उत्तरआधुनिक सिद्धान्तको पृष्ठभूमिमा नेपाली आख्यानेतर साहित्य

Author : डा. गोविन्दराज भट्टराई
Published on : March 14, 2009


  
डा. गोविन्दराज भट्टराई

रत्नराज्यलक्ष्मी क्याम्पस

एम. . नेपाली प्रथम वर्षका विद्यार्थीहरूद्वारा आयोजित

नेपाली साहित्यमा उत्तरआधुनिकता : शक्ति र सीमाविषयक कार्यक्रममा प्रस्तुत कार्यपत्र
दिनाङ्क : २०६५ फागुन २९ गते विहिबार

 

 

                                                           उत्तरआधुनिकतामाथि

 

          प्रस्तुत रचनाको शीर्षकले दुईतिर छुन्छ- उत्तरआधुनिकता र विधाविभाजन । यसले यी दुवै कुरालाई नेपाली साहित्यको सन्दर्भमा हेरिमाग्न पनि आग्रह गर्दछ । विषयको गहनताले गर्दा मलाई विस्तारमा बोलौँ लागेको छ, तर स्थान वा समयको सीमाले सङ्क्षेपमा अवतरण गर्नुपर्ने हुन्छ । त्यसकारण म यहाँ बीचको तर छोटो बाटो दौडिन चाहन्छु । यो सूत्र पक्रेर अरूले विस्तारमा जाने मार्ग पत्ता लगाउन सक्छन् ।

           'उत्तरआधुनिक' पदलाई अरूले जसरी प्रयोग गर्दछन्, हामीले पनि तिनैबाट प्रेरणा लिने हो । हाम्रो मात्र व्याख्या छैन; विश्वको छ, यद्यपि त्यसमा हाम्रा मौलिक उदाहरण आउन सक्छन् । तर यसको विस्तार र व्यापकताले अस्पष्टता पनि सँगसँगै ल्याइरहेको छ- के यो साहित्यमा प्रयोग हुने पद हो ? कि दर्शन हो ? कि एक हल्का फेसन ? यस्ता कुरा पनि उठेका छन् तर संवादविना कुनै ज्ञान खुल्दैन ।

          ज्याक डेरिडा (१९३०-२००४) यस धारणाका प्रवर्तक मानिन्छन् । यसलाई ज्याक लकाँ, रोलाँ बार्ट, जा-फ्रास्वाँ ल्योतार, मिसेल फुको, बोदि्रयार, गायत्री स्पिभाक, जेमिसनजस्ता चिन्तकले अघि बढाएका छन् । यो विभिन्न विचारधाराहरूको विमर्शकेन्द्र भएको छ । यसमा अनेक मतमतान्तर विद्यमान छन् । हरेकले आआफ्ना दृष्टिकोणले हेरेका छन् । ल्योतारले उत्तरआधुनिकतालाई विद्यमान संस्कृति र सौन्दर्यशास्त्रमा एक आमूल विच्छेद भनेका छन् यद्यपि कतिपय नेपाली विद्वान्हरू यो हाम्रो जलवायुको होइन र उपयुक्त छैन भन्ने आग्रह पनि गर्दछन्, तर फर्केर हेर्दा नेपाली स्रष्टा र चिन्तकहरू बिम्बवादको लक्षण र प्रभावको कुरा गर्छन्, घनत्ववादको पठनपाठन गर्दछन्, यथार्थवाद, समाजवाद, अस्तित्ववाद, विसङ्गतिवाद, यौनमनोविज्ञानवाद, नारीवाद, माक्र्सवाद- यस्ता अनेकौँ वाद र सिद्धान्तमा प्रवेश गर्दछन् । वास्तवमा भाषासाहित्य कला बुझ्ने बुझाउने विश्वका समस्त आधार, सिद्धान्त र विचार यिनै हुन्; नेपालले जन्माएको कुनै छैन; तैपनि विचार र दर्शनले भौगोलिक सीमा नाघेर सर्वत्र यात्रा गर्दो रहेछ, हाम्रो स्थिति पनि त्यही छ । कुनै पनि सिद्धान्त नेपाली मलमाटाका छैनन्, तर विश्वविचार सबैको साझा सम्पत्ति हो । अझ आजको चिन्तन वा विचारलाई साइबरजगत्ले तत्कालै सर्वत्र पुर्याइदिन्छ । यो सानो विश्वमा हामी प्रभावको प्रभाव मात्र बोल्न सक्छौँ । विश्वविचारहरू एउटै जलवायुले सम्पोषित हुन्छन् ।

          आजको परिवेशमा उत्तरआधुनिकतालाई साहित्यसँग जोडेर विमर्श चलाउने जुन प्रयत्न भएको छ, त्यसले नेपाली मस्तिष्कलाई व्यापक विश्वतिर निमन्त्रण गर्दछ किनभने केही नयाँ दृष्टिकोणले नहेरी अबको सिर्जना र मूल्याङ्कनमा लाग्न सकिादैन; नयाँ गन्तव्यमा पुग्न पनि सकिँदैन । अव सबै कुरामा ग्लोबलता छ- उपभोग्य वस्तुमा, विचारमा, सिद्धान्तमा, सिर्जनामा, संस्कृति र व्यवहारमा ।

          यतिखेर सबैलाई टेक्नोसाइन्सले छोपेको छ, विश्व साइबरीकृत छ; सबैसबै हाम्रा कर्महरूमा जाँ बोदि्रयारले भनेझैँ सदृशता मात्र छ; वास्तविकता छोपिएको छ । डोना हृयारावेले पनि द साइबोर्ग म्यानुफेस्टोमा भनेकी छन्- आजको प्रविधि मानव शरीर-रचनाको विपरीत हुनुको सट्टा एउटा प्रतिरक्षात्मक साधन बनेको छ, यो स्वयम् मानव बन्ने प्रयत्नमा मरेर लागिपरेको छ । मार्क्र्सवादी, उदारवादी, अनुदारवादीजस्ता पुराना राजनीतिक उपायहरू (सिद्धान्तहरू) आजको ग्लोबल प्रविधिविज्ञानको सामुन्ने अप्रचलित भइसकेका छन्; यी कुरालाई थाम्नको लागि हामीले निर्माण गरेका नैतिक र राजनीतिक संयन्त्रहरूलाई यसले नाघिरहेको छ ।  त्यसैले गर्दा आजको साहित्य नियाल्ने दृष्टिकोण पनि यस्तै परिस्थितिको सापेक्षतामा हुनुपर्दछ ।

