खोलिबुङ, जसराज किराँती र सालिक सिपाही

Author : गणेश राई
Published on : March 24, 2009


  
गणेश राई
Author

          चेतना सौन्दर्य मान्छे हुनुको सन्दर्भ र सौरभमा अथवा जीवन्तताको महत्व र मानेमा सप्पैभन्दा ठूलो शक्ति हो । साथै अजेय सम्पति पनि हो । नत्र फ्रान्सेली सम्राट नेपोलियन बोनापार्ट-'मलाई दशौं हजार सङगीनकोभन्दा चारओटा विरोधि पत्रिका (पत्रकार) सित डर लाग्छ ।' भनी किन भन्थे होलान् र । यसो हुनाले चेतना सौन्दर्य मान्छेको सप्पैभन्दा शक्तिशाली हतियार हो । चेतना सौन्दर्यमा जब वैचारिक वैविध्यता समाहित हुन्छ । त्यो अरु उँचो हुन्छ । प्रखर हुन्छ । र, थप सुन्दरका साथै कलात्मक बन्छ । सृजनात्मक निस्सिमताको समावेसी दृष्टिमा वैचारिक अनेकानेक अथवा विविधता सर्वस्वीकार्य हुनुपर्छ, तबमात्र सृजनाको आयाम आयामिक हुनका अतिरिक्त पठनीय हुन्छ । जुनै विषय यद्यपि नौलो त हुँदै होइन, ती मान्छेसँगै सृष्टि भएका हुन् । फरक यति हो  अलिखित भएकाले त्यो नौलो विषयजस्तो बन्न गएको मात्र हो । नौलो त तेसको प्रतिकात्मक लाग्ने विम्ब, नश्लिय मिथक, कलात्मक प्रस्तुती र प्रयोगीय शैलीमात्र हुन् । तथापि अनेकौं प्रपञ्च र तीकडमको जालोले अदृष्य अर्थात अदेखा र अलेखा पारिएको थियो, छ र हो भन्दा के नै पो बिग्रिएला र ? यसो नहुँदो हो त, खोलिबुङजस्ता सयौं फूलहरूका सौन्दर्यको परिभाषा, अस्तित्वको पीर र तेसको निरन्तरताको चिन्ता बल्ल आजमात्र खोजिनपर्ने स्थिति र विषय बन्ने थिएन । माङहिमहरू ओझेलमा पर्ने थिएनन् । अथवा 'बुइपा पनि यौटा देश हो' भनी कविको चेतना सौन्दर्यले दाबी गर्ने थिएन । समानान्तर काठमाडौंहरू जहितहि उठ्न खोजिरहेको वर्तमान समयमा बुइपा काठमाडौं हुन किन नसक्ने ? 

          धुरीबाट खसेको अन्धकारले टेक्दै लगेका गाउँलेका निमुखा सपनाहरू छन्

          यी रोइसकेर पनि रुन नसकेका सपनाहरू हाम्रा हुन्

          यी दुखेर पनि दुखें भन्न नपाएका दुःखहरू हाम्रा हुन्

          यी जङ्गलहरू जङ्गल होइनन् अब

          जहाँका चराहरूले रुखका हाँगामा निर्धक्क बास बस्न पाउँदैनन्.....       (बुइपा पनि यौटा देश हो) 

          पेरिमिटरभित्रको धेरै अनुशासित यद्यपि थोरै सृजनात्मक वातावरणभित्र पनि कवित्व अनुराग र अनुभूतिले परिस्कृत कवि रक्ष राई जीवनको मुलबाटोमा ठिङ् उभिई चेतनाको पुल्ठो सल्काउँदै सृजनाको सप्तकोशी बगाउँछन् आफ्नो नवीन कृति 'सालिक उभिएर गोर्खाली' कविताकृति मार्फत । कविताको सृजनाचेतले यही पुष्टि गर्छ । उनले बिछ्याएका साङ्केतिक विम्वको गोरेटोमा जीवन हिँड्नुको अर्थ शिखरतिरको यात्रा हो-जीवनको । जीवन पद्धति हो, जीवनको । संस्कृति र संस्कार पनि हो मान्छेको । जीवन हुनुको साँचो अर्थमा जीवन निरर्थक हुनुहुन्न भन्ने जिकिर हो । उनका कविताको स्तुत्यमय विम्ब बनेका जसराज किराँतीको सन्दर्भ भनेको केवल यौटा बुइपाको सन्दर्भमात्र होइन, समग्रमा धेरै बुइपाहरूको सामुहिक सन्दर्भ हो । उनी समग्र नेपाल हुन् सम्पूर्णतामा । काठमाडौंमात्र अटाउने लोभिजालि नेपाल नभै, सिङ्गो नेपाल अटाउँने फराकिलो नेपाल हुन् उनी । कविको सामयिक चेतना घोलिएको निस्सिम एवम् प्रतिकात्मक विम्बको सृजना सौन्दर्यले तेही इङ्गित गर्छ ! जो दिखुवा बग्दै साप्सुमा हलहलाउँछ र दूधकोशी मौलाउँदै शप्तकोशी गड्गडाउछ । जस्तैः 

          अक्षरहरू त हिँड्छन्, बोल्छन् र मान्छेजस्तै सजीव हुन्छन्

          यदी कविताहरू मान्छेजस्तै सक्रिय भएभने के हुन्छ ?

