विचार-सन्दर्भ-अक्षांशको न्वारान कहिले हुन्छ ?

Author : थाम्सुहाङ पुस्प सुब्बा
Published on : February 18, 2009


  
थाम्सुहाङ पुस्प सुब्बा
          प्रश्न पाँच वर्षदेखिको अथवा अगावैको भनौँ न । पान्थरका वर्तमान सम्मै विचारान्तरले चर्चित उत्तरवर्ती काव्यश्रष्टा भवानी तावा र अध्येता समग्रकै लागि मैले प्रश्न राखेँ । कारण अक्षांश घोडे पर्यो र धमाधम समुद्रमा फाल्दा पनि न्वारान नभएको अक्षांशको न्वारान हुन वा नयाँ नाम जुर्न सकेको छैन । म अहिले कवि भवानी तावालाई 'चक्रव्युह'को माध्यमबाट अझै विस्तृत पढ्न खोज्दैछु- उत्तरवर्ती विन्दु समूह विचारान्तरले जन्मेको हो कि हैन ? भनेर । त्यसो त 'अभूमिका' लेखन तथा आवरण शिल्प समेतका कारण- म कविसँग सम्बन्धित छुइनँ भनेर जति नै बार बारे पनि त्यो ढाँटकै कुरा हुन्छ । त्यसैले कविको उक्त उल्लिखित काव्य कृतिबारे अभूमिका र आवरणले मात्र फुर्सद नपाउँदा मन्थनका लागि आफ्नो विचार सन्दर्भ पनि समग्र अध्येता समक्ष राख्नै पर्ने भयो ।
 

          विचार झन् समन्वयात्मक र समग्रतावादी कहिल्यै हुन सक्तैन । पाश्चात्य वा पूर्वीय दर्शनाचार्यहरूले जुनसुकै कुरा इङ्गित गरेका होऊन् वा नहोऊन् ? त्यसको परिचर्चा यहाँ आवश्यक ठानिएन । लाग्छ, विचार ! अधिकतम व्यक्तिपरक हो । मान्य हुन सके समग्रका लागि नभए नितान्त वैयक्तिक अवधारणा । त्यसै कारण 'अभूमिका'मा भनेको थिएँ-

"जुरेली चरोको चिरबिरसँग वेवास्तै रहे पनि

एकदिन त कसैको खसम बन्नै पर्छ

भ्यालेन्टाइन डेको कार्ड कुनामा थन्काएर

निरीह अक्षांशहरूको न्वारान गर्नै पर्छ ।"
 
          आग्रह झ् एकदमै व्यक्तिगत । समग्र अध्येताहरूले त्यहाँभित्र मेरो हकमा पनि रोलाँ वार्थोसले देखेको मृत्यु छाम्दैनन् र ? तर प्रकाशन संस्थामा पुगिसकेपछि कवि भवानी तावाको अल्लारे ठानिएको काव्य सिर्जनाहरूबारे थोरै भए पनि मेरो आग्रह ! लाई च्वास्स छोइयो । प्रकाशन सन्दर्भमा लेखियो - "यस उत्तरआधुनिक माहौलमा हराइरहेको जीवनको बाँच्ने क्रमको झलाकझुलुक अधिव्यक्तिहरू समेत पाइन्छ ।
 
