गीतकार डि.बि.पालुङवा र आलाप गीतिसंग्रह

Author : टंक सम्वाहाम्फे
Published on : March 22, 2009


  
टंक सम्वाहाम्फे

          लामो मेहनत र परिश्रम पछि कवि तथा गीतकार डि.बि.पालुङवाले सन् २००८ को मध्यतिर 'आलाप' नामक आधुनिक गीति एल्वम नेपाली गीतसंगीत प्रेमी तथा श्रोताहरुको सामु प्रस्तुत गर्नु भएको छ । उक्त गीति संग्रह नेपाली साहित्य प्रतिष्ठान हङकङको नवौं वाषिर्कोत्सवको सुखद अवशरमा विमोचन गरिएको थियो । अहिले 'आलाप' गीति संग्रह धेरै नेपाली गीतसंगीत प्रेमी तथा श्रोताहरुको हातमा परिसकेको छ । सञ्चारका बिभिन्न माध्यमहरुबाट आलापका गीतहरु गुञ्जिरहेकाछन् ।  गीतकार डि.बि.पालुङवाद्वारा सिर्जीत गीतहरु सुन्न थाले पछि विचैमा बन्द गर्न वा छोडेर कतै जान मन लाग्दैन । यसो हुनुको प्रमुख कारण गीत संगीत र स्वरको संयोजन सोचे भन्दा उत्कृष्ठ खालकाछन् त्यसैले श्रोताहरुलाई गीतले आकर्षित गरिरहन्छ । कवि तथा गीतकार डि.बि.पालुङवा यो पङतिकारको पुरानो मित्र हुन् । बैदेशिक रोजगारी कै क्रममा डेढ दशक अगाडी हाम्रो चिनाजानी भएको हो । मैले चिन्दा र जान्दा उनी गीत कविताका असल श्रोता तथा पाठक मात्र थिए ।  हङकङको बसाई क्रममा मैले वहाँ साहित्यिक भावना भएको ब्यक्तित्व थाहा पाएर कविता लेख्न अनुरोध गरेको थिए । प्राय हाम्रो भेटघाटमा साहित्यिक विषय बस्तुमाथि धेरै चर्चापरिचर्चा हुन्थ्यो यहि कारणले पनि वहाँलाई यहि लाईन आउँनु पर्छ भनेर कुरा गर्थे । अन्तत मेरो अनुरोधलाई मानेर एउटा कविता मेरो हातमा थमाई दिनु भयो । सायद वहाँको त्यो पहिलो रचना नै हुनु पर्छ तर कविता भने सिकारु कविले लेखेको भन्दा उत्कृष्ठ थियो । सो कविता मैले चौविसे समाज हङकङद्वारा प्रकाशित चौविसेका गोरेटाहरुमा प्रकाशित गरिदिएको छु । त्यसपछि मैले वहाँलाई साहित्यमा गम्भिर भएर लाग्न आग्रह गरेको थिए । सायद आग्रह कै कारणले हुनुपर्छ वहाँलाई प्रतिवद्ध लेखकको रुपमा पाउँन थाले । किनकी समय समयको भेटघाट र फोनवार्तामा समेत गीतसंगीत र साहित्यका प्रसंगहरु निकाल्नु हुन्थ्यो । समय वित्दै जादा डि.बि.पालुङवा प्रखर कवि तथा गीतकारको रुपमा कहिल्यै नअस्ताउँने उज्यालो घाम भएर उदाउँनु भयो । अहिले वहाँ नेपालीहरुको माझमा एउटा सशक्त कवि तथा गीतकारको रुपमा स्थापित भै सक्नु भएको छ । तर विचार र भावनाको यात्रा भने सोचे अनरुप सजिलो हुँदैन । धेरै अध्यायन पाश्चात  सोचेर लेख्नु पर्ने भएकोले कवि तथा गीतकार डि.बि.पालुङवाले अवका दिनहरुमा लेखनका अरु चुनौतिहरु सामना गर्दै अघि बढ्नु पर्ने देखिन्छ । किनकी हिड्नु पर्ने यात्राहरु अझै बाँकी छन् । आलाप गीति संग्रह यात्राको शुभारम्भ हो । जहाँ सम्म मलाई लाग्छ यात्राको शुभारम्भ सम्म आईपुग्नलाई पनि धेरै समस्याहरु ब्यहोर्दै आएको हुनुपर्छ । विभिन्न खाले विषम परिस्थितिहरु पन्छाउँदै आएको हुन सक्छ । किनकी ती कुराहरु हामी पाठक तथा श्रोताहरुलाई थाहा हुने कुरा भएन ।

