कल्पनाको डायरी

Author : बृत्त-आधार
Published on : April 03, 2009


  
बृत्त-आधार

कल्पनामै

सक्दो हाँसियो

मुटुमा गैरो भई गाडिएको मायाको खिल

मुटुमै कतै बिलाइदिन खोज्दै

कस्सी कस्सी हाँसियो ।

हाँसिहाँसी,

बिछोडको मायाको मुल्य चुकाउन पनि खोजियो

कल्पनामै तिमीसित

पुन: झुक्किई झुक्किई माया पनि लाइयो

कस्सम् ! तिमी नवप्रेमि नभएपनि

भान भने परिरह्यो

तर

हाँस्न सकिन्न रहेछ

मायाको खिल मुटुमै दबाउन खोज्दा

अझ चस्किन्दोरहेछ

फिस्स मुस्काउन पनि मुस्किल रहेछ

मायाको कुनै मुल्य तोक्न सकिन्न रहेछ

धैर्यताको माझैबाट पनि प्रेम फरार भईदिंदोरैछ

माया शब्द नै गलत परिभाषित रहेछ

पुस्तकमै मात्र सिमित राख्दा राम्रो देखिने माया

कल्पनामा असिमित रहेछ ।

  

हेत्तेरिका !

आँसुको मुल्य थाहा छैन भन्ने

थाहा भएको भए

खप्पिस् धोकेवाज

तिमीलाई सम्झि-सम्झि

रियल्ली ! म रुन्नथें होला । 

 

फेरिपनि

चर्चित प्रेमगाथालाई बन्दी बनाइएको

पुस्तकको पात्र सम्झिरहें तिमीलाई

घोकें, कण्ठस्थ पारें

जहाँ पात्र कुरुप छ

तिमी भने परी जस्तै छौ

तिमीलाई किन माया गरुँ म अब र ?

कतै, तिमी त्यै पुस्तकको पात्र जस्तै

सपनामा परी भै आकाशमा उडेर जाने त होइनौर ?

विलिन पो हुने हौ किर ?

भनन प्लिज !

साँच्चै क्षितिज भन्दा टाढा पुग्छौ भने

म पुस्तक पनि खोल्दिन

कण्ठस्थ हरफहरुपनि

बिर्सिदिने कोसिस गरुँला बरु

उधारो प्रेम कल्पनाको डायरीमा

नामेट लेखिदिउँला बरु

मेरो मृत्यु डायरी

बस:  कल्पनाको डायरी

तिमीमा समर्पण ।