Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : January 17, 2009 | Author : गणेश ईजम
Category : Poetry / कविता | Views : 1961 | Rating :

  
गणेश ईजम

मेरी छोरी तिमी ठूली भइसक्यौ

अब आमालाई सघाउ

चुला जलाउने अभ्यास गर

पानी तताउने कोसिस गर

स्कूलको होमवर्क आफै सिध्याउने गर

आफ्नो कपाल आफै सम्याउ

मेरी छोरी तिमी ठूली भइसक्यौ,

 

मैले तिमीलाई धेरै पटक एस्सै भनेको थिए,

 

आज तिमीले चुला जलायौ र तातो पानी बसाल्यौ

आज तिमीले धारा खोलेर स्कूलको पोसाक पखाल्यौ

आज तिमीले भुइँमा पोचा लागायौ र पर्दा सपक्क पार्यौ

आज तिमीले बाहुला भिजाउदै पञ्जाले उचलिएर सिङ्कमा वर्तन पखाल्यौ

आज तिमीले धेरै काम गर्यौ जुन गर्न म सल्लाह दिने गर्दथे,

 

निर्निमेश तिम्रा यी कर्म नियाली रहँदा

मेरो मन खुसी हुनु पर्ने हो, कुन्नि किन कटक्क खाएको छ

मेरो छाती गर्विलो हुनु पर्ने हो, कुन्नि किन चसक्क दुखेको छ

सायद !

सायद तिम्रो बालापन मेरा हातहरूबाट फुत्किएकोमा हुनसक्छ

सायद तिम्रा बालसुलभ क्रिडाहरू अब सम्झनामा फेरिएकाले हुनसक्छ

सायद तिम्रा कलिला हत्केलाहरूमा कोरिन लागेका रेखाहरू

अनि ती रेखाका अनेकौँ अर्थभित्र

एउटा बाबुको छायाँ पिरोलिएकोमा हुनसक्छ

छोरी आज मलाई एकतमासको पीडाबोध भइरहेको छ

मेरो मन खुसी हुनु पर्ने हो, कुन्नि किन कटक्क खाएको छ

मेरो छाती गर्विलो हुनु पर्ने हो, कुन्नि किन चसक्क दुखेको छ,

 

खण्ड खण्ड छन् जीवनको यो सग्लो स्वरूपमा

एकखण्ड निक्खर धुलो सुम्सुम्याएर त्यसमाथि अक्षरका गावा गाड्दै

गाउँमा *कानायङ  र *सरश्रम्बाका कथा सुनेरै बित्यो

विज्ञानले नचिनेका अचम्मका पात्रहरूसँगै

कलिलो मस्तिष्कका तन्तुहरू छिप्पिएका हुन

तिमीले मन पराएकी स्नो व्हाइट एण्ड दि सेभेन डोर्फ्स

तिमीले पढेकी एलिस इन वोन्डरलैण्ड, जंगल बुक र स्लीपिङ व्यूटीका कथाहरू

हामीले त सुनकेशरी रानीको कथा सुन्यौ 

माथी लेकको भेडीगोठमा आउने *सोक्पाको कथा सुन्यौ

र सोक्पाकै कथाबाट संवाद दोहोरो हुनुपर्दछ भन्ने बुझ्यौँ

सुल्टो हत्केलामा खिर र उल्टो हत्केलामा गड्यौउला खुवाउँदै

दैवी ज्ञान भर्ने *वनझाँक्रीको कथा सुन्यौ

र तिनै कथाबाटै प्रकट थुप्रै झाँक्रीहरूले

बिरामी टोकेर बोक्सीनाश उखालेका घटना हेर्यौँ

जब मैले तिमीलाई यी सत्य भोगाइहरू सुनाए

तिम्रो कलिलो मस्तिष्कले यी सब सत्यलाई केवल *फिक्शन ठाने

अनि मेरा भोगाईहरू सबै मेरै अघिल्तिरै दन्त्यकथामा फेरिए

मेरा फिक्शन भएका कथाहरू तिम्रा फिक्शन कथाहरू

फरक परिवेशका फरक रूपरङ्गका हाम्रा कथाहरू

तिम्रो मस्तिष्कमा कोरिनलागेका नक्साहरू

र मेरो मष्तिस्कमा उत्रिएका नक्साहरू

यी नक्साहरू फरक परेकोमा हुन सक्छ सायद

छोरी आज मलाई एकतमासको पीडा बोध भइरहेको छ

मेरो मन खुसी हुनु पर्ने हो कुन्नि किन कटक्क खाएको छ

मेरो छाती गर्विलो हुनु पर्ने हो कुन्नि किन चसक्क दुखेको छ,

 