           आलाप गीति संग्रहमा कुल आठ गीतहरु नेपालका चर्चित गायक गायिकाहरुको स्वरमा आवद्ध गरिएका छन् । यो संग्रहको निर्माण कालमा मैले पनि सानोतिनो सल्लाह सुझाव पेश गर्दै आएको हुनाले अप्रत्यक्ष रुपले कवि तथा गीतकार डि.बि.पालुङवासँग नजिकिएको महशुस गरेको छु । अहिले आएर नेपाली गीतसंगीतको विकास नेपालमा मात्र नभएर विदेशमा समेत हुन थालेको छ । त्यसको प्रत्यक्ष उदाहरणको रुपमा आलाप गीति संग्रहलाई लिन सकिन्छ । आलाप गीति संग्रहको रेकर्डिङ प्रकृया नेपालमा भए पनि गीतहरुको सिर्जनाभूमि,समय र परिवेश हङकङ हो । स्थानन्तरले गर्दा गीतका भावहरु नेपाली माटोमा लेखिएका गीतहरु भन्दा फरक छन् । त्यसैले गीत सुन्दा पनि केहि फरक आभाष हुन्छ । फरक ठाउँले केहि फरक भावना र बिचार जन्माउँदछ जस्ले गर्दा गीत पनि फरक ढङ्गले लेखिन जान्छ । मानिसलाई नयाँ वस्तुस्थिति र परिस्थितीले प्रभाव पार्दछ । तिनै प्रभावको असरले गीत जन्मने हुँदा आलाप गीति संग्रहका गीतहरु नेपाली परिवेशमा रचिएका गीतहरु भन्दा फरक छन् । गीतका शब्दहरुलाई केलाएर हेर्दा विदेशी भूमिमा दुखेका मनका ब्यथाहरु पोखीएको पाईन्छ भने मेशीन झैं कुनै बस्तुको रुपमा आफुलाई उपभोग गरिरहेको गीतकार स्वयमले अनुभव गर्छन् र गीतमा भन्छन्

          म त कुनै बस्तु भएछु

          एउटा जीउँदो ��"जार भएछु

          वास्तवमा जीवन कसैको अजम्बरी हुदैन किनभने मानव जीवन मरणशील छ । तर मान्छेलाई भने सदासदा अजम्बरी भएर बाँच्न मन लाग्छ । त्यसैले गीतकार डि.बि. पालुङवा गीतमा आफ्नो स्वरुप बदलेर अजम्बरी बन्न चाहान्छन् र गीतमा यसरी ब्याक्त गर्छन् ।

          अजम्बरी को छ र ? मान्छे सबै दुइ दिनको पाहुना

          अमर भई बाँची रहने मेरो गीतको सपना 

          गीतहरुमा कतै प्रेमीकाको हात आफ्नो छातीमा राख्न पाए हुन्थ्यो भन्ने सोच्छन् । कतै सप्तरङ्गी फूलमा भमरा बनेर उड्न चाहान्छन् । विदेशमा गीतकारको बसार्इले नै होला विदेशको पीडामा जले पनि नेपालमा रहेकी आफ्नी खसमलाई  धैर्यताका साथ प्रतिक्षा गर्न आग्रह गर्न पुग्दछन् । अल्लारे समयको झझल्कोले होला आफुले नै प्रेमीका तिर प्रेमील हातहरु बढाएको कुरा नसर्माई लेख्छन् ।

