पापी समय र निष्ठूरी मायालु

Author : केदार श्रेष्ठ
Published on : May 14, 2009


  
केदार श्रेष्ठ

समयको चक्र घुम्दै जाँदा मानवीय जीवन जिउने क्रममा कति दिन हाँसेर, कति दिन रोएर बिताइयो होला, त्यसको कुनै लेखाजोखा छैन ।जुवाडेको हिसाबकिताबजस्तै । बालापनको सखीहरू एकादेशको राजकुमारजस्तै भइसक्यो । को कहाँ के गर्दैछन् ? कस्ता भए ? अत्तोपत्तो छैन । म सम्झन्थेँ समयलाई मान्छेले पछि लगाउनु पर्छ न कि मान्छेलाई समयले । तर, मैले सोंचेजस्तो हुँदोरहेनछ । समय मान्छेको माउते नै रहेछ । करै लाग्दो रहेछ समयको बन्धनभित्र बाधिनको लागि मान्छेले ।

खाना खाइसकेपछि टी.भी. हेरिरहेको छु । आज दिशानिर्देश आउने दिन, त्यसैको प्रतीक्षामा छु । प्रायः दिशानिर्देश म कहिल्यै छुटाउँदिन किनकि म विजयकुमार पाण्डेको फ्यान हुँ । म उनको प्रश्न सोध्ने शैलीबाट अति प्रभावित छु । त्यतिमात्र नभएर यो कार्यक्रम ज्ञानवर्द्धक पनि छ । टी.भी. मा कार्यक्रम सुरु भयो । आजको पाहुना को रहेछ भनि नियालिरहेको थिएँ । तर, आजको पाहुना व्यक्ति नभएर देश रहेछ । कर्णालीमा मोटर पुगेको अवसरमा जुम्लाको यथार्थ देखाइएको रहेछ । साँच्चै नै त्यँहाका मान्छे कति खुसी भएका मोटर गाडि देख्दा, कति अन्जान देखिन्थे मोटर गाडि चल्दा । अलि बाठो देखिने वालक विजयकुमारसँग कुरा गर्न कहिले आइपुग्थ्यो त कहिले अलि माथि डाँडामा गएर जुम्लामा गाडि आयो भन्दै कुर्लन्थ्यो । लाग्थ्यो, उसको बालाजीवनको पहिलो आत्मैदेखि नै खुसी भएको क्षण हो यो । कार्यक्रम विश्लेषण गर्ने क्रममा विजयकुमार पनि कहिले प्रफुल्ल मुद्रामा देखिन्थे त कहिले भावुक र गम्भिर मुद्रामा देखिन्थे । उनले सयौ भाग दिशानिर्देश चलाए होलान्, अरु भागले के कस्तो असर पार्यो मान्छेलाई त्यो त थाहा छैन मलाई तर यो भागले भने एउटै मुलुकमा दुई देश रहेछ भन्ने संकेतमात्र नभएर शासकवर्ग सत्ता र सुविधामा मात्र झुम्मिदा रहेछन् र देशको अवस्थासँग अनभिज्ञ हुँदारहेछन् भन्ने कुराचाहिँ उजागर गर्न सफल भए उनी । म उनीप्रति ऋणि छु । घरमै बसी-बसी जुम्लाको बारेमा धेरथोर जान्ने मौका पाएकोमा । साह्रै मार्मिक थियो यो भाग ।

       कार्यक्रम सकियो । पल्टेको छु ओछ्यानमा । नानाथरिका कुराहरू खेलिरहन्छ मनमा । घरिघरि आइरहन्छ मानसपटलमा सिनेमाको दृश्यजस्तै कोही खुसीले, कोही डरले ती अवोध बालबालिकाहरू गाडि देख्दा कराएका र भागेका क्षणहरू । झन विजयकुमारलाई कति यादले सताउादो हो कार्यक्रम सुटिङ्ग गर्न जाँदा देखेको समाजको वास्तविक परिदृश्य, जुम्लाको परिवेश र भू-वनोटले । जसरी म आफ्नो जीवनको एक मोडमा भएको क्षणलाई कहिल्यै भुल्न सक्दिन । त्यो क्षण यसरी सुरु भएको थियो-

