अनुहारमा लुकेका चोट, पीडाको गहिराई र काङमाङ नरेशका अभिव्यक्ति

Author : गणेश राई
Published on : May 09, 2009


  
गणेश राई
Author

बनमाराको अतिक्रमण

बहर गोरूको सिगौरी

धूलोपिठो पिसिएको तन्नेरी बुकी

साउनको गिजगिजे हिलोमा खस्नु पर्यो । (बुकी फूल)

प्रतिकात्मक सृजनाले दोहोरो अर्थ बोकेको हुन्छ । यसरी दोहोरो या बहुअर्थी रचना रचिनु रचना कलालाई रचनात्मक बनाउनु हो । कलात्मक बनाउनु हो । जो पठनको दृष्टिमा अरु पठनीय लाग्छ । सृजनालाई कलाद्वारा कुँदिएन भने साहित्य पढ्नुको महत्व हराउने मात्र नभै पठन अपठनीय अर्थात भद्दा लाग्न सक्छ । तेसैले बहूअर्थ लाग्ने कलाकृत सृजना क्लिष्ट जस्तो लागेतापनि तेसको भेद अथवा गुदी भेट्टाएपछि पढ्नुको चोमोलोङ्गमा चढेजस्तो अनुभूत हुन्छ । 'सुझनीमा के छ बुझनीमा छ' भनेको मतलब यही होला-भन्छु । प्रस्तुत कवितामा बनमारालाई जसरी बुझे पनि भयो । बनमारालाई सामान्य अर्थमा बनमारा कै रुपमा बुझ्नु पाठकको स्वतन्त्रताको सम्मानको कुरो हो । अतिक्रमणकारी या पीडकको रुपमा बुझ्नु काव्यिक सशक्तता बुझ्ने अदृष्य यद्यपि प्रखर तेस्रो आँखाको तिक्ष्णता हो । यसर्थ सृजनाको प्रतिकात्मक या नेपथ्यभित्र छिर्दै नछिरी सतहमै रहेर सृजना केलाइयो, बुझियो या हेरियोमात्र भने सृजनाको मुटु छाम्न नसकेको ठहरिन्छ । प्रतेक सृजनाको मुटु छाम्नुको अर्थ सर्जकको मनोभाव पक्रिनु त हो नै । साथै आफ्नै सृजना बुझ्ने क्षमताको गहिराई नाप्नु पनि हो-थप्छु । बहर गोरु, बुकी र हिलोजस्ता अन्य पदावली बहूअर्थि छन् । यिनीहरू एकअर्कासित अन्तर्सम्बन्धित पनि छन् । अन्यौन्याश्रति रहनुको अर्थ अन्तर्सम्बन्धात्मक भेदका कारण सृजनात्मक शक्ति अरु शक्तिशाली बनिनु हो-बोल्छु । बुझेँ-बुकी फूल आजको मान्छे हो । सिमान्तकृत तेही मान्छे । किनारामा फालिएको किनाराकृत वेवारिसे मान्छे । राज्य सत्ताले पाखा लगाएको हिलोमा जाकिएको सोझो मान्छे । कठै ! हिलोमा खसेछ बुकी अस्तित्वहीन ।

म बाटोलाई खाली पाइतालाहरूले टेक्छन्

धार्नीका धार्नी ढाकरका टेकुवाहरूले टेक्छन्

म भएरै मरेका मुर्दाहरू हिँड्छन्

जीवनका फूलहरू फुल्छन्

म बाटो अब कुन बाटो जाने ?     (बाटो १)

यसरी गाउँघरका, पाखाभित्ताका कमेरो र रातोमाटो पोतिएका स्थानिक विम्वहरूलाई टपक्क टिपेर भावनाको जुवामुनी शब्दहरूका जोतारोले कस्दै काव्यिक बाटोमा नारेर हिँडाएका छन् युवा कवि काङ्माङ् नरेशले आफ्ना कवितालाई । अनुहारभित्र लुकाइएका चोटहरूलाई उनी स्वयम् हलि बनी कलमरुपि फालीले उधिन्दै सतहमा ल्याउने कर्ममा लागेका छन् । अदृष्य चोटहरूको पिडा सहदै चुपचाप मौन रहनु भनेको आफै बहर गोरुमा परिणत हुनु हो । तिरस्कृत र बहिस्कृत हुनु हो । आफै बिरानो पारिनु हो आफ्नै घर आागनबाट । युवा काङमाङ नरेशहरू साँस्कृतिक चेतनाले चुहिन लागेको घरको धुरी छाउन जुर्मुराउनुको अर्थ सुम्निामा र पारुहाङ्गहरू अस्तित्वको थानमा साकेवासिली नाचिरहनु हो । चेतनारुपि अस्त्रले सुसज्जित आजको मान्छेलाई हृदयभित्र लागेको चोट ऐनाजस्तो सफा र प्रष्ट अनुहारले छोप्दै गहिरो दुख्नुको अथाह पीडा सहदै बाँच्न अस्वीकार छ । को हाँस्न सक्छ मनभित्र आगोको लप्का सल्किदै र मस्तिष्कमा बगरै बगर हुर्काउदै दशगजा जस्तो समयसीमामा उभिई ।

