निराशा र दुःख फैलाइरहेको छ विश्वमा, यसको यौटै हल हुनसक्दछ वैचारिक अनेकानेक या सहअस्तित्व । समन्वय, सहमति, समावेशी, सहिष्णु र समानुपातिक विचारलाई कुनै पनि समाजले अङ्गिकार गरेको खण्डमा विश्वशान्तिको स्थापना हुनेछ । यो विचारलाई स्वप्नशील (युटोपिया) भनिकन संश्लेषण गर्ने आधार पनि तर छ । हिजोदेखि नै मानिसहरू एकले अर्कालाई मार्दै, एकले अर्कामाथि दमन र शासन गर्दै आइरहेको इतिहास हामीले बिर्सिसकेका छैनौं । जतिसुकै फ्रान्सिस् फुकुयामाले इतिहासको अन्त्य र अन्तिम मान्छेको जप गरे पनि इतिहास बिर्सिन सकिदैन । हिजो इतिहासमा कसले कति मान्छे मारे ? कसले कसरी झुटो इतिहास रचे ? कसको इतिहास हरायो ? कति इतिहास रगतले कोरियो ? कति मसीले कोरियो ? हाम्रो मनबाट यी कुराहरू कहिल्यै मेटिन सकेनन् । हिजोदेखि नै अत्यन्तै ठूलाठूला युद्घहरू मानिसहरूले देख्दै आएका छन् । यो एक्काइसौं शताब्दी पनि युद्घैयुद्घमा बित्ने देखिन्छ । विषेशगरिकन एशिया महादेशमा युद्घलहरको ग्राफ बढिरहेको छ । यसको कारण अमेरिका हुनसक्छ या हाम्रो गरिबी र अज्ञानता ? किन एशियामा मात्रै हिंसा, अराजकता, निराशा र दुःखले आक्रमण गरिरहेको छ ? के पूर्वीय दर्शनशास्त्रको अन्त्य भइसक्यो ? नेपालको इतिहास त झनै हिंसामय छ । भाइभारदार, शासकहरूबीचको रक्तरञ्जित दरबारीया षडयन्त्रले आफूआफूमै काटमार गर्दै सारा जनतालाई पनि त्यो हिंसाले पिरोल्ने उनीहरूको राजनीतिक दर्शन तेही महाभारत(गीता) हुनुपर्दछ । जहाँ रगतैरगत छ, षडयन्त्रैषडयन्त्र छ, विभेद छ । त्यसो भएर पनि नेपालको इतिहास हिंसामय, विभेदकारी छ । तेसो त कुनै पनि राज्यको असली अनुहार नै हिंसा हो, भय हो, त्रास हो । विश्वमा सप्पैभन्दा धेरै हिंसा अमेरिकाले गर्दै आएको छ, हिंसा कम्युनिष्टहरूले मात्रै कहाँ गर्छन् ? आतङ्कवादीको बिल्ला भिराउँदै गोली ठोक्दा आममानिसमा युद्घप्रति वितृष्णा जाग्दैन । तेसोरी नै वर्गविहीन समाजको परिकल्पना गर्दै शोसक र सामन्तको उन्मुलनका नाममा व्यक्ति हत्या गर्नेहरूप्रति पनि आममानिसको धारणा सकारात्मक पाइँदैन । तर जस्तोसुकै व्याख्या र अर्थले हिंसालाई छोप्न खोजे पनि त्यो आखिरमा गन्हाउँछ । आखिरमा त्यो मानवता विरोधी देखिन्छ । यो विश्वमा सप्पै मानिसले बाँच्न पाउनुपर्दछ । युद्घ या भौतिक सफाया सधैँ निन्दनीय नै हुन्छ । आतङ्कवादीहरूसित वार्ता गरिकन अमेरिकाले विश्वमा युद्घको उन्मुलन गर्नसक्छ । अर्को विकल्प हामीहरू आफै सचेत हुने र युद्घको कारण खोज्नुपर्दछ । विविध विचारहरू र विविध मानिसहरूको विश्वमा विविधताको सम्मान हुनुपर्दछ । विवेकानन्दले भनेझैं मनोक्रान्तिको खाँचो छ आजको विश्वलाई । रक्तक्रान्तिले विश्वलाई धेरै विचलित बनाएको छ । सृजनशील अराजकता अहिंसाको संज्ञा हो अथवा अराजकताको अन्त्य नै सृजनशील अराजकता हो । वैचारिक अनेकानेक तेही अराजकताको अन्त्यका लागि प्रस्तावित प्रथम विचार हो । र, ५२ सालदेखि मात्रै होइन गोर्खा राज्यको स्थापना या पृथ्वीनारायण शाहको उदयपश्चात् नेपाली समाजले द्वन्द्वको मारमा भोगिरहेको चरम मानसिक यातना र अशान्तिलाई नष्ट गर्दै सुख र शान्तिको मार्गमा सप्पै नेपाली मनहरूलाई हिँडाउनु वैचारिक अनेकानेकको प्रतिबद्घता थियो । सृजनशील अराजकताको दार्शनिक पक्ष पनि अराजकताको अन्त्य र सर्वस्वीकार्य एवम् सन्तुलित राजकताको निर्माण नै हो ।