ईतर घोषणाको पक्षबाट

Author : प्रदिप कन्दङ्वा
Published on : June 04, 2009


  
प्रदिप कन्दङ्वा
Author

मलाई लाग्दैन कि मेरो मृत्यु भएको छ । किन कि यसघडि म सास फेरिरहेको छु, मैले यस अर्थमा किमार्थ भनेको होईन  । बरू यस अर्थमा हुन सक्छ कि यसघडि म केही लेखिरहेको छु । जीवन भ्रमहरूको एक पुलिन्दा हो भन्ने मेरो जिरह छ । असन्तोस यसको सँघटक तत्व हो । दुखको कारण पनि यहि हो । जीवनका यावत गतिबिधिहरूको कारण पनि यहि हो । जीवनको गति प्रदायक तत्व पनि यहि हो । अप्राप्य वस्तुको खोजीमा मान्छे भौतारिन्छ, प्राप्त भएपछि सन्तुष्ट हुने भ्रम पाल्छ । यो क्रम मरणोपरान्त चलीरहन्छ । जीवन यसमानेमा भ्रमहरूको पर्याय हो भन्ने मेरो आशय हो । यो मेरो मात्रै एक्लो बिचार नहुन सक्दछ । कारण जीवन साँच्चैमा  एक भ्रम त हो । भ्रमको खेती गरेर मान्छे बाँचेको हुन्छ । मान्छे भ्रमित भएन भने उसको जीवनको अन्त्य त्यहीँनिर हुन्छ जहाँ उ भ्रम मुक्त हुन्छ । जस्तो यो एकलास र निर्जन ठाउँमा एक्लै बसेर चुरोटको धुवाँमा रूमलिँदै म केही लेखिरहेको छु । मलाई लागिरहेको छ कि मैले यहाँ केही मुक्तिको सास फेर्न सकेँ । एकलास र निर्जन ठाउँमा एक्लै बसेर मुक्तिको सास फेर्न सकिन्छ । यो कुरामा कति पाठकहरू सहमत हुन सक्लान् । त्यो पाठकको स्वविवेक भयो । तर त्यो मेरो मृत्यु त भएन । मेरो हरेक बिचार, मेरो लेखकिय दृष्टिकोण, मेरो बैयक्तिक बिश्लेषण सर्बथा स्विकार्य कदाचित हुन सक्दैन । न अरू कसैको हुन सक्छ । बिचारलाई निरपेक्ष सत्यको कसिमा कसरि घोट्न सकिन्छ ?? यो चाँहि निरपेक्ष सत्यको अनुभुत लेखकको मृत्यु हुनु अगावै पनि गरिएको हुनुपर्दछ । पाठकको स्वविवेकलाई सँकेत गर्न लेखकको मृत्यु भएको किन मानौ हामी । लेखकिय अधिनायकको अन्त्य भएको मान्नु र त्यसैलाई उसको मृत्यु मान्नुमा केही भिन्नता अवश्य हुनुपर्दछ । एउटा अधिनायकवादि लेखकको अन्त्यले पाठकिय सत्ताको एकाएक उद्घघाटन गरिदिएको छ । सत्तामा बसेपछि के थाहा, पाठक आफैँपनि कताकति अधिनायक बनेको हुँदो हो तर सँसारबाटै अधिनायकहरूको सफाया भईरहेकोले त्यो संम्भावना हाललाई नरहेकै जस्तो लाग्दछ । लेखकले जे लेख्छ त्यो भन्दा अर्को सत्य छैन भन्ने मान्यताको बिपरित पाठकले पाठको अर्थ जे बुज्छ त्यो नै सत्य हो भन्ने मान्यता स्थापित भएको छ । यो वैचारिकतामा बिशेष लागु हुँदो हो भन्ने मेरो अनुमान छ । भाषाको अर्थ बिचलनले पनि यो कुरासँग सरोकार राख्छ । भाषाले दिने अर्थ सदैव एकार्थि हुँदैन अनेकार्थि हुन्छ भनिएको छ । ईन्द्रविलास अधिकारिले एउटा उदाहरण पेश गरेका छन् त्यहाँ सर्प छ । सर्प छ भनिसकेपछि सामान्यतया मान्छेहरू डराउँछन भाग्छन् त्यसलाई मार्न तम्सिन्छन तर कतिपय ठाउँ र अवस्थामा सर्पलाई पुज्ने पनि गरिन्छ । अत: सर्प हुनुको अनेक अर्थ लाग्न सक्छ । त्यसोत आजकल बाहुनलाई बाहुन भन्दा उनीहरू झर्किन्छन पहिला गर्व गर्थे । लिम्वूलाई लिम्वू भन्दा पहिला लिम्वूहरू हिनताबोध गर्थे आजकल गर्व गर्छन् भाषाले दिने अर्थ यसप्रकार बचलीत हुने रहेछ ।