       पारिवारिक अवस्था अलि कमजोर भएकोले एसएलसी पछि पढ्न सकेको थिइनँ । गाउँमै प्लस टु खुलेपछि पढ्न सुरु गरेको थिएँ । कक्षा सुरु भएको एक महिना पछि एउटी गोरी केटी हाम्रो कक्षामा पढ्न आउन थालिन् । ऊ साह्रै हिस्सी परेकी थिई । ऊ बोल्न नडराउने र नलजाउने वहिर्मुखी स्वभावको रहेछ । उनि आएकै दिन मलाई सोधी-हाम्रो ऐच्छिक विषय कुन हो ?

       मेरो छुच्चो मुख उघ्रिहाल्यो नेपाली भन्दै उसतिर प्रश्न तेर्स्याउछु-वैनीको घर कता पर्यो होला ? मन्द मुस्कानमा भन्छे-साखामाढी।

अनि तपाईंको नि ?

केदार श्रेष्ठ'गगन' भीमस्थान एकै सासमा भनिदिन्छु नाम सहित ।

वैनीको नामचाहिँ ?

सरु

       भर्ना गर्न किन ढिला गरेको त ? जिज्ञासा राख्छु उसको बारेमा । अर्काको ढोका पोत्ने जात भनेर बुबाले नपढाउने भन्नुभयो पहिले मैले रोइ कराइ जिद्धी गरेपछि पढ्न जाउ भन्नुभयो। त्यही भएर.............

       मनमा सोच्छु एक्काइसौं शताब्दीका भएर पनि समयलाई चिन्न सकेका छैनौ हामीले । अझैँ छोराछोरीमा भेदभाव गर्छौ । अझै जनचेतनाको कमी छ हामीमा ।

       हजुरबुबाले जसरी पनि बुबालाई बोलाइदे भनेर कर गर्नु भएको धेरै दिन भइसक्यो । नेताहरूले भाषण गर्दा कोही सिङ्गापुर बनाउँछु भन्छन्, कोही स्वीजरल्याण्ड बनाउँछु भन्छन् नेपाललाई । तर, खै धेरै वर्ष बितिसक्यो हाम्रो ठाउँमा न मोटर देखियो न विजुली झुल्कियो । न टेलिफोनको तार नै झुण्डियो । त्यसैले फोन गर्नको लागि सिन्धुली बजार जानुपर्ने भयो । बिहान उठेर लागेँ फोन गर्न बजारतर्फ साथमा गोपाल पनि छ । ऊ मेरो साह्रै मिल्ने साथी हो ।

       फोन गरेँ बुबालाई ।

       हेलो ! कमल सरलाई पाउन सकिन्छ होला ?

       हजुर म बोल्दैछु । तपाईँ को बोल्नु भएको हो ?

       सायद मलाई चिन्नुभएन होला ।  म केदार बोलेको, सन्चै हुनुहुन्छ बुबा ?

       सन्चै छु । के छ हालखवर घरतिरको ?

       राम्रै छ । बुबा घर आउने हैन ?

       एक महिना पछि आउँला । अहिले पैसासैसा पठाइदिन्छु घरब्यवहार मिलाउदै गर्नु हुन्न र ?

       अहँ हुँदैन पैसाले । दुई वर्ष भइसक्यो अझै घर आउने विचार छैन जसरी भए पनि तपाईँ घर एकपल्ट आउनै पर्छ । ढिपी गर्छु ।

       त्यसो भए तँ पनि काठमाण्डौं आइज न त एकदुई दिनपछि सँगै फिरौँला ।

       काठमाडौं जाने भएँ । त्यसदिन सिन्धुली बजारमै बास बसेँ । अर्को दिन विहानै म काठमाडौं तिर लाग्छु, गोपाल घरतिर लाग्छ ।

       मौकामा चौका हान्नु पर्यो भनेर काठमाण्डौ पुगेको भोलिपल्टै लागेँ भोटाहिटीतिर आफूलाई चाहिएको दुईचारवटा किताब किन्नको लागि । किनकि आफूले खोजेको लेखकको किताब हाम्रोतिर पाइदैन । खाए खा नखाए घिच भने जस्तै हो ।

