तरुनी रात

Author : केदार श्रेष्ठ
Published on : June 02, 2009


  
केदार श्रेष्ठ

ओइलाएको सूर्य

दिनभरिको थकाइले

क्षितिज पर-परको सागरमा

जब बिलाउँछ

तब झ्याँउकिरीको

झन्झटिलो अवाजसँगै

जंगलतिरबाट निस्कन्छन्

हाप्सीला,

स्याल,

ब्वाँसाहरु

रात हाम्रै त हो नि भन्दै,

 

दुधकटुवा साँझ

कालरात्रिको आगमनसँगै

तरुनी हुन्छे

र आफूतिर सबैलाई

आकषिर्त गर्न भरमग्दुर

प्रयासरत रहिरहन्छे

बालक सूर्यको जन्म नहुन्जेल,

 

त्यही

वयस्क रातको आडभरोसामा

हाप्सीला,

स्याल,

र ब्वाँसाहरु

निरीह प्राणीहरुको

निर्मम हत्या गरेर

आफ्नो पेट भर्दै

राम राज्य,

मोजमस्ती गरिरहेका हुन्छन्

पूर्वको क्षितिज नउघ्रुन्जेल,

मिर्मिरे नहुन्जेल,

बिहान नहुन्जेल,

सूर्य नउदाउन्जेल ।