उसबेलाका हाट बजारका अनिँदा रातहरू

चाँप गुराँस बेली चमेली वा सिल्लरीका फूलहरूजस्तै

हिमचुलीको हिउँ र हिउँ खोलाको पानीजस्तै

आत्मैबाट गुञ्जने प्रणयका मुर्च्छनाहरू, जीवनका लयहरू

समयसंगै फेरिएका मूल्य मान्यता र परिभाषाहरू,

यो माझीहरूको गाउँ र गाउँमाथि उभिएका आकाश घोच्ने घरहरू

हाम्रो बारी छेउको मलबाँसभन्दा कैयौँ गुणा अग्ला घरहरू

र घरको फेदमा बालिएका फुङसोइका सिन्केधुपहरू

समुद्रमाथिका पुलहरू, पहाड मुनिका सुरुङहरू

यहाका पार्क, बस र रेलका डब्बाहरू

आलिंगन चुम्बन अनेकओलि प्रेमका उच्छवासहरू

भूमण्डलीकरणको छालले पातलिएको

आफ्नै संस्कृतिको पन्यालो छँया आजसम्म ओढेकाले हुन सक्छ

तिमीले स्वभाविक मान्ने यी धेरै कुराहरू मेरा लागि स्वभाविक भएका छैनन्

एक्लाएक्लै मानिस र मानिसै मानिसहरूको भिड  अनि भिडैभिडको शहर

यो शहररुपी *क्यानभासमा चित्रकारका गजल्टिएका *स्ट्रोकहरूजस्तै

आफ्नै अस्तित्वको रंग पोखिएर   

नयाँ *एव्सटे्रक आर्ट बन्न लागेको छ मेरो उपस्थिति

र अल्मली रहेकोछ मेरो *आइकोनोग्राफी

त्यसैले तिमीले स्वभाविक मान्ने धेरै कुरा मेरा लागि स्वभाविक भएका छैनन्

त्यसैले छोरी आज मलाई एकतमासको पीडाबोध भइरहेको छ

मेरो मन खुसी हुनु पर्ने हो, कुन्नि किन कटक्क खाएको छ

मेरो छाती गर्विलो हुनु पर्ने हो, कुन्नि किन चसक्क दुखेको छ,

 

मनमा लागेको छ तिमीलाई *नाइटिङगेलको कथा सुनाउँ

हिउँसंग जुझ्दै हिमालभन्दा माथिमाथि पुगेकी *पासाङ ल्होमुको कथा सुनाउँ

निर्मम बुट र बारुदको धुँवाँमुनि अंकुराइरहेकी *आङसान सुकीको कथा सुनाउँ

या त अनाथहरूको मुस्कानमा फुलिरहने *मदर टेरेसाको कथा सुनाउँ

यस्तै थुप्रै थुप्रैका कथाहरू सुनाउँ तिमीलाई

र यिनीहरूको हरियो रंगमा सर्लक्क चित्रहरू उतारौँ तिमीमा

आफ्नै लागि त जीवजन्तु किटपतङ सबै बाँचेकै छन् यो माटोमा

त्यसैले मेरो चित्रमा यी जीवजन्तु किटपतङहरू रहने छैनन्

मेरा रंगहरूमा आफूमात्रै बाँच्नुको कुनै अर्थ रहने छैन

गुँडबाट पखेटा लागेका चराहरू र बगेको खोलाहरूको उखान पनि समेटिने छैनन् मेरो चित्रमा

सायद आज यी वर्जित रंगहरू चित्रमा मिसिने भयले हुन सक्छ

छोरी आज मलाई एकतमासको पीडाबोध भइरहेको छ ।

मेरो मन खुसी हुनु पर्ने हो, कुन्नि किन कटक्क खाएको छ ।

मेरो छाती गर्विलो हुनु पर्ने हो, कुन्नि किन चसक्क दुखेको छ ।।

 

हङकङ जनवरी ११, २००९

 

 

