आदि विद्रोही

Author : शशि लुमुम्बु
Published on : February 17, 2009


  
शशि लुमुम्बु

मेरो शरीरमा बाँकी रहेको

अन्तिम थोपा रगत चाटेर तिमीले

मनायौ धुमधामसँग जीवनको उत्सव !

 

पिएर जाँडझैं घटघट

मेरो आँसुको नदी

आवाद गर्यौ तिमीले बन्जरभूमि

, मेरो पसिनाको बाक्लो रङले

रङ्गायौ प्रजातान्त्रिक दरबार !

 

मेरा आँखाका ज्योतिहरुमा

छर्किएर खुर्सानीको धूलो

जुधायौ तिमीले मलाई

म आफैं विरुद्ध जुधायौ

, लियौ झुसिलो मनोरञ्जन...!

 

तापेर मेरो हड्डीको रामधुनी

होम्यौ तिमीले महायज्ञमा मेरै मस्तिष्क

, खेल्यौ बालन

बजाउँदै मेरै खोपडीको खैाजडी...!

 

झिकेर मेरो मुटु-कलेजो

खायौ स्वादिलो भुटुवा 

मेरै आँसुको मदिरासित

, घोप्ट्याइदियौ मेरो छातीमा कराही !

 

जिउँदै गाडेर चिहानमा मलाई

चिट्यौ तिमीले बरडाँडामा चौतारो

, मञ्चन गर्यौ शोकसभाको नाटक...!

 

निकालेर मेरो आवाज तिमीले

मलाई बनायौ आवाजविहीन

डामेर तातो पन्यु मेरो चेतनामा

मलाई आतङ्गति बनायौ

खोस्यौ- मेरो प्रिय गीत

, बनायौ मलाई-

आफ्नै देशभित्र अनागरिक...!

 

ओ  समय !

नसम्झ- म इतिहास भइसकें

      म वायु-बतास बनिसकें ... !

 

... हेर यता फर्केर-

  हो, आइपुगेको छु म

    तिम्रो दरबारको पटाङ्गिनीमा

     , उभिएको छु- भीमकाय पहाड  !

 

अब,

फिर्ता गर्नुपर्छ तिमीले मलाई

मेरो गुमेको पहिचान

, दिनुपर्छ एकएक गरेर

मेरो रगत, पसिना र आँसुको मूल्य !