हङकङमा नेपाली साहित्य हिजो आज र भोली (कार्यपत्र)

Author : प्रदिप कन्दङ्वा
Published on : March 09, 2009


  
प्रदिप कन्दङ्वा
Author

पृष्ठभूमी

नेपाली साहित्य यतिखेर बिकेन्द्रिकृत युगमा संक्रमित हुने क्रममा छ । सामन्ति राज्यसत्ताको केन्द्रको बिरोध र अवसानसँगै हिन्दुकृत नेपाली साहित्यको केन्द्रमा पनि यतिबेला चैतर्फी प्रहार भईरहेको छ । राज्यका तमाम भाषा-भाषी, संस्कृति र समाजको प्रकार्यबाट उदविकास भएका साहित्यिक मान्यताहरूलाई तथाकथित राष्ट्रिय एकताको नाममा सदैव बर्जित गरेर नेपालको राज्यसत्ताले पृथक मान्यता र आस्थामा विश्वाश राख्नेहरूलाई निमिट्यान्न पार्ने हेतु  एक भाषा, एक जात र एक धर्मको निति अख्तियार गरेको यथार्थ आज दिनको घाम जस्तै छर्लङ्ग भएको छ । अन्य भाषा, संस्कृति, जात र धामिर्क आस्था भएकाहरूलाई जगमुनि पुरेर राज्यले एउटा खोक्रो साहित्यक महल उभ्याएको छ । जसको  जग उधिनेर आज चारैतिरबाट अनेकौँ रङ्ग र सुवासका फूलहरू अंकुराईरहेका छन् र त्यो खोक्रो महल आफ्नो खोक्रोपनसँगै ढल्ने क्रममा छ । रूढिवादी, परम्परित, र पुरातन साहित्यिक मान्यताहरूको तिब्र पतनसँगै नयाँ समाज, नयाँ राष्ट्र र नयाँ नेपालको निर्माणार्थ नयाँ-नयाँ साहित्यिक मान्यताहरू उदाईरहेका छन् । नयाँ-नयाँ साहित्यिक केन्द्रहरू स्थापित हुने क्रममा छन् । समाजको बहुल रङ्ग साहित्य बहुल केन्द्रको रूपमा उदघाटित भएका छन् । सबैले आ-आफ्नो लयमा आ-आफ्नो नागरिक अस्तित्वको कुराहरू साहित्यमार्फत उठाईरहेका छन् । अबको नेपाली साहित्यको मूलधारमा राज्यले सँधै किनारातिर धकेलेका आदिवासि जनजाती, महिला, मधेशी र दलितहरूको सुस्केराको खोजी हुनेछ । आर्य अर्थात हिन्दु सँस्कृतिबाट विकसित भएका साहित्यहरू पनि बर्जित हुनेछैन ।

 

बिषयप्रवेस

नेपालीहरू विदेशिने क्रमको थालनि निश्चितरुपमा भारतबाट र सम्भवत लाहुरिनेक्रमसँगै सुरु भएको हुनुपर्दछ । तसर्थ बिदेसिनुको अधिक पिडा नेपलामा नेपाली आदिवासी जनजातीहरूले भोग्नुपरेको यथार्थ कसैगरी भुल्न सकिँदैन । भारतबाट थालनी भएको हाम्रो विदेशिने बाध्यताको आज थुप्रै हाँगाबिँगाहरू पलाईसकेका छन् । विश्वका थुप्रै मुलुकहरूमा केवल रोजिरोटिको निम्ति नेपालीहरू भैतारिने क्रम दिन दुईगुना रात चौगुनाको दरले बढिरहेको छ । नेपालीहरू विदेशिनेक्रमसँगै नेपालको डायस्पोरिक साहित्यको विकास सुरु हुन्छ । भारतमा नेपाली साहित्यको बिकासको उचाई नेपालमा नेपाली साहित्यको उचाईभन्दा कदाचित कम नहोला । आज नेपालीहरू अमेरिका, युके, जापान, कोरिया, मलेशिया, सिंगापुर, खाडिराष्ट्र, हङकङ जस्ता बिभिन्न मुलुकमा रोजगारी ब्यापार ब्यवसाय गरेर आफ्नो जीवन धानिरहेका छन् । उनीहरू जहाँ छन् केवल जीवनमात्र धानिरहेका छैनन् । बिशेषगरी सामाजिक साङ्गठनीक गतिबिधीसँगै तिब्रगतिमा साहित्यक गतिबिधिहरूमा उनीहरू संलग्न देखिन्छन् । प्रवासिनुको पिडाले उधिनेर निकालेका जीवनका भुक्तमानहरू, सामन्ति राज्य सत्ताको पेलाईले उतारेका आक्रोसहरू आज उनिहरूको साहित्यमा भेट्न सकिन्छ ।