लेखकको मृत्युको अवधारणा आउनु भन्दा अगावै पाठक प्रतिक्रतिया सिद्धान्तको बारेमा प्रसस्तै चर्चा र बहस भइसकेको पाइन्छ । १९७७ मा रोलाँ बार्थले चलिसकेको सैद्धान्तिक प्लेटफर्ममा टेकेर एउटा अग्रगामि घोषणा गरे त्यो थियो लेखकको मृत्युको घोषणा । यो अग्रगमनकारी घोषणालेनै वास्तबमा पाठक प्रतिक्रिया सिद्धान्तलाई स्थापित गर्ने काम गरेको छ । सँगसँगै आमरूपमा एउटा भ्रम पनि सिर्जेको हुनुपर्दछ । पाठक प्रतिक्रिया सिद्धान्तमा पाठ र पाठकको योगफल बराबर अर्थ भनिएको छ । त्यस्तै पाठले सदैव दुईखाले अर्थको प्रस्ताव गर्दछ पनि भनिएको छ । पाठ कि त निश्चतार्थक हुन्छ कि त अनिश्चतार्थक हुन्छ । जब पाठ निश्चतार्थक रूपमा अघि सर्दछ तब पाठकिय सत्ता डगमगाउँछ त्यो बेला सोच्नुपर्ने हुन्छ, लेखकको मृत्यु कसरी ?? जस्तै लेखकको मृत्यु भएको छैन पाठकको स्वविवेक हावि भएको छ पनि त भन्न सकिन्छ ।  जस्तै कवि बाल आवाराको उर्दिलाई नमान्दै पाठकको मृत्यु भएको छैन नयाँ पाठकको जन्म भएको छ पनि त भन्न सकिन्छ, जस्तै कवि हाङयुग अज्ञातको घोषणालाई अवज्ञा गर्दै नयाँ लेखकको जन्म भएको छैन, लेखकको विनिर्माण भएको छ पनि त भन्न सकिन्छ । यो दुनियाँ बिचारहरूको महाजँगल हो सत्यको स्थाई रूप त्यतै कतै हराएको हुन्छ, बिलाएको हुन्छ ।

 

 त्यसोत फ्रेडरिक नित्सेले ईश्वरको मृत्युको घोषणा गरिदिए अब यसलाई हामी सत्य मानौ भने नित्से आफैले भने सत्य कतै छैन केबल ब्याख्या मात्र छ । नित्सेले यस्तो घोषणा किन गरे, यसमा केबल दुई कारण हुन सक्दछ, मेरो अनुमान । नित्से कि त अति इश्वरवादी हुनुपर्दछ जसको घोर अकर्मण्यता देखेर झोँकमा उनले यो घोषणा गरे कि त नित्से अति अनिश्वरवादी हुनुपर्दछ जसको खिलाफमा उनले यो घोषणा गरे । जुन घोषणाको जति चर्चा गरौँ उती कम लागिरहन्छ । त्यस्तै फ्रान्सिस फुकुयामाले ईतिहासको अन्त्यको घोषणा गरे त्यो एउटा विश्व राजनितिको निश्चित घटनाक्रमलाई लक्षित गरेर गरिएको घोषणा थियो । त्यो एउटा राजनितिक घटनाक्रमको अन्त्य थियो । त्यो एउटा ईतिहासको अन्त्य थियो तर सम्पुर्ण त थिएन । उपरोक्त शिर्षक सहितको ब्याख्यामा तर्कको अधिक गुन्जायसको आभाष हुन्छ तर केही ग्यापहरू छन जहाँ टेकेर बिपक्षमा दुइ चार कुरा गर्न सकिन्छ । डा- गोविन्दराज भट्टराईले कवि बाल आवाराको कविता कृतिको शिर्षकमा केन्द्रित रहेर आफ्नो समालोचकिय दृष्टिकोण राखेका छन् । हुन पनि शिर्षककै त्यस्तो छ पाठकको मृत्युमा । कविता या साहित्यप्रति आजको मान्छे जसरी वितृसित भएको छ, आवाराले उसैगरी आफ्नो आक्रोस पोखेका छन्, कृतिको नामको रूपमा । भट्टराईले आवाराको यो उर्दिलाई घुमाउरो पाराले अस्विकार गरेका छन् । आवाराले युद्ध हत्या र आतङ्कबाट मर्नेहरूलाई पाठक मानेर आफ्नो कृतिको यो नाम जुराएका होलान, यो म मान्न सक्दिन तर भट्टराईले त्यतैबाट कृतिको नामको पुष्टि गर्न खोजेका छन् भन्दा पनि आवारालाई शान्त्वना दिएका छन् ।

 

