कवि प्रकाश छाङ्छा र उनको 'पुल तरे पछि हराएको मान्छे

Author : अशोक राई
Published on : May 24, 2009


  
अशोक राई

प्रकाश छाङ्छा हङकङका पाका कवि हुन् । उनी मिलनसार, हँसिला र ससिला छन् । जीवनका तिक्तताहरुलाई उनले साहित्यमा कतैपनि पोखेको पाइन्दैन । न त जीवन प्रति उनी कहिले निरास नै देखिन्छन् । पिउने कुरामा कवि हरिभक्त कटुवालको याद दिलाउने कवि छाङ्छा साहित्यमा भने उनी जस्तो निरासावादी छैनन् । बरु आफ्ना सृजनाहरुमा उनले देशको माया व्यक्त गरेका छन् । जीवन र जगतका यथार्थहरु उजागर गरेका छन् । राजनैतिक वेथितीलाई व्यंग्य गरेका छन् । जहाँपुगे पनि कविता सुनाउन पछि नहट्ने र कविता भने पछि मरिहत्ते गर्ने बानी छ कवि छाङ्छाको । मीठा स्वरका पनि धनी कवि जुनसुकै गित गाएर साथीभाइलाई रमाइलो गराउाछन् । संसारका तीस भन्दा ज्यादा मुलुक घुमेका लाहुरे कवि छाङ्छा उतिकै रोमान्टिक पनि छन् । उनी आफ्नो लाहुरे जीवनको विगतप्रति न दुःखी छन् न खुसी छन् ।

 

यतिखेर कवि प्रकाश छाङ्छाको हङकङबाट प्रकाशित कविता कृति 'पुल तरेपछि हराएको मान्छे' भित्र घुमफिर गर्दैछु । कतै हराएको मान्छे फेला पो पर्छ की भनेर सोँच्दैछु । कवि छाङ्छा स्वयं आज पुल तरेपछि हराएका मान्छे जस्तै देशभन्दा इतर भूगोलमा गुमनाम झैं छन् । तर उनको कविताले भन्न खोजेको 'हराएको मान्छे भन्नु देशको वेथितीले हराउने मान्छेको कुरा हो । तत्कालिन देशको द्वन्दले र अद्यापी देशमा विध्यमान  वाध्यात्मक नियतीहरुले पुलहरु भत्किए, मानवीय समवेदना भत्कियो, परिवार, समाज र देश भत्कियो । पुल त एउटा विम्ब हो । विस्थापितहरु सबै पुल भत्किनुको नियतिमा कता कता पुगे र हराए । र पुल तरेका कतिपय मान्छेसमेत गुमनाम भए र बेखबर भए । तिनै मान्छेको खोजी गरेकाछन् कविले ।

 

भर्खर भर्खर निमोठा भएको

साँघु तरेपछि अल्मलिएको

एउटा राहगिर सरह

फगत बटूवा

यो भूमी

हिजै मात्र तरेको पुल

सायद आज विध्वंसिएको छ ।

(पुल तरेपछि हराएको मान्छे )

 

गोर्खाली लाहुरेहरुले विश्व विजय गरे । संसारलाई छक्क पारे तर आफू भने साधै पराजित भए आफैदेखि । पहिलो र दोश्रो विश्वयुद्धमा मात्रै पनि करिब पैंतालीस हजार ज्यादा गोर्खाली सेनाले साहदात प्राप्त गरे । तर कुनै समय भिक्टोरिया क्रस पाउने तुल बहादुर पुन जस्ता योद्धालाई उपचारको लागि समेत भिसा दिन मानेन ब्रिटिश सरकारले । गोर्खालीहरुले रगत दिए उस्को साम्राज्य विस्तारका लागि, बलिदान गरे आफूलाई तर पाएनन् केही पनि । अन्ततः फ्याँकिए मात्र रछ्यानमा फोहोर फ्याँकिए सरी । सायद त्यसैले कवि आफ्नो कवितामा आफैलाई यसरी चित्रण गर्छन् ।

 

विश्वयुद्ध विजयी

बहादुर गोर्खाली

तर आफैसाग हारेको

पराजीत अनुहार ।

(पराजीत)

 

