"शब्दघोष जिजीविषाको" भित्र प्रदीप कन्दवाको कथाहरूलाई केलाउँदा

Author : अशोक राई
Published on : April 14, 2009


  
अशोक राई

           "शब्दघोष जिजीविषाको" कथा संग्रह प्रकाश के. सी. र प्रदिप कन्दङ्वा (प्र द्धय) को सयुंक्त कथा संग्रह हो । यसमा जम्मा दुवै कथाकारका आठ् आठ् वटा गरि जम्मा सोह्रवटा कथाहरू संकलित छन् । कथा संग्रहमा भएका कथाहरूले मूलत हङकङको परिवेशलाई चिनाउने काम गरेका छन् । हङकङमा जिजीविषाको क्रममा आज कथाकार, कवि एवं पत्रकार प्रकाश के.सी. रोजगारीका अलावा नेपाल डट् एच् के वेब मेडीयाको संचालन गर्दै आएका छन् भने कथाकार एवं गितकार साथै कवि प्रदिप कन्दङ्वा भने याक एण्ड यति रेष्टोरेन्टका मालिक बनेका छन् । दुवै कथाकार लामो समयदेखि हङकङमा बस्दै आएका भएर पनि होला उनीहरूले भोगेको जीवनलाई कथाको विषय बनाइएको हुन सक्छ । तर यो संग्रहमा केवल हङकङमात्र छैन । यसमा समाजमा घटित् र विद्यमान घटना, परिस्थिति र विसंगति, राज्यका वेथितीले एब्जाएका प्रश्नहरू, प्रेम र यौनीकता लगायत जीवन र जगतका थुप्रै पाटाहरू उजागर गरिएकाछन् । आफ्नै शब्द शिल्पले सिंगारेकाछन् प्रकाश के. सी. र प्रदिप कन्दङवाले आफ्ना कथाहरूलाई ।

 

प्रथमतः म प्रदीप कन्दङवाका कथाहरूलाई केलाउने प्रयास गर्दछु;
 
. लाचार मनमा अतिक्रमण:- राज्यमा व्याप्त असंगतीहरूमध्ये विदेशको सपना देखाएर पैसा असुली खाने एजेन्टहरूको बिग्बिगी पनि एउटा पक्ष हो । नेपाली बेरोजगार युवाहरू जो विदेशमा गएर चाडै सम्पती कमाउने ध्याउन्नमा  हुन्छन् उनीहरू ठगीदै आएको यथार्थवादी तथ्यलाई कथामा चित्रण गरिएकोछ । पाँच वर्ष देखि निरन्तर खोजिएको एजेन्टलाई पिडित पात्र-कथाको नायक)ले अन्ततः हत्या गर्दछ । यस्तो घटना नेपाली समाजमा फाट्ट फूट्ट देखिँदै र सुनिँदै आएको घटना हो । यो कथाले राज्यको उदासिन नितिले नेपाली समाजमा पार्दै आएको नकारात्मक सामाजिक प्रभाव र विकृतिको  उजागर गरेको छ ।
 
. टाइटानिक धून:- एक पैतींस वर्षे पुरुष टेलीफोनमा बोल्ने अपरिचित महिलाको प्रेममा फसेकोछ । उक्त अपरिचित महिला उसलाई आदर्श लाग्छ । बोलीवचन र शीलस्वभावकी धनी झैँलाग्ने उक्त महिला अन्ततगोत्वा रहस्यमय हिसाबमा प्रकट हुन्छिन् । त्योपनि चुरोट, हृविस्की र अत्याधुनीक फेसनमा लिप्त भएर । यो कुनै कुरुप शहरको कथा हुन सक्छ । जहाँ एउटा भावुक प्रेमीको प्रेम केवल टाइटानिक धुन बनेर विलय हुन्छ । विश्वासको हत्या हुन्छ । सपना जस्तै प्रतित हुन्छ उसको हृदयको भाव अनि जीवनको मायावी बैरागले खिन्न हुन्छ मन टाइटानिक धुन जस्तै । यस कथाले आधुनिक संस्कारले लिप्त मानिसहरूको जीवन शैली र मान्छेकै मनमा उब्जिन सक्ने मधुर प्रेमको विरोधाभाष सम्बन्धको उजागर गरेकोछ । आडम्बरी जीवन शैली र सतही भावनाले भावुक प्रेमीको सम्वेदनशीलतालाई क्षत्विक्षत् पार्न सक्छ भन्ने भाव यस कथाले देखाएकोछ ।
 
