म र मेरो कलम

Author : टंक सम्वाहाम्फे
Published on : April 20, 2009


  
टंक सम्वाहाम्फे

डेढ दशक अगाडी विदेशतिर हुर्इकिँदा यी हातहरुले कलम समातेर सिर्जना गर्न पाईएला भन्ने सयमा एक प्रतिशत पनि सोचेको थिईन । सोच्नु पनि कसरी ? परदेशमा पाईला टेकेपछि जे पर्ला सोही टर्ला भन्ने हेतुले हिडिएको हुन्छ । फेरि साहित्य सिर्जना जस्तो गहन कुरा वास्तवमा चानचुने विषय वस्तु अवश्य होइन । त्यसैले कहिले कही आकाशको फल आँखा तरी मर भन्ने उखान सो सरह होला कि जस्तो लाग्थ्यो साहित्य निर्माणका कुरा । किनभने साहित्य जन्माउनको लागि समय,परिस्थिति र त्यस्तै खाले महौलको आश्यकता पर्दछ । केहि कथम यी कुराहरु मिल्न गए पनि मानसिक रुपले तयार हुन सकिएन भने त्यो वालुवाको महल ठड्याउँनु वरावर नै हुन्छ । अर्को कुरा के भने परम्परा, संस्कार, रीतितिथि, भाषा, भेष-भुस्सा र दिनचार्याले पनि लेखनमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले तुरुन्तै कलम समाई हाल्न कठिन नै पर्दछ । आदि इत्यादि कुराहरुसँग घुलमेल हुनुमा नै समय त्यसै खर्चिनु पर्ने हुन्छ । यिनै वास्तविक कारणहरुले गर्दा साहित्य सिर्जनाको आशा गर्नु झन ल्हासाको सुन वरावरी ठहरीन्छ । सिर्जना गर्नको लागि हरेक कुराको चाँजो पाँजो मिल्नु जरुरी हुन्छ अनि मात्र परदेशमा लेख्नुको मेलोमेसो तयार हुदै जाने कुरा हो । यस्तो प्रकारको परिस्थिति व्यहोर्नु हुने लेखकहरुलाई ज्ञान भएकै हुनुपर्दछ लेख्न कति कठिन कार्य हो भनेर । हङकङमा पाईला टेकिन्जेल सम्ममा साहित्य र कलमसँगको मितेरी साइनो झण्डै दन्त्यकथामा परीणत हुन लागेको थियो । तर यहाँ त मैले सोचे भन्दा ठिक विपरीत साहित्यको सागरमा पौडिने थुप्रै कलमकर्मीहरुसँग साक्षातकार हुने मौका पो मिल्यो । सोही परिस्थितिले मेरो लेखन यात्रामा पुन उर्जा थपीएको आभास हुन थाल्यो । त्यसवेला मैले आफैलाई धन्य सम्झे किनकि वथान हराएको प्राणीले धेरै दिनपछि आफ्नो वथान भेटे झै हर्षे गदगद भए । यदि मैले यस प्रकारको माहौल नपाएको भए भर्भराउदो मेरो सिर्जनाको कलम उहिल्यै भाँची सक्थ्यो । तर त्यसो हुन पाएन हङकङको उर्वर साहित्यिक वातावरणले । यहाँ रहनु भएका साहित्यकार मित्रहरुको  हातेमालो र पाठक अनि शुभचिन्तकहरुको हौसलाले देशवाट पलायन भएपनि लेखनवाट पलायन हुन सकिएन । वरु झन जोस भरिएर लेख्ने नयाँ इच्छा जागृत हुन थाल्यो । नेपाली भाषा साहित्य लेखन र वाङमयको सेवामा लागेको पनि थाहै नपाई दुइ दशक पो नाघेछ । अस्ति पुरानो डायरीको पानामा लेखिको मितिलाई नियाल्दा पो थाहा पाए ।  सम्झन्छु वि.सं.२०४३/४५साल महेन्द्र वहुमुखी क्याम्पस धरानमा अध्ययन गर्दा ताकाका क्षणहरु । धरान नगरीमा रहदा अत्यन्तै लगनशील भएर साहित्यको पारखी वनेको थिए किनकी त्यहाँ हुने साहित्यिक कार्यक्रमहरुमा प्राय मेरो सहभागिता हुन्थ्यो । त्यस वेला मेरो लेखनको रफ्तार निक्कै तेजिलो थियो । त्यहि रफ्तार अहिले सम्म निरन्तर भएको भए मेरो लेखनको स्तर हालको भन्दा  फरक र उच्च हुन्थ्यो र कृतिहरु पनि अलि धेरै आउँने थिए होलान् । तर कारणवस् परदेशीनुले त्यसो हुन पाएन । साहित्य सिर्जनालाई थाँती राखेर परिश्रमको निलो महासागरमा हाम्फाल्न विवश हुनु पर्यो । कहिले कहि परदेशको कामले थाकेर सोच्थे वैशमा लेख्ने वैशालु कवि मात्र भइएछ जिन्दगीमा । त्यसो नसोचौ पनि कसरी कलमलाई विर्को हालेर परदेशमा समय विताउँन थालेपछि मनमा त्यसै उराठ उराठ लाग्थ्यो । तर पनि साहित्य लेख्ने जमर्को भने समय समय जागी रहन्थ्यो । नयाँ नयाँ सिर्जनाका विषयबस्तु मनमा स्वरुप लिएर आउथे तर पनि अक्षरहरुमा रुपान्तरण गर्न पाईन्नथ्यो । अरुको खटनमा काम गर्नु पर्ने भएकोले