          अब प्रश्न उठ्ने भयो- उत्तरआधुनिक भनेको के हो ? के  नेपाली साहित्य अहिले मात्रै त्यो अक्टोपसतिर आकषिर्त भएको छ ? के पाश्चात्य साहित्यले आच्ची गरिसकेको सन्दर्भतिर हामी नक्कलझक्कलमा रूमलिँदै उत्तरआधुनिक अस्तित्व खोजिरहेका छौँ ? के पूर्वीय चिन्तन र दर्शन समग्रको कुनै अस्तित्व छैन ? मलाई लाग्छ, आजकल वैज्ञानिक तामझामका सबै सविपधाले युक्त ठाउँका प्रवुद्धहरू वैश्विककरणभित्र उत्तरआधुनिकता छाम्दै छन् । जहाँ पन्चानब्बे प्रतिशत भन्दा बढी नेपालको जनसङ्ख्या गरिबीको पचेटामुनि छन्, जहाँ उज्यालोको (रात्रीको) नामा खोटेसल्लाको प्रयोग भइरहेको छ, जहाँ चौरासी व्यञ्जनको गुजारा ढिँडो र सिस्नुले चलिरहेको छ, जहाँ जलस्रोतको सम्पदाभित्र प्रदूषित पेयजलको निर्वाह चलिरहेको छ - त्यहाँ पाश्चात्य दर्शनलाई मात्र उत्तरआधुनिकताको फाँट मानिनु हुँदैन, मिल्दैन । होला, हिजोसम्मको नेपाली साहित्यको संरचनाको ढाँचा भक्ति महिमा किंवा लीलात्मक दर्शनतिर उन्मुख थियो तर अब शताब्दीले काँचुली फेर्दा र विचारान्तरका प्रसङ्गहरू उठ्दा नेपाली साहित्यभित्र पनि प्रकारान्तर र विचारान्तरले समेत हाम्रो सामाजिक एवं अमिल्दो समग्रतावादी जीवन भोगाइकाबारे उत्तर चिन्तनको आवश्यकता पर्छ । त्यसैले साहित्य समाजको ऐना हो भने समाजभित्रका सम्पूर्ण कायाकल्पहरू अबको नेपाली साहित्यले आत्मसातपूर्वक केलाउनुपर्छ र त्यहीभित्रबाट नेपाली राष्ट्रिय जनजीवनबोधको आधारशीला एवं वर्तमान परिप्रेक्ष्यमा हर्षोल्लासका साथ अङ्गिकार गर्न खोजिएको वैश्विकरणको कायाकल्प पनि छाम्न सकिन्छ । त्यसपछि हामी सहजतापूर्वक छानबिन गर्न सक्छौँ कि नेपाली साहित्यको उत्तराधुनिक गोरेटो कुन हो ? -वर्तमान सन्दर्भमा ।
 
           ‘म ! - जसलाई  अहिले पनि आदर्शताका साथ अङ्गिकार गर्दा हामीले हाम्रै पुर्खाहरूको नाङ्गो पदचापले सिर्जेको गोरेटोहरूलाई घृणित र हेय दृष्टिकोणभित्र राखेर यौटा सुनौलो विश्वको परिकल्पनामा रम्न व्यस्त छौँ । यो प्रगतिशील जमानामा आ-आफ्नै भौगाइभित्रका वा बाचाइभित्रका संरचनाहरूलाई मात्र यथास्थितिको अड्कलमा छाम्दा हामीले नेपालका नेपालीत्वभित्रका दर्दनाक भोगाइ वा बाचाइहरूलाई सर्वथा अस्वीकार गरिरहेका छौँ, त नेपाली जनजीवनको नेतृत्व गर्ने नेपाली साहित्यको उत्तराधुनिक ढाँचा त्यति मात्रै हो ? जमानाले डोर्याउँछ, हिँड्नुपर्छ तर आफू मात्रै नभएर समग्रको परिवेशबारे किन हामी निश्चित छैनौँ ? यी भए नेपाली साहित्यको उत्तराधुनिक विमर्शबारेका मेरा प्रश्नहरू । अतः यिनै परिप्रेक्ष्यहरूको वैचारिक सनदर्भ अन्तर्गत म कवि भवानी तावाको न्वारान नभएको अक्षांश कविताकृतिबारे केही खोतल्ने जमर्कोमा अग्रसरित भएको छु ।
 