उत्तरआधुनिकतालाई समकालीन विश्वले कला, साहित्य, संस्कृति, सङ्गीत र दर्शन सबैमा पुर्याएको छ । सबैले आफ्नो परिभाषा उत्तरआधुनिक परिप्रेक्ष्यबाट गर्दछन् । समकालीन जीवनजतलाई र सिर्जनालाई बोध गर्ने दृष्टिकोण पनि यसैबाट प्राप्त छ । यसका प्रमुख विशेषता निम्नानुसार छन्-

          क) अपखण्डनको सिद्धान्त

          ख) साइबरीय सिद्धान्त

          ग) विनिर्माणको सिद्धान्त र

          घ) बहुलताको सिद्धान्त

 

अपखण्डनको सिद्धान्त

          सर्वप्रथम, कलासाहित्यलाई कहिल्यै पनि एक विचारले, शैलीले, नियमले बाँधेन; त्यसैले भिन्नताहरू सधैँ स्वीकार्य छन्" विभिन्नताको उपस्थिति भनेको निश्चित विश्वास, एकरूपता वा अपरिवर्तनीयताबाट मुक्ति हो; सारा तफ्वलाई, इतिहासलाई समेत अपखण्डनमा बुझ्ने हो । अपखण्डनमाथिको विश्वासले विचार र आकारहरूको सिङ्गो स्वरूप आलोचित छ, महाख्यानिक समग्रता भत्काइादैछ । यसैमा अडेर सिर्जनामा अभ्यास गरिने प्यास्टिस-जोडजाड अर्थात् पुनःसंयोजन, प्रतिकृति, भाषिक खेल, वर्णसङ्करताजस्ता धारणा स्थापित छन् । एक पाठमा अनेक विचार पस्ने, एक पाठमा अनेक पठन पस्ने हाइपरटेक्स्टको सिद्धान्त आएको छ, एकविधामा अर्को मिसिने अन्तरविधात्मकता, एक विषयमा अर्को विषय पस्ने अन्तरविषयकता आजको लेखन र मूल्याङ्कनका साँचामा परेका छन् । यस अभ्यासले अनेक प्रकारका द्विचरताको अन्त्य गरेको छ । तिनीहरूलाई बुझ्न-बुझाउन सांतत्यक (कन्टिनम) चेतना आवश्यक हुन्छ । यस्ता विशेषताले युक्त वर्तमान साहित्य नै हाइपर लिटरेचर भएको छ । यसको एक उदाहरण छ मल्टिमिडिया अथवा अनलाइन साइटहरू । एउटा विषयमा पसेपछि अन्यसँग हाइपर लिङ्क हुँदै अनेक टेक्स्टमा, ध्वनिमा, दृश्यमा मिसिएर मानिस पाखा निस्कन नसक्ने हुन्छ । अन्तर्सम्बन्धित विषयहरूको सञ्जाल बुनिन्छ ।

          यसमा एकत्वको, क्रमिकताको, सङ्गतिको खोजी हुँदैन । त्यसैले महाख्यानको समापन, तात्कालिकता, स्थानीयता, नवीनता र अल्पताका कुरा आउँछन् । एउटै टुङ्गामा पुग्नलाई अनेक माध्यम सिर्जित छन्, मल्टिमिडिया यही हो । हालै राजेन्द्र शलभले तयार पारेको कविताको भिजुअल सिडि अर्थात् हिजो मात्र सार्वजनिक गरिएको सुन्ने सेतोवाघको सिडि जस्ता उदाहरण हेरौँ । मानव उन्नतिको पूर्णता एउटा मिथ्या हो र अन्य प्रकारका पूर्णता पनि भ्रामक छन्, केवल आंशिकता र पाश्विर्कता यथार्थ हो । साहित्यमा पनि त्यही हुन्छ । त्यसकारण महाख्यानप्रति विश्वास हटेको हो । अपखण्डन र विविधतामा गएको हो । विविधतामा जानु युगको प्रवल चाहनाले सिर्जनामा अपरम्परिता, नवीनता, प्रयोग र मार्जिनलताको कदर हुन थालेको हो । 

 

साइबरीय सिद्धान्त

          दोस्रो, यान्त्रिकताको विकास र साहित्यमा त्यसको प्रभाव, यसले ल्याउने हाम्रा दृष्टिकोण परिवर्तन र अर्थ परिवर्तन महत्वपूर्ण कुरा हुन् । यतिखेर वास्तविकता छेलिएको छ, वास्तविकता प्रतिस्थापित छ र छायाँले त्यो स्थान लिएको छ । त्यो वास्तविकताको क्षयलाई वोदि्रयारको भाषामा अनुरुपण -सिम्युलेसन) भनिन्छ । यसप्रकारले हरेक वस्तुको जताततै छायाँ मात्र उपलब्ध हुने भएकाले वास्तविक र अवास्तविकबीचको भेद हराउँदै गएको छ ।

