"शब्दघोष जिजीविषाको" भित्र प्रकाश के.सी.को कथाहरूलाई केलाउँदा

Author : अशोक राई
Published on : April 19, 2009


  
अशोक राई
"शब्दघोष जिजीविषाको" कथा संग्रह प्रकाश के. सी. र प्रदिप कन्दङ्वा (प्रद्धय) को सयुंक्त कथा संग्रह हो ।यसमा जम्मा दुवै कथाकारका आठ् आठ् वटा गरि जम्मा सोह्र वटा कथाहरू संकलित छन् । कथा संग्रहमा भएका कथाहरूले मूलत हङकङको परिवेशलाई चिनाउने काम गरेका छन् । हङकङमा जिजीविषाको क्रममा आज कथाकार, कवि एवं पत्रकार प्रकाश के.सी. रोजगारीका अलावा नेपाल डट् एच् के वेब् मेडीयाको संचालन गर्दै आएका छन् भने कथाकार एवं गितकार साथै कवि प्रदिप कन्दङ्वा भने याक एण्ड यति रेष्टोरेन्टका मालिक बनेका छन् । दुवै कथाकार लामो समयदेखि हङकङमा बस्दै आएका भएर पनि होला उनीहरूले भोगेको जीवनलाई कथाको बिषय बनाइएको हुन सक्छ । तर यो संग्रहमा केवल हङकङमात्र छैन ।यस्मा समाजमा घटीत् र विध्यमान घटना, परिस्थिति र विसंगति, राज्यका बेथितीले एब्जाएका प्रश्नहरू, प्रेम र यौनीकता लगायत जीवन र जगतका थुप्रै पाटाहरू उजागर गरिएकाछन् ।आफ्नो शब्द शिल्पले सिगारेकाछन् प्रकाश के. सी. र प्रदिप कन्दङवाले आफ्नो कथाहरूलाई ।जे होस प्रकाश के.सी. र प्रदिप कन्दङवा हङकङका प्रतिनिधी कथाकारहरू हुन् ।यहाँ म प्रकाश के.सी.का कथाहरूलाई केलाउने प्रयास गर्दछु-
 
. चोटका लयहरू-     यस कथामा एउटा पुरुष पात्रले आफ्नो अर्धाङ्गगीनीको माइतीबाट पिटिइनु परेको दुःखलाई भावुक भाकामा चित्रीत गरिएकोछ । पिडीत पुरुष पात्र पिटाइ खाएर साररीक र मानसिक दुवै हिसाबले घायल भुइँमा लडेकोछ । पिट्नेहरू उस्लाई बाटैमा छोडेर गएका छन् । यसबखत पिडीत पात्रको मनोसम्वादको शैलीमा कथा सुरु र अन्त भएकोछ । श्रीमान श्रीमतीबिच हुने र भइरहने सामान्य झैंझगडामा पैले लोग्नेले स्वास्नी पिट्ने त्यसपछि स्वास्नीले माइती खन्याइदिने घटनाहरू हाम्रो समाजमा देँखिदै आइएकोछ । कथाको पुरुष '' पात्रले पुरुष प्रधान अहमलाई बोलेकोछ । पुरुषले महिलामाथि आफूले गरेको सबै ठीक उनीहरूले गरेको चाँहि बेठीक ठान्ने प्रवृती हाम्रो समाजमा बिद्यमान जो छ त्यसलाई म पात्रले बोलेको सम्वादमा पाउन सकिन्छ ।
 
. नेपथ्य भित्र र बाहिरको एक दृश्य- यो कथाले हङकङमा नेपालीले बाँचेको जीवनलाई भिन्न प्रकारले प्रस्तुत गरेकोछ । म पात्र हङकङको व्यस्तता र जटीलतामा बाँच्ने एउटा नेपाली प्रतिनिधी हो ।उस्ले बाटामा भेटेको इङ्गल्याण्ड नागरीकले 'हङकङभित्रका नेपाली समुदाय' नामक पुस्तकका लागि नेपालीहरूको बारेमा खोजी गरिरहेकोछ तर उस्ले नेपालीलाई बुझ्न सकिरहेको छैन ।ऊ नेपालीलाई नंग्याउन चाहन्छ । यता घर पुग्दा श्रीमतीको खटन-आदेश र खजमज्जीएका लुगा अनि अस्त व्यस्त कोठा हेर्दा उस्लाई जीवन वाक्क लाग्छ छरपस्ट जिन्दगीका सपना झैं ।व्यस्त सडक र गाडीहरूको कर्कश आवाज, इमर्जेन्सी साइरेन र ट्राफिक क्रसीङका बसुरे ताँतीहरूमा जीवनको कालो आभाष, अध्याँरो आभा, सून्य अनुभूती, व्यापक कोलाहल र प्रखर हतारोले जिजीवीषा निश्पृह छ ।हङकङभित्र नेपालीको दिनचर्या, पारिवारिक खण्डीकरण, शहरभित्रका कुरुपता आदि थुप्रै कुराको बर्णन गरिएकोछ यस कथामा ।
 
