अल्मलिरहेको आइकोनोग्राफी

Author : हाङयुग अज्ञात
Published on : June 02, 2009


  
हाङयुग अज्ञात
Author

यहाँका पार्क, बस र रेलका डब्बाहरू

आलिङ्गन, चुम्बन अनेकओलि प्रेमका उच्छबासहरू

भूमण्डलीकरणको छालले पातलिएको

आफ्नै सास्कृतिको पन्यालो छायाँ आजसम्म ओढेकोले हुनसक्छ

तिमीले स्वभाविक मान्ने यी धेरै कुराहरू

मेरा लागि स्वभाविक भएका छैनन् ।

                                    -गणेश इजम

 

यतिबेला विश्वमा साहित्य, सङ्गीत र कलाले अनुकरण गरिरहेको समय-बिम्बहरूमध्ये एक उत्तरआधुनिकता-दोश्रो विश्वयुद्घदेखि आजको समयले मानवीय सोच र भोगाइहरूमा पारेको प्रभाव कम महत्वपूर्ण छैन । बीसौं शताब्दीमा मानव-नश्लले विध्वंस मात्र गरेन अनेक यन्त्रहरूको निर्माण पनि गर्यो जसले जीवनलाई पहिलेको भन्दा सहज बनायो । हवाइजहाजको निर्माणले मान्छेहरू यौटा देशबाट अर्को देश जान लागे । डुङ्गाबाट दास-बेपार गरेर (अफ्रिकन) मान्छेहरूलाई युरोप लगिएको भने पन्ध्रौं शताब्दीतिरै हो । बीसौं शताब्दीमै कम्प्युटर आम मान्छेबीच आइपुग्यो । यातायात र सूचना-सञ्चारको अद्भूत विकासले मानव सास्कृति र सभ्यतामा नयाँ आयाम देखिन थाल्यो । यो क्रम यसबेलासम्म निरन्तर चलिरहेको छ । यहाँनेर मैले बीसौं शताब्दी र उत्तरआधुनिकताको विषयमा लेख्न खोजेको नभएर यस्सै बगैंचा डट् कममा प्रकाशित कवि गणेश इजमको कविता 'मेरी छोरी, मेरा कथा र चित्रहरू'मा अभिव्यक्त साँस्कृतिक विचलन/विलयनलाई बुझ्ने प्रयत्न भने गर्न खोजेको हुँ । थोरै लेखेर पनि धेरै लेख्ने कविहरू थोरै छन् र यी थोरैहरूमध्ये यौटा थोरै कवि गणेश इजम पनि हुन् । यहाँ उनको कविताको प्राध्यापकीय अध्ययनभन्दा पनि धेरै म सैद्घान्तिक अनुगमन गर्न चाहन्छु ।

 

भूमण्डलीकरणले साँस्कृतिक अतिक्रमण गरिरहेको मूलभूत सर्तमा कविता बुन्दैबुन्दै उनले फेरि तिहाँभित्र अनेकओलि उपसर्तहरू पनि तेस्र्याएका छन् । भूमण्डलीकरणमा यातायात र सूचना-सञ्चारको भूमिका उल्लेख्य हुन्छ । यातायात र सूचना-सञ्चार बन्द गर्नुहोस् भूमण्डलीकरण बन्द हुन्छ । विश्व बन्द गर्न सकिएला ? नेपालमा यस्ता बन्दहरू स्वाभाविक लाग्दै गइरहेका छन् । बन्दको दार्शनिकता भनेको आफैमा मात्र हुनु । कवि इजम संवाद(सोक्पा)को पक्षमा उभिएका छन् । तेसो र साँस्कृतिक आदानप्रदान या पारस्परिक साँस्कृतिक सम्मानमा उनले आफ्नो मत जाहेर गर्छन् । कवितामा प्रयोग गरिएका मिथक तथा प्रतीकहरू आधारभूत रूपले दुई प्रकारका छन्- नेपाली मिथक/प्रतीक र पाश्चात्य मिथक/प्रतीक । मिथकहरूलाई योभन्दा उता खोतल्न चाहन्न किनभने कवि स्वयम्ले कविताको अन्त्यमा मिथक तथा प्रतीकहरूको विषयमा जानकारी गराएका छन् । जब कुनै लेखककविले यो विधि अपनाउँछ भने हामीले बुझ्नु पर्ने भनेको मिथक तथा प्रतीकको प्रयोजन साहित्य या काव्यमा कसरी भएको छ भन्ने नै हो । मिथक तथा प्रतीकको अध्ययन गर्ने शास्त्र अर्कै छ । साहित्यशास्त्रले प्रयोजन अथवा सिग्निफाइड मात्रै हेर्दछ । सिग्निफायरको रूपमा जस्तो इजमले प्रयोग गरेको 'कानायङ'को अर्थ कविले कविताको फेदमा दिएभन्दा अर्को बुझ्नतिर लागें भने कविताको मृत्यु हुन्छ । तेसो र पनि मैले कविताका प्रयोग गरिएका प्रतेक मिथक तथा प्रतीकहरूको अध्ययनलाई महत्व नदिएर खालि तेसको प्रयोजन या मर्मलाई मात्रै स्वीकृत गरें ।

 