 

हङकङमा नेपाली साहित्य हिजो

हङकङमा नेपाली साहित्यको साँगो पाँगो स्वरुप अवलोकन गर्न हङकङमा नेपालीहरूको बिगतलाई दुई कालखण्डमा बिभाजन गरेर हेर्न उपयुक्त हुनेछ । पहिलो नेपालीहरू ब्रिटिस सेनामा सेवारत हुँदाको लामो कालखन्ड । दोस्रो नेपालीहरू हङकङमा स्थाई बसोबासको हकमा आउनथालीसकेपछिको छोटो कालखण्ड । पहिलो कालखण्ड अन्तर्गत साहित्य भनेर हङकङको आर्मि क्याम्पभित्र जे जति गितिबिधिहरू भए ति गतिबिधिहरूनै हङकङेली  नेपाली साहित्यको जग होला भनेर मान्ने आधारहरू पर्याप्त नभएको देखिन्छ । यधपी त्यो समयमा नेपाली साहित्यले घर गरेको कुरा भने साँचो सावित हुन आउँछ । पर्बते नामक पत्रिका मार्फत त्यो बेलाका नेपालीहरू आफ्नो साहित्यक तिर्खा मेट्ने गर्थे । त्यस्तै बि-एफ-बि-एस रेडियोले पनि यो कार्यमा सघाउ पुर्याएको थियो । यहाँ लेखिएका र रचिएका कविता, कथा, गीत, गजलहरूनै पर्बतेका खुराक थिए । साहित्य केबल मनोरन्जनको निम्ति भन्ने आम धारणाले यहाँ पनि स्थान पाएको कुरा पर्बतेमा प्रकाशित रचनाहरूबाट पहिल्याउन सकिन्छ । त्यो बेला यहाँ गीत सङ्गितले पनि सामान्य आकार ग्रहण गरेको कुरा यहाँबाट उत्पादित गीतहरूबाट थाहा पाउन सकिन्छ । आज फरी तिम्रो यादमा, दुखियाको जोवन हजुर, जस्ता चर्चित गीतहरू हङकङको मास्टरपिस गीतहरू हुन् । जुन गीतहरू बि-एफ-बि-एस रेडियोले बजाएर कलाकारहरूलाई फैलिने अवसर प्रदान गरेको थियो । भानु सुब्बा, देब गुरुङजास्ता गायक गायिकाहरू हङकङले जन्माएको थियो उनीहरूको गायकी इतिहासको गर्भमा कतै लुप्त भएको छ ।

 