 . जीत र जीवनका भोगाइहरू- यो कथा पनि हङकङकै परिवेशमा लेखिएकोछ ।यो कथा पनि मनोसम्वाद कै शैलीमा छ । रजनी र प्रकाश एक आपसमा छुट्टीएको चार वर्षपछि आमने सामने भएकाछन् ।तर बोल्न भने सक्दैनन् र मौन मनोसम्वाद गर्छन् । पुर्व कथा अनुसार दुवैले एक अर्कालाई ��"धी माया गरे पनि प्रकाशको एउटा गल्तीले भएको असमझदारीले रजनी उस्लाई छोडेर लण्डन जान्छिन् ।तर उस्को मनमा प्रकाशप्रति माया मरेको भने हुदैन ।पछि आफ्ना आफ्ना गल्ती महशुस गर्दै सहर्ष उनीहरूको पूनरमिलन हुन्छ ।यसरी हङकङको व्यस्त समयले लोग्ने स्वास्नीको सम्बन्धमा कसरी असमझदारी पैदा हुन्छ र सुखी दाम्पत्य जीवन समेत धरापमा पर्छ अनि आफ्ना गल्तीहरू थाहा भएपछिको पूनरमिलन मीठो हुन्छ भन्ने कुरा यो कथामा चित्रित छ ।
 

. त्यसपछिको अर्को कथा -  यस कथामा एउटा अपाहिज दाजु र आफ्नो परिवारबिचको अप्ठ्यारोमा जीइरहेको एक पात्रको जीवन चित्रण गरिएकोछ । मूख्य पात्र लाई "उसको" या "उसलाई" जस्ता सर्वनामी शब्दले मात्र सम्बोधन गरिएकोछ । "उसको" आफ्नो श्रीमती र एक छोरा छ । विपीन "उसको" साख्खे दाइ हो जो दुर्घटनामा परेर अपाहिज र अर्ध विक्षिप्त छ । विपीनको स्वास्थ्य बीमाको पैसाले परिवार धानीएकोछ । तर श्रीमती र छोरामा विपीनप्रति पूर्ण विकर्षण छ । "भोग्नेलाई भन्दा स्याहार्नेलाई पीडा" भने झैं विपीनलाइ स्याहार्न गाह्रो छ । सँधैको पिरलोले "उसको" जीवन खिन्न छ । एक दिन उसले आन्दोलनकारी र पुलीसहरूको घातक भिड्भित्र विपीनलाई एक्लै छोडेर भाग्छ तर बाल्यकालको स्मृतीले पुन दाइको माया पलाउाछ र ऊ फर्केर दाइलाई खोज्न थाल्छ । विपीन लगायत केही आन्दोलनकारीहरूलाई पुलीसले भ्यानमा कोच्याइ रहेको देख्छ । विपीनतिर लम्कीन खोजेको "उसलाइ" पुलीसले चलाएको तातो गोली लाग्छ र उसको इहलीला समाप्त हुन्छ ।

 