          अथवा मान्छेहरू कविताजस्तै सभ्य भएभने के हुन्छ ?               (सृष्टिदोष) 

नेपथ्यमा लुकेर हैन, छर्लङ्ग आँखामा दाँजिन ठडिएको पहाडजस्तै हाजिर छ उत्तर-सालिक उभिएर गोर्खाली । थुप्रै मान्छेका आस्था र विश्वास बोकेर भरोसा र विजयको पर्यायवाची बनी युद्धमा होमिएका वीर मान्छे बहादुरी र बफादारीताको भी.सी.तक्मा छातीमा सिउरेर पनि मान्छे हुनबाट अस्वीकृत जीवन फ्याकिएकाहरू समयसापेक्ष हुनबाट वन्चित जो हिजो थिए र आज पनि छन्, तिनीहरू जो आफू बारम्बार हारिरहनु पर्ने खडेरी जस्तो नियती हुर्काउँदै बाँच्नुपर्ने जीवनको कस्तो जीवन परिभाषा ! 

          युद्ध लडिन्छ बन्दुकलेभन्दा अदम्य साहसले

          मृत्युलाई जिते राइफलम्यान लछिमन गुरुङले इरावती नदी किनारमा

          तर रगत सरि भलभली बग्ने समयको खोला

          कहाँ पुग्यो इरावती र कहाँ छुट्यो लछिमन गुरुङ ?    (मोगाङको रातो घर र सहस्र तुलबहादुर पुनहरू) 

          इतिहास पढ्नै पर्छ जान्नलाई बुझ्नलाई । तथापि, इतिहासमात्र होइन वर्तमान यही लण्डनको होन्स्लोमा खोजौं र पढौं । सृजनाका विम्व बनेका तुलबहादुर पुन र लछिमन गुरुङको वीरतामय गौरवपूर्ण जीवन इतिहास पढ्न कुनै सङ्ग्रहालय या पुस्तकालय गै रहन पर्दैन । बर्तमान आफै बोलिरहेकोछ । आफै आफूले भोगेको जीवनकहानी कहिरहेछ । मात्र खाँचो छ जीवन बुझ्ने सम्वेदना र चेतना भरिएको मस्तिष्कको । भी.सी. तक्मा युद्ध बहादुरीको सर्वोच्च प्रतीक हो या उपहास ? उपहास हैन भने बर्मा मोगाङको मोर्चामा नारिउन गोर्डन ब्राउनहरू र पढुन् रातोघरको इतिहास, इरावती नदीको गहिराइमा गोता मारुन् ज्याक्यी स्मिथहरू र नापुन्-गोर्खाली ज्यानहरूको वीरताको गहिराई । पुनरावृति हुनेछ कि छैन गोर्खाली बलिदानको ? महोदय, मान्छेको परिभाषाभित्र पर्छन् कि पर्दैनन् यी मान्छेहरू ? 

          खोलाको पानीको तरतला उसको निर्दोषिता हो

          तर पानीबिनाका खोलाहरूको जटिलताले मननदी

          तराईबाट हिमाल बग्छ

          र चढ्छ सागरबाट सगरमाथा ।                         (मननदी) 

          उठ्नु जीवन हो । हिँड्नु गति हो जीवनको । सालिक उभेर आँखामा ठिङ्ग ठडिनु गौरव हो गोर्खाली वीरताले भरिएको इतिहासको । पुनरावृति इतिहासको जीवन्तता र गतिका दृष्टिले मान्य हुँदाहुँदै पनि त्यो मान्यता र गौरवमय वीरतामा यद्यपि घनघोर आर्तनाद रेटिएको गम्भीर बोध कवि रक्ष राईले गर्नु भनेको आम पीडितहरूका जीवनको सुक्ष्म विश्लेषण गरिनु हो । अन्यायको तुलोमा न्यायको घनत्व जोखिनु हो । जस्तो किः 

          कोचिएर आफ्नै बुटजुत्ताभित्र

          थिचिएर आफ्नै गोर्खाहेटमुनि

          खाँदिएर आफ्नै खुकुरीको दापभित्र

          बिर्को हालेर गिदी तुम्लेटभित्र

          ग्याँस च्याम्बरभित्रको मुक्त जीवन...........                     (सालिक उभिएर गोर्खाली) 

