गाउँको सम्झनामा

Author : टोप बहादुर राई
Published on : February 11, 2009


  
टोप बहादुर राई
(श्रृजना अनलाईन कविता प्रतियोगितामा सान्त्वना)
 
त्यो सुन्दर मेरो गाउँ
आँगनको त्यो आरु फुल
गुराँसे पाखा
भञ्याङ्गको त्यो बूढा वरपिपल

टारबारी सिमलको भुवा

बिरानो भो ढाकर र तोक्मा
अरुण गडतीरको त्यो अक्केरे भिर
सभाय दोभानको त्यो लामो दुवालो
असला, बुदुना, काभ्रे र सहर,
के गर्दै होलान् गाउँकाहरु….-
हिंजो खाडी भासिएका ति बिर्खेहरु….
मुग्लान छिरेका हर्केहरु…….

जंगल पसेकाहरु…………
फर्किए या उतै छन् ।
बिरानो भो गाइने दाईको त्यो मीठो सारङ्गी धुन
हाक्पारे र पालामको रसिलो भाका
डम्फु र च्याब्रुङ्ग गुञ्जिएको रन्को
लोप हुनै लागेको पञ्चै बाजा,
के गर्दै होलान् गाउँकाहरु….-
हिजो भत्काएका टिमुरे भञ्याङ्गको त्यो बिजुली पावर हाउस
हेवा खोलाको झोलुङ्गे पुलहरु

जलेका झुप्राहरु
बनाए वा उस्तै छन् ।
बिरानो भो आमाको न्यानो काख
कमेरे झुप्रोको त्यो सिकुवा र अगेना
विधुवी भाउजूको त्यो आँखाभरि आँशु
टुहुरा बच्चाहरुको बिलौना,
के गर्दै होलान् गाउँकाहरु….-
हिजो लडेका नेपाली छोराहरु
खिचतानीमा पिसीएका सोझा मेरा गाउँलेहरु

फाट्दै गएका मनहरु
एउटै मालामा उनिए या उस्तै छरपस्टी छन्

 

 

(श्रृजना अनलाईन कविता प्रतियोगितामा सान्त्वना विजेता कवि टोपराज राईलाई बधाई छ)
 सृजनशील साहित्य समाज हङकङ