          यसको प्रयोगले समय र स्थानप्रतिका अवधारणा गलत भएका छन् । मानिस यन्त्रसँग प्रतिस्पर्धा खेल्दैछ- साइबर एकातिर छ, हृयुमन अर्गानिजम् अर्कातिर; दुवै मिलेर बनेको साइबोर्ग एक नयाँ उपस्थिति छ- अर्धमानव अथवा अर्धयन्त्र । हाम्रा लेखनमा र पात्रतामा यस अस्तित्वले महत्वपूर्ण भूमिका खेल्दैछ । यहाँ फेरि डोना हृयारावेलाई सम्झिनु पर्दछ । दिक्कालका परम्परित स्वरूप मेटेर चल्न थालेका www.sahityaghar.com विश्ववेबक्याम कविता प्रतियोगिता नेपाली साहित्यकला डटकमका साइबरप्रवेशका प्रयत्न हाम्रो साहित्यले पनि पूर्णरूपमा प्रतिमान (प्याराडाइम) बदलेको कुरा प्रष्ट हुन्छ । अब यो रोकिँदैन, रोक्नु छैन ।

          साइबर संस्कृतिमा प्रवेश गरेपछि सर्जकमा इतिहास-चेतना भिन्न हुन्छ । यो एकत्वपूर्ण, एकरेखीय रहादैन; यथार्थको भिन्न अनुभूति हुन्छ, यो परोक्ष अतियाथार्थिक र अझ भर्चुअल हुन जान्छ; सत्यको रूढता रहँदैन, यो तात्कालिक, लक्षित र परिवर्तनशील हुन्छ, व्यक्ति, स्थान र समयसापेक्ष हुन्छ, यसका स्वरूपहरू प्रतिस्थापित भइरहन्छन्, विस्थापित भइरहन्छन्- no truth is final त्यसकारणले कुनै कुरालाई, विषयलाई, सत्यलाई अन्तिम ठानेर त्यसमा लाग्नुको तात्पर्य एकप्रकारको भ्रान्तिमा पुगेर अन्वेषक चेतनाको आत्महत्या गर्नु हो । त्यसैले गर्दा नयाँ सिर्जनासिद्धान्तले भन्छ- प्रयोग गर्दै जान, नवीनताको खोजीमा पनि लागिरहनू । यसमा दुईकुरा निरन्तर आइरहन्छन्- अताङ्खवकता (एन्टि-एसेन्सिआलिजम्) र स्थापनावैरोध्य (एन्टिफाउन्डेसनालिजम्) । कुनै पनि तत्वको अन्तिम सारमा, निचोडमा पुग्न नसकिने हुनाले, मानव इन्द्रिय र चेतनाले, उसको भाषाप्रयोगले त्यो ठहर गर्न असम्भव हुने भएकाले गर्दा अताफ्विकता स्वीकार्य हुन्छ र सारा पूर्वस्थापित मान्यताहरू पनि मानवज्ञानको यही सीमितताबाटै पलाएकाले गर्दा हामी सधैँ त्यो स्थापनाको विरुद्ध उठिरहनु पर्छ; ती स्थापित केन्द्रहरू भत्काएर नवीनताको खोजीमा निरन्तर नै लागिरहनु पर्दछ, ती अरू केन्द्र, अरू नवीनताको यो यात्रा । यो कहिले टुङ्गिन्छ ? हजारौँ वर्ष हिँडिसक्ता पनि मानवचेतना, चिन्तन, प्रयोग र विद्वताको सामुन्ने सधैँ एउटा कृष्णविवर (ब्ल्याकहोल) " आजको समाचारमा आएको छ- वैज्ञानिकहरूबाट अर्को आकाशगङ्गा, सौर्य मण्डल, ग्रहपिण्ड र जीवातहरूको खोजी हुँदैछ । हाम्रो अज्ञानतामा, अन्धकारको गर्तमा करोडौँ यस्ता नवीन र अज्ञात सत्यतथ्य लुकेका हुन सक्छन् । जहिले पनि हामी त्यतैतिर लागिरहनु पर्दछ । यसरी हामीले आर्जन गरेको र गर्न बाँकी ज्ञानको सारतत्व सधैँ defer हुन्छ, परसर्छ; फेरि एक सारतफ्व अर्कोभन्दा सधैँ भिन्न भइरहन्छ त्यो differ हुन्छ । यी दुई शब्दले उत्तरआधुनिक दृष्टिको सारतफ्व र सत्यचेतनालाई परिभाषित गर्ने हुँदा दुवैलाई जोडेर डेरिडाले 'डिफराँस' differance शब्दको निर्माण गरेका छन् । हरेक कुराको अर्थाभास एकैचोटि पर सर्दै जाने र फरक पर्दै जाने प्रकृति हो डिफराँस ।

 

विनिर्माणको सिद्धान्त

          अब म तेस्रो विशेषता, विनिर्माणको विषयमा अलिकति प्रकाश पार्न चाहन्छु । विनिर्माण एकप्रकारको पुनर्निर्माण हो; प्रतिसोच, वैकल्पिकता र प्रतिस्थापन हो, तर यो विस्थापन भने होइन । यो पुनर्व्यख्या र पुनःपरिभाषा हो । यो सिद्धान्तको प्रतिपादन गर्दै डेरिडाले एक क्रान्तिकारी वैचारिक दर्शन प्रस्तुत गरेका थिए । उनले भने- हाम्रा सबै सोचलाई उल्टयाउनु, भत्काउनु र उच्छेदित गर्नुपर्दछ; तिनलाई प्रतिस्थापित गर्नुपर्दछ किनभने भाषाले कहिल्यै पनि सत्य बोलेन । भाषाले ढाँटेको कुरालाई भाषैले सच्याउन सकिन्छ, यद्यपि हरेक साच्याइ व्यक्ति अनि समय सापेक्षमात्र हुन्छ । हरेक सोचको, अभ्यासको विकल्प हुन्छ । यसरी नै निर्विकल्पताको अन्त्य हुनुपर्छ । विनिर्माणको मूल मर्म यही हो ।