दुःख कोर्न कापी र कलम नै चाहिन्छ भन्ने छैन । दुःखको बिरही गीत त राइफलले पनि सुन्दर पाराले गाउन सक्छ मन ऐठन लाग्ने गरी । जसरी काङ्माङ् नरेशका राइफल सुम्सुमाउने हातले, युद्ध सोच्ने मस्तिष्कले र पीडा थलिएको भावनाले-अनुहार, हो आफ्नै अनुहारमा खिपिएका दुःख र दर्दका गीत लेखे । मान्छेका अनुहारभित्र छिपेका अदेखा क्रन्दनहरू देखे । आँसुको दहभित्र मानवता डुबिरहेको भेटे । भन्छु-असिम सम्बेदना, अधोर उत्पीडन र साँस्कृतिक चेतना सैन्दर्यको त्रिबेनी हो अनुहारमा लुकाइएका चोटहरू । थप्छु-राइफलले लेखेको कविता आँसुमात्र रुदैन । रगत पनि कुद्छ । रगत कुद्नु भनेको सजिव हुनु हो मान्छे । चलायमान हुनु हो जीवन । गतिरहित जीवन केवल मुर्दाजस्तो मान्छेको हुन्छ । पढौँ

रामबहादुर लिम्बू र च्याङ्थापु पाँचथर

सारावाक बोर्नियोको गर्मीमा हाँसेर त लडेनन् होला

र रोयेर पनि लडेनन् होला

भी.सी. पाएर बाँचेका र युद्ध जितेका गोर्खा साथीहरू

हामीले के का लागि लड्यौं ?

हामीले कसका लागि लड्यौं ?

हामीलाई कसले लड्न पठायो युद्धमा ?   (थलिएको गोर्खाली इतिहास)

 

आदिम नियती दुख्नु मान्छेको तेस्रो चेतना खोलिनु हो । कवि नरेशका तेस्रो आँखाले घरदेश र परदेश मिहिन नियालेका छन् । नश्लका डोव पछ्याएका छन् उनको चेतनाले । सेल्मे टेम्केको बलेसीको काव्यिक हिँडाई बूढोसुब्बा पाथिभरा छिचोल्दै अन्ततः चोमोलुङ्मा उक्लेको भेटिनु कविताको निस्सिम उचाई अझ आकासिनु हो । माटो देश हो । आमा हो । आधार पनि हो मान्छेको अनन्त पहिचानको । माटोप्रेम नभए जरा नभएको रुखजस्तो हुँइदोरहेछ । अनुहारभित्र लुकेको चोटको मर्म छामेपछि बुझिन्छ-धानसँगै ढिकीमा जीवन कुटिरहेका सिंहदरबारले डामेका फुपूहरूका नियती । मौन सहेर चुपचाप धारे हात काट्नु जीवनको मुक्ति होइन । फुपूहरूले सिङ्गो सिंहदरबारनै ढिकीमा घान हाल्ने र भकुराउदै निफन्दै छिन्किदै भुस र बियाँ छुट्याउने हिम्मत साच्नु भनेको उज्यालो दिनको शुभ संकेत हो ।

छातीभित्र माटोको भीमकाय मानचित्र अटाएर पराइभूमिमा नोस्टाल्जिक मुर्छापर्नु आजको डायस्पोरिक मान्छेको नियती हो पूँजिवादी विश्वमा । चोट लुक्न सक्ने अनुहारमा दर्द पनि सँगसँगै अटाएको हुन्छ । चोट लुकाई दुखाई सहदै पनि हाँस्नु अभिनय हैन भोगाईको । नियती हो । विवशता र बाध्यता हो जीवनको ।

