बाजेको कथा

Author : टोप बहादुर राई
Published on : April 19, 2009


  
टोप बहादुर राई

सानो छँदा मलाइ भुतको कथा, दन्त्य कथा र गाउँ खाने कथा खुब मन पर्थ्यो, अद्यापी मन पर्छ नै ।यसरी कसैकोमा मरिमराउ परि गाउँले, आफन्तजनहरू एक ठाउँ भेला हुँदा, दाँइ मेलापात तथा गोठालो गर्दा एक आपसमा सुन्न र सुनाउन खुब मज्जा आउथ्यो ।

पूणिर्मा छेकाको रात हुनपर्छ ।जुन टहटह लागिरहेथ्यो । दयेरेहरू कोही तीनपाने रक्सि त कोही डबका भरि जाड पिउँदै कार्तिक, मंसिर महिनाको शितलाइ पर्वाह नगरि अंगालो भरिको धानको विट्टा झाट्दै खरपराल केलाउनमा व्यस्त थिए भने ताल पर्दा ख्याल ठट्टा गर्दै मन परि बोल्न पनि कोहि पछाडि परेका थिएनन् । जसले "आईमाईहरूको रत्तेउली र लोग्ने मान्छेहरूको दाँइ" उखानलाई झल्काई रहेको भान हुन्थ्यो । 

म लगायत मेरा ३-४ जना दौतरी साथिहरू भने केही सानै भएकाले कहिले खर परालमा लुकामारी खेल्दै त कहिले खले गराको कुनामा आगो ताप्न पुग्थ्यौ । यसरी आगो ताप्ने क्रममा स्टिलको ग्लासमा रक्सि र दुनामा फिलिङ्गेको ढुटे अचार बोकेर एकजना बाजे पनि हामी भए ठाउँमै आगो ताप्न आउनु भयो । बोल्दा उहाँको जिब्रो केही लर्बराउन थालिसकेकाले उहाँलाई रक्सिले केही भेटिसकेको लख काट्न सकिन्थ्यो । जे भए पनि उहाँले हामी नातिहरूलाई माया गर्नु हुन्थ्यो र हामी बीच उहाँ पनि प्यारो हुनुहुन्थ्यो । सदा झै हामीले उहालाई आज पनि एउटा कथा सुनाउन भनि कर गर्यौं । उहाँले हाम्रो आग्रहलाई श्विकार गर्दै हुन्छ त भन्नु भो तर केही माति सक्नु भएको तथा अझै पनि रक्सिको ग्लास हातैमा भएकाले कथा सुनाउनु पुर्व नै अथवा सुनाउँदा सुनाउँदै बाजे मातेर बेहोस भई कतै हाम्रो कथा सुन्ने ईच्छा अधुरो नै रहने त होईन भन्ने पिरले म लगायत साथिहरूलाई पिरोलिरहेको थियो ।

यतिन्जेलसम्ममा अरु दयेरेहरू पनि आगोमा हात सेक्न हामी भए ठाउँमा आईसकेका  थिए । बाजेले ग्लासमा भएको रक्सि आँखा चिम्म पार्दै स्वाटृ पार्नुभयो र कथा सुनाउन थाल्नु भयो । जुन कथा हामी याक्खा राई जातीको उत्पत्तिको बारेमा समेटिएको रहेछ । जसलाई मैले सुरुबाट अन्त्यसम्म आँखा झिमिक्क नगरि खुव चाख दिएर सुनेथे ।