डेरिडाको स्ट्रक्चर, साइन्, एन्ड प्लेइ (१९६७) शीर्षक रचना नै आधुनिक विश्वमा परिवर्तनकारी सोचको बीज रोप्ने कृति हो । त्यसको आरम्भमा डेरिडाले फ्रान्सेली निबन्धकार मोतेालाई उद्धृत गरेका छन्- We need to interpret interpretations more than to interpret things यसको तात्पर्य हो हामीले वस्तुको भन्दा पनि, व्याख्याको व्याख्या गर्नुपर्छ अर्थात् हामीले आफ्ना विचारको पुनर्व्याख्या र संशोधन गरिरहनु पर्दछ । कुनैको एक व्याख्या छैन, अन्तिम छैन, अरू अर्थ र सम्भावनाहरू त्यहाँ छोपिएकै हुन्छन् ।

          अघि लेखिएका, गरिएका, भनिएका, मानिएका कतिपय कुरा सम्पूर्ण सत्य नहुन सक्छन्, किनभने कुनै व्याख्या अन्तिम हुन सक्तैन, कुनै निर्णय अन्तिम हुन सक्दैन । विचार वा सिद्धान्तको पुनर्व्याख्या भइरहनु पर्छ, विज्ञानमा नवीन आविष्कार निरन्तर रहेझैँ । कति कुरा गलत हुन सक्छन्, ती सच्याउनु पर्छ । यो मानव सभ्यताको निरन्तर अनिवार्य प्रक्रिया हो ।

यस सिद्धान्तले भन्छ- सामाजिक व्यवहार पनि कृतिपाठ जस्तै हो, यसका सबै नियम नपत्याउनू, सांस्कृतिक जीवनका सबै अभ्यासलाई अन्तिम नठान्नू, कुनै धर्म वा राजनीतिक सिद्धान्त अन्तिम नठान्नू, कुनै कट्टरतामा लगेर आफ्ना दृष्टिकोण र जीवन पद्धतिलाई सीमित नगर्नू । कुनै कुरा अपरिवर्तनीय छैन । उदार, संशोधनशील र परिवर्तनशील रहनू ।

          यसरी हेर्दा विनिर्माण एकप्रकारको समालोचना हो, एक विश्लेषणात्मक खोजी । सन्देह र असन्तुष्टि, जिज्ञाषा र तृप्तिसँगै भिरेको एक दार्शनिक हतियार । यसको तात्पर्य पुरानाको पुनर्निर्माण हो, पुनःसंरचना हो । समकालीन विश्वमा यो सिद्धान्तको गहिरो प्रभाव छ" पुरानो संरचनात्मक सोच र शैलीलाई परिवर्तित गर्ने यस सिद्धान्तले विश्वलाई उत्तरसंरचनात्मकतातिर निरन्तर धकेलिरहेको छ ।

          कुनै केन्द्र अन्तिम छैन । कुनै सत्य अन्तिम छैन नयाँ केन्द्र खोजिरहनू, यसले भनिरह्यो ।

          अपरम्परित केन्द्रको खोजीमा लाग्दा छोपिएका ठाउँहरूतिर हाम्रो ध्यान जान्छ । पुरानो संरचनाले, धर्मले, भाषाविज्ञानले, संस्कृतिले, राजनीतिले बनाएका नियम पल्टाएर हेर्दा त्यहाँ अनेक प्रकारका अपूर्णताहरू ग्यापहरू- रिक्तस्थानहरू हुन्छन् । त्यहाँ नयाँ सत्य छेलिएको, छोपिएको हुन्छ । त्यसलाई उल्टाएर उत्क्रमणले सच्याउँदै जानू" त्यो साच्याइ पनि समयसापेक्ष र तात्कालिक कर्म मात्र हो ।

          नवीन सिद्धान्त र प्रविधिको प्रयोगले हाम्रो सिर्जना र संस्कृति उत्तरआधुनिक लक्षणयुक्त हुँदैछ । नेपालको अघिल्लो दशकले त्यो प्रमाण देखायो, समकालीन विश्वचेतनाको बोधले, त्यसको प्रयोगले त्यो कर्म सरल र तीव्र गतिमा भएको थियो; अझै हुँदैछ । धेरै कुरा उल्टाएको प्रमाण हाम्रो सामु छ । मार्जिनल पात्रहरू केन्द्रमा आउने, परिस्थिति आउने, भूगोल आउने, संस्कृति आउने- सबैले केन्द्रको खोजी गर्ने परिस्थिति आउँछ । सबै परिचयको लागि उठ्तछन् । यसले बहुलतापूर्ण, विविधतापूर्ण दृश्यहरू ल्याउँछ । यसैमा महिला, दलित, अपाङ्ग, यौनकर्मी, तेस्रो लिङ्गी, समलिङ्गीलगायतका माइनोरिटी जातजाति, भषाभाषी, पेशाकर्मी, विचारक सबै मानवअधिकारको खोजीमा उठ्तछन्, उठेका छन् । यो उत्तरआधुनिक परिस्थितिको देन हो । हाम्रो सिर्जना सिद्धान्त र प्रक्रिया पनि यतै ढल्किरहेको छ । नेपाली साहित्यका नयाँ सर्जक यतै पसेका छन् ।

 

बहुलताको सिद्धान्त

          चौथो सिद्धान्त छ बहुलता । उत्तरआधुनिकताले सबै प्रकारको एकलताको विरोध गर्दछ । एकलता र स्थिरताले अधिनायक इच्छा पालेको हुन्छ । उत्तरआधुनिकताको लक्ष्य हो त्यसबाट विमुक्ति र मुक्तान्त समाजको स्थापना । जहाँ नयाँ विचार थप्न सकिन्छ; पुरानो हटाउन सकिन्छ; जोड्न मिलाउन सकिन्छ । त्यसैले सस्यूरको द्विचरता बहिस्कृत छ । सम्पूर्ण यथास्थितिवादी संरचनात्मक सोचहरू आलोचित छन् । शास्त्रीयताले हेरेको, वर्गीकरण गरेको जगत् गलत हुँदैछ । एउटा सानो उदाहरण छ जेन्डरमा- पुरुष र स्त्रीको भेदभन्दा अरू भेद आएका छन्, ट्रान्स्जेन्डर आएको छ, सन्दिग्ध (क्वीअर) साइबोर्ग आएको छ ।

