हिजो, आज र भोली

Author : टोप बहादुर राई
Published on : March 23, 2009


  
टोप बहादुर राई

हिड्दा हिड्दै बाटैमा लुटिएका अस्मिताहरू

बाँड्ने आश्वसन दिएर खोसिएका भाग्यहरू

भ्रमका पगरीले गुथिएका टाउकाहरू

भर्खर उदाएका संविधान सभाका भाकाहरू,

तर आज खै कुन नेताको पोल्टामा पर्यो हं ?

 

डाँडा गाउँको हर्के कामी

उसरी नै वर्षौ देखि २ पाथी अन्नमा फलाम कुटिरहेछ,

भञ्याङको विर्खे दमाई

उसरी नै वर्षौ देखि २ पाथी अन्नमा फाटेको कट्टु टालिरहेछ

अनि

सिरान घरे धनजिते

अक्करको भिरमाथि ज्यानको बाजी थाप्दै

उसरी गरी वर्षौ देखि ढाकरमा नून खेपिरहेछ,

 

हिजो, आज र भोलि

धेरै नेताहरू फेरिए

पार्टी फेरिए

भाषण फेरिए

आश्वसन फेरिए

तर अहँ

हर्के कामीको आरन

बिर्खे दमाईको सिउने कल

अनि

धनजितेको ढाकर र तोक्मा

उहि पुरानै

बर्षौ पुरानो, पुस्तौं पुरानो,

 

हिजो, आज र भोलि

हिजोका नयाँ

आजका शासक

भोलिका पुराना

सबै उस्तै-उस्तै

नाराणहिटीमा फुलेका मखमलीका सयौं थुङ्गा फूलहरू जस्तै ।
 
संखुवासभा, वाना, हाल हङकङ