वर्षौ पहिलेको कुरा हो, हाम्रो पुर्खा ४ नं क्षेत्र (भोजपुर) तर्फबाट शिकार खेल्दै पुर्व अरुण नदि तरेर हालको संखुवा सभा जिल्ला तर्फ लाग्नु भएछ । यसै क्रममा एक साँझ यसै जिल्ला स्थित हालको वाना गा.वि.. मा पर्ने डाँडा गाउँमा आई पुगेर रातको बास बस्ने मनसायले वस्तिहरू खोज्दै जाँदा कुनै घरमा पनि मानिसहरू फेला नपर्दा अचम्ममा पर्नु भएछ । यसरी बल्लतल्ल एउटा झुप्रोमा मान्छे भएको थाहा पाई बास माग्न भनि ढोका छेउमा पुग्दा भित्र रहेकी एक बुढि आमा र उनकी तरुनी छोरी डरले भयभित भई थरथर कापिरहेका थिए । उहांले बुढि आमासँग एक रातको लागि बास दिन अनुरोध गर्दा ससंकित हुँदै यस घरमा त के गाउँमै बास नबस्न बरु तत्काल टाढा भाग्न सल्लाह दिदै बुढिले यस्तो वास्तविकता ओकलिन् ।

यसै गाउँ नजिकको अम्फेको ठूलो जंगल (हाल पनि घना जंगल रहेको)  स्थित एक ठूलो ओडारमा अजरङ्गबा नाम गरेको मान्छे खाने डरलाग्दो बन मान्छे (राक्षस) बस्ने गरेको । उक्त अजरङ्गबाले प्रत्येक दिन सो गाउँका एक जनालाई जिउंदै लछार्दै ओडारमा लगेर खाने गरेको । यसरी अजरङ्गबाको शिकारका लागि प्रत्येक दिन उक्त वस्तिबाट उर्दिनुसार एक जना तयार हुनु पर्ने र जब साँझ पर्न थाल्छ अजरङ्गबा आँगनमा आई पुगेर "आज कसको पालो" भनि र्याल चुहाउँदै ठूलो स्वरले गर्जिए पछि पालोको मानिस उसको शिकारको लागि ढोकाबाट बाहिरिनु पर्दो रहेछ । यसरी गाउँका सबै खाई सिध्याएर उक्त गाउँमा विचरा यी आमा छोरी मात्र बाँकि रहेछन् । त्यसैले आज साँझ आमा छोरीमा शिकारको लागि को तयार हुने भन्ने बारेमा कुरा चल्दै रहेछ ।

यी सबै थाहा पाए पछि हाम्रो पुर्खाले मनमनै गाउँ छाडी भाग्ने होईन बरु त्यस राक्षस अजरङ्गबालाई नै मार्ने निधो गर्नु भएछ र बुढि आमालाई भन्नु भएछ आमा साँझको समयमा बास माग्न आँए । रात पनि पर्न लाग्यो । रातको समयमा म कता जाउ, बरु म पनि हेर्छु कस्तो रहेछ त्यो अजरङ्गबा । पहिले त बुढिले मानिन् तर जिद्धि गरे पछि उनको केही लागेन ।

बिस्तारै साँझ पनि पर्र्यो । लगभग अजरङ्गबा आउँने समय पनि भई सकेको थियो । त्यसैले आमा, छोरी दुईलाई घर भित्र कतै लुक्न भन्दै हाम्रो पुर्खाले चलाखिपुर्ण तरिकाले धनुवाण ठिक हालतमा तयार पारि मुल ढोकाको पछाडी छलिएर बस्नु भएको मात्र के थियो नभन्दै परबाट लम्कदै यति लामालामा दाह्रा भएको, भुत्लै भुत्लाले छोपिएको हेर्दै डरलाग्दो राक्षस आागनको डिलमा आईपुग्यो र "आज कसको पालो" भन्दै गर्जन थाल्यो । ३ पटक गर्जदा समेत घरको ढोकाबाट शिकारका लागि कोही पनि नबाहिरिए पछि त्यो राक्षस रिसले रातो पिरो हुँदै सिधै मुलढोका तर्फ लम्किएको मात्र के थियो भित्रबाट हाम्रो पुर्खाले धनुबाट त्यसको शरिर भरि वाणहरू बर्साउनु भयो । यसरी वाणले शरिर छिया छिया भएर रक्ताम्य भएको उक्त राक्षस ठूलो श्वरले चिच्याउदै आागनमा गर्लम्म ढल्यो ।