          मार्जिनल विश्वतिर फर्किंदा छेलिएका विचार, कर्म, व्यक्ति, पेशा र वर्गीकरणहरूको अनन्त श्रेणी हाम्रा अघि प्रतिदिन थपिँदै छ । उत्तरआधुनिकताले यही विविधतापूर्ण परिस्थितिको ख्याल गर्छ, बहुलतापूर्ण तथ्यलाई स्वीकार गर्दछ र ती सारालाई स्वीकार गर्दछ र ती साराबीच सहअस्तित्वको स्थापनामा प्रयत्न गर्दछ ।

 

नेपाली आख्यानेतर साहित्यको प्रसङ्गमाथि

          यति सैद्धान्तिक विमर्शपश्चात् यिनै आधारलाई सम्झिँदै म नेपाली साहित्यतिर फर्किन चाहन्छु । साहित्यतिर फर्केर यस अनुरुपका आख्यानेतर विधाका कृति के कति रचिए तिनको सङ्क्षेपमा आकलन गर्न चाहन्छु । त्यो केवल नमुना हुन सक्तछ । समग्र चित्रको लागि भने ठूलो क्यान्भास चाहिन्छ ।

          परम्पराले कविता, नाटक, निबन्ध र आख्यान गरी सिर्जनाका चार प्रमुख भेद मानेको छ भने प्रत्येकका आआफ्ना उपभेद पनि छन्, यद्यपि यतिखेर विधाहरूको साँध-सिमाना त्यति सुरक्षित हुन छाडेको छ, एकमा अरू पनि मिसिन थालेका छन्, भएका फुक्लिन थालेका छन् । यतिखेर विधाहरू पनि भूगोलले बाँध्न नसकेको मानव र उसको मन जस्तै, उसका विचार जस्तै साइबरिकृत शब्द, चित्र र ध्वनि जस्तै भएका छन्, जहाँ पनि मिसिने, जतिबेला पनि भेटिने विधाहरू भञ्जित र मिश्रित हुने स्थिति विद्यमान छन् ।  आजको विषय आख्यानेतर विधा रहेको छ, जसले कविता, नाटक र निबन्धलाई समावेश गर्दछ । त्यसो त आख्यान गद्यमै लेखिने विधा हो भन्ठान्ने एक परम्परा छ । त्यस परम्पराले हेर्दा आख्यानेतर गद्यका अथवा उपन्यासेतर गद्यलेखनका पनि अनेक स्वरूप छन्, आज तिनको सम्झना गर्ने समय छैन ।

          म नेपाली साहित्यका कविता, नाटक र निबन्धमा ��"र्लिन चाहन्छु । आज मलाई यो विषय मिलेको छ । सबै विधामा सविस्तार जानु असम्भव छ, केही उदाहरणको सङ्क्षेपमा चर्चा मात्र गर्न चाहन्छु ।

 

नेपाली कविता

          एक दशकयताको नेपाली कवितामा नयाँ समयको चेतना प्रतिध्वनित हुन थालेको छ, केही नयाँ टेक्निकको प्रयोग हुन थालेको छ । नवीनताभित्र माथ्लो तहमा दार्शनिक आयामदेखि तल्लामा केही टेक्निक र मान्यताको प्रस्तुतिसम्म अनेक तहमा हुन्छ । त्यो अन्तरलाई अनुभूतिले मात्र पढ्न सकिन्छ । अघिका कवितालेखनका दृष्टिकोण, संरचना र शैलीसँग र अहिलेका टोन, शैली, विषयवस्तुको तुलना गर्दा त्यो अन्तर देखा पर्छ ।

          यहाँ सृजनशील अराजकता समूहले, त्यसमा संलग्न हाङयुग अज्ञात, राजन मुकारुङ र उपेन्द्र सुब्बाका चेतनामा उदाहरणीय विचलनहरू छन् । अझ हाङयुगको करङको हिरासत हाइपरटेक्स्ट र अनुलेखनको एउटा दरिलो उदाहरण रहेको छ । ती सारा प्रक्रियालाई उछिनेर रङ्गवादी साहित्य समूहका धर्मेन्द्रविक्रमलगायतका सर्जकले कवितालाई पूर्णरूपले भिन्न बनाएका छन् । यसमा रहेका चन्द्रवीर तुम्वापो, स्वर्गीय स्वप्निल, विमिल, समदर्शी काइाला, चन्द्र योङ्याका कविताहरू अनेक टेक्निक बोक्ने माध्यम भएका छन् । ती विचारले पनि निरङ्कुश कालमा उत्क्रमणकारी भएर उठेका थिए । त्यहाँ हाइपरटेक्स्ट छन्, बहुविषयकता छ, कवितालाई पाठयबाट फुकालेर श्रव्य र दृश्यमा समेत पुर्याएका छन्, अझ यसलाई पर्फमेटिभ बनाएका छन् । नेपालीमा अनेक सीमा भत्काउने यो नवीनतम धारा हो । तर यस स्कुलका आद्यविम्ब भएर बैरागी काइाला उभिएका छन् । 