चुहिने छानो मक्किएको बार्दली

उधारिएको पेटी पखालिएको लिउन

आफ्नो जीउभरि बोकेर

जिउँदो लासजस्तै बाँचिरहेको छ बूढो घर ।    (बूढो घर)

आशक्ति तेहीप्रति तानिएको छ मनको । तेसैको माया र बिराट चिन्ता छ मनभित्र । आफू हुनु, रहनु र भैरहनुको चिन्ताले ग्रस्त आज मान्छे सप्पैभन्दा ज्यादा पिरोलिएको छ । आइडेण्टिटि अर्थात पहिचानको निम्ति मान्छे सजग बनिनु अस्तित्व तन्किनु हो । कतै इलोक्ट्रोनिक युगले खाइदिने हो कि ? या साइबर जमानाले निल्ने हो कि आफ्नो पहिचान भन्ने पीर मान्छेको थाप्लोमा सवार हुनु मान्छे अरु सम्वेदित बनिनु हो । साँस्कृतिक विम्व, प्रतीक र मिथकले आज कविताको जीवन उठाइनु भनेको तेसैको संकेत हो । यलम्बर, जितेदास्ती, साकेवा, सुम्निमा र पारुहाङ्ग, दार्काबुङ् र लिन्च्याङबुङ् काङ्माङ् र काङ्माङ्हरुबाट आज रचिने रचनाका तत्व हुन् जसले कविताको क्षितिज अरु विस्तृत पारेको छ, बिस्फारित गरेको छ भन्दा फरक नपर्ला नै-आशा गर्छु ।

कस्मेटिक कविता होइनन् नरेशका कविताहरू । जो कृतिमताको लालीपाउडर दलेर जब्बरजस्ती सुन्दर देखिने प्रयत्न गरेको होस् । कोरा कल्पना र अप्रासङ्गिक भावनाको जालोभित्र शब्दहरूको हुर्मत काड्नु र स्तुतीमा रमाउँनु सभ्रान्तीय कविताको परम्परागत चरित्र हो । आम मान्छेको कविता हुन नसक्ने ती प्रबृतिका कविताहरू बिस्तारै अव किनारा लाग्दै छन् र लाग्ने छन् । ती पन्छिने छन् कविताको म्याराथन दौडबाट ।

समग्रमा काङ्माङ् नरेशका अनुहारमा लुकाइएका चोटहरू कविताकृतिभित्र छिरेपछि चोटै चोटले दुखेका कविताका थिलथिलो ज्यान पाइने छन् । उत्पीडन, शोषण र अवहेलनाका दुखाइले खाएको ज्यान पनि भेटिने छ । बिरोध र बिद्रोह बोलिएको पनि सुनिने छ । यद्यपि, ती शालीन छन् । शालीन नहुदाहुन् त ती गालीमात्र हुने थिए । कृतिभित्र उन्मुक्तिका समानान्तर बाटाहरू पनि खनिएका छन् समाधानार्थ । साँस्कृतिक चेतनाको गोरेटो खनिनु कृतिकारको मूल उद्देश्य बुझिन्छ । साथै, सम्झनाको इन्द्रेणीमा टाँगिने डायस्पोरिक मान्छेको नोस्टाल्जिक जीवनको खाँटी रुप समेत हो उनको यो कृति ।

शब्दहरूको अथाह समुद्रबाट आकार, तौल या घनत्वको छनौट गरी उपयुक्त शब्द छान्नु र प्रयोगीय शैलीमा तिनीहरूको आवश्यकीय स्थानबारे अरु ध्यान दिने हो भने राइफल बोकेर गोर्खा ह्याट ढल्काउदै  परेड खेल्न निस्केका सिपाहीका प्लाटुन जति सुन्दर देखिन्छ, त्योभन्दा कम सुन्दर देखिने छैनन् उनका कविताका पंक्ति पनि । प्रतिभा प्रतिष्ठान, वेलायतको पहिलो कृतिको रुपमा प्रकाशित यस कृतिको प्रकाशनले मुलबाटो खन्न सफल होस् जहाँ अरु कृतिका पल्टन राइफल, प्याक र पौच भिरेर सी.एफ.टी दगुर्न सकुन् । बघाई नरेशलाई र ती जम्मै जम्मै स्रस्टाहरूलाई जो युद्धको भुमरीमा पनि कविता फुराउँछन् । भुल्नुको मधुमासमा पनि गुँरास सम्झन्छन् । र, सिर्जनाका विकटतामा पनि सृजनशील भैरहन्छन् ।