हङकङमा नेपाली साहित्य आज

नेपालीहरू हङकङमा स्थाई बसोबासको हकमा बस्न थालीसकेपछि सुरु भएको साहित्यलाई हिजो र आज भनेर खुट्याउन मिल्ने कुनै स्पष्ट समयरेखा देखिंदैन । गुज्रेको कालक्रमको हिसाबले पनि एक दसक समय उति लामो लागिरहेको छैन । निश्चितरुपमा सुरुका दिनमा भन्दा पछिका दिनमा गतबिधिहरू बाक्लो भएको कुरा साँचो हो । यसलाई एउटा विकासको चरण मानिल्याउँदा केवल गतिबिधि बाक्लिएको आधारमा विगतलाई दुइ फ्याक पार्न मिल्ने अरु आधारहरू फेला पर्दैनन् । हङकङमा उत्रिएका साहित्यिक प्रतिभाहरूलाई सर्बप्रथम पुर्वक्षितिज नामक पत्रिकाले एउटा प्लेटफर्म उपलब्ध गराएर यहाँका स्रष्टाहरूलाई ल्याउन गुन लागाएको छ । त्यस उप्रान्त यहाँ सँस्थागत रुपमा साहित्यको विकास गर्न भनिकन हङकङ नेपाली साहित्य प्रतिष्ठान गठन गरिएको छ । प्रतिष्ठानले निश्चित रुपमा यहाँको साहित्यक गतिबिधिमा एउटा उभार ल्यायो । प्रतिष्ठानकै पहलमा केहि कृतिहरू प्रकासित भइसकेकाछन् । प्रतिष्ठानको मासिक प्रकासन अबिरामले यहाँ धेरै स्रष्टाहरू जन्मायो तर यसको जीवनकाल आसातित लामो हुन सकेन । प्रतिष्ठान अहिले बर्षमा एक पटक मात्र देखा पर्छ । पुर्वक्षितिज र अबिरामको अवशानपछि एभरेष्ले साहित्यको निम्ति भनेर छुट्याएको एकपेजमा हङकङको नेपाली साहित्य खुम्चिन पुग्यो । यथापी सिर्जना रोकिएको आभाश भने भएन । जनजाति साहित्य समुहको गठनले हङकङमा एउटा हलचल पैदा गर्यो, त्यस उप्रान्त हङकङका स्रष्टाहरूको साहित्य चेतमा एउटा बिचलन देखा पर्दछ । तथापी जनजाती सहित्य समुहले अघिसारेको मार्गचित्र आफैले तय गर्न सकेन । यसको अभिष्ट केबल भुपि जयन्ति मनाउनमा सिमित भइदिएको छ । त्यसबिचमा अरु साहित्यक संघ संस्थाहरू पनि देखापर्यो । जस्तो नेपाली साहित्य परिषद, अनेसास, सृजनशिल साहित्य समाज आदि । गठन उप्रान्त नेपाली साहित्य परिषद र अनेसासको साहित्यक गतिबिधि हङकङमा स्पष्टरुपमा आभास हुन सकेन । अनेसास पुर्नगठन भएको छ । त्यसपश्चातको गतिबिधिहरूपनि सतहमा उत्रिसकेका छैनन् । सृजनशिल साहित्य समाजको घरै बोकेर हाङयुगजी हङकङ आउनुभएको पाँच बर्ष भइसकेको छ । उक्त समाजको पहलमा हङकङमा अधिक साहित्यिक गतिबिधिहरू सन्चालन भए र भइरहेको छ । त्यसलगायत सृजनशिल साहित्य समाजले कृति प्रकासनको लहरै चलाईदिएको छ । हनेसाको ईतिहास निर्माणमा सृजनशिल साहित्य समाजको योगदान सदैव स्तुत्य रहनेछ । उक्त समाजको हङकङ अवतरण पश्चात हठात काठमाण्डुको ध्यान यतातिर आकर्षित भएको छ भने नेपाल र हङकङलाई जोड्ने एउटा भरोसमन्द पुलको रुपमा सृजनशिल साहित्य समाज हङकङलाई लिन सकिन्छ । हङकङको नेपाली साहित्यको विकासमा अन्य थुप्रै पत्रिका र वेब मेडियाहरूले योगदान दिइरहेका छन् । त्यसमध्ये एभरेष्ट साप्ताहिक र सनराईज साप्ताहिकको भुमिकालाई कदाचित नजर अन्दाज गर्न सकिदैन । त्यस्तै एचके नेपाल डट कम र नेपाल डट एचकेको योगदान पनि सम्झन लायकको रहेको छ । संक्षेपमा हङकङमा भएका साहित्यक गतिबिधिको चर्चाको बिट यहिंनेर मार्दै यहाँ विकास भएको साहित्यक प्रवृत्ति र आन्दोलनको बारेमा केही चर्चा गर्न आवश्यक ठान्दछु ।