. दुःखै दुःखले झ्यँङ्गीने मनका थाँक्राहरू -  मावोवादी द्धन्दमा आधारित यो एउटा अर्को सामाजिक कथा हो । पात्रहरू सबै गाँउले परिवेश कै छन् । गाँउको सुख दुःखको संसार मावोवादी द्धन्दको कारण त्रासदीय बनेकोछ । युद्ध बिराम भएपनि धरपकड र मारामारी निरन्तर छ । कोही विदेश भासिने विचारमा छन् कोही युद्धमा छन् । नेपालीको लागि विदेश रहर की बाध्यता ? के मानिसले सहज बाँच्नु पाउवनु पर्दैन ? बालबालिकाले पढ्न पाउँनु पर्दैन ? जस्ता प्रश्नहरू यावत उठेकोछ । परिवारहरूमा आतंक र बिरक्ती छ । आठ बर्ष पछि घर र्फकदै गरेको रमेशको स्वागतार्थ घरमा एउटा समारोहको आयोजना गरिएकोछ । सबै खुसी छन् । रमेश पुर्व मावोवादी कार्यकर्ता हो । गाँउमा उसको बाँच्ने आशा कम हुँदै गएकोले रमेशका बा हरेले उस्लाई अरब पठाएको हो । तर आठ् बर्ष सम्म मरे बाँचेको खबर नगरी रमेश घर र्फकदैछ । उसको आगमनलाई शुभ र अर्थपूर्ण बनाउन घरमा सत्यनारायण तथा कुल देवताको पूजा हुँदैछ । तर रमेश भने कसैले चिन्न र आशा गर्न नै नसक्ने हिसाबले एक बटुवाको रुपमा देखा पर्दछ जसलाई उसको हजुर आमाले मात्र चिन्दछिन् । कथाकारले रमेश साच्ची नै विदेश गएको थियो या मुमीगत हिसाबले देशभित्रै संघर्ष गर्दै थियो भन्ने कुराको कौतुहलता छाडी दिएर कथा सकेकाछन् । कथा यथार्थवादी सामाजिक धरातलमा लेखिएकोछ । यो कथा पढ्दा गुरु प्रसाद मैनालीका सामाजिक कथा पढेको स्वाद पाउन सकिन्छ ।
 

. मृगतृष्णा -  यो एउटा प्रेम कथा हो । हङकङमा बस्दै आएको समीर एउटा विवाहित लोग्ने मानिस हो । यहाँको व्यस्तताले श्रीमतीसित उसको नीकटता बञ्चित छ । यतिकैमा समीर र किट्टीको अनलाइन च्याट्को सम्बन्ध अन्ततः प्रेममा परिणत भएकोछ । थाइल्याण्डको आवाक यूनिभरसीटीमा अध्ययनरत बेइजीङ्गकी किट्टी समीरको मायामा यस्तरी डुबेकी छे की उसको निम्ती मर्न पनि डराउँदिन । धेरै पटकको भेटघाट् र अब उप्रान्त एक अर्कामा टाढा हुने बाचाहरू तोडेर किट्टीले एक हप्ताको लागि समीरलाई थाइल्याण्ड बोलाउँछे त्यहाँ उनीहरूबीच प्रणयशील क्षणहरू बित्छन् । समीर र किट्टीबिच यति भएर पनि लोग्ने स्वास्नीको सम्बन्ध भने दुरुस्त नै कायम छ । घर नै मायाको भरपर्दो आश्रयस्थल संझेर उसले किट्टीसितको प्रेम सम्बन्धलाई त्यागेको छ । साइबर दूनीयाँले फरक फरक संस्कार र फरक फरक संसारका मान्छेको सम्बन्ध बिकास गराएको छ भन्ने कुरा यस कथामा उल्लेख छ । प्रेम र यौनको मृगतृष्णा उत्कट् छ तथापी लोग्ने स्वास्नीबिचको मौलिक सम्बन्ध महत्वपूर्ण छ भन्ने कुराको संकेत पनि गरेकोछ यस कथाले ।

 

. प्लेटिनम कवचभित्र र बाहिरका हृदयहरू -  प्रयोग र कथा वस्तुको हिसाबले यो कथा कथाकार के.सी. को उत्कृष्ठ कथा हो । हङकङको यान्त्रीक र भावानासून्य संसारमा बाँचीरहँदा कथाकारलाई यस्तो चाख लाग्दो कल्पनाशीलता आएको हुनुपर्छ जो कथामा प्रयोग गरिएकोछ । स्टारफेरी नजीक पुग्दा म पात्रले एकदिन यति व्यस्त शहरमा मानव रित्तताको अनुभव गर्छन् । परेवालाई चारो दिइरहेकी चिनीया बुढी पनि अदृश्य भएपछि ऊ आफूपनि बेहोश हुन्छ । आँखा खोल्दा उसले आफूलाई एउटा ठूलो हलमा बसीरहेको पाउँछ ।त्यहाव हङकङका पूर्व चीफ एक्ज्यूकेटीभ तुङ्ग ची हृवा लगायत आफ्नै श्रीमती चेरीको मुटु रोबोटले झिकेर प्लेटिनम स्प्रे गरिरहेको देख्छ । अघि आफ्नै सामु अदृश्य भएकी चिनीयाँ बुढी समेत लाइनमा हुन्छिन् ।उसलाई पनि क्रेनले उचालेर अगाडि लान्छ तर मेशीनको खराबीले प्लेटिनम स्प्रे भने गरिदैन ।फर्केर घर आँउदा उसले आफ्नी श्रीमतीलाई अर्कै रुपमा पाँउछ ।कपाल छोटो पारेर काटिएको छ । आफूप्रति उदासीन र कर्कश छ उसको व्यवहार । सडकका मानिसहरू आफ्नै तालमा हिँडीरहेका छन् । वास्तवमा त्यहाँ विज्ञानको सहाराले हृयुमन अपडेट गरिएको हुन्छ ।सारा तथानामका बिसंगतिहरूबाट मानवीय संभावनाहरूलाई बचाउनको लागि र यसको बिकास गर्नको लागि मुटुमा प्लेटिनम स्प्रे गरिएको हुन्छ । समवेदनाहीन प्लेटिनम् मुटु लिएर बाँच्ने मान्छेहरूको दूनीयाँलाई यो एउटा वयंग्यात्मक कथा हो ।
 