          तिमी देउ या नदेउ ति म्रो हात मैले हात बढाए

          सम्झी फूल हो जीवन मैले तिमीलाई चढाए

          समग्रमा गीति संग्रहमा सग्रहित गीतहरुलाई सुन्दा वेग्ला वेग्दै स्वाद दिने खालका गीतहरु समेटिएकाछन् । त्यसैले श्रोताहरु एकपछि अर्को गीत सुन्न ललायित भै रहेका हुन्छन् । गीतहरु सुन्दै लैजादा गीतको गहिरो मर्मले श्रोताहरुलाई पगाल्न थाल्दछ र आफ्नै प्रकारको नयाँ अनुभूति दिन पुग्दछ । त्यसैले आलाप गीति संग्रहमा संग्रहित आठ गीतले वेग्लावेग्लै स्वाद पस्केको छ । हरेक नयाँ स्वादले श्रोताहरुलाई मनोरञ्जन दिईरहन्छ । यदि कुनै पनि गीतले श्रोताहरुको मन छोएन र मनोरञ्जन  दिएन भने त्यो राम्रो गीत हुन सक्दैन । तर गीतकार डि.बि. पालुङवाका गीतहरुले हरेक श्रोताहरुको मानविय संवेदनालाई सुम्सुम्याई रहन्छ । आलाप गीति संग्रह पहिलो प्रस्तुति भए पनि पहिलो जस्तो लाग्दैन । नयाँ गीतकार भएर पनि उनको खारीएको गीति सिर्जनाले सिद्धहस्त अथवा पारङ्गत देखिन्छन् । पुरानै गीतकारको हाराहारीमा उभेर गीत लेख्नु भनेको पक्कै पनि सजिलो कार्य होईन । कतिपय गीतहरु पुरानै गीतकारलाई समेत चुनौति दिने खालका छन् । आलाप गीति संग्रहलाई मूल्याङ्कन गर्दा आउँदा संग्रहहरु यो भन्दा पनि राम्रो प्रकारको आउँने नै छन् भन्ने कुरामा आशावादी हुन सकिन्छ । किनभने विहानीले दिनको छनक दिन्छ भने झैं पहिलो प्रस्तुतिमा नै उनी माझिएर आएकाछन् । यो निश्चय नै नेपाली गीत संगीतको श्रीवृद्धिको कुरा हो । यस्तै प्रकारका गीतहरु नै र्सवकालिन हुन्छन् जो आलाप गीति संग्रहमा समावेश गरिएकाछन् । गीत संगीतलाई सुन्ने र बुझ्ने श्रोताहरुको आआफ्नै तौरतरिकाहरु हुन्छन् । त्यसैले आलाप गीति संग्रह सुनि सकेपछि कुनै न कुनै गीतले श्रोतालाई छोएरै छाड्दछ । हङकङ जस्तो ब्यस्त ठाउँमा रहेर खाली कामलाई मात्र ध्यान नदिई गीत संगीतमा पनि आफ्नो योगदान दिदा त्यसै पनि उदाहरणीय काम गर्नु भएको छ  कवि तथा गीतकार डि.बि. पालुङवाले । त्यसैको फलस्वरुप नेपाली महासंघ हङकङद्वारा सम्मानित पनि भै सक्नु भएको छ । यसरी निरन्तर श्रोताहरुको माझ यस्ता गीति संग्रहहरु आईरहुन र मानसम्मान पाई रहुन् भन्ने कामना गर्दछु । अन्त्यमा सांगीतिक आलापलाई शब्दहरुको आलापले मीठो सुरमा आलाप्न चाहन्छु ।