. विरोधाभास:- आर्थिक अभावका कारण सम्बन्धहरू समेत धरापमा परेर जान्छन् । हिजोको मधुर प्रेम, सपना र आकांक्षा सबै बेकार हुन्छ । यस कथाको नायकसित श्रीमतीलाई खुसी तुल्याउन प्रयाप्त दौलत नभएकोले जीवन न्याश्रो भएको छ । प्रेमालापका पुर्वाद्धमा आकाशका जून तारा नै प्रेमीकाको पोल्टामा ल्याइदिउला भन्ने रहर र उनकै हाँसोले जीवन खुसी हुने कल्पना तब बेकार हुन्छ जब उसको बैंक ब्यालेन्स रित्तीएर जागिरको सिमीत आयस्ताले श्रीमतीको आकाश छुने इच्छाहरू अधूरै रहन्छन् । त्यसपछि सम्बन्धमा देखिएको दरार र खिन्नता विरोधाभाष कथाले देखाएको मर्म हो । हास्य शैलीमा लेखिएको यो कथाले पाठकलाई मनोरञ्जन पनि दिएकोछ भने नारीको अनेक रुप र मित्र चरित्रहरूको नीकृष्ट रुप पनि चित्रण गरेकोछ ।
 

. म र नीर्जा:- यो कथा पल्लो घरको झ्याल उपन्यासको कथासित मिल्न खोज्छ । यसमा एउटी यस्तो महिलाको कथा छ जो आफ्नो श्रीमान् प्रति उदासिन मात्र छैन पल्लो घरमा बस्ने एक धनी र बलिष्ट पुरुषसित आसक्त छे र अन्ततः उसैसित बिहे सम्म गर्छे । पुरुष पात्र भने अपमान र नीरीहताको पराकाष्ट खेपेर बाँच्न बाध्य छ । महिलाहरू प्रत्यक्ष अप्रत्यक्ष रुपमा धन दौलत र यौनीकताका भोका हुन्छन् भन्ने कुरा यो कथाले देखाएकोछ ।

. जीवन अवसादभित्र:- देश, काल र परिस्थितीले मान्छेलाई कसरी परिवर्तन गर्दछ र मान्छेले जीवनलाई नबुझ्दा उसको कसरी अवसान हुन्छ भन्ने कुरा यो कथाले बुझाएकोछ । कथा हङकङको परिवेशमा छ । जन्तरी, नौलीमाया हुादै नीलम हुन पुगेकी गाँउकी सोझी केटी हङकङमा आएपछि डिस्को, ब्यूटीपार्लर रेष्टुरेण्टको आदि हुन्छ । विवाहेत्तर समयमा समेत सौन्दर्यकी धनी नीलम दूनीयाँको नजरमा परिरहन्छ अन्ततः कालो मान्छेको प्रेम र आकर्षणमा पर्छ । कालो मान्छेको संगतपछि एक दिन नीलमले रहस्यमय आत्महत्या गर्छ । उस्को मृत्यूको  रहस्य नखुल्दै उस्को प्रेमीले शहर छोडी सकेको हुन्छ । अप्रत्यासित सुरु भएको जीवन शैली र आचरणले थाहै नपाई जीवनलाई अवसानमा पारेको यथार्थवादी कथा हो यो ।
 
