डि.बि.को “आलाप” मेरो प्रलाप र त्यसको व्यवस्थापन

Author : प्रदिप कन्दङ्वा
Published on : October 17, 2008


  
प्रदिप कन्दङ्वा
Author
          संगीतका तीन संघटकहरू भएको मानिल्याउँदा केन्द्रमा शब्द आसिन भएको मान्नुपर्दछ । शब्दको मियो समातेर संगीत र स्वरले आकार ग्रहण गर्दछन् । स्रष्टाको चेतनामा जब कुनै तार झंकृत हुन्छ तब त्यहाँ सहसा कुनै धुन तरंगित हुन्छ तर पूर्ण चेतनामा नभई अवचेतनमा हुन सक्दछ । तरंगित त्यहीं धुनको इर्दगिर्द केवल चेतनमा मात्रै होईन परन्तु चेतनाको अतल गहिराईमा थिग्रिएका, अब उप्रान्त भावना मात्र होईन विचार सहितका शब्दहरूनै गीत बनेर सतहमा उत्रनुपर्दछ भन्ने आग्रह हो, दुराग्रह होईन । यसरी शब्दमा निहित संगीतका धुनहरू भावनाको कोमल बाटो भएर पहिल्याउँछन् संगीतकारहरू भनेर दावी गरिदिँदा के कति होचो अर्घेलो पर्ने हो भन्न सकिएन । शब्द र संगीतको संयुक्त प्रयोजनबाट निर्मित गीतको गेडामा स्वर भर्छन् गायकहरू जो प्राकृतिकरूपमा स्वरसम्पन्न हुन्छन् । स्वर एउटा प्राकृतिक गुण हो । जो प्राकृतिकरूपले दरिद्र छ उसले यो प्रयास गर्नु सोह्रैआना गलत भनिहाल्न पनि सकिदैन, किनभने यदाकदा बडी मेहनतका कारण या अपवादिक रूपमा त्यस्ता गायकहरू पनि सफल भएको देख्न सुन्नमा आएको कुरा झुटो बुझ्नु हुँदैन । समग्रमा संगीत पनि जीवन जस्तै अपरिभाषित हुनेरहेछ । अथवा संगीतको सर्वमान्य परिभाषा नहुनेरहेछ, भन्ने लागेको छ ।
          मैले डि. बि. पालुङ्वालाई एक ससक्त कविको रूपमा लामो समयदेखी सुन्दै, पढ्दै र चिन्दै आएको थिएँ । एकदिन उनले साँगितक एल्बमको तयारीमा आफू जुटिरहेको बताउँदा मनमा अनेकौं उत्सुकताहरु पलाएका थिए । पलाएका उत्सुकताहरू सेलाउन सेलाउन लाग्दा उनले "आलाप" नामको एक सांगीतिक एल्बम मेरो हातमा थमाई दिए । त्यतिखेर उनको आँखामा आलोकित हर्षानुभुती मैले ऐकै निमेश अवलोकन गर्न भ्याएको थिए । कामको थुप्रै चट्टारोबाट जबरजस्ति उम्किएर म आलापको बिमोचन समारोहमा सरिक हुन पुगेको थिए । त्यहाँ आलापबारे केही बोलिरहँदा परोक्षमा एउटा डरले गाँजिरहेको थियो । मैले आलापलाई दोहोर्र्याएर सुन्न भ्याएको थिईन । कतै आलाप उपर प्रलाप पो भइरहेको छ कि भन्ने एउटा धमिलो शंका मनमा हुर्किरहेको थियो । आलापमा आठ गीतहरू समाहित भएका छन् । डि.बि. पालुङ्वाको एकल रचनामा बरिष्ठ संगीतकार दिनेश सुब्बा लगायत नेपालका ख्यातिप्राप्त संगीतकारहरूले संगीत दिएका छन् । त्यसैगरी स्वरका राजा राजेस पायल राई समेतलाई डि.बि.ले आफ्नो एल्बममा समेटेका छन् । राजेस पायल लगायत अरू पनि हस्ति गायकहरूले यो एल्बममा स्वर भरेका छन् । डि.बि.ले आफूलाई कविताबाट गीततर्फ संक्रमित गराउँदा के कति संकष्टहरू झेले होलान् ? बेला बखत त्यतातिर मन सर्किरहन्छ । गीत लेखनमा एउटा संकुचनको अवस्था रहन्छ कवितमा जस्तो उन्मुक्ति हुँदैन । लगभग हात खुट्टा बाँधिएको लाचार अवस्थामा गितका शब्दहरू कोरलिन्छन् । तर जति कष्टसाध्य गरेर गितकारले गीत सिर्जना गर्छ त्यस अनुपातमा क्रेडिट पाउँदैन । यो दुखद बिडम्बनाबाट गीतकारहरू मुक्त हुन अब गीतमा कला, भावना र विचारको पनि खरो सम्मिस्रण हुनुपर्दछ । गीतमा भावनामात्र हुँदा स्रोताले गीत सुनेर आन्नद उठाउँछ र उसले सिधा स्वरसँग मात्र आफ्नो सम्बन्ध बनाउँछ । जब गीतमा विचारपक्षले आफ्नो ठाउँ बनाउँछ तब विचारले स्वाभाविक रूपमा स्रोताको दिमाग कोतर्न थाल्छ, परिणाममा स्रोता र गीतकारबिच एउटा पुल बाँधिन सक्छ । विचार र सिद्धान्त बोकेका गीतहरू विशुद्ध मनोरन्जनको कित्ताबाट अलग्गै हुनुहुँदैन तर गीत पनि समाज र राष्ट्र परिवर्तनको संवाहक हुनुपर्दछ, केवल मनोरन्जनमात्र गितको अभिष्ट हुनु हुँदैन । सिर्जनामा बिचार हावि भएपछि त्यसको कलापक्ष कमजोर हुन्छ भन्ने पुरातन मान्यताबाट निर्देशित छौं हामी त्यो मान्यतालाई भत्काउन सिर्जनामा सावधानी अपनाउन आवश्यक देखिन्छ ।