कपी कलम हातमा पर्ने कुरै भएन । त्यसैले कहिले कहि लेखुँ लागेका राम्रा विषयबस्तुहरु त्यसै पोखिएर जान्थे । तर समय सधै एकै प्रकारको मात्र नहुँदो रहेछ । समयले कोल्टे पनि फेर्दो रहेछ किनकी दक्षिण कोरियाको रोजगारीलाई छोडेर अचानक हङकङ आउँने मौका मिल्यो । हङकङमा पनि सुरुका दिनहरुमा त्यस्तै विषम परिस्थिती ब्यहोर्नु पर्ने त होलानी जस्तो लाग्थ्यो । तर मैले यहाँ सिर्जनशील मनहरु,कलमहरुसँग भेट्ने मौका पाए । त्यसवेला मेरो खुशीले सीमा नाघ्यो । सायद तिनै कारणहरुले होला मेरो लेखन यात्रामा नयाँ वषन्त छाउँन थाल्यो । मैले हङकङमा सानो नेपाल पाए र साहित्यको उर्वरभूमि पनि । त्यति मात्र नभएर सहकर्मी,पाठक,शुभचिन्तक सवै सवैलाई यहाँ पाए । त्यसैले त अक्षरहरु जोड्दै शब्दहरुमा जीवन जिउँन रहर लाग्न थालेको छ । परदेशमा पनि घरदेशको जस्तै आफ्नै नेपाली भाषा साहित्य र वाङमयको  श्रीवृद्धिमा सेवा गर्न पाउँदा आफुलाई भाग्यशाली ठानेको छु । किनभने आफ्नै भाषाको महासागरमा निश्चिन्त पौडिन मौका यहाँ पाइरहेको छु । आजभोलि मलाई के लागिरहेछ भने साहित्य सिर्जना गर्नको लागि अनुकुल समय आफैले निर्माण गर्नुपर्दोरहेछ । किनकि साहित्य जोड्न कै लागि भनेर फुर्सदी समय यहाँ पनि कहाँ छ र ? तर जहा इच्छा त्यहाँ उपाय भने झैं यदि मनले चाहायो भने समय नमिल्ने कुरै भएन । अहिले आएका जे जति सिर्जनाहरु छन् ती सवै फुर्सदका उपज होइनन् । जीवन जिउँनुको लडाईमा वाचेखुचेका अति मूल्यवान समयहरु हुन् । त्यसो त परदेशमा बसेर साहित्य लेख्न थालिएको पहिले देखि नै हो । सायद परदेशी अग्रज लेखकहरुले पनि मेरै जस्तो हालत गुजारेका होलान् । मेरो महसुस र अनुभवमा त्यहि कुरा आउँछ । जस्तो सुकै परिस्थिति व्यहोर्नु परे पनि आज नेपाली साहित्यले हङकङ लगायत विश्वको कुना कुनामा आफ्नो पखेटा फिँजाउँने मौका पाएको छ । निश्चय नै यो हामी नेपाली भाषीहरुको लागि सुखद पक्ष हो । तर यति हुँदाहुँदै पनि परदेशमा जन्मे हुर्केर वढेका नयाँ नेपाली पीडीहरुमा नेपाली भाषाको लगाम कमजोरी हुदै गएको छ । जस्ले गर्दा भोलि गएर हाम्रा सन्ततीहरुमा नेपाली भाषाको प्रेम शुन्य भएर जान सक्छ । नयाँ पिडीकाहरुले नेपाली भाषा वोली हाले पनि अंग्रेजी मिश्रण गरेर वाल्ने गरेको पाइन्छ । हंगकंग लगायत विश्वभरि छरिएर रहनु हुने नेपाली अभिभावक वर्गले समयमा नै त्यतातिर ध्यान नमोडे भोलि देशप्रेम र देशप्रतिको दायित्व उनीहरुमा घटेर जान सक्छ । भाषा साहित्यलाई वचाउँन सोही भाषीहरु नै जागरुक र आन्दोलित हुनु अत्यान्तै जरुरी हुन्छ । अरु भाषीले प्रोत्साहन दिदैमा त्यो भाषा मौलिन सक्दैन । यिनै यथार्थतालाई मनन् गर्दै विगत १० वर्षयता नेपाली साहित्यको उत्थान गर्नको लागि नेपाली साहित्य प्रतिष्ठान हङकङ लगायत अन्य साहित्यिक संस्थाहरु हङकङमा स्थापना भएका छन् । तर भन्नै पर्ने कुरो के भने साहित्य लेखेर मात्र हुदैन उचित परिस्कार र त्यसको विकास गर्न ज्यादै आवश्यक हुन्छ । र समय समयमा साहित्यिक अन्तरक्रिया साथै गोष्ठिहरु पनि हुनु जरुरी छ । सम्झन्छु हङकङ आएर धेरै साहित्यिक क्रियाकलापमा सहभागी हुन पाउँदा धन्न कलमलाई वेल्चामा परिणत गरिनछु जस्तो लाग्छ । नत्र भने कहाँ यसरी शव्दहरुसँग खेलेर साहित्यको वगैचामा लुकमारी खेल्न पाइन्थ्यो र ? अव त जीवनको एउटा पाटो नै वनि सक्यो साहित्य पढ्नु र लेख्नु पनि । वाँच्नुको सार र साथर्कता साहित्य मै  देख्छु आजभोलि । वरु यहाँ आएर मैले के कति र कस्तो रचनाहरु पाठकहरुको सामु पस्काए त्यो चाहिँ शुभचिन्तक तथा पाठकहरुलाई नै सोधानी गर्नु पर्ला । जे होस हङकङमा नेपाली साहित्यको प्रवाह ज्यादै उर्वर रुपले वढ्दै गएको पाएको छु ।