. मृत्यु आतंक:- नेपालमा एकताका चलेको मावोवादी जनयुद्धको त्रासदीको एक झलक दिन्छ यो कथाले । शिक्षण पेशामा रमाइ रहेका अशोक सरलाई एक्कासी सुराकीको आरोपमा मावोवादीबाट मृत्युदण्डको सजाय सुनाईएको हुन्छ । उक्त कुरा उनलाई आफ्नै विध्यार्थी गोरेबाट थाहा हुन्छ जो मावोवादी कार्यकर्ता भएको हुन्छ । अशोक सरको श्रीमती मीठू गर्भवती छिन् । आफ्नो पतिलाई सफाया गरिने कुरा थाहा पाएपछि मीठूको मनमा आँधी बेहरी चल्छ । दुवै दम्पती रातभर रोएर बस्छन् । यो कथाले पाठकको मन संत्रासले विदीर्ण बनाँउछ । मृत्यू आतंकले सताएको उक्त जोडीको कथा एउटा प्रतिनिधी कथा हो जो नेपाली समाजमा धेरै परिवारले कुनै न कुनै रुपमा भोगेका छन् ।
 
. मैले जन्माएको बाउ:-  आमा बितेको र एउटा व्यस्त बाउको प्रेमाभावमा बाँच्ने एक्लो छोरोको मनोवैज्ञानीक कथा हो यो । यस कथाको मूख्य पात्र एउटा बालक हुन्छ उसले आफ्नो जीवन त्यतिखेर नीरर्थक ठान्छ जब आमाको अभावमा बाबुबाट पनि उपयुक्त माया नपाएको आभाष पाउँछ । बाउले छोरोलाई समय दिन सक्दैन तर बच्चाको रेखदेखमा खटिएको कान्छाले दिएको माया उसकोलागि महत्वपूर्ण सावित हुन्छ । उसको माया र अपनत्वले गर्दा बच्चाको मनमा कान्छाले बाउको स्थान पाँउछ । आफ्नो जन्म दिन सम्म थाहा छैन कान्छालाई । एक दिन कान्छाको जन्मदिन उक्त बच्चाले जुराइदिन्छ र रातभर लगाएर पोतेको चित्र कान्छालाई बच्चाले जन्मदिनको उपहार दिन्छ । उक्त चित्रमा उसले आफ्नो स्वर्गीय आमा र कान्छाको बिचमा आफूलाई उभिरहेको पाँउछ । बडप्पन र प्रतीष्ठाको भोको आडम्बरी बाउ र कुण्ठा र चीन्तामा बाँच्ने छोरा बिचको खाडललाई यो कथाले उजागर गरेकोछ ।
 
. संझौता प्रेम र आघात:-  हङकङको परिवेश र यथार्थलाई समेटीएको यो अर्को कथा हो । जो धेरै नेपालीले भोगेकोछ । आइ. डी. को किनबेच, डिपेन्डेन्ट बिक्रीपछिको धोकादेखि लिएर कृतिम कागजी विवाह र सम्बन्ध, साइबर विकृती र फीका जीवन शैलीको राम्रो चित्रण छ यस कथामा । आइ. डी. नहुने भएपछि नीरास भएर नेपाल फर्किन लागेका नायकसित भेट हुन्छ एउटै फ्लाइट्बाट यात्रा गरेको नारी पात्र जस्को श्रीमानको मृत्यु भइसकेको र बच्चाहरू नेपाल छोडेर आएको अवस्था छ । नायकले उक्त केटीबाट डिपेन्डेन्ट लिने र सँगसँगै बस्ने कृतिम सम्बन्धको संझौता हुन्छ । एउटै कोठामा बस्दै जाँदा नायकको मनमा केटी प्रति माया पलाउाछ तर केटीले भने उसलाई दुहुना गाइसरी दोहन गरिरहन्छ । केटीले पटक पटक पैसा माग्ने र उस्को कर्कस जीवन शैलीदेखि वाक्क भएर नायक भन्छ "लाग्छ जीवन पैसा जस्तै नीर्जीव बाँच्दा रहेछन् मान्छेहरू यतातिर ।"
 

