"हेत्छाकुप्पा" एक बहुआयामिक उपन्यास

Author : अशोक राई
Published on : March 10, 2009


  
अशोक राई

           हेत्छाकुप्पा किराँतीहरूको पुर्खा हो । हेत्छाकुप्पा  मानिसहरूको शैशवता हो । सभ्यताको थालनी हो । ऊ नै संघर्षको पहिलो पात्र हो र ऊ नै दु:खको पहिलो पात्र हो, संघर्षशील र मार्गनिर्देशक पात्र हो । किराँतीहरू शिकारी युगदेखि कृषियुगमा प्रवेश गरेको पनि उसकै पालादेखि हो । त्यसैले हेत्छाकुप्पा किराँती सभ्यताको बिम्ब हो । यो मिथकलाई आधुनीक हेत्छाकुप्पामा प्रतिबिम्बित गरेर यो "हेत्छाकुप्पा" उपन्यास लेखिएकोछ ।

           यस उपन्यासको पहिलो सौन्दर्य किराँती मिथक र साँस्कृतिक बिम्बहरूको स्थापना हो । पारम्पारिक साहित्यले लादेको कथित एकल केन्द्रीयताको विरुद्धमा उपन्यासकारले आफ्नै स्थानीकता र स्वपहिचानको वकालत गरेकाछन् यस उपन्यासको माध्यमबाट । हिन्दू सौन्दर्यशास्त्रमा आधारीत पुरानो दस्तावेजहरूप्रति "नोट अफ डिसेन्ट" गरेको छ यस कृतिले । एक भाषा, एक धर्म, एक सास्कारप्रति स्पष्ट अस्वीकृति छ यसमा ।

          उपन्यासकार राजन मुकारुङ एक सशक्त र सचेत रुपमा चिनिएका कवि हुन् । उनी सृजनशील अराजक समूहका एक अगूवा प्रवर्तक हुन् । नेपाली साहित्यमा यस समूहको उपस्थितीपछि उत्तरआधुनिक धारको लेखनले एउटा अर्कै मोड लिएकोछ । बहुल जातिय, बहुल साँस्कृतिक, बहुल धार्मीक र बहुल बिचारको जिकिर लिएर आएको यो समूहपछि नेपाली साहित्यमा थुप्रै लेखक र कविहरू जन्मिए नयाँ लेखनको थालनी लिएर । नेपाली समाजमा कुलीन र साशक वर्गहरूमात्र छैनन् किनारीकृत गरिएका शासित र उपेक्षीत जाति र वर्ग पनि छन् । उनीहरूलाई र उनीहरूले भोगी ल्याएको जीवनलाई पनि हेरिनु, देखिनु र लेखिनु पर्छ । नेपाली साहित्य केवल तिनै अभिजात्य वर्गको मात्रै पेवा हुनुहुन्न भन्ने कुराको सशक्त वकालत यो समूहले गरेकोछ ।

          यस अघि यस्ता बहुल साँस्कृतिक चेतना अभिव्यक्त भएका कृतिहरू आएको भएपनि गद्यमा मात्र आएका थिए । उत्तर आधुनीक धारको नेपाली साहित्य सृजनशील अराजक समूहकोलागि यो एउटा महत्वपूर्ण आख्यान दस्तावेज हो । र यो उपन्यास राई किराँती बिम्बहरूको एउटा कोशेढुङ्गा पनि हो ।

  
यस भित्र
  • एकात्मक र केन्द्रकृत हिन्दु सामन्ति राज्य व्यवस्थाले लादेको जातीय, धार्मिक, सामाजिक र राजनैतिक विभेदहरू त्यसबाट उत्पन्न परिस्थितिको चिरफार गरिएकोछ ।
  • अभाव र बेरोजगारीले युवा पंक्तीमा पलाएको खिन्नता र पलायन, त्यसबाट सिर्जित समस्याहरूको चिरफार गरिएको छ ।
  • स्वदेशमा र आफ्नै समाजमा स्थापित भएर स्वभिमानले बाँच्ने नेपाली युवा उर्जालाई राज्यको उदासिनताले, बेथिती र अव्यवस्थाले पारेको मार्का र त्यसबाट उब्जीदै आएको राष्ट्रिय समस्यालाई इङ्गित गरिएकोछ ।
  • जातिवाद र जातीय मुक्तीको फरक छुट्याएर राज्यले लिदै आएको उदासिन नितीप्रति असहमति र विरोध जनाउदै सिमान्तिकृत गरिँदै आएको आफ्नो जातिहरूको राज्यमा साँस्कृतिक, सामाजिक र राजनैतिक उपस्थितिको आग्रह गरिएकोछ ।
  • कथित मूलधारको साहित्यले स्थापित गरेको हिन्दू सौन्दर्यशास्त्रमा आधारित ब्राम्हण जातिमात्र उच्च, हिन्दू धर्ममात्र मनासा र खस भाषामात्र उत्कृष्ट भन्ने मान्यताको विरोध गर्दै बहुल नायकत्व, बहुल सँस्कृती, बहुल धार्मिक र बहुल भाषिय मान्यताको सङ्खघोष गरिएकोछ । 