           नेपाली साहित्यको आधुनिककाल यता तेस्रो आयामदेखि अहिलेसम्मै जे जति आन्दोलित विचारहरू आए, ती सबै वर्तमान सापेक्षित (भोगाइका क्रममा) थिए । र, तिनै विचारहरूको ऐतिहासिक पृष्ठभूमिलाई अहिलेको वर्तमानसँग समन्वयात्मक दृष्टिकोणभित्र पर्गेल्दा उत्तराधुनिक चिन्तनको प्रारम्भ भयो । यसकाबारे पाश्चातेली चिन्तनलाई नै प्राथमिकता दिने हो भने पनि इलियट भन्छन् - "परम्परा र त्यसका फलहरूबारे लेखक उत्सुकताले नै अवगत हुनुपर्छ । वास्तविकतः परम्परागत समृद्धिको आवगतता र त्यसका मूल्यहको आत्मसात् करणबाटै काव्यकृतिको विशेषता निर्धारण हुन्छ । यो ऐतिहासिक बोध निरन्तरताको बोध हो । यसले समकालीनताप्रति टड्कारो गरी सचेत पार्दछ ।" अतः मलाई लाग्यो, ऐतिहासिक वा परम्परागत बोधबाटै नेपाली साहित्यमा उत्तराधुनिक चिन्तनको प्रारम्भ हुनुपर्दछ । उत्तराधुनिक परिप्रेक्ष्यमा अझै जोन वार्थ भन्छन् - "परिपूर्ण साहित्य नै उत्तराधुनिक साहित्य हो, जसले लेखकलाई तिलश्मी र वर्तमान वास्तविक संसारमा उभ्याउन सक्दछ ।" त्यसैले उत्तराधुनिक नेपाली साहित्यको रचना र लेखन दुवैमा ल्योटार्डले भनेझैँ "ज्ञानको स्रोत वैश्विक हैन स्थानिक हुनुपर्दछ ।" त्यसैकारण उल्लिखित काव्यकृतिकाबारे आफ्नो विचार सन्दर्भलाई आमुख ल्याउनुपर्दा कृतिभित्र स्थानिकता, स्वयंबोधता र वर्तमानसँगको समन्वयात्मक मूल्य र मान्यतासँग ऐतिहासिक वा परम्परागत बोधताको सम्मिलन कति छ र कृतिले उत्तराधुनिक कतिको मार्गचित्र तय गरेको छ ? भन्नेबारे मात्रै कवि भवानी तावाको काव्यिक उद्घोषणाहरूकै आधारमा केही  भन्ने कोसिस गरेको छु । यसमा पनि तर जो को सवाल उठाइएको छ - म ! आफैले आफ्नो पहिचानको निक्र्यौल गरिसकेपछि मात्र आन्तरिक वा बाह्य संसारको परिचय पाउन सकिने हुनाले हामी वा हामीहरू मा परिणत नुनको लागि उत्तर संज्ञानका पक्षमा हिगिन्सले भने झैँ - "यो संसार कुन हो ? यसमा मैले के गर्नुपर्ने ? मैले कुन स्व ले गर्नुपर्ने ?" जस्ता स्वर्यबोधताका प्रश्नहरू उभेका छन् । अतः त्यही स्वयंबोधताको मूल पक्षलाई काव्य लेखनमा उतार्नुपर्दा भाषिक उतारचढाव एवं मूल भाषीय प्रचलनमा परम्परागत बाँचिआएका मिथकहरूको अर्थपूर्ण प्रयोग, उदाहरण सन्दर्भ आदिका हैसियतमा कतिपय राष्ट्रिय भाषाका शब्दहरूलाई पनि कविले स्व-परिचयको हकमा प्रयोगमा ल्याएका छन् । वास्तविकतः नेपाल भन्नुको अर्थ त्यही सम्मिश्रति बहुलताको समाज हो र यो परिवेशबाट भागेर उत्तराधुनिक नेपाली साहित्यको परिकल्पना गर्नु असम्भव ठान्दा फरक नपर्ला । कारण, कलात्मक रचनाले यथार्थको यथार्थ चित्रण गर्न सक्दैन ।

कवि भन्छन् -

मलाई अपरिचित बूढाले भन्यो -

आदाङ्बे  (. आदाङ्बे ! > लिम्बू शब्द = हे महासय !)

मुलुकभित्र के अलच्छिना भयो ?

म नाजवाफ -

बैरोझैँ उभिरहेछु ।

बूढाबाको निर्दोष आाखाहरूले त भन्दैछ

सत्यबाचा तोडिएपछि...

लाजेताङ्माले (<< = भू-स्वामित्वकी मालिकनी देवी !) ताम्सा (>>= दनक/वित्थोल) दिएजस्तो

              (समय अदालत)