          छोटकरीमा 'जीवन अवसादभित्र' 'संझौता प्रेम र आघात' कथाहरूले हङकङमा नेपाली जीवन र समवेदनाको उजागर गर्दै उनीहरूले भोग्ने दुःख, धोका र पीडा, आडम्बर र नाटकीयताको पर्दाफास गरेकोछ । 'लाचार मनमा अतिक्रमण' 'मृत्यू आतंक' दुई कथाहरूले नेपालको यथार्थ परिस्थितीलाई प्रतिविम्बीत गरेकाछन् । यसबाट नेपाली समाज कसरी हिंसात्मक भइरहेकोछ र त्यसबाट नेपालीले कस्तो भुत्तमान खेप्दैछन् भन्ने कुरा प्रष्ट हुन्छ । 'मैले जन्माएको बाउ' 'म र नीर्जा' कथाको मनोवैज्ञानीक महत्व छ । चरम पीडा र मानसिक दुःख भोगेका दुई पात्रहरूप्रति सहानुभुती जाग्छ । 'टाइटानिक धुन' कथाले भावुक प्रेमी र शहरीया एवं कथित आधुनिक केटीबिचको अस्वभाभिक प्रेमको चरित्र चित्रण गरेकोछ । अदृश्य भएर टेलीफोनमा बोल्ने केटी असलमा सोचे झैँ आदर्श नहूँदाको बैराग छ यसमा । 'बिरोधाभास' कथाले धन दौलत र वैभवताको अभावमा दाम्पत्य जीवन खल्लो बन्दै जाने जीवनको यथार्थ पस्कीएकोछ ।

बाँची खानुको सारो गाह्रो नै जिजीविषाको लय हो । हरेक बाँच्नेहरूको आफ्नै लय छ । जिजीविषाभित्र अन्तरनिहीत यथार्थहरूको प्रतिविम्ब नै यो कथा संग्रह हो । 'जिजीविषाको धुन' शिर्षकमा कथाकार कन्दङ्वा लेख्छन् "दुःखको डरले जीवन कोही त्याग्न सक्दैन, यथार्थमा वर्तमान मृत्युमय साँच्चीकै  बाँचीएको लाग्छ  । बाँच्नेहरूलाई जीवन एउटा भ्रम हो ।" समग्रमा कन्दङ्वाका कथाहरूमा जिजीविषाकै धुनहरू छन् । जीवनका लयहरू छन् । नेपाली जनजीवन र संस्कार अनि देश, परदेश, समाज, प्रेम, समवेदना र मनोविज्ञान जस्ता तत्वहरूले उनका कथामा स्थान पाएका छन् ।

        कन्दङ्वाका कथाहरू प्रायः आत्म केन्द्रीत शैली-म पात्रको चयन)मा लेखिएका छन् । उनको आफ्नै शैलीमा कथाहरू बगेका छन् । केही कथाहरूमा नारी चरित्रमाथि केही ज्यादा पुर्वाग्रह राखिएको हो की जस्तो लाग्छ । कथाहरूमा अंग्रेजी भाषाको मिश्रण हङकङको जीवन शैलीको प्रभाव हुन सक्छ या कथाले मागेको कुरापनि हुनसक्छ । आदिवासी गीतकार समाज हङकङका अध्यक्ष कन्दङ्वाले यहाँ संकलित कथाहरूमा आदिवासीय सवालहरू भने समावेश गर्न भ्याएका छैनन् । आशा छ उनको आगामी कथाहरूमा त्यो देख्न पाइनेछ ।

 
नोटः बाँकी कथाहरूको बारेमा क्रमशः