झण्डै चार दशक देखि काब्य खेती गर्दै आएका कवि प्रकाश छाङ्छाका यस भन्दा अघि पनि पाँच कृतिहरु बाहिर आइसकेका छन् । हुन त लाहुरे पृष्ठभूमीबाट आएका कविहरुमा रामकृष्ण बान्तावा, गणेश राई, टंक वनेम, विश्वदिप तिगेला लगायत अन्य श्रष्टाहरुले लेखेरै नाम कमाई रहेका छन् । अरुपनि होलान् मेरो जानकारीमा नआएका लाहुरे साहित्यकारहरु । तर प्रकाश छाङ्छा नामको पछि नलागी लेखिरहने कवि हुन् । कवि छाङ्छाका कविता संग्रहहरु युगबोधमा झुण्डीएका आभाषहरु २०३२ मा, पराजित अनुहारहरु २०३५मा, १९ वर्षे युद्ध २०३६मा, भग्नावषेश मायाका छालहरु २०४५मा, अभिव्यक्ति केही आवाज २०४७ र १७ वर्षपछि यो कृति  पुल तरेपछि हराएको मान्छे २०६४ मा प्रकाशित भएकोछ । अझै कविता, गीत र मुक्तक संग्रहहरु प्रकाशोन्मुख लाइनमा छन् । हुन त कवि  छाङ्छा आफ्ना समकालीन कवि तथा साहित्यकारहरुमा चर्चित र परिचित नै छन् । तथापी यति धेरै कृतिहरुका धनी कवि आज हङकङको दुनीयामा बेखबर बाँचीरहेका छन् । उनकै कविता जस्तो ।

 

हामी विस्थापित मान्छे

विस्थापित हाम्रो संघर्ष

भोकाएका आत्माहरु

अँध्यारोमा बाँच्ने रुखो कथा भएर

(हामी विस्थापित एउटा जीवनशैलीबाट)

 

लाहुरे कविहरु गणेश राई र प्रकाश छाङ्छाले संभवत एकैसाथ फोकल्याण्डको युद्ध लडे । आफ्नो ज्यान जोगाउादै अर्जेन्टिनी सैनीकहरुलाई हायलकायल बनाए । गणेश राईले लाहुरे जीवनमा भोगेका यथार्थहरुलाई साहित्यमा पस्किए र उनको शैली र विषय समवेदनाले धेरै पाठकको मन पनि छोयो । यता प्रकाश छाङ्छा भने आफूले भोगेका ती क्षणहरु प्रति एक प्रकारले उदासीन छन् साहित्यमा । उनी त देशको बेथिती र जीवन र जगतका अन्य अवयवहरुलाई केलाउनमै मज्जा लिइरहेका छन् । कवि आफ्नो कविता मेरो आजको रहर र मौन हड्तालमा यसो भन्छन् -

 

आज मलाई भाङ्ग पिएर

एकोहोरो रोइरहने इच्छा छ

साँच्चै आज मलाई

यी बाँई लगाइएका हातहरु देखेर

रोइदिन मन लागेको छ ।

(मेरो आजको रहर)

 

 

एउटा अस्थी रुागेर शायद

भोलि रुख फूल्ने छ

सन्त्रास ब्याउने एउटा देश जस्तो

(मौन हड्ताल)

 

आखिर मानिस जीवनमा अनुभुती नीरपेक्ष भएर बाँच्न सक्दैन । आफूसँगै मानिसहरु दुःखको खण्डहर बाँचीरहेका हुन्छन् । समस्याको पहाड र तृष्णाको सागर बाँचीरहेका हुन्छन् । अनिगिन्ति रहरहरु समयको छालले बगाइ लान्छ । समयले मस्तिष्कमा केवल पदचिन्ह छोडीदिन्छ ।

...............

रातहरु म पछि थिए

म अघि अघि

जिन्दगीलाई हत्केलाभरि लिएर

(रहरहरु बगाएको रात सूर्योदयका पदचिन्हहरु)

 

कृति प्रकाशनको सत्र वर्षे ग्यापलाई हेर्दा र पुल तरेपछि हराएको मान्छे नामको कृतिलाई हेर्दा सांकेतिक रुपले आफैलाई कविले उक्त मान्छेको रुपमा हेरेको हो की झैं पनि लाग्छ । अथवा यो एउटा संयोगमात्र । देश छोड्नु र छोड्नु पर्ने वाध्यताले गैर् भूगोलमा परिचयविहीन हुनु पनि नियति नै हो । कवि स्वयं एउटा दृष्टान्त भएकाछन् भूमी पलायनको । यस्तै र यिनै वर्तमान प्रति वितृष्णा पोख्दै भोलिको खंग्रास भविष्यलाई अन्दाज लगाउाछन् कवि विज्ञापन शिर्षकको कवितामा ।

 

यस्तै एउटा अर्ध अस्तित्व लिएर

यस्तै अर्ध घोषणा म गर्दैछु

आऊ ! यहाँ उम्मेद्धार भएर उभ

मेरा बाचा बन्धनहरुलाई

भोग बन्धक राख्नको निम्ति

किनकी मेरो बर्तमान फाटिसकेको छ

किनकी मेरो भविष्यमा ग्रहण लाग्ने भएको छ ।

(बिज्ञापन)

 

व्यक्तिगत आचरणलाई हेर्दापनि कवि छाङ्छा सादा मानिस छन् । सस्तो नामको लागि गुट् बनाउँदै हिँड्ने र आस्था बेँच्ने काम उनीबाट होला भन्न सकिन्न । कथित सांसरीक बडप्पन् र मान सम्मान प्रति उदासिन छन् कवि । कविलाई ठूलो हुनुसँग सरोकार छैन । नाम कमाएर अमर हुनु छैन । चौबाटोमा सालिक हुनुको रहर छैन । स्मारिकामा स्मरणीय हुनु छैन । आफू जे छु जे थिएँ त्यहि रहनुमै उनलाई मज्जा छ । खोक्रो मान सम्मान प्रति व्यंग्य गर्दै कवि लेख्छन् ।

 

मलाई चौताराहरु देखि खुल्ला गरिदेऊ

स्मारिकाहरुदेखि गलहत्याइदेऊ

सुन्नेहरुले बुझ्नेछन्

एउटा समयमा मेरो संसार थियो

संसारको एउटा म थिाए ।

(मेरो फोटो नराख्नु, मेरो सालीक नराख्नु)

 

नेपालको राजनैतीक क्रान्तिहरुमा लेखक साहित्यकारको उत्तिकै भूमिका रहि आएकोछ । २०६२/६३को जन आन्दोलनताका सडक र समारोहहरुमा सुनाइएको कवि श्रवण मुकारुङ्गको बिषे नगर्चीको बयान कविता मात्रै पनि राजतन्त्र ढल्नुमा ठूलो दृष्टान्त थियो । लेखक साहित्यकारको कलमको शक्तिलाई कदापी नजर अन्दाज गर्न सकिन्न । २०३६ सालको राजनैतीक क्रान्तिताका छाङ्छा लगायतका कविहरुको कविता क्रान्ति जमातको अभियानमा सुनाइएको सडक कविता पनि यस संग्रहमा समावेश गरिएकोछ । यसमा भएका शब्दहरु क्रान्तिचेतले ��"तप्रोत छन् र विद्रोही छन् । तत्कालीन पञ्चायती शासनको दमनको विरुद्धमा जनताका असन्तुष्टीलाई कविले आफ्नो कवितामा यसरी व्यक्त गरेका छन् ।

 

मूर्दा शान्ति

बाफिएको बिरोध

निस्सासिएको असन्तुष्टि लिएर

बाँचेको एउटा इतिहास सागसागै

दौडिएको यो सडक

आज कहालिएको छ

दमनको इतिहासलाई भत्काउन

(सडक-एक अभिब्यक्ति)

 

 

अन्ततः पञ्चायत त ढल्यो । तथापी त्यसको अवशेष भने बाँकी रहयो । कालान्तरमा राजतन्त्रले फेरी टाउको मात्र उठाएन एक्काइसौं शताब्दीमा जनतामाथि त्यसले आफ्नो वर्चश्व लाद्न खोज्यो । राजतन्त्रको उल्टो बुद्धी आफ्नो उन्नतीमा प्रत्यूत्पादक बन्यो । र त्यो कहिले नउठ्नेगरि थला बस्यो । जुन कुरा व्यंग्यात्मक शैलीले कवितामा कविले पोखे ।

 

हे मानुस !

नखानु पर्ने थियो, पाएजति सबै हसुर्यौ

पचेन पेटमा तिम्रो आखिर सबै ��"कल्यौ

नमच्चिनु थियो तिमी साह्रै मच्चियौ

आखिर बजारियौ नउठ्ने गरि थच्चियौ

(अन्तिम साशक)

 

जेहोस कवि छाङ्छाले नेपाली बांङमयलाई देश विदेशमा रहेर दिएको योगदान कम महत्वपूर्ण छैन । भलै वहाँको योगदानलाई कसैले कदर नगरेको होस् । वहाँ पहुाचे कवि जहाँ ना पहुाचे रवि भने झैं छाङ्छा भावनात्मक एवं भौतिक रुपले पनि संसार पुगेका छन् । तर जहाँ पुगे पनि उनी देशको निस्वार्थ माया गर्छन् । देश कै बारेमा सोँचिरहेका हुन्छन् । अन्तमा वरिष्ठ कवि छाङ्छालाई मेरो सादर सलाम ।