          उक्त उद्धृत कवितांशभित्र यौटा भयानक ऐतिहासिक सम्झौताको जातीय व्यथा अभिव्यक्त छ । पृथ्वीनारायण शाहले एकीकृत नेपाल राज्यको संरचना गर्न खोज्दा सत्रौँ पटकसम्म पनि लिम्बुवान राज्यसँग पराजित भएपछि कुटनैतिक चालद्वारा वि.सं. १८३१ मा यौटा सम्झौता गरेका थिए । उक्त सम्झौतामा केवल नेपाली राष्ट्रियताभित्र समावेश हुनुबाहेक लिम्बुवानका लिम्बूहरू स्वतःस्फूर्त स्वायत्व थिए, जसलाई खोसी मासेमा शाह वंशको राजपाट नष्ट होस् भन्ने कसम खाइएको छ । ऐतिहासिक यथार्थतालाई नबुझ्दा र विश्वास नगरिँदा स्वयं बोधताको कुनै मूल्य रहँदैन । त्यसरी नै कवि प्रथमतः अबोध अवस्थामा थिए र ऐतिहासिक बोधतापछि देखे -बूढाबाको भनाइमा र दृष्टिगोचरमा यौटा यथार्थ बाँचेको थियो, स्वयं बोधताको । लिम्बू जातिको समाजमा यौटा प्रचलित भनाइ छ -"माङ्ले साम्वान् ताःन्दिरो- हाङ्ले साम्वान् आल्लोरो" अर्थात् देवदण्ड परन्तुमा भोगिन्छ तर राजदण्ड तत्कालै भाग्नुपर्छ ।  त्यसो भएका कारण लिम्बू भूमिमाथि शाहसत्ता कालमा जुन गैरजिम्मेवारीपूर्ण अतिक्रमण भयो त्यसैले गर्दा अतिक्रमितहरू निर्दोषैभए पनि देवदण्डले पतनशील राजवंश बाच्न सकेन । समयले त्यसरी पनि श्रापित कसुरहरूलाई असुली गर्दोरहेछ भन्ने अर्थमा कविले म ! को हुँ  को अनुभूति सँगालेको झलक उक्त कवितामा पाइन्छ । कवितामा स्पष्ट भनिएको छ ��" "sad june 2001" जो दरबार काण्डको नामले चर्चित विगतसँग सम्बन्धित छ । अतः नेपालजस्तो ऐतिहासिक एवं साँस्कृतिक र जातीय विविधताले ��"तप्रोत मुलुकमा सर्वप्रथम आफ्नो स्वअस्तित्वलाई चिन्नु अबको जमानाका लागि उत्तरवर्ती चेतको सङ्केत हो । तर यहाँ स्वाभाविक अथवा लिम्बू भाषाका शब्दहरूको प्रयोग भएका कारण गैरलिम्बू भाषीका लागि कविता अर्थ न बर्थका कुभिण्डो गाई पनि चरितार्थ हुन सक्छ ।

          वास्तवमा स्वयंबोधता यौटै मात्र ऐतिहासिक घटनाले परिपूर्ण हुन सक्दैन । त्यसैले आफू स्पष्ट हुनका लागि नश्लीय चेत, साँस्कृतिक चिनारी, भाषिक दम्भ, परम्परागत संस्कार आदि अनेकसँग सुपरिचित हुनुपर्दछ । तब मात्र कसैले पनि अरूको अनुकरणको महिमा थाह पाउन सक्दछ । अनुकरण मात्रै त त्यति बर्जित पक्ष हैन । कारण, युगानुकुल आएको वर्तमानलाई जो कसैले पनि बाध्यताबस स्वीकार्नु पर्ने हुन्छ । तर अनुसरणकै पक्ष अँगालियो भने त्यसको परिणाम स्वअस्तित्वका हकमा घातक सावित हुन सक्दछ । त्यसैकारण, मेरो कुन स्व -ले भोगीय विश्वका लागि काम गर्नुपर्ने ? कवि भवानी तावाको कविता कृतिभित्र माथि उल्लेखित पक्षहरूबारे उनको स्पष्ट अभिव्यक्तिहरू छन् वा छैनन् त्यो पनि विचार प्रसङ्गको अर्को खाका बन्न पुग्यो । अतः स्थानीयता र नश्लीय चेतका पक्षमा कविले वास्तविक लेखेको प्रसङ्गवसको कवितांशहरू पनि यहाँ समावेश गरौँ ।

)     लिम्बुनीहरू -

          जाँड, रक्सी, मर्चा

          बेच्न व्यस्त देखिन्छन्

          ... ... ...

