कथा-घुमाउने चौतारीमा काभ्राको...

Author : स्वप्निल स्मृति
Published on : February 15, 2009


  
स्वप्निल स्मृति

उहिले येहाँ

ठू...लो काभ्राको बोट थियो'रे नाति

चौतारीमा दाउराको भारी बिसाएर

कथा भन्न थाल्नु भो युमाले,

 

तीन्टा ला...मो ला...मो नाम्लोले'नि नभ्याउने

कत्रा...कत्रा.. आँधीहुरीले नहल्लने

बाढी-पहिरोले बगाउन नसक्ने

काभ्राको बोट - त्यो,

जीवनको प्रतीक थियो'रे गाउालेहरूको

शक्तिको श्रोत थियो'रे बस्तीहरूको ।

 

झोलुङ्गे पुलजस्तो आकासलाई छुने टुप्पामा जून झुल्किन्थ्यो

दिनहरू नाप्थे त्यसको छायाँमा खेतालाहरू

पात खस्दा उभौली अरे

पात पलाउँदा उधौली अरे

काभ्राको रुख त्यो -!

आदिम सभ्यता थियो रैथानेहरूको ।

 

दशवटा थिए हाँगाहरू

फक्ताङलुङ हिमाल पो ताकेको'थ्यो ठूलो हाँगाले

सुम्हात्लुङ, मेयङ्लुङ, हाङ्सेम्लुङ ताक्थे अन्य हाँगाहरूले

सत्रतिर ओच्छिएर जराहरू

चोःत्लुङतर्फ पो मोडिएको'थ्यो मूलजरा

पान्थर, फेदाप, याङ्वरक, आठराईसम्म फैलिए अरू... जरा

हातमा हात समाइ हा कि हा...गोलाकार

गोडा-चालमा गोडा-चाल मिलाई भिरेर च्याब्रुङ बुरुक... बुरुक...

प्रेमको महा-उत्सव काभ्राको फेदमा

नाति ! काभ्राको रुख त्यो -?

जीवनसंस्कृति थियो पुर्खाहरूको 

 

तर सुन, नाति !

दैव लाग्यो या के भो ?

विक्रम सम्वत् कति सालमा हो उहिले

तिम्रो बाजेको बाजे-को पनि बाजेले देखेछ सपना

लुम्...लुम्...काड्याङ...कुदुङदुङ दुङ... दुङ...हा?याक् !

चट्ट्याङले काभ्राको बोट ढलेको दुःस्वप्न

विपनामा त उम्रेको थियो रे जङ्गली बिरालोको गुहुबाट

पिपलको तीनपाते विरुवा पो काभ्राको कापमा... 

 

हावा आइरहेछ चौतारीमा सिरिरिरिरि....रिरिरि...रिरि...रि..

कथा यात्रामा छौं जो, युमा-नाति

कि म कथा सुन्दासुन्दै काभ्राको रुख भएको छु आफैं,

 

अनि के भएछ ? त त्यो विरुवा...?

 

केमात्र भएन तब-

काभ्राको टोड्कामा जरा हाल्यो नि पिपलले

मर्दै गयो काभ्राचाहिं खुरुन्दार

मौलाउँदै गयो पिपल पो बेस्सरी 

 

काभ्राको रुख थिचिमारेर हावामा नाचिबस्दा पिपल

यो त काभ्राकै रुख हो भन्ठाने काभ्राका सन्तानहरूले ।

 

अँ सुन् ! काभ्राको रुख ढलेपछि

ढल्यो रे तन्नेरी तरूनीको हिमालजस्ता मुस्कान

खेलौनासरीमात्र भए'रे नानीहरू

बुढापाकाका मुन्धुम ढल्यो'रे

मन ढल्यो'रे, सिङगै देश ढल्यो'रे

मात्र दुःखले जन्म लियो यो गाउँमा

मात्र भोक तिर्खाले अवतार लियो यो देशमा

पिपलले काभ्राको रुख थिचिमारेपछि

शुरू भ'को रे थिचोमिचो र शोषणदमनको संस्कृति

आँखी, ईष्र्याडाही...

युमा अचानक खोक्न थाल्नुभो र थुक्नथाल्नुभो,

 

किन बना'को त युमा ! यो घुमाउने चौतारी ?

कसले बनाको त ...?

थुक्क ! अलच्छिन पिपल...'

मलाई अति घृणा लाग्यो पिपलप्रति

डोकोको बन्चरो झिकेर अहिले ढालुँजस्तो पो भो,

 

नाति ! अलच्छिन पिपलको वरिपरि

यसरी चौतारी बनाएपछि त

घृणाको जन्म भयो,

रिसको जन्म भयो,

युद्धको जन्म भयो,

युमाले सम्झाउनु भो-

कथा तमरभन्दा लामो छ

सुँगुरलाई चारो दिनेबेला भो, जाऊँ हिंड घर...' ।