. माया मिरेज हो माया मिरेज होइन -  हङकङको परिवेश र यथार्थलाई समेटीएको यो अर्को कथा हो । हङकङमा मानिसले भोग्दै आएको भित्री जीवनहरूको यसमा चित्रण छ । क्षणीक माया देखाउने देह व्यवशायी किशोरीहरू र त्यसलाई भोग्ने पुरुषको मनोदशालाई यो कथामा देखाइएकोछ । क्याथी नामको केटीलाई पर्खेर बसेको एक युवकले बजारभरि छरिएका थुप्रै यौनीक पसलहरूको दृश्यपान गर्छ ।अर्को एउटा नेपाली युवक राम छ जसलाई आमेइ नामको वेश्याले मन पराएकोछ तर राम भने लज्जालु स्वभाव देखाउँछ र उ देखि भाग्छ । पछि त्यहि आमेइसित उक्त युवकले रात बिताउँछ र अनेक तर्कनाहरू गर्छ । आमेइले रामको गाला छामीरहँदाका भावनात्मक मनोवतीहरू ऊ सित मोल मोलाई गरिरहँदा कता गए होलान् ? एउटा नारीले अर्को अपरिचित लोग्ने मानिससामु कसरी निर्वस्त्र हुन सक्छे ? जस्ता कुराहरू उसको मनमा खेलिरहन्छ । यसरी अचानक आउने अचानक जाने प्रेमीकाहरूलाई भर्खरै दर्केको पानीसित दाज्दछ । यी यथार्थहरूमा कथाकार कतै मिरेज-भ्रम) देख्छन् कतै देख्दैनन् । कथामा रात्री बजारका सस्ता सामग्रीहरूका नेपाली ग्राहक र घोडा रेशका नम्बर दाजिरहेका मान्छेहरू पनि छन् । ब्रोकन अ्रग्रेजी, क्यान्टोनीज र म्याम्दोरिनको प्रयोगले कथामा रमाइलोपन थपेकाछन् ।

प्रकाश के.सी.का अधिकांश कथाहरू हङकङको परिवेशमा आधारित छन् ।जसले हङकङको जीवन शैली र यहाँ बाँचीएको र बाँच्ने तरिकाहरूको अवगत गराँउछ ।कन्दङ्वाका जस्तै के. सी.का कथाहरू पनि प्राय आत्म केन्द्रीत शैली-म पात्रको चयन)मा लेखिएका छन् । उनको आफ्नै शैलीमा कथाहरू बगेका छन् ।कथाहरूमा अंग्रेजी र क्यान्टोनीज भाषाको मिश्रण के.सी.का कथाहरूमा पनि पाइन्छन् ।प्रकाश के.सी.का भाषा शैली मीठो छ तथापी के.सी.का केही कथारु क्लीष्ट पनि छन् जसलाई बुझ्न दोहोरो अध्ययन गर्नुपर्छ । उनका कथाभित्र भएका केही शब्दावलीहरू यस्ता छन् ।

पीडाले गलेर निथ्रुक्क भएको मनलाई मान्छेसँगै निचोरेर हृयांगरमा सुकाउन मिल्ने भए, यस्तो लाग्छ आफूलाई त्यसरी ह्यांगरमा झुण्डाए जस्तै .................

एउटी बुढी ठेलागाडीभरि कागज, क्यानहरू थुपारेर घस्रीरहन्छे, मर्न नसक्नुको बाध्यता या जीवनको मोह ! क्यान जस्तै कुच्चीएका, कागज जस्तै जता ततै कोरिएका उसको मुखाकृति पानी सुकेका आँखाहरू...................

आकार बिग्रन थालेको देशलाई इट्टाले ठोकेर सकार पार्न खोज्ने ठिट्टाहरू आदर्श हातमा बटारेर दगुर्दै गए भित्रतिर............