कथा बस्तु

          यस उपन्यासको कथाबस्तु प्रधान पक्ष हैन । यस उपन्यासले उठाउनु खोजेको मूल पक्ष भनेको बहुलता र सह अस्तित्वको सवाल हो । अनि यो उपन्यास त्यसैको पैरवी हो । कथा नै नभएको उपन्यास भने यो हैन यसमा कथा छ उपकथा छ, ब्यथा छ संघर्ष छ, नेपाली समाजको चित्रण छ ।

 

          नायक साङ्गेन भोजपुरको दिल्पा गाउँमा जन्मि हुर्किएको राई किराँतीको छोरो हो । उसले गाउँकै स्कूलमा पढेको हुन्छ । छोराले चाँडै जागिर खाएर घर हेर्ला भन्ने बूढीआमाको इच्छा पूरा गर्न उस्ले गा.वि.. को निजी श्रोतबाट तलब  ख्वाउने गाउँकै स्कूलमा पढाउने काम पनि गर्छ । उसले पढाउने स्कूलमा एक आर्यन थरको महिला साबित्रासित उस्को प्रेम विवाह हुन्छ । माङ्घ कोठा, चुल्हा र किराँती सँस्कारकी कट्टरधर्मी साङ्घेनको आमा र आधुनिक श्रीमतिबिचको स्वभाविक अन्तरजातीय द्घन्दको कारण अनि केन्द्रतिरै हानिने परम्पराका कारण साङ्गेन आमासित छुट्टएिर काठमाडौं तिरै लाग्छ । बिस्तारै श्रीमती पनि काठ्माडौं आउछिन् । ट्यूसन पढाउने, प्रुफ रिडिङ् र पत्रकारिताको काम गर्दै साङ्घेनले बी. . पास गर्छ । त्यसपछि भू.पू. गोर्खाहरूको मुखपत्र आवाज मासिकमा सम्पादकको काम पाउँछ । देशमा विद्यमान राजतन्त्रात्मक व्यवस्थाको विरोध गरेको र साजनैतिक दलहरूको निरिहताको विरोध गरेकाले उक्त पत्रिकाको कानुनी सल्लाहकारको दबाबमा सम्पादक पदबाट उसलाई बर्खास्त गरिन्छ । पत्रिकामा उ सँगसँगै काम गर्ने अन्य कर्मचारीहरूको पनि रोजीरोटी खोसिन्छ र लाखापाखा हुन्छन् । बाँकी कथा भन्नु काठ्माडौंमा उस्ले पाएको दु:खसास्ती र संघर्षको कथा, अभावको कथा, राज्यको बेथितिले सिर्जित बेरोजगारी, अराजनितीक सँस्कारले गाँजेको नेपाली समाज, आधुनीकता, आडम्बर र खोक्रो जीवन शैली, पारिवारिकद्वन्द, वैचारिकद्वन्द यस्तैयस्तै बिषयमा कथा घुमी रहन्छ ।

           साङ्गेन बर्षौ पछि जन्मघर र बुढी आमाको यादले एक पटक आफनो गाँउ जान्छ । गाँउ राज्य र मा��"वादीविचको द्वन्दको प्रभावमा हुन्छ । गाँउका भाइ वहिनि र साथीहरू मा��"वादीमा लागेका हुन्छन् । उस्ले आमा र बैनी लगायत गाँउका आफन्त सबैलाई भेट्छ, गाँउको दु:खसुख बुझ्छ । आफ्नो साँस्कृतिक चाड साकेवामा सिली नाचेर रमझम गर्छ ।