          सृजनशिल मनहरू निमोठिन पर्ने, कलमका निवहरू भाँचिन पर्ने या बिर्कोभित्रै खाँदिन पर्ने त्यो विकट सिर्जनाका अप्ठ्यारा परिस्थितिहरू सायद अभिशाप थिए हिजो सिपाही जीवनका । जसरी आज मिनिष्ट्रि अफ डिफेन्सको मुखैमा अभिशप्त गोर्खाली सालिक उभिएको छ अन्तरबिरोधात्मक प्रवृति, अन्यौलग्रस्त बिगत र वर्तमान अनि दोहोरो भ्रान्तिको मार खेपेर । ठडिनु उसको नियति हो । भासिदै भासिदै पनि ऊ ठडिन्छ-जीवनको निम्ति ।  

          लड्छ युद्धमा

          र मर्छ बुद्धिमा

          झन् झन् मर्छ बुद्धिमा

          र बारम्बार मर्छ बुद्धिमा

          यसरी धेरै खेप हारेर बुद्धिमा

          केही जिवन्त यहाँ उभिएको छ- यो सालिक । 

          प्रतिभा प्रतिष्ठान वेलायतद्वारा प्रकाशित यो कृति दुई भँगालाहरू मिसिई बगेको नदी झैं सिर्जनाका दुई भिन्न तर सम्भाव बग्ने भँगालाहरू घरदेश र परदेशलाई जोड्न छयालिस थान कविताका दिखुवाहरू मननदी छिचोल्दै बगेका छन्-सालिक उभिएर गोर्खाली कविताकृतिभित्र । आजको विश्वमान्छे भूगोलको साधसीमा भत्काई जहितहि पुग्नु भनेको फगत् श्रम खर्चिन मात्र नभै सृजनात्मक आयाम बहुआयामिक बनाउन पनि हो । रचनात्मक गोरेटो अरु फराकिलो बन्नु हो । पठ्नीय रोजाई वृहत बनिनु हो । ताते गरेको माटो दुख्छ र दुख्नु पर्छ । यसरी माटो दुख्नु, सम्झनाको कोलाजमा दिखुवा बग्नु, रीतिथिति मस्तिष्कमा याद बल्झिरहनुको अर्थ स्रष्टाको मातृमोह हो । आमाप्रतिको अगाध श्रद्धा हो । कृतिभरि कवि नोल्टाल्जिक बल्झेका छन् । संस्कार, सँस्कृतिजन्य मिथक र विम्बले कविताको ज्यान भर्नु भनेको सम्बन्धित स्रस्टाको तेसप्रतिको गहिरो आस्था, विश्वास, सम्मान, भावना र विचारको टेम्के उठ्नु हो । भावनाको शिविरभित्र कविले यौटा आदिम मान्छेको दोहोरो प्रवृति सफलतासाथ उभ्याएका छन्-चेतना सौन्दर्यले अभिभूत मान्छे र राइफल भिरेको मान्छे अनि उसभित्रको मानवीय सम्वेदना । जो पठनीय लाग्छ कविताको नदीमा डुब्दै जाँदा । 

          बिट मार्नु अघि-कवि रक्ष राईको यस कृतिले डायस्पोरिक साहित्य र खासगरी नेपाली युद्धसाहित्यको संख्यागत साँगुरो परिधिलाई फराकिलो पार्ने काम गरेको छ । साथै युद्धसाहित्यको सैन्दर्य दृष्टिमा अब लेखिनपर्ने युद्धसाहित्यलाई गुणात्मक अभियानमा लाग्न उत्पे्ररित गर्नेछ । युद्ध धेरै लडियो । तर युद्ध लडेको साहित्य खोई ? सिपाही जीवनले भोगेको जीवनको दुखाई खोई ? यो खट्केको विषय हो, जो निरन्तर खट्किरहेछ । सम्झन्छु-दुई दशक अघि रक्ष राईलाई मैले पहिलो पल्ट सैनिक पत्रिका पर्वतेमा पढेको थिएँ । कथा थियो त्यो । लागेको थियो तेसैबेला-निकै राम्रो सम्भावना भएका स्रष्टा हुन् उनी । मेरो उबेलाको ठम्याई सही थिएछ-दुई कथा संग्रह र दुई कविताकृति नेपाली साहित्यलाई दिईसकेका उनीबाट हामीले धेरै आशा गर्ने ठाउँ अझै सुरक्षित छ । युद्ध साहित्य मै उनको कलम कुदे हुन्थ्यो भन्ने मेरो असिम कामना र बधाई पनि यो खदिलो कृतिको निम्ति । दुःखको कुरो मेरो आफ्नै कमजोरी उनीसित साक्षात्कार गर्ने मेरो साइत अझै जुरेको छैन । कस्तो खेल कर्मको । कस्तो छल जागिरे जीवनको ।