समाजका परम्परित मूल्य र मान्यताहरू समयक्रममा फेरबदल भईरहन्छन् । आजभोली यसको तिब्रता झेली नसक्नु भएको छ । उहिले त्यस्तो हुँदैनथ्योहोला, अनुमान लगाउन सकिन्छ । बिज्ञान र प्रबिधिको तिव्र बिकासले यसमा प्रमुख भुमिका निभाएको छ । जस्तै उत्तरआधुनिक जीवनको बिकास पनि पश्चिममा भएको ��"धोगिक क्रान्ति पश्चातनै जमेको यथार्थ हामी सामु छिपेको छैन । नेपालमा यसको चर्चा हुन थालेको धेरै भएको छैन । उता दार्जेलिङमा ईन्द्र बहादुर राईले यो कुरा उहिलेनै थाहा पाए तर उनले यसलाई उत्तरआधुनिकता नभनीकन लिला भनिदिए । पछि यो कुरा गोबिन्दराज भट्टराईहरूले थाहा पाएर ईन्द्र बहादुर राईलाई कबुल गराईछाडे । यधपी यसमानेमा ईन्द्र बहादुर राईको चेतना स्तरको उचाईको मूल्याङ्न गर्न सकिन्छ ।  आज लिलालेखन उत्तरआधुनिकताको महाजँगलमा लुप्तप्राय भइसकेको छ । लिला ईतिहास भइसकेको छ । कुनै कुरा ईतिहास हुनुलाई नौलो अवश्य मानिदैन तर लिलाको माम्लामा यो अलिक फरक रह्यो ।

 

समाजका स्थापित मूल्य र मान्यताहरू उल्टिने क्रममा लेखकप्रतिको आदिम धारणामा पनि परिबर्तन हुनुलाईमात्रै नौलो र उदेकलाग्दो किन मान्ने । लेखकलाई पहिला जे सोचिन्थ्यो लेखक त्यो होइनरहेछ यधपी लेखक त लेखकनै रहन्छ । यदाकदा यस्तो लाग्छ कि रोलाँ बार्थको लेखकप्रतिको परिबर्तित अवधारणाले होईन लेखकको मृत्युको घोषणालेमात्र चर्चा पाएको हो । आजभोली लेखकको मृत्यु भईसक्यो भन्दै लेखकहरू जताततै कुर्लिदै हिँडेकाछन् । लेखकको मृत्युको चर्चा नगरी आफ्नो बिद्धता अपुरो भएको जस्तो आभाष लेखकवृत्तमा पाईँदो छ । कतिलाई यसको सँकेतको सुँईको समेत नभएको जस्तो बुझिन्छ । यो एकप्रकारको बुख्याँचा (coseccrow) जस्तो प्रतित भएको छ ।

 

अब यता हङकङबाट दुईवटा घोषणाहरू भएकाछन् । हङकङको साहित्यक ईतिहासमा यि दुई घोषणा कुनै दिन सुनौलो अक्षरले लेखिएला ? त्यो दिन पर्खनैपर्ने भएको छ । एउटा भयबादको घोषणा, जो देश सुब्बाले गरे । मेरो बुझाईमा भयवादको सन्देस छ, जीवन केवल भयबाट निर्देसित र नियन्त्रित छ । जीवनको कुनै पल यस्तो छैन जुन भयरहित होस् । भयवादले जीवनको भय न्युनिकरण गर्ने या जीवनलाई भयमुक्त गर्ने प्रेरणा दिन्छ । यदि मैले बुझेको कुरा गलत होइन भने भयवादभित्र अन्तरबिरोधको स्थिति मौजुद रहेको आभास हुन्छ । किनभने जव जीवनको कुनै पनि पल भयरहित हुनै सक्दैनभने भयवादले कसरी जीवनको भय न्युनिकरण गर्न सक्छ ? अथवा भयवादले जीवनलाई कसरी भयमुक्त गर्न सक्दछ ?? प्रश्न स्वभाविक रूपमा उब्जिएको छ । भयवादको मेजर अप्रेसन देश सुब्बाले लिम्वूवानमा गराए । यता हङकङमा भएको माईनर अप्रेसनमा देखिएका कुराहरूनै उताको मेजर अप्रेसनमा बिस्तृतीरूपमा आएको रहेछ । जो अप्रेसन रिपोर्टको भिडियो हेरेपश्चात थाहा भयो । अर्को नयाँ लेखकको जन्म भएको घोषणा जो चर्चित कवि हाङयुग अज्ञातले तिन वर्ष अगाडि गरे । काल क्रमको हिसाबले यो घोषणालाई आलै मान्न सकिन्छ । कारण नयाँ लेखक जन्मेर तिन वर्षमा मरिसकेको मान्न सकिँदैन । मान्न सकिन्छ, यदि त्यसको अकाल मृत्यु भएको भए तर त्यस्तो घोषकले बताएका छैनन् तसर्थ यो मेरो पुरानो घोषणा हो भनिकन उम्कन पाउने घोषकको स्थिति नरहेको बुझ्नमा आउँछ । देश सुब्बा र हाङयुग अज्ञातका दुवै घोषणाहरू फरक फरक वस्तुतमा आएका छन् । केबल घोषणा बिषयक र हङकङबाट भएकोले मात्र पहिलो चर्चा गरिएको हो । अब नयाँ लेखकको जन्म भएकै हो भने नयाँ लेखकलाई पुरानो पाठकले नपढ्नसक्छ, पढेपनि नबुझ्नसक्छ । अत: यहिँ मौका छोपेर मलाई पनि घोषकलाई समर्थन गर्दै नयाँ पाठकको जन्मको घोषणा गरिदिउँ कि जस्तो लागेको छ । तर लागेको मात्रै छ । घोषणा गरिएको छैन ।