साङ्गेन पत्रकारमात्र नभएर लेखक पनि हो । काठमाण्डौ फर्केपछि किराँत लेखक संघलाई नेतृत्व गर्दै राजतन्त्रको अन्त र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना खातिर आन्दोलनमा सरिक हुन्छ । पुलिसको लाठी मुङ्ग्री खान्छ । पैसा कमाउन विदेश जानु उसको लागि मर्नु समान हुन्छ । देशमा आफ्नो उपस्थिति खोज्दै अस्तित्वकोलागि संघर्ष गर्ने उस्को आदर्श र स्वभिमान देखि हायल कायल भएर श्रीमति सुटुक्क इजरायल पुग्छिन् । त्यसदेखि उ मर्माहत बन्छ । अनि ऊ गाँउ फर्कने निर्णय गर्छ तर सक्दैन ।

          आन्दोलनले दिएको घाउ र दग्दिहरू अनि समयले दिएका डामहरू सुम्सुमाउदै बिदिर्ण मन लिएर साङ्घेन केही समय हराउँछ । कसैले उसको खोजी गर्दैन । संविधान सभाको निर्वाचन हुन्छ । लोकतान्त्रिक गणतन्त्रको घोषणा हुन्छ । राष्ट्रपति र उप राष्ट्रपतिको निर्वाचन हुन्छ । सत्ता साझेदारीका खेल र हत्कण्डाहरू पुन: दोहोरिन्छन् । तर उसले चाहेको जातिय मूक्तीको अझसम्म कतैबाट सुनुवाई भएको छैन ।

          कथाको अन्त नहुँदै उपन्यासको भने अन्त भएकोछ । यसरी हेत्छाकुप्पाहरू अबिरल संघर्षमा हिडिरहेकै छन् । कोही स्वदेशमा पहिचान खोज्दै त कोही देशान्तरमा कन्दमूल खोज्दै । लेखक कै भाषामा "हेत्छाकुप्पा आफैमा पूर्ण छैन । यो अनन्त र नीरन्तर छ । प्रत्येक समयमा मानिसको आ-आफ्नै अतृप्तताहरूमा बिम्बित भएर लम्बिरहेको हुन्छ ।"

हेत्छाकुप्पाभित्र अन्य उप पात्रहरूको पनि चरित्र चित्रण गरिएकोछ । जस्तै दिलुङ्ग एउटा संघर्षशील र प्रतिभावान किराँती ठिटो हो । लाहुरे हुने सपना पाल्ने गर्छ तर लाहुरे पनि हुन सक्दैन । सांङ्गेन जस्तै संघर्ष गर्दागर्दा हैरान भएर मा��"वादी जनयुद्धको आकर्षणमा परेर बिद्रोही बन्न पुग्छ अनि पाउनसम्म दु:ख पाउँछ । त्यसै गरेर नुसान अर्को पात्र हो जो जीवन संघर्षको दौरानमा अल्पायूमै मारिन्छ । दिवाहाङ्ग खम्बू र अमर राना भने बहालवाला लाहुरेहरूको प्रतिनिधि पात्र हुन्, जोसित आर्थिक चेतना र मितव्ययिताको अभाव छ । कमानसिंह लिम्बू अवकाशप्राप्त लाहुरे हो जो ब्रिटीशले दिएको थोरै पेन्सनमा परिवार पाल्छ र आफूपनि बाँच्छ तर समयक्रममा आफूहरू भेदभावमा परेको कुरा थाहा पाउँछ । साबित्राले आधुनिक महिला जस्लाई आदर्श र विचार भन्दा ज्यादा रोजीरोटीको सबालले सताएको हुन्छ को प्रतिनिधित्व गर्छ । सरिता न्यौपाने कम्यूटरको सिद्धहस्त कारिन्दा थिइन् तर जागिर खोसिए पछि बाध्यताले काठमाण्डौको रात्रिजीवनमा डली नामधारी नगरवधू भइसकेको हुन्छ । यो एउटा अदृश्य तर समाजको तितो यथार्थ हो । यस उपन्यासभित्र नेपाली समाजभित्रका अन्य थुप्रै पात्रहरूको पनि चरित्र चित्रण गरिएकोछ ।

 
उपन्यासमा प्रयुक्त राई किराँतीहरूको जातिय मिथक, बिम्ब र स्थानिकता:

           हेत्छाकुप्पा, बाखामा, तोरेम्पा, थाम्पुङ्,चाक्लुङ्धीमा जस्ता मिथकहरू र वाचिपा, किनामा, सिली, आम्लाबुङ्, आम्लारी, सोलेवा, पुर्बे, थाम्पुख, सिलीहाङ्मा, सिलीहाङ्पा, छालामछुलुम, पुङ, हैया, माङ्सीरे, छिवारिमा हेरेङ्मा, येलेदोङ्, कोलावा, माङ्सीमा, जाबे, पमी जस्ता थुप्रै बिम्बहरू र साँस्कृतिक शब्दावलीहरू यस उपन्यास भरि पाइन्छन् जो उपन्यासका पात्र पात्राहरूको जनजीवनसित धनिष्ठ सम्वन्ध राख्छन् । जस्ले नेपाली साहित्यमा स्थापनाको चाहना राखेका छन् र हुनुपर्छ भन्ने जिकिर गरिएकोछ ।