       वेलुका बुबा अफिसबाट फर्केपछि हजुबुबाले भनेको सबै कुराहरू सुनाउछु । त्यसपछि बुबाले घर जाने निधो गर्नु भयो । म हतारिन्छु । डर छ मलाई पढाई छुट्छ भन्ने । अलिअलि झल्को सरुको पनि । एक हप्ताको काठमाण्डौको बसाइ पछि घरतिर लागियो बुबा, म र फुपूको छोरा जीवनसँगै ।

       घर गएको भोलिपल्टै जान्छु प्लस टु पढ्नको लागि । ऊ हताश मुद्रामा देखिन्थी । मैले ङिच्च दाँत देखाउदै सोधेँ-कति पढाउनु भयो सरहरूले ?

       एकएक टपिक्स अगाडि बढेको छ भन्दै मलाई एउटा खाम दिई ।     

       म झस्किन्छु । के दिई यो । के छ यसमा । थाहा छैन मलाई । हेर्न आतुर छु डरडर लागिरहेको छ । मैले केटीको हातबाट आजसम्म खाम यसरी पाएको थिइन । सायद, त्यही भएर होला धड्कन बढिरहेको ।

       मैले त्यो खाम स्कुलमा खोल्ने आँट गरिन । घरमा गई ढोका बन्द गरेर पढ्न सुरु गरेँ । त्यसमा यस्तो लेखिएको थियो-

       समुद्रभन्दा गहिरो, नदीभन्दा लामो मुटुभरिको माया । कहाँबाट सुरु गरौं मनको बह पोख्नलाई । हजुरको अगाडि मुख खोल्न सकिनँ त्यसैले यो दुई अक्षर लेख्दैछु । केटा मान्छेको जात कस्तो हुँदोरहेछ ? यत्रो दिनसम्म कहाँ जानुभएको थियो ? यहाँ जान्छु पनि छैन त्यहाँ जान्छु पनि भनेको हैन । साह्रै निष्ठूरी हुँदोरहेछ । आफूलाई एकदिन नदेख्दा एक वर्ष नदेखेजस्तो हुन्छ हजुर भने..............

       रातमा निद्रा छैन दिनमा भोक

       बैंसमा लाग्यो हजुर मायाको रोग ।

       खै ! के भएको यस्तो मलाई । आजभोलि यो गीतमा भनेजस्तै हुन्छ । मेरै व्यवहार थाहा पाएर गीतकारले यो गीत लेखेजस्तो लाग्छ । भावनामा हावासँगै बहिरहन्छ मन । पढ्दा पनि किताबका पानाहरूमा तपाईँलाई मात्र देख्छु । म जहाँ भएपनि मेरो मन हजुरसँगै हुन्छ । मलाई हजुर अति मन पर्छ । मेरो मुटुको ढुकढुकीमा हुनुहुन्छ । सायद, तपाईँ नभए मेरो मुटु चल्नै छाड्छ होला ।

       म तपाइँसँग टाढा भएर बस्न सक्दिन । जसरी आकाश र तारा, नदी र पानी, नङ्ग र मासु छुट्टदिैनन् । त्यसरी नै म तपाईँसँगै जीवन बिताउन चाहान्छु, म तपाईको दुःखमा दुःख मिलाएर यो छोटो जीवन व्यतित गर्नलाई तपाईंको जीवनमा बेहुलीको घुम्टो ओढी आउनलाई तयार छु । हजुरको न्यानो अङ्गालोमा बाँधिन आँतुर छु । तपाईको के बिचार छ त्यो थाहा छैन मलाई । तर पनि यो दुःखीलाई घृणा र यो दुःखीको अनुरोधलाई तिरस्कार गर्नुहुन्न भन्ने आशामा छु । तपाईको सुकोमल हातबाट लेखिएको दुई अक्षर मेरो प्रस्ताव स्वीकारसहित आउने प्रतिक्षामा बसिरहेकी छु । ल त अहिलेलाई विदा ।