          तेःम्बे ठाउँको गहना भएर

          ढुङ्गेसाँघु सुहाएको छ । (ढुङ्गेसाँघु)

)     सिङ्गो नेपालको संस्कृति

          साटासाट गर्ने

          बहादुर हामी नेपाली

          डिस्को डान्समा

          संस्कृति खोज्न पल्केका हामी नेपाली । (संस्कृति)

            उक्त उद्धृत कवितांशहरूद्वारा कविको वैचारिक स्वयंबोधता र स्थानिक परिप्रेक्षबारे केही चिनारी पाइन्छ । तर त्यति मात्रैले मात्र पनि स्थानिक परिवेशको वस्तुस्थितिसँगको जीवन भोगाइका यथार्थताहरू स्पष्ट अनुभूत हुन सक्दैन । अहिलेसम्मकै स्वीकार्य पक्ष हो, साहित्यले तत्कालिकतालाई प्रतिनिधित्व गरेको हुनुपर्छ र अध्येताहरूले यथार्थ बोधको खुराक पाउनुपर्दछ । तसर्थ, सामाजिक जनजीवनको तत्कालिक भोगाइकाबारे पनि कवि कतिको उत्सुक थिए ? भन्ने पक्षलाई पनि यहाँ छुट्टयाउन नमिल्दा उत्तराधुनिक चिन्तनको जगका रूपमा कवि कसरी प्रस्फूटित भएका थिए ? -को उद्धरणहरू पनि यहाँ साभार गरिएका छन् । देश, काल, परिस्थिति वा बेढङ्गेपनको स्थितिले सामाजिक जीवन यापनमा व्यस्त नाम नजुरेको अक्षांशभित्र बाँचेका र बाँच्न बाध्य आमनागरिकहरूको तत्कालिक भोगाइका दुःखान्त अवस्थाहरू कृतिभित्र पर्याप्त मात्रामा चर्चा उठाइएको पाइन्छन् ।

)     मौखिक रूपमा जनता

           सुविधायुक्त

          विकासमा चरमसीमा

          अन्धो म

          मात्र कानले

         विकास सुनिरहेकै छु । (जनताले पाएको प्रजातन्त्र)

)     सरकार - आदेशको गोली बर्साउँछ

          र, आतङ्कवादीको संज्ञा दिएर

          सुरक्षाको नामका प्रहरीहरू

          जनताको स्वतन्त्रतामाथि खेलिरहेछन् -कवाज । (नेता र प्रजातन्त्र)

)     क भन्छ सारङ्गीमा

          यो देश !

          पहिले वीरताको गाथाले भरिएको थियो

          अहिले भोको पेटहरूको इतिहास बनेको छ । (गाइनेको गीतमा ...)

)     मैले रोटी

          पाउन सकिनँ

         पर्खेर बसेँ

          यस्तो बसेँ कि -

          आँसुमा डुबेको थियो - देश । (जीवनचक्र)

           यी उद्धृतांशहरूले नेपाली राष्ट्रियताभित्रको अराष्ट्रिय क्रियाकलापका कारण सत्तासीन र सत्ताधिनबीचको सीमारेखालाई बेस्मारीसँग पर्गेलेका छन् । तर असत्य क्षम्य हुन सक्दैन र सदाकालका लागि वर्चश्व कसैको पनि कायम रहन नसक्ने राय पनि कविको छ । अतः यसलाई पनि यौटा यथार्थ पक्ष मान्न सकिन्छ । यसका हकमा कवि बिम्बात्मक चेतको भरपुर प्रयोग गर्दै अत्यन्तै तरलता र कलात्मक ढङ्गले भन्छन् -

)     मेरो गाउँ पुरिन्छ

          कुहिरोको निस्सिम स्पर्शमा

          असत्य-

          एकछिन लुकाउँछ

          केही क्षणमा सर्वाङ्ग नङ्ग्याउँछ

          बतासको सहारामा वेगले उड्छ, भाग्छ

          सगरमा बिलाउँछ । (कुहिरो)

)     मेरो माटोको आङ च्यातिएर

          पहिरो

          बेतोडले ��"रालो हामफाल्छ

          अधरा सीमारेखाहरू

          बारम्बार

          युद्धको बिगुल फुक्छन्

          एदम सिरानी लगाएर

          वीरहरू
          विदेशी कानुनको निर्देशनमा होमिन बाध्य छन् । (मेट्न खोजेको अस्तित्व)

