Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : October 03, 2008 | Author : हाङयुग अज्ञात
Category : Criticism / समालोचना | Views : 1795 | Rating :

  
हाङयुग अज्ञात
Author

फान्सेली लेखक तथा चिन्तक रोलाँ बार्थ (१९१५-१९८०) ले लेखकको मृत्युको घोषणा सन् १९६७ मा गरेपछि लेखकको अस्तित्वप्रति जति संशय उठ्यो, तेत्ति नै लेखकको महत्ताले साहित्यिक समालोचना र सिद्घान्तमा स्थान पनि पायो ।

बार्थको लेखकको मृत्युमा हेगलको दर्शन कलाको मृत्यु र नित्सेको दर्शन ईश्वरको मृत्युले कहीँ न कही अनदेखा प्रभाव पारेको छ ।२ नित्सेले ईश्वरको ठाउँमा महामानव र हेगलले कलाको ठाउँमा दर्शनशास्त्र उचित देखे भने बार्थले लेखकको ठाउँमा पाठकलाई अघि सारे । अर्को कुरा लेखकको मृत्यु लेखकप्रतिको विमोह नभएर, बरू लेखकलाई विवेचनाको दायराभित्र ल्याउनु थियो र बार्थ अत्यन्तै सफल पनि भए । उनको लेखकको मृत्युलाई पाठ्यपारस्परिकताको सुन्दर उदाहरण मानेका छन् उत्तरसंरचनावादीहरूले र उनलाई भाषाका उत्तम चिन्तक पनि मानेका छन् । तेसो त उनको निबन्ध लेखकको मृत्युले धेरै भ्रान्तिहरू पनि छरेका छन्- ती भ्रान्तिहरू युरोप र अमेरिकातिर चाहिँ यो बेला प्राय निर्मूल भइसकेको छ भने पूर्वीय साहित्यमा अझ पनि धेर भ्रान्तिहरू छन् । नेपाली साहित्यमा लेखकको मृत्युका विषयमा विर्मश तथा संश्लेषणभन्दा पनि टिकाटिप्पणी धेरै भएको देखिन्छ । लेखक भइकन लेखककै