          चम्स्कीको मिनिमालिजम् न्यूनतमवाद बनेर साहित्यसम्म पुगेको छ । यसले भन्छ- आजको सिर्जना सङ्क्षेपमा, सोझो, प्रत्यक्ष र प्रभावी हुन्छ । हालै विमोचित विप्लव ढकालको प्रोफेसर शर्माको डायरी एक उदाहरण हो । अनावश्यक फूलबुट्टाबाट मुक्त हुन्छ । त्यसैले कति कविता दुईतीन शब्दका हरफमा पातला स्तम्भमा लेखिन्छन् । नाटकमा त्यस्तै प्रवृत्ति आएको छ- स्यामुएल बेकेले झैँ छोटा १२-१३ मिनेटमा सकिने हुन्छन्, एकवक्ता हुन्छ । यसमा उच्च र निम्न वर्गको विभेद पनि मेटिएको हुन्छ । कवितामा विचित्रका बिम्ब मिश्रति हुन्छन् । युध्द र शान्ति जत्रा युलिसिज जत्रा उपन्यास अब लेखिन छाडे । त्यसकारण हरेक कुरा टुक्रामा छ, विचारहरू, कर्महरू, इतिहासहरू, सोचाइहरू सबै अंशमा र अपखण्डित छन्, क्रमहीन जस्ता पनि लाग्छन् । तिनैको संयोगलाई हेरेर समग्रमा बुझ्न सक्नुपर्दछ; क्रमिकता र निरन्तरता बुझ्नुपर्दछ । एन् अर्डर इन डिस्अर्डर, क्रमहीनतामा क्रमिकताको लय भेट्ने दिन आएको छ; आजको सिर्जना पठनमा त्यही हुन्छ ।

          यतिखेर कविताको मात्र कुरा होइन सिर्जनाका सबै विधामा उन्मुक्तिचेतनाले उद्वेलित भई उठेको छ, खासगरी किनारिएको वर्ग उठेको छ, अनेक मातृभाषी उठेका छन् । एक दशकभित्र राई, लिम्बू, गुरुङ, मगर, सुनुवार, तामाङ, नेवार, मैथिली, भोजपुरी, राजवंशी, अवधी सर्जकहरू, थारू र मुस्लिमहरू आफ्ना चेतना लेख्न थालेका छन् । त्यहाँ जातीय वाणीका, धर्मका, संस्कृतिका बिम्ब र मिथकलाई टिपेर नेपालीमा मिसाउँदै लेख्तै छन् । एउटा उदाहरण छ नरेश सुनुवारको जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेकसेलेले । अन्य धारका प्रवृत्तिमा पनि परिचयको खोजी नै सबभन्दा टड्कारो भएर आएको छ । उदाहरणको लागि युद्धसाहित्य लेख्ने रक्ष राई जस्ता व्यक्ति; डायास्पोरा साहित्य लेखिएका सीमाहीन बिम्ब, सेतु, हङकङमा कविताजस्ता कविता कृतिहरू । ती प्रयत्नमा उनीहरूको परिचय र संरक्षण दुवै सङ्केतित छन् । यो जातीय रङ्ग र सचेतता ठूलो कुरा हो, बहुलस्वरले आफ्नो अस्तित्व स्थापनामा प्रत्याभूति खोजेको बेला एकप्रकारले समानान्तर साहित्यको सिर्जना हुँदैछ । ती इथ्निकता र मार्जिनलताको आधारले मात्र अर्थपूर्ण हुन्छन् । अघि हेपिन्थ्यो अब ती मूलधारका प्रकार भएका छन् । अनेक भेराइटी बेगर कुनै मूलधार बन्न सक्तैन ।

          उत्तरआधुनिक परिवेशले ल्याएको अर्को परिदृश्य छ, भ्रमणकारी संस्कृतिको विकास र विश्वभरि वितरित अनेक नेपालहरूको जन्म । ती प्रतिकृति-नेपालहरूमा डायास्पोरा जीवन छ, सिर्जना छ, भिन्न विशेषताले मुक्त साहित्य संसारभरिबाट आइरहेको छ । अघि यस्ताको गणना हुादैनथ्यो; आज यो मूलधारको एकभेद भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाजले विगतका वर्षदेखि स्थापना गरेको "डायास्पोरा पुरस्कार" नेपाली साहित्यको विस्तारमा एक अभूतपूर्व घटना हो । यसपाली यसले फेरि घोषणा गर्यो- नेपालका जुनसुकै भाषामा लेखिए पनि त्यो नेपाली साहित्य हो, त्यसमा पनि डायस्पोरा पुरस्कारको लागि आह्वान गरिनेछ । कत्रो समानताकारक नयाँ विश्व खुल्दैछ आज । यसरी भौगोलिक भेदका, जातीय, भाषिक र लैङ्गकि सचेतताका सिर्जना अत्यधिक मात्रामा आउँदै छन् । धेरै कुरा त वर्तमान कविताले नै बोलिरहेको छ ।

          यस कालको कविताले महाख्यानहरू भत्काउन पनि ठूलो सहयोग गर्यो । सडक कविता, लोकतन्त्र विशेषाङ्क, गणतन्त्र विशेषाङ्क, लोकतान्तित्रक स्रष्टाहरूको मञ्च जस्ता अभियानले हुरीका, आाधीका, पुरानो पल्टाएर नयाँ निर्माणको प्रतिज्ञामा रचित काव्य कविताको भण्डार विशाल छ । त्यहाँ प्रयोग र टेक्निक नभए पनि आउने काल सुसाएको छ; प्रबल उत्क्रमण चेतना छ ।

बैरागी काइालाको हाँडीगाउँमा चितुवाले इथ्निक चेतनाको परिचय खोज्दछ, मोहन कोइरालाको सिमसारका राजदूतले पर्यावरणीय चेतना र मानवतेर जगत् लेखेको छ । यसमा किनारिएका पात्र केन्द्रमा आउँछन् र भित्री गाउँसम्म साइबरचेतना पुग्दछ । नयाँ कविताचेतना लिएर आउने नेपालीको सङ्ख्या ठूलो छ ।

 