यसरी उक्त मान्छे खाने राक्षस मारेपछि बुढिआमा र छोरी कालको मुखबाट बाँचे । बुढिआमा खुशी हुँदै हाम्रो पुर्खालाई आफ्नी तरुनी छोरीसँग विवाह गरी यतै घरजम गरी बस्न आग्रह गरिन. । हाम्रो पुर्खाले पनि बुढि आमाको सल्लाहलाई श्विकार गर्नु भएछ र उन्की छोरीसँग विवाह गरि चैनपुर र खाँदबारी जोड्ने मुल बाटोमा पर्ने लिङ्गलिङ्ग या त खमारेमा याक्सा (राई भाषामा काठको सानो घर, कटेरो, डिही) बनाई त्यसैमा जाड रक्सि बेच्ने सानो पसल खोलेर बुढि भएकी सासुआमा र श्रीमतीसँग गुजारा गर्न थाल्नु भएछ । यसरी सबै गाउँलेहरूले याक्सा राई/याक्सावाला राई भन्दा भन्दै पछि गएर याक्खा राई हुन पुगेको र पछि हामी साखा सन्तानहरू फैलदै जिल्लाका अन्य भाग तथा धनकुटा लगायत अन्य पूर्वी जिल्ला तथा भारतमा समेत बसोबास गर्दै आईरहेका छौं ।

बाजेले यसरी अति रोचक कथा सुनाउनु भयो । आगोको वरिपरी भएका सबै दयेरेहरू छक्क परे । कतिले त जाडले ओकलेको कथा भनि कुरा काट्न थाले । लगभग रक्सिले मातिसकेका बाजेले जिब्रो लर्बराउदै हेर छोरा नातिहरू हो यदि मेरो कुरा पत्याउदैनौ भने तिमिहरू अहिले पनि त्यो अजरङ्गबा बस्ने ओडार देख्न सक्छौ । त्यहां पहिले हाम्रो बाउ बाजेको पालामा सुनचाँदीका गरगहनाहरू (जुन गहनाहरू छोरी मान्छेलाई राक्षसले खादा बांकी रहेको हुन सक्छ) र मान्छेका हडि्डहरूको रास थियो रे ।

उक्त समयमा मलाई बाजेको कथा सुन्दा दन्त्य कथा झै लागेता पनि यसमा केही सत्यता समेत लुके झै भान भएथ्यो । त्यति बेला आफु सानै भएकाले यसलाई मन भित्रै गुम्साएर राखे । केही वर्ष पछि मा.वि. स्कुल जाने बाटो पनि त्यही पर्ने हुनाले स्थानिय बुढापाकाहरूसँग यस बारेमा बुझ्ने प्रयास गर्दा बाजेले भन्नु भए झै उक्त राक्षस बस्ने ओडारमा सुन चाँदीका चुरा, कल्ली लगायतका गहना तथा पुवालो, पुलिक, मटिृमाला जस्ता पुराना गरगहनाहरू र मान्छेका खप्पर तथा नलिखुटृाका हडि्डहरू समेत देख्न पाईएको मुखबाट सुने । साथै उक्त ओडारमा स्वयं यस कथाका लेखक जाँदा समेत माटोको भाडाहरू (हाँडी, गाग्रो) को टुक्रा तथा पुवाला, मटिृमाला जस्ता पुराना गरगहनाहरू देख्न सकिन्थ्यो । यसले अझ बाजेको कथालाई सत्य र जीवित पार्न मद्दत गर्र्यो भने "किरातः हिजो र आज" पुस्तकका लेखक श्री दुर्गाहाङ्ग याक्खा राईको जन्म संखुवा सभा जिल्ला स्थित वाना गा.वि.. को सोही डाँडा गाउँमा भएको र उहाँको उक्त पुस्तकमा समेत याक्खा राईहरूको मुलथलो संखुवा सभा र धनकुटा जिल्ला भनि उल्लेख गरिएको हुँदा कतै बाजेको यस कथालाई पहिल्याउदै र उत्खनन् गर्दै हाम्रो पुर्खाको बारेमा थप जानकारी बटुल्ने अविभारा हामी नातिहरूको कांधमा आएको त होइन ? सोचनिय पक्ष छ ।