          यस प्रकार कवि भवानी तावाले स्वयंबोधताको परिचय पाइसकेपछि स्थानिकता मात्रै नभएर राष्ट्रिय चिन्तनका हकमा समेत कलम चलाएका छन् । स्थानिकता र स्वयंबोधताले आफ्नै परिवेशभित्र जतिसुकै सम्भव र असम्भव मूल्य र मान्यताहरू आँके पनि र तीहरूको प्राप्तिलाई उत्तरचिन्तन मानियो भने तापनि राष्ट्रियताको सबल प्रश्न सम्पूर्णमा उजागरित भइ नै रहन्छ । वास्तवमा राष्ट्रियताभित्रको नालीबेली भनेको आन्तरिक केन्द्रिकृतता र स्वायत्तबोधको सङ्क्रामकता मात्रै हो । अतः त्यसको प्राप्ति पश्चात राष्ट्रियताकै सबल सञ्जाल उत्जीवित रहन्छ र त्यो मोह पनि स्वयंबाधेताकै उत्तरचिन्तन हो भन्ठान्छु । तर कविले अन्तर्राष्ट्रिय र वैश्विक सवालमा पनि अस्तित्वबोधको उपमा स्वरूप ��"ँला ठड्याएको पक्षहरू पनि त्यही कविता-कृतिभित्र पढ्न पाइन्छ । फूल सधैँ सुन्दर हुन्छ र त्यसको सौन्दर्यले सचेत वा अचेत प्राणीहरूलाई सधैँ आकषिर्त तुल्याउँछ । तर हामी मोहितहरू वैश्विककरणभित्र उत्तराधुनिकता चुम्न पुग्दा त्यो सौन्दर्यमय फूल पनि माङ्साहारी बन्न पुग्छ भन्ने आफ्नो भोगाइको या जीवन यात्राको अनुभूति कवि बताउँछन् -

तर मेरो प्रत्यक्ष यात्राको अनुभूतिले त भन्छ -

बगदादको बगैँचामा सद्दाम र बुशले रोपेको (१. सम्भवतः प्राचीनतम् ह्याङ्गिङ गार्डेन)

लादेनको अस्थिपञ्जर चपाउन

तालेवानले हुर्काएको

खिनौटिएका माङ्साहारी फूलहरूले

धेरै मान्छेहरूलाई क्वाप्पक्वाप्प निलेका छन् । (माङ्साहारी फूल)

          कति मीठो बिम्बात्मक चेत स्वयंबोधताको ! तत्कालिक र वर्तमान विश्वको साङ्गोपाङ्गमा बाँचेका मान्छे सम्पूर्णताको । हाँक, युद्ध र मृत्यु सबैको आस्तित्विक तस्बिर । यस्ता-यस्तै छोटा र व्यङ्ग्यात्मक बिम्ब, चेतको भरपर्दो वौद्धिक संप्रेषणले युक्त कविताहरूको सागालो "न्वारान नभएको अक्षांश" ठहरिएको छ । वास्तविकता : यी चेतहरूकै कारण सङ्ग्रहको प्रकाशनपश्चात स्वअस्तित्व बोधताको उत्तरचिन्तन सान्थरको यौटा कुनाबाट भवानी तावा लगायतकाले प्रारम्भ गरेको हुनसक्छ - "उत्तरवर्ती विन्दू् समूह"को नामबाट । त्यसका हकमा ईश्वरबल्लभ भन्थे - "काठमाडौँको मोफसलभन्दा टाढा सुदूर पूर्वमा यौटा विचार हुर्क्यो ।" म पनि विश्वस्त छु - सामाजिक अचेतनका पुञ्ज ठानिएकाहरूको परिवेशमा- वस्ती-वस्तीहरूमा । तर त्यहाँका मान्छेहरूको भोको, नाङ्गो र निर्दोष मृत्युहरूले अब कहिले नयाँ अक्षांशको दर्जा पाउने ? कवि निश्चय नै जानकार भूगोलवेत्ताको खोजीमा तल्लीन छन् । परिवेशभित्रको निरीहता, राष्ट्रको सङ्क्रमण अवस्था र राष्ट्रियताभित्रको स्वपहिचानसागसँगै अक्षांशको नाम जुराउन तल्लीन छन् । र, नै मेरो प्रश्न सजीवन उभिरहेको छ - अक्षांशको न्वारान कहिले हुन्छ ? नोगेन् ।