नेपालमा अशान्ति भा छ रे

Author : लक्ष्मी राना
Published on : October 18, 2008


  
लक्ष्मी राना

 

आमा हाम्रो देशमा शान्ति थियो
अहिले अशान्ति भा छ रे
म खेल्ने बगैचामा मान्छेहरु ढल्छन रे
दाउरा घाँस गर्ने जङ्गलमा बम भेटिन्छन् रे
निर्दोष मान्छेहरु मर्छन रे,
 
लाली गुराँस फुल्ने डाँडा पाखामा
रगतको भेल बग्छ रे
बा बा हाम्रो नेपालमा शन्ति छैन रे
पल्लो घरको ठुलदाईले आफ्नै सानो भाई ढालेछ रे
म यो के सुन्दैछु बा बा
शान्तिदेश नेपाल आशान्ति भा छ रे,
 
बुढी आमै, सानी भाउजु रुँदा रुँदै बेहोस भा छन् रे
रुदा रुदै आँसु पनि सुकि सक्यो रे
सानासाना नानीहरु बा बा सोध्छन रे
कहिले बा बा आउनु हुन्छ भनी बाटो कुर्छन रे
जो कोही देखे पनि बाबा आउनु भयो भन्दै र्हेन्छन् रे
अंकल मेरो बाबा खोई भन्दै रुन्छन् रे
आमा हाम्रो नेपालमा शान्ति छैन रे,
 
यही पिरले ठुल्दाई पागल भाछन् रे
कहिले हाँस्ने कहिले रुने गर्दै हिँडछन् रे
अब त लास बोक्ने मलामी पनि नपुग्ने भा छ रे
धेरै नेपाली चेलीको सिउँदो खाली भा छ रे
हाम्रो देश नेपाल शान्ति देश भन्नु पनि लाज मर्दो भा छ रे
विदेशीहरूले पनि आतंक देश भन्न लाछन् रे,
 
बन जंगल जहाँ त्यही रगतको खोला बग्छन् रे
हाम्रो शान्ति देश नेपालमा धेरै धेरै अशान्ति भा छ रे
हाम्रो देश नेपाल अशान्ति भा छ रे ।