नेपाली नाटक

          नेपाली नाटकमा अघिदेखि नै विचलनका प्रक्रियाको अभ्यास हुँदैछ । मोहनराज शर्मा, अविनाश श्रेष्ठ, अशेष मल्ल, शिव अधिकारी, सरुभक्त अगुवा प्रयोक्ता हुन् । उनीहरूले समय र स्थानको दूरत्व मेट्ने, फ्यान्टयासीको घना प्रयोगद्वारा पात्रहरूको विनिर्माण गरी पुनर्भ्रमणकारी चरित्र र घटना प्रस्तुत गरेका छन् । यता नयाँ पुस्तामा शारदा सुब्बाको यशोधरा एउटा विशिष्ट सिर्जना हो जसमा अतीतका पात्र र परिस्थिति वर्तमानसाग जोडिन पुग्छन् एउटा निरवच्छिन्नता, एउटा भ्रान्ति सिर्जना गर्दछन् । यशोधरा पच्चीससय वर्षपछि आएर नारीवादी आवाजले बोल्दछे, अधिकार खोज्दछे । त्यस्तै छ शिवानीसिंह थारूको भर्चुअल रियालिटी । त्यहाँ साइबरजगत्को ट्रान्स्जेन्डर पात्रले सक्रिय भूमिका खेल्छ । यी मार्जिनल परिवेशका सशक्त नारी सर्जकहरू आफैँमा अर्थपूर्ण छन् ।

           साइबरसंस्कृतिलाई छोएर लेखिएका नेपाली नाटकको सङ्ख्या झन् बढिरहेको छ । यसतर्फ सरुभक्तले अगुवाइ गरेका छन् । उनका अन्य विधामा पनि यो चेतना तीव्र रहेको छ । उनका साथै गोपी सापकोटाको कालो आकृति, कृष्ण शाह यात्रीका मान्छे अनि मान्छेहरू, पुष्प आचार्यको हराएको सूर्यमा साइबरीय प्रयोग छ । उत्तरआधुनिक रचनामा फ्यान्ट्यासी र साइबरीयता दुवै तत्वको घना प्रयोग हुन्छ । मिथकहरू पुनर्जीवित हुन्छन्, अभि सुवेदीको चिरिएका साँझमा त्यो शक्ति  अपार छ ।

          शिवानीसिंह थारूको भर्चुअल रियालिटीमा साइबरसंस्कृतिलाई पूर्णरूपले अँगालेको प्रभाव छ । यतिखेर विश्वफेमिनिजम पनि साइबोर्गतिर लक्षित छ । नारीले पूर्णमुक्तिको लागि लिङ्गभेदलाई मेट्ने र समानताकारक तेस्रो परिचयको स्थापना खोजेका छन् । उनीहरूले 'देवी नारी' को अवधारणा अस्वीकार गरेका छन् । पुरुषको विरुद्धमा नारी-देवता उभ्याएका छन् । शिवानीको नाटकमा एक साइबोर्ग (नारी) ले देवताको भूमिका खेलेकी छ; देवीको होइन । साइबोर्गको उत्पादनसाग अनेक प्रकारका क्लोनिङ गरिने, मानव मस्तिष्कलाई यन्त्रले चिप्स थपघटझैँ गर्ने कल्पना र सम्भावनाको कुरा आएका छन् । कृष्ण शाह यात्रीको फुच्चे रोबोटका पनि दुईवटा बाल नाटकमा यही प्रविधि चेतना पाइन्छ भने सरुभक्तका रचनामा क्लोनिङको प्रयोग र मानव जिनमाथि यसको हस्तक्षेप देखाइएको छ, यो अति यथार्थताको पाटो हो ।

 

नेपाली निबन्ध

          नेपाली निबन्धको कुरा गर्दा उत्तरआधुनिक प्रविधिहरूको प्रयोग त्यति देखिँदैन तर त्यो विचार र दर्शनलाई बुझाउने, डेरिडा, फुको, बोदि्रयार आदिका कृति र दर्शनबारे नेपाली पाठकलाई बुझाउने कृति हो अभि सुवेदीकृत निबन्धमा उत्तरवर्ती कालखण्ड । गोविन्दराज भट्टराईका निबन्ध पनि अभि सुवेदीकै पङ्क्तिमा छन्- तिनीहरूले सिद्धान्त र नयाँ परिवेश बुझाउने काम गरिरहेका छन् । सिद्धान्तको परिचर्चा गर्न सञ्जीव उप्रेती पनि लागि परेका छन् । अन्य निबन्धकारमा खगेन्द्र सङ्ग्रौला, कृष्ण धरावासी, युवराज नयाँघरे आदिमा शैलीगत होइन परन्तु विषयवस्तुले मार्जिनलता छुने काम गर्दै छन् । कृष्णचन्द्रसिंहका प्रधानका र माधव पोख्रेलका निबन्धमा पनि महाख्यानिक चेतनाको विरोध एवम् नयाँसमय चेतना छ । उत्तरआधुनिकतालाई कहिले सिद्धान्तमा, कहिले सिद्धान्तकारमा, कहिले प्रयोगमा गरी विभिन्न रूपले हेर्न पाइएको छ । यतिखेर विश्वले अघि सारेको एक नवीन स्थिति हो मूलधारको पुनःपरिभाषा । यसरी हेर्दा नेपाली साहित्यभित्र नेपाली मात्र नभई त्यहाँका सबै भाषाका रचना पर्दछन् । नेपाल बाहिरका सम्पूर्ण डायास्पोरिक रचना यसैमा पर्दछन् ।

          एकलताको विरोधमा, अस्तित्वको खोजीमा उठेका सबैलाई बराबर अवसर र इज्जत प्रदान गर्नुपर्दछ । राज्य व्यवस्था आज त्यो गर्न बाध्य छ । यो सारा परिदृश्यले मार्जिनल स्वरहरूलाई सम्मान गरिरहेको छ; देश बाहिरका, इतिहासले भोगाएका र देशभित्रै आफैँले उमारेका विभिन्न प्रकृतिका उपनिवेशबाट मुक्तिको लागि सिर्जना गर्ने कर्ममा तीब्रता छ । यतिखेर म एउटा कृतिको उल्लेख गर्न चाहन्छु, त्यो हो दाजीर्जिङ्गका मनप्रसाद सुब्बा र रेमिका थापाको किनारिएका आवाजहरू । यो आफैँमा एक नयाँ विद्रोह र क्रान्तिचेतना हो । यहाँ मार्जिनल र सबाल्टर्नहरू पहिचान र अस्तित्वको लागि उठेको प्रखर आवाज छ ।