  1. *कानायङ  - लिम्बुसमुदायमा प्रचलित किम्बदन्तिको एक रहस्यमय भयकारी नरभक्षी राक्षसी पात्र जस्का लामालामा कानहरू र अजंगको शरिर हुन्छ, अदृस्य भएर गाँउ गाउँ डुली हिड्छ,  जुनेली रातमा पहाड पर्वत थर्काउने गरि हाँस्ने गर्दछ भन्ने विश्वास गरिन्थ्यो । खासगरि कलह गर्ने वा समयमा सुत्न नचाहने बालबच्चाहरूलाई सुताउन वा चुप लगाउन बढी यो कथाको प्रशंग ल्याउने गरिन्थ्यो ।
  2. *सरश्रम्बा वा सरसन्दे - लिम्बुजातीको किम्बदन्तिमा वर्णन गरिने एकप्रकारको भयकारी निराकार पात्र । रातमा हिँड्दा रुखढाले जस्तो गरि बाटो छेक्ने वा रुख वा बाँसको टुप्पाबाट सररर गरेर झरेझैँ आवज गर्ने वा स्याउला हल्लाएको आवाजले पच्छ्याउने गर्दछ भन्ने विश्वास गरिन्थ्यो ।
  3. *सोक्पा -     लेकका गोठहरूमा आउने विश्वास गरिएको शरिर भरी लामालामा रौँ भएको मानिश आकारको जीव जो एकोहोरो हुहुई गरेर आवाज दिने गर्दछ । उसबेलाका गोठालाहरूले हुहुइ गरि सकेपछि गाइबस्तु ठिकै छन् ?? भनेर प्रश्न गर्दथे र जवाफमा ठिकै छ भन्ने आएमा अर्को गोठालो रहेछ भनेर बुझिन्थ्यो तर जवाफ नआइ एकोहोरो हुहुइमात्र गरे शोक्पा रहेको थाहा पाई शुरक्षाको बन्दोबस्त गरिन्थ्यो भन्ने जनश्रुति पाइन्छ ।
  4. *वनझाँक्री  - आदि गुरु जसले योग्य मानिसलाई वसमा लिई महिनौ सम्म अनकण्टार गुफामा राखि दैवि ज्ञान दिइ पारंगत बनाइ झाँक्रीका रुपमा फिर्ता पठाउने गर्दछ । होचो कद लामालामा जट्टा भएको र सानो ढ्याग्रो ठटाउँदै गोठगोठमा आउँने विश्वास गरिन्छ ।
  5. *फिक्शन  -   काल्पनिक
  6. *क्यानभास -   चित्रकारले चित्र बनाउन प्रयोग गर्ने कागज वा कपडा
  7. *एव्सटे्र्रक -   अमुर्त चित्र 
  8. *स्ट्रोक  -    चित्रकारले रंग भर्नकालागि ब्रस चलाउँदाको आरोह अवरोह
  9. *conography -   चित्रमा समाविष्ट विषयहरूको सांस्कृतिक धार्मिक अर्थहरूको मिहिनरुपमा अध्ययन गरिने पद्घति
  10.  Florence Nightingale- गणितमा तिष्ण दिमाग भएकी तर पेशाले नर्श क्रिमिया युध्दकाबेला घाइते सिपाहीहरूलाई अस्पतालका सबै कर्मचारिहरू राती विश्राम गरि रहंदा पनि हातमा बत्ति लिएर अहोरात्र घाइतेहरूको सेवा गरि विश्व प्रशिध्द हुन पुगेकी एक नर्श जसलाई बत्ति लिएकी महिलाको उपनामले पनि चिनिन्छ । उनको जन्म १२ मे १८२० र मृत्यू १३ अगष्ट १९१०मा भएको थियो ।
  11.  *पासाङ ल्होमू -प्रथम सफल सगरमाथा आरोही नेपाली महिला, उनी अपि्रल २२ सन् १९९३मा सगरमाथाको शिखर चुम्न सफल भइन् तर झर्नेक्रममा उनले मृत्यूवरण गरिन् । एक सहासी नेपाली महिलाको रुपमा उनी परिचित छिन् । मृत्यूपरान्त उनलाई नेपाल सरकारले नेपाल तारा उपाधिले सम्मान गरेको थियो ।
  12.  *आङसाङ सुकी-सन् १९४५ जुन १९मा जन्मिएकी र प्रजातन्त्रकालागि समर्पित नेतृ,  नेशनल लिग फर डिमोक्रेसीकी नेतृ, सन् १९९० मा सम्पन्न निर्वाचनमा अत्याधिक बहुमतले विजयी भएतापनि बर्माको निरङकुस सैनिक सत्ताले आफ्नै घरमा नजरबन्दमा राखि रहेको एक दृढ सहासी महिला नेता उहांलाई नेावेल शान्ति पुरस्कारल लगायत विभिन्न पुरस्कारहरूले सम्मानित गरिएको छ ।
  13.  *मदर टेरेसा-भारतको केालकातामा अनाथ, असाहाय, विरामी र गरीब दिनदुखिहरूको सेवा गरि विश्व प्रशिध्द बन्न पुगेकी मदर टेरेसाको जन्म अगस्ट २६, सन १९१०मा र मृत्यू सेप्टेम्बर ५ सन् १९९७ मा भएको थियो । उनको सेवाको कदर गर्दै नोवेल शान्ति पृरस्कार व्दारा उनलाई सम्मानित गरिएको थियो ।



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
Posted by Hari, Taiwan on February 21, 2011
Ganesh sir,
Very nice poem.

Posted by Ranju Acharya on May 21, 2010
Dai, tapaieko kabitale malaie dherai vabuk banayo, man mutu 6oyo, anautho anuvuti ani yethartata vitra tapaieko saili ....kunai sabd vetiyen dai...lekhnlai patak patak padhi rahe yeti purnata tapaiko kabitama tar ma vitar khali khali vaye...man sahitye kasko po nahola ra tar kahile sabd payenan mera vaw harule ta....lekhdai janu lekhdai janu . Abhari hune thiye tapaieka

Posted by yongchhen on January 18, 2009
Really beautifull and powerful poem

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
हिउँद
छिप्पीएर
आलो जाडो
सहनुको पनि सिमा हुन्छ,
चौँरी गोठहरू
हिमालको काखतिर

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
688032
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com