             डि‍. बि. ले निकै लामो समय, श्रम र पैसा समेत खर्चेर "आलाप" नामक जो गीती एल्बम नेपाली संगीतमा भीत्र्याएका छन्, विचारेर ल्याउँदा पहिलो जस्तो पटक्कै लाग्दैन । हुन त पहिलो सबै कमसल हुन्छ भन्ने पनि सत्य कुरा होईन । एल्बमभित्र समेटिएका शब्दहरू शिल्प र शैलीगत हिसाबले उत्कृष्ट लाग्दछ । सृजना मार्फत आफूलाई अमर बनाउने गीतकारको चेष्टा गीतमा समेत अवतरित भएको छ । एल्बम भरिका गीतहरूध्ये "अजम्बरी" शिर्षकको पहिलो नम्बर गीतलाई शब्द, संगीत र स्वरको हिसाबले यो एलबमकै प्रतिनिधि गीतको रूपमा लिन सकिन्छ । त्यसपछी तिनवटा खुड्किला एकै चोटि चढेर "म त कुनै बस्तु भएछु" बोलको ५ नम्बरको गीतमा नपुगी धरै छैन । यो गीतमा प्रयुक्त भएका शब्दहरूबाट उदभेदन भएका विचारहरू दुई धारबाट नियाल्न सकिन्छ । पुरुष शासित समाजबाट परित्यक्त नारिले आफूलाई खेलौनाको रूपमा अनुभुत गर्दाको बिलौना हुनसक्छ यो । अर्को, समाजका जान्ने बाठाहरू, जाली झेलीहरू, राजनितिक नेताहरूबाट एउटा आम मान्छे जसरी भकुन्डिन्छ त्यसैको प्रतिरूप हुनसक्छ यो गीत । झट्ट सुन्दा यो गीत पप फ्लेबरमा बनिएको रहेछ जस्तो लाग्छ तर त्यो भ्रम तत्काल निवारण हुन्छ जब श्रोता अन्तरामा प्रवेस गर्छ । यो गीतमा लासमितको स्वर लिम्बूनीको शिरमा शिरबन्दि जत्तिकै सुहाएको छ । फेरी पछाडी फर्केर "सुवास छरी" बोलको ३ नम्बरको गीतमा केही क्षण घोत्लिन मन लाग्छ । यो गीतले बोकेको भाव अमुर्त छ तर छ अभिब्यक्तिको जादुगरी । डि. बि. को शैली शिल्पको अनुपम नमुना । यो गीत वास्तवमा सुन्नमा जस्तै पढ्नमा पनि आनन्द आउने खालको छ । सुनिता सुब्बाको खारिएको स्वरले यो गीतको वजन केही बढाएको छ । उल्लेखित ३ बाहेक अरु ५ गीतलाई भावार्थ मात्र होईन स्वर र संगीतको हिसाबले समेत एउटै कित्तामा राख्न सकिन्छ । यद्यपी "कल्पनाको सागरमा" बोलको ३ नम्बरको गीतको बारेमा थोरै चर्चा गर्दा स्वरका राजा राजेस पायल राईको संगीतपक्ष अलिक फितलो महसुस हुन्छ । तारा प्रकाश लिम्बू संगीतमा नयाँ नाम जस्तो लाग्छ । नयाँ नाम हुँदैमा नयाँ काम हुन्छ भन्ने कुनै ग्यारेन्टि हुँदैन । आधुनिक गीतको परम्परागत शैलीलाई उनले छोड्न नसकेको आभाष हुन्छ ।
         
          आधुनिक सङगीत संकटको भुमरीमा फसेको समयमा "आलाप" ले खुट्टा टेकेको छ । अब अगाडि बढ्न हिन्दी, पप, रिमिक्स, रिमेक, ईङलिस, लोकगीत आदि ईत्यादि जस्ता बारहरु भत्काउनुपर्ने हुन्छ । जसको निम्ति नेपाली संगीतका श्रोताले आफ्नो मौलिकतामा विश्वाष गर्न सक्नुपर्छ ।

 
          डि. बि. को प्रथम गीति एल्बम "आलाप"ले नेपाली संगीतको दुनियाँमा आफ्नो स्थान बनाउला भन्ने कुरामा शंका नरहला । यधपी समग्रमा "आलाप" परम्पारित नेपाली आधुनिक गीतको कित्तामा उभिनेछ भनेर भन्दा अर्घेलो नहोला भन्ने आशय मात्र हो । डि. बि. लाई "आलाप"को निम्ति बधाईको साथमा सफलताको शूभकामना टक्र्याउँछु ।

          सेवारो आदाङ्वे ।