                                                       उही तपाईकी प्यारी, सरु

       चिठी पढिसकेपछि  प्रथम रजस्वला भएपछि स्नान गरी घाम ताप्दै गर्दा एउटा नवयौवनालाई जस्तै केही पाएजस्तो, केही गुमाएजस्तो, कताकता डर लागेजस्तो, कताकता खुसी भएजस्तो भइरहन्छ । चङ्गासरि हावासँगै उडिरहन्छ मन ।

       केही दिन मनमा गनथन गरी दिमागले शब्द मनथन गर्दै उसको प्रेमप्रस्ताव स्वीकारसहित दुई अक्षर लेखेर दिएँ । उः धेरै खुसी भई । यसैगरी दिनहरू बित्दै गए । यस समयमा हुनेनहुने सबै राम्रा नराम्रा कामहरू भए हामी बीचमा । तड्पाइमा बस्नुपर्दा मात्र रात-दिनहरू लामा र कहाली लाग्दा हुँदा रहेछन् । उसको र मेरो साथमा बितेका यी क्षणहरू दुई बर्ष दुई दिनमै गएजस्तो लाग्यो मलाई । प्लस टु को पढाई सकियो । पढाई राम्रै भएकोले दुबैजना पास भयौ ।

       उसले सिन्धुली बजारमा नै आफू पढ्ने नपढ्ने टुङ्गो नभए पनि मलाई पढ भन्ने योजना बनाएकी रहिछिन् । मेरो हात सुमसुम्याउँदै भन्छिन् ढुङ्ग्रेवास क्याम्पसमा नै पढौँ है ? बेलाबेलामा भेट भइरहन्छ । टाढाको अनुभव हुन पाउँदैन नि, टाढा नजानुस् है ?

       घरको खर्चले प्रइभेट क्याम्पस पढ्न नसक्ने र वीरगञ्जतिर सानोतिनो काम गर्दै सरकारी क्याम्पस पढ्ने योजना गोपाल र मैले बनाएको बताउँछु । गोपाल वीरगञ्जतिरको भुक्तभोगी हो । उसलाई वीरगञ्जतिरको बारेमा सबै थाहा छ । तिमी मेरो लागि र म तिम्रो लागि जन्मेको र स्वच्छ पवित्र माया भए कसैगरी पनि हामी हाम्रै हुन्छौ, धेरै कुरा नखेलाउनू मनमा मेरो बारेमा केही चिन्ता लिनुपर्दैन । पीर चिन्ताले ज्यान खान्छ । यसरी उसलाई शब्द सान्त्वना दिन्छु ।

       मेरो निर्णयले सरु धेरै बेर मेरो काखमा घोप्टो परेर रोइरही । उसको आँखाबाट बगेको आँसुलाई पुछ्दै सम्झाउछु यसरी रोएर हुन्छ त लाटी, आँसुले प्रगतिको बाटो रोक्छ, रुनुहुन्न ।

       सुँक्कसुँक्क गर्दै फेरि भन्छे यता पढ्न नसक्ने भए बरु पढ्नु पर्दैन ।

       म केही बोल्दिन । चुप लागेर उसको अनुहारतिर आएको कपाललाई खेलाएर बसिरहन्छु । म पढ्नलाई छाड्न चाहान्नथेँ । नपढेर मैले धेरै हण्डर, गोत्ता र पीडा भोगिसकेको थिएँ ।

       समय परिस्थितिले नै मान्छेलाई नजिक र टाढा पुर्याउँदोरहेछ । मान्छेले बल गरेर हुन्न रैछ ।

       गोपाल र म लाग्छौ वीरगञ्जतिर । उता लाग्नु भन्दा अघिल्लो दिन सरुलाई भेटेर फर्किने बेलामा गहभरि आँसु पार्दै भनेकी थिई- हाम्रो भेट कहिले हुन्छ ? शंका लागिरहेछ मलाई । यो अन्तिम भेट त हुने होइन ? मेरो विहे गरिदिने कुरा चल्दैछ घरमा ।

