अशोक राई

Author : अशोक राई
Published on : June 03, 2009


  
अशोक राई

मेरो आमाको चेप्टो सुन

सिरबन्दी र रेजी

खुट्टाको कल्ली

उहिले दरबारेलाई तिरो तिर्दा

खर्च भएको साक्षी

छड्के किनारामा

म भित्रको अलाहुरे मनले बकीरहन्छ ।

 

मेरो बाजे लाहुरे

बाउ पनि लाहुरे

, मात्र लाहुरेको सन्तान

मेरो बाउको पेन्सनले

गर्जो टारेन

तक्मा र लालबुकले जंगल फाडेन

झोडाको औंलोलाई माथ् खुवाँउने

मेरो आमाको पौरख र

रात दिनको पसिनाले

म अहिले पनि बाँचेको छु ।

 

विवसताले गिजोलेको समय

त्यहि समयले लाएको कल्ली

अहम र बडप्पनको खै कुन झ्वाक्क्ले

म त लाहुरे हुनै पो सकिन

त्यो अलाहुरे हीनता

यदाकदा झुसिलो डकार झैं घाँटीमा आँउछ

त्यसैले दरबारेलाई सराप्दैछु

आमाको सुन फिर्ता गर्न नसकेर ।

 

चिराइतो मन लिएर

मेरो आमाले भन्छिन्

"कान्छा ! खै त तेरो भाकल ?"

म नाजवाफ छु

साँच्ची

त्यो चेप्टे सुनको सौन्दर्य

सिरबन्दीको शान

ढुंग्री र बुलाकीको औज्

धपक्क बलेको मेरो आमाको वैंशको तस्विर

मेरो अलाहुरे मनले खुब सम्झिरहन्छ ।

 

विश्व युद्धमा मेरो बाजेले देखाएको

विरताको कथा

बाउले लाएको छड्के टोपीको शान

अनि कम्ब्याट् युनीर्फमको आकर्षण

त्यो सप्पै सम्झिदा कुनै दिन

लाहुरे हुने झ्वाक्क पलाकै हो,

तर राइफलको वितृष्णा र

स्वभिमानको आदर्शले

न त लाहरे भइयो

न त आदर्शको मू्ल्य नै पाइयो

त्यसैले

आमाको चेप्टे सुन, सिरबन्दी, रेजी र कल्लीको भाकल

आज पर्यन्त

थाँती नै छ ।

 

 

  

नोट:

दरबारे - उहिले मधेशको जंगल फडानी गराई आवाद भइसकेपछि दरबारियाहरु आई जनतालाई तिरो तिराएकोले उनीहरुलाई दरबारे भन्ने चलन थियो ।