त्यसै गरेर उपन्यासका पात्रहरूको नामाकरण पनि किराँती शब्दावलीहरू र स्थानीयताका आधारबाटै राखिएका छन् । जस्तो साङ्घेन (नायक), दिलुङ, नीनाम, हेन्कुबुङ, चावाक्छा, रिदुम, दिवाहाङ्घ, धिलुङ, यूमा, येहाङ, काङमाङ, आङ्देम्बे र राखोले-रावा खोलाको) फूपा इत्यादि ।

           काठमाण्डौ (यलाखोम) नायकको कर्मक्षेत्र भएपनि दिल्पा उपन्यासको ��"रिजिन हो । रिमाचोङ्ग(टेम्के डाँडा) को फेदीमा अवस्थित दिल्पाको पनि एउटा मिथ रहेछ । दिलुङपा (जङ्गल आवाद गर्ने) भन्ने मुन्दुमी ब्यक्तीले बाजिमा जितेकोले उक्त ठाँउको नाम दिलुङपा रहेको रहेछ जुन समयक्रममा अपभ्रंशस्वरुप दिल्पा भएको रहेछ । दिल्पालाई २०१९ सालमा नागी र  अन्नपूर्ण गरि दुई पञ्चायत बनाइएकोले यस्को अस्तित्व र अर्थ मेटाइएको तथ्य जाहेर गरिएकोछ । जस्को आफ्नै परिचय थियो, सास्कार थियो । उपन्यासले यस ठाँउको पहिचान गराएकोछ भने घोरालुङ (बाघ जस्तो ढुंङ्गा), आम्लाना-सुनाखरी फूल्ने पाखा), रावाखोला जस्ता साँस्कृतिक महत्व बोकेका स्थानियता बोक्ने थुप्रै बस्तुहरूको पनि परिचय गराएका छन् ।

 

भाव पक्ष

          उपन्यासमा हेत्छाकुप्पाहरूको परिचय दिँFFFFदै किराँतीहरू (हेत्छाकुप्पा) प्रकृतीपूजक हुन्, धरतीलाई खनजोत गरि पसिना बगाएर अन्न उब्जाउने, श्रम गर्ने, अरुलाई दु:ख नदिने मानवीय स्वभावका धनी र सास्कारका धनी हुन् भन्ने कुरा उल्लेख छ । श्रृष्टीको सुरुवातमा उस्ले सारै दु:ख पायो । आधुनिक हेत्छाकुप्पाहरूलाई राज्यले नै अतिक्रमण गर्यो । सोझोपनको फाइदा उठायो । त्यसैगरेर आजको साइबर ग्लोवलाइजेसनले पनि हेत्छाकुप्पाहरूलाई रनभुल्लामा पारिदिएकोछ । बिरक्त पारिदिएको छ ।"इश्वरको नाममा ठगी, लुटपात र बेइमानी, काम नगर्ने, प्रकृतीको खनजोत नगर्ने, श्रम र पसिना नबगाउने यी सब अमानवहरूसित हेत्छाकुप्पाको असहमती छ ।" त्यसै गरेर काठ्माडौंको जीवन र यथार्थको चित्रण गर्नु पनि यो उपन्यासको एक पाटो हो । यहाँ भनिएकोछ - "यस्तै छ यस्ले सुरुमा थुप्रैलाई सिमान्तकृत गरिदिन्छ थुप्रैलाई  अतिक्रमण गरिदिन्छ । काठमाण्डौको चिसोपन र खोक्रोपन हेपाटाइटिस बी जस्तै छ ।"