       बोल्न खोज्छु । बोली अबरुद्ध हुन्छ । बल्लबल्ल भन्छु एक महिना पछि भेट भइहाल्छ नि, आफैलाई सम्हाली बस जस्तै हुरीबतास आएपनि केही हुने छैन ।

       खै उसले के बुझी टोलाएर हातको औंला पड्काउँदै मुण्टो हल्लाउँछे ।

       यताउति हेर्दै एकपटक छातिमा टास्छु र बिदा हुन्छु । उसले डाँडाले नछेकुन्जेल मलाई हेरिरही । जव ऊ र म देखिन छाड्यौँ तब मेरो मनमा पूणिर्मामा ग्रहण लागेजस्तो भयो ।

       क्याम्पस जाडो विदा भयो । घर फर्के । उसलाई भेट्न मन हतारिरहेको छ । तर कसरी के निहुँ बनाउने हो ढिला भएकोमा सोंचिरहेको छु । जे होला भनेर लाग्छु भेट्नलाई उसको घरतिर । तर, भेट हुन सकेन । उनी त अरु कसैको भइसकिछ । बिजुली चम्केर चट्याङ्ग बज्रेजस्तो भयो । साह्रै रिस उठ्यो । मसँग बिहे गर्छु भन्नलाई जातले छेकेको भए तापनि एक वर्ष बिहे गर्दिन भनेको भए भइहाल्थ्यो होला नि । म उतै जिन्दगी बिताउन गएको हैन आखिर । फेरि सोच्छु मैले उसले भनेको मानेर यतै पढेको भए सायद यो पीडा खप्नु पर्दैन थियो होला । पछुतो लाग्छ उसको कुरा नसुनेकोमा मलाई । मनमा वेदनाको भेल नदी बगेजसरी बगिरह्यो, चैत्रको खडेरीमा आगो दन्केसरि आगो दन्किरह्यो छातिभित्र, रातभरि निद्रै परेन । यताउता पल्टिरहेँ ओछ्यानमा ।

       रातभरिको छटपटाइपछि बिहानीपख एउटा गीति कथा लेख्छु पीडा र पश्चातापले भरिएको र पठाउछु सुरसंगममा ।

       ऊ सधै सुन्थी सुरसंगम । अहिले पनि प्रत्येक बिहिबार राति साढे नौ बजे नवजीवनसाथीसँगै रेडियो कानमा राख्छिन् होला ।

       सरु अहिले अर्कैको भए पनि मेरै भएर नाचिरहन्छिन् आँखाभरि बिर्सु भन्छु झन उर्लिएर आउँछ वेदनाहरू, अधुरै रहे उसले र मैले देखेका सपनाहरू ।

       गल्ती कोबाट भयो ऊबाट वा मबाट थाहा भएन तर धोका भयो पहिलो प्रेममा । पहिलो प्रेम त क्यान्सर नै हुँदोरहेछ बिर्सुँ दुख्छ,

       सम्झुँ दुख्छ

       मृत्युवरण गरुँ

       असफलताको जीत हुन्छ

       खै के गरुँ ? खै के गरुँ ?

       टाउके डाँडाभरि अझै प्रत्येक वसन्तमा रातै गुराँस फुल्ने गर्छ, त्यही फूल चुल्ठोमा सिउरेर गुराँसको फेदमुनि मेरै प्रतिक्षामा बसिरहेकी छिन् कि जस्तो लागिरहन्छ । दौडेर जान्छु, खोज्छु मेरो मायालुलाई तर त्यहाँ हुन्न । त्यहाँ गिज्याएर जान्छ हावाले मलाई । टाढा-टाढा कुनै घरमा मधुर स्वरमा कर्णदाशको यो गीत बजेको सुनिरहन्छु टोलाएर-

       भेटिएर छुट्नुभन्दा नभेटिएकै जाति हुन्थ्यो

हामीबिचको सम्बन्ध यो अझै कति माथि हुन्थ्यो ।

र धन्यवाद दिन्छु पापी समय र निष्ठूरी मायालुलाई ।

 

भीमस्थान-,सिन्धुली

हाल-अनेसास यू...च्याप्टर