समाजको प्रकार्यबाट साहित्यक प्रवृतिको जन्म हुन्छ । सुरुमा हङकङ नेपाली समाजमा विदेशिनुको पिडाले स्वाभाविकरुपमा ब्याप्ति अवश्य पाएको थियो । हङकङको यान्त्रिक जीवनशैली र लघुताबोधले त्यो पिडा अझ गहिरो र धारिलो पारिदिएको हुनुपर्दछ त्यसर्थ तिनताका सिर्जित सिर्जनाहरूमा स्वदेशको मायाको सुगन्ध अधिक महलसुस गर्न सकिन्छ । गाउँघर, पहाडपर्बत, खोलानाला, लेकबेशिसँग हुर्किएको हाम्रो मानविय सम्वेदना हङकङको अति यान्त्रिक्तासँग एकाकार भएपछि पैदा भएको ककटेल उल्झनहरूले कतिपय स्थितिमा हाम्रो साहित्यमा स्थान पाएको छ । अपमान नामक दस्तावेज उपन्यास ल्याएर देश सुब्बाले आख्यानको आदि मान्यतालाई बिछिन्न तुल्याइदिएकाछन् । अपमानको दोस्रो संस्करण हङकङ आईकन प्रकासित भएकोले यहाँको साहित्त्यवृत्तमा यसको असर महसुस गर्न सकिन्छ । आख्यान परम्पराबाट मुक्त भएर आदिबासि जनजातिहरूको आवाजलाई उपन्यासमार्फत बुलन्द गरिएको यो पहिलो कृति हुनसक्छ । साहित्यमा आदिवासि चिन्तनले हाङयुग आएपछि सघनरुप धारण गरेको छ । उनले नश्ल भनेर गरेको बोध मुलत यहि कुरानै हो । हङकङमा पछिल्लो समयमा साहित्यक गतिबिधिहरू जसरी बाक्लिएर गएको छ एकप्रकार साहित्यवृत्ति पनि परिवर्तन भएको छ । सृजना अब भावनाको अभिब्यक्ति मात्र होईन मस्तिष्कको प्रक्क्षेपण पनि हुनुपर्दछ भन्ने मान्यताले यहाँको साहित्य निर्देशित हुँदैगरेको महसुस गर्न सकिन्छ । साहित्य केवल साहित्यको लागि मात्र होइन साहित्य समाजलाई निर्देशित गर्नको निम्ति लेखिनुपर्दछ । विषेशगरी हङकङको साहित्यमा आदिवासि जनजाती चिन्तन हिजो आज हावि भएको देख्न सकिन्छ ।    अहिले हरेक स्रष्टाले नेपालमा उपेक्षित उत्पिडित समाजको उत्थानको निम्ति आफ्ना सृजनाहरू खर्च गरिरहेका छन् । साहित्यमा आत्मालापको स्थिति नाजुक बनिरहेको छ । हङकङबाट भयवादी दर्शनको उदघोष गरेका छन् देश सुब्बाले । यो मानव चोला केवल भयबाट निर्देशित र नियन्त्रित हुन्छ भन्ने भयवादिय मान्यताले अनेक साईड ईफेक्टहरू देखाएको छ । मानिसका यावत गतिबिधिहरू केबल भयबाट मुक्त हुनको निम्ति गरिन्छ तसर्थ साहित्यपनि हरेक प्रकटमा भयकेन्द्रित हुनुपर्दछ । यसै भन्छ भयवादले । देश सुब्बाको भयवादले मान्छेलाई भयमुक्त गर्न सकोस, मेरो शुभेक्षा छ ।   

 

हङकङमा नेपाली साहित्य भोली/आवागीसको अवधाराणा

हङकङमा भोली गरिने साहित्य कस्तो होला भन्ने भन्दा पनि अधिक अहम सवाल हो हङकङमा भोलीको साहित्य कस्तो हुनुपर्दछ । कुनैपनि समाजको भोलीको स्वरुप त्यो समाजको आजको गतिबिधिले निर्धारण गर्ने हो । त्यसरी हेर्दा आज हामी जे गरिरहेका छौं हाम्रो भोली त्यसैले जन्माउने हो । निश्चितरुपमा समाजमा हुनेगरेका गतिबिधिसँग हाम्रो संवेदना अन्तर्घुलित भएपछिनै मस्तिष्कमा बिचार र हृदयमा भावनाले आकार ग्रहण गर्दछ । अबको साहित्य भनेको बिचार जस्तो निरस र भवाना जस्तो निरुद्देश्य हुनुहुँदैन । साहित्यको उठान अब मस्तिष्क र भावनाको मिलनबिन्दुबाट हुनुपर्दछ । हङकङको नेपाली साहित्यले तय गरेको एकदसकको कालखन्डमा यहाँ जे जति साहित्यहरू भए त्यही जगमा टेकेर अघि बढ्ने हाम्रो बाध्यता हो । त्यो जगमा आदिवासि चेतनाको प्रचुर प्रवाह भएको छ । अबको नेपाली साहित्यको मुलधार यहिंनै हो । हिन्दुकृत एकलकाँटे नेपली साहित्यको केन्द्रले राज्यका तमाम जात जाती भाषा भाषीका साहित्यक आस्थाहरूलाई बर्जित गर्यो अब त्यो केन्द्रको उर्दिलाई अवज्ञा गर्दै हामीले हाम्रो साहित्य निर्माण गर्नुपर्छ । हाम्रो ईतिहास लेख्नुपर्छ ।

 

धन्यवाद ।