अब म देश फर्कन्छु

Author : प्रकाश रोदुङ
Published on : February 24, 2009


  
प्रकाश रोदुङ

पाउने आशमा सबै गुमाउदै
गुमाउने आशमा सबै पाउदै
अब म देश फर्कन्छु,

बाटो हराएको पीडित म

त्यो बटुवा भएर

बिना बटुवाको लमतन्न

बाटो भएर

चौबाटोमा पाटी, पौवा  अनि चौतारो हुनलाई

अब म देश फर्कन्छु,

 

४५ डिग्रीको गर्मीमा पाकेको शरीर

माईनस जिरो डिग्रीमा कठ्यांग्रिएको शुन्य विचारलाई

स्वच्छ हिमाली हावामा उपचार गर्न

अब म देश फर्कन्छु,

 

सडक, गल्ली, चर्पी धुँदा लागेको

त्यो छिट्टाहरू

गण्डकी, कोशी र कर्णालीमा पखाल्नलाई

अब म देश फर्कन्छु,

 

लेफ्ट-राईट, एक्सन-हल्टको कासन सहित

कालापानी र सुस्तामा मात्र हैन

सम्पूर्ण देशको दश गजामा परेड खेल्न

अब म देश फर्कन्छु,

 

सन्तानको बेदनामा छटपटाई रहेकी आमाहरूको,

द्वन्दमा सिन्दुर पुछिएकी चेलीहरूको साहारा बन्न

अब म देश फर्कन्छु,

 

ईराक-अफगानिस्तानमा छरिएको अस्तुहरू

खाडिमा धराप परेको चेली अस्मिताहरू

मलेसियामा बिना भिषा भौतारिएको नौजवानहरू लिएर
नया नेपालको जगमा इँटा थप्न
अब म देश फर्कन्छु,

 

सप्तरंङगी फुलबारिमा

उपेक्षित अब कोहि हुनेछैन भन्ने

सोचको साथ त्यो फुलबारिमा फुल्नलाई
अब म देश फर्कन्छु,

 

अपमान घृणा, सहेर

पसिनाको मुल्यसंग साटेको

दाम र सिपहरू लिएर

आफ्नै घरको छानो छाउन

अब म देश फर्कन्छु,

 

हिमाल पहाड तराई कोहि नहो��" पराई
भन्ने मुल मन्त्रका साथ

नया बिहानीको सयर सगै
अब म देश फर्कन्छु