 

नेपाली समालोचना, प्रतिमान परिवर्तन र उपसंहार

          यसरी साहित्यले दिशा परिवर्तन गर्न थालेकोले मूल्याङ्कन पद्धतिले पनि अपम्परित मार्ग लिनु परेको छ । एक्काइसौँ शताब्दी नयाँ समालोचना सिद्धान्त  लिएर आएको छ, अरु नयाँ थपिने क्रममा छन्, केही पुरानाहरू रङ्गमञ्चबाट अदृश्य हुँदैछन् । म केही नयाँ समालोचनाक्षेत्रको उल्लेख गर्दछु; ती हुन्-

          डायास्पोरिक समालोचना

          लैङ्गकि तथा परालैङ्गकि समालोचना

          पर्यावरणीय समालोचना

          साइबर समालोचना

          स्थानिक समालोचना

          नारीवादी समालोचना

 

          नारीवादीका अन्य भेद पनि थपिँदै छन्- साइबरनारीवाद, इकोनारीवाद आदि । यसरी प्रतिमान बदलिएको छ" यिनीहरूको सिद्धान्त र समालोचनाका स्वरुपहरूको नेपाली साहित्यमा ठूलो खाँचो छ ।

          सारांशमा प्रस्तुत रचनाले भन्दछ- परिवर्तित प्रतिमानप्रति स्रष्टाहरूले सचेत हुने समय आएको छ । यतिखेरको, नयाँ समयले नयाँ कलम जन्माउादै छ । आशा छ छिटै एक भिन्न मूलधार परिभाषित हुनेछ । अन्त्यमा नयाँ दिशा परिवर्तनको स्वरुप र गति हेर्न डा. लक्ष्मणप्रसाद गौतमको नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना शीर्षक (प्रकाशोन्मुख) कृति अत्यन्तै उपयोगी आधार सामाग्री लिएर आउँदै गरेको कुरा सूचित गर्दै आज म यहीँ रोकिन्छु ।

          आज मलाई यो प्रस्तुतिको अवसर प्रदान गर्नु भएकोमा आयोजकहरूमा अनेक धन्यवाद प्रकट गर्दछु । नयाँ समयको चिन्तामा रहेका नयाँ पुस्ताको आग्रहमा यो कार्य सम्पन्न गर्न पाउनुलाई मैले एक अर्थपूर्ण अवसर ठानेको छु । म विद्यार्थीवर्गले प्राज्ञिक विमर्शप्रति देखाएको जिज्ञाषाको हार्दिक प्रशंसा गर्दछु ।

धन्यवाद ।
 

          प्राध्यापक (अङ्ग्रेजी)

          त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर

          tu.govinda@gmail.com

 

          सन्दर्भसामाग्री

          उल्फ्रेज, जुलिअन. २००७. इन्ट्रोड्युसिङ क्रिटिसिजम् एट द ट्वेन्टिफस्ट सेन्च्युरी. न्यु देल्ही : रावत पब्लिकेसन्ज् ।

          गौतम, लक्ष्मणप्रसाद. (प्रकाशोन्मुख) नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना ।

          वार्ड, ग्लेन. २००३. पोस्टमोडर्निजम् . यूके : कन्टेम्पोरेरि बुक्स (म्याकग्रहिल)

          ग्लेन्डेनिङ, साइमन एन्ड रोबर्ट इगल्स्टोन (सम्पादक). २००७. डेरिडाज लिगेसिज : लिटरेचर एन्ड फिलोसोफी.

          लन्डन : रुटलेज ।

          डुफोइ, स्टिफेन. डायास्पोराज. बर्कले : युनिभर्सिटि अव् क्यालिफोर्निया ।

          बेल, डयाभिङ. २००७. साइबरकल्चर थ्योरिस्टस्. लन्डन न्यूयोर्क : रुटलेज ।

          व्यारी, पिटर. २००७. बिगिनिङ थ्योरी. म्यान्चेस्टर युनिभर्सिटि प्रेस ।

          भट्टराई, गोविन्दराज. २०६२. उत्तरआधुनिक ऐना. काठमाडौं : रत्न पुस्तक भण्डार ।

             , २०६४. उत्तरआधुनिक विमर्श. काठमाडौं : मोडर्नबुक्स ।

             , उत्तरआधुनिक समालोचना (प्रकाशोन्मुख)"

          लीच, भिन्सेन्ट बि. (सम्पादक). २००१. द नोर्टन एन्थोलोजि अव् थ्योरि एन्ड क्रिटिसिजम्. न्यूयोर्क : नोर्टन एन्ड कम्पनि । 

          ल्योतार, जाँ-फ्रास्वाँ. २००५. द पोस्टमोडर्न कन्डिसन : अ रिपोर्ट अन् नलेज (अनुवाद जेफ बर्निङटन एन्ड ब्रायन सासुमी) म्यान्चेस्टर युनिभर्सिटि प्रेस ।

          हार्ट, केभिन. २००६. पोस्टमोडर्निजम्. वन वल्र्ड, अक्सफोर्ड ।

          हृयारावे, डोना. १९८५. अ म्यानुफेस्टो फर साइबोग्र्स् ः साइन्स, टेक्नोलोजी, एण्ड सोसलिस्ट फेमिनिजम् इन् द नाइन्टिन एटिज्, सोसलिस्ट रिभ्यू ८०-६५- १०८ ।

          साहू, अजयकुमार एन्ड बि्रज महाराज. २००७. सोसि��"लजि अव् डायास्पोरा -भोल्यूम क्ष्-क्ष्क्ष्) न्यू देल्ही : रावत पब्लिकेसन्ज् ।