हङकङमा लेखिएको कविता, कवि हङकङमा बस्छन् । नेपालको लिम्बुवान ताप्लेजुङमा जन्मे, धरानमा हुर्के, धनकुटा पुगे, काठमाण्डौं घुमे । नेपाल छोडेको एक दशक पुगिसक्यो । यतिबेला कवि विश्वकै अत्यन्तै व्यस्त र व्यापारिक सहर हङकङमा बस्छन् । यहीँबाटै जापान पुगे, थाइलैण्ड पुगे, मलेसिया पुगे, अष्ट्रेलिया पुगे, अमेरिका पुगे, बेलायत पुगे । यसबीच विभिन्न सास्कृति, भाषा, संस्कार, स्वभाव र सभ्यताहरूसित कविको जम्काभेट हुन्छ । यो कवितालाई बुझ्दा यसरी बुझ्नुपर्ने रैछ । तेसरी बुझिएन भने संवेदना शून्य हुँदोरहेछ । हङकङमा हाम्रा छोराछोरीहरू 'पोस्ट-सबकल्चर'मा हुर्किरहेका छन् । उनीहरूले नेपाल देखेका छन् तर स्पर्श गरेका छैनन् । कवि जहाँजहाँ पुगे तिहाँ उनको कविता-पात्र अथवा छोरी पुगेकी छैनन् । आफूले बाल्यकालमा सुनेका नेपाली बालकथाहरू छोरीलाई सुनाउने इच्छा हुँदाहुँदै पनि समय नभएर हो अथवा यहाँका पाठशालामा पढाइने अङ्ग्रेजी कथाहरू नै पर्याप्त भएर हो कविले प्रबासी नेपालीहरूको 'सेन्टिमेन्टालिटी'लाई समात्दै कवितामा 'कटक्क खाएको छ' 'चसक्क दुखेको छ' लेख्छन् । साहित्य, सङ्गीत र कलामा यस्तो कारूणिकताले विशेष महत्व राख्दछ । यस्तो कारूणिकतालाई निराशावाद बुझेर संवेदनहीन हुनु वाङ्मयको गहिराइ नबुझ्नु हो । भूमण्डलीकरणले 'उत्तर-उपसास्कृतिवाद'को निर्माण गरेको छ । कवि गणेश इजमको नयाँ कविता यही सैद्घान्तिक मान्यतामा अघि बढेको देखिन्छ ।

 

हङकङमा होस् या बेलायतमा हामी अर्कै भूगोल र सास्कृतिबाट हुर्केर गएकाहरूलाई नयाँ भूगोल र सास्कृतिमा घुलमिल हुन समय लाग्छ । घुलमिल भएता पनि पुरै कसैको सास्कृति बहन गर्न सकिदैना । हामी अङ्ग्रेजी भाषा बोलौंला, क्रिश्चियन पनि बनौंला, स्यान्डविच र बर्गरहरू खाओला, टाइसुट लौंला तर हाम्रो रगतमा भएको आनुवंशिकताले हामीलाई नेपाली नै भन्दछ, हामी अङ्ग्रेज बन्न सक्दैनौं, न अङ्ग्रेज नै नेपाली या चाइनिज बन्न सक्छ । तर, साँस्कृतिक आदानप्रदान या संवाद हुनसक्दछ । विभिन्न सास्कृतिहरूको जम्काभेटले यौटा भिन्दै सास्कृतिको जन्म हुने गर्दछ । सायद कवि इजमले इङ्गीत गर्न खोजेको सत्य यो हुनसक्छ । पुरै नेपाल बिर्सेका छैनौं, पुरै हङकङ आत्मसात् गरेका छैनौं । हामी आधिआधिमा छौं । तर, हामो तेस्रो पुस्ताले झन्डैझन्डै हङकङ आत्मसात् गरिसकेको कुरा कवितामा पाइन्छ । यहाँ प्रमुख कुरा भनेको के भने हाम्रो तेस्रो पुस्ताले हङकङ आत्मसात् गर्दा कसरी गरिरहेका छन् ? केही उत्तर इजमको कविताबाट पाइन्छ । हामीले देख्ने सपना र हाम्रो छोराछोरीले देख्ने सपना भिन्न छन्, तेसो र यतिबेलाको प्रबासी नेपालीहरूको जीवनमा क्रमभङ्ता भएको छ । पुस्तापुस्ता सर्दै जाने मिथक-मिमांशाको क्रम हङकङ आएपछि भत्किएको छ, बेलायत गएपछि भत्किएको छ । हाम्रा कथाहरू नसुन्ने भएका छन् हाम्रा नानीहरू । 'हिपहप सास्कृति'ले हामीभन्दा धूर्त भएका छन् हाम्रा नानीहरू । अस्ति भर्खरै जापानमा  हङकङका पप गायिका(फिलिपिनो बुबा र चाइनिजकोरियन आमाकी छोरी)लाई मेरिजुनाको केसमा प्रशासनले समात्यो । हङकङमा उसको बुबाले प्रेस-सम्मेलन गरेर आम श्रोताहरूसित 'मैले मेरी छोरीलाई राम्रोसित हुर्काउन सकिनँ' भनेर माफी माग्यो । उखान दोहोर्याउनु मूर्खता हो तापनि यौटा नेपाली उखान छ- बाउआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि । पुस्तान्तर तेसो र उहिलेदेखिकै स्थिति रहेछ । अहिले चाहिँ तेसको आयाम मात्रै बढेको रहेछ । यो छोटो आलेखमा धेरै कुराहरू छुटेका छन् । व्याख्या गर्नुपर्ने कुराहरूको व्याख्या गरिएन । किनभने.....,

 

यो सहररूपी क्यानभासमा

चित्रकारको गुजुल्टिएका स्ट्रोकहरूजस्तै

आफ्नै अस्तित्वको रङ्ग पोखिएर

नयाँ  एब्सट्रयाक आर्ट बन्न खोजेको छ मेरो उपस्थिति

र अल्मलिरहेको छ मेरो आइकोनोग्राफी ।

                                     - गणेश इजम