           इतिहास जित्नेले लेख्ने भएकोले उनीहरूका कर्तुतहरू सबै मेटीने केवल जय जयकारमात्र हुने हार्नेहरू भने तानाशाहका सालीक ढले जस्तै ढल्ने गर्छ । इतिहास हामीलाई पढाइदै आइएको जस्तो नभएर यस्का कालो पक्षहरू लुकाइएकोछ भन्ने कुरा उपन्यासले उठाएको देखिन्छ । पछिल्लो समयमा नायकले माववादीले संचालन गर्दै ल्याएको जन अदालतको मुद्धा छिनो फानोका अगुवा भएर काम गरेको देखाइएको छ । यसको अर्थ माववादी जनयुद्ध र माववादलाई लेखकले सहमती दिएको भन्ने हो । तथापी माववादीले प्रयोग गरेको गलत जातीय रणनितीको भने विरोध गरिएकोछ । वर्गको नाममा अन्तत एउटै जातिले शासन गरिरहने सोच र चिन्तन कम्युनीष्टहरूमा पनि रहेको तथ्य ��"ंल्याइएकोछ । त्यसैले वर्गीय संघर्षले नेपालको जातीय मुक्तीको सवाललाई सम्बोधन गर्न नसक्ने तर्क राखिएकोछ । नेपालका आदिवासी जनजातिले उठाउँदै आएको जातीय मूक्तीको अभियानलाई राज्य र ब्राम्हणवादी सोच बोकेकाहरूले साम्प्रदायिकताको दोष दिने गरेको ��"ंल्याउादै जातीय मुक्तीको अर्थ अर्को जातिलाई सिध्याँउने नभएर सबैको अस्तित्वलाई सम्मान गर्दै सह अस्तित्वमा बाँचौं भन्ने आग्रहलाई बुझाउने कोशिस गरिएकोछ । त्यसै गरेर जातीय आधारमा स्वयत्तता दिइनु पर्ने जिकीरलाई जातीय प्रतिशतको तर्क देखाउने गरिएको प्रति इङ्गीत गर्दै अन्ततगोत्वा 'प्रतिशत' घटाउने/बढाउने हिंसा बढ्न सक्नेतिर पनि सजग हुन पर्ने चेतावनी समेत दिएइकोछ ।

          यस उपन्यासले कतै जातीय, धार्मिक र सांस्कृतिक अतिक्रमण गर्ने ग्लोबलाइजेसनप्रति वितृष्णा जनाउँछ भने कतै वर्णश्रम र ब्राम्हणवादको चर्को विरोध गर्छ । कतै जनजातिहरू माथी पक्षपात गर्ने ब्राम्हणवादी मेडीयाको खैरो खन्छ भने कतै बधूशिक्षा लेख्ने आदिकवि भानुभक्तको, गौरी लेख्ने माधव घिमीरेको र सुम्नीमामा लेख्ने बि. पी.को कथित् महानताको चर्चा गर्छ । कतै हेत्छाकुप्पालाई सिसीफससित दाज्दछ भने कतै किराँतीहरूको मौलिकताको पक्षपोषण गर्दछ । कतै काठ्माडौंको क्रुरताको पर्दाफास गर्छ भने कतै नेताहरूमाथि ब्यंग्य हान्छ । कतै बि. सं. १८३० मा पृथ्वी नारायण शाह साग वीरतापूर्वक युद्ध गर्ने अटलसिंह राई, राम प्रसाद राई र रत्न कुमार बान्तावा जस्ता राजनैतिक योद्धाहरूको संझना गराँउछ भने कतै भिक्टोरिया क्रश बिजेता युद्धवीरहरू अगमसिंह राई, गजे घले, गन्जु लामा, भानुभक्त गुरुङ, लछुमन गुरुङ, तुल बहादुर पुन र राम बहादुर लिम्बूको सम्मान गर्दछ ।

          अन्तमा उपन्यासमा प्रयुक्त केही विचार तथा कृयाकलापहरू नस्लीय उत्तेजनास्वरुप प्रस्फुटन भएको देखिन्छ । जस्तो सिवाकोटीको असहमतीप्रति आक्रमक हुनु र भट्टचन मार्फत बाहुन जातिमाथि शब्द बाण हान्नु इत्यादि । जातीय मुक्तीको कुरा गर्दा विचारको मुठ्भेड भएपनि जाति जातिको भने मुठ्भेड नहोस् भन्ने तिर सबैको ध्यान जानु पर्दछ । ब्राम्हणवादको सठिक ब्याख्या र जातिय सहिष्णुताको भावनाको ख्याल गर्न सके लेखन र आन्दोलन दुवै ब्यवहारिक हुन्छ की भन्दै उपन्यासकार राजन मुकारुङ एक शसक्त कवि मात्र नभएर राम्रा आख्यानकार पनि रहेछन् भन्ने पुष्टी भएकोछ, नेपाली साहित्यलाई योगदान पुग्ने यस्ता थप कृतिहरू उनको कलमबाट फेरिपनि आवोस् भन्दै लेखकलाई धेरै धेरै बधाइ दिन चाहन्छु ।
  
          वानचाई हङकङ