हे आमा

Author : प्रकाश रोदुङ
Published on : May 22, 2009


  
प्रकाश रोदुङ

दिनुसम्म दिएर पीडा
भ्रुणदेखि नै गरेर अत्याचार
चुसेर लाम्टा
पारेर स्याफ्रो तिम्रो जवानी
भरेँ मेरो अंगअंग
भएर म तरुण
तिम्रो सपना पुरा गर्नु त
कता हो कता बिर्षेर तिम्रो जन्मदिन
यो स्वार्थी संसारको
म एक असली पात्र
हे आमा, स्वीकारीदेउ
आज तिम्रो मृत्यु तिथिमा
खाली हातको श्रद्धाञ्जली

फूल चढाएर म
तिम्रो शोकमा उपस्थित हुन सकिनँ
किनकि हिजोआज
मानवहत्या बाहेकलाई यहाँ हिंसा भनिन्छ
फूलको अधिकार खोजिन्छ
त्यो फूलको पनि प्राण हुन्छरे
विज्ञान यसै भन्छ
तेसैले निर्जिब आत्मालाई
सजिब आत्माको
कसरी चढाउ बलि
तिमी पुरिएको खोरिया
रणभूमि भएको बेला
धेरै आमाहरुको काख रित्तिएकोछ
कयौँ चेलिहरुको सिउँदो पुछिएकोछ
जित्नेहरु पनि हारेकाछन्
हार्नेहरु सिध्धिएका छन्
तिम्रो फिर्तीपछि यहाँ धेरै
परिवर्तन भै सकेकोछ
तर तिमी जस्ती ममतामयी
आमाहरुको संख्या रित्तिदो छ
आधुनिक आमाहरु नाङ्गीनुलाई सभ्य मान्दै
सन्तानहरुलाई स्तन चुसाउनु छाडेकाछन्
तर्क छ, उनीहरुलाई कुरुप हुनु छैनरे
विचार सून्य म हुँ कि यिनीहरु
म अन्यौलमा परेको छु
तिमीले स्तन चुसा‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍एर
जवान बनायौ
तर भएनौ कहिलै कुरुप
सुन चम्काउन आरणमा हाल्न डराउनेहरुको हुद्दामा
अब तिमी जस्ती आमाहरु
किम्बदन्तिको पात्र हुनेछौ
हे मेरी ममतामयी प्रेरणाकी खानी
तिम्रो मृत्यु शोकमा
मनभित्रको दुई थोपा
मोतीका दाना सिवाए
अरु दिन सकिनँ
तिमी जहाँ, जसरी रहे पनि
तिम्रो आत्माले शान्ती पा��"स
यो स्वार्थी मर्त्य लोकको
कुनै पीर नगर्नु
हामी यहाँका पात्रहरु अभिनयमा
खप्पिस भइसकेका छौँ
खप्पिस भइसकेका छौँ

(जेष्ठ ९ गते मेरी आमाको चोला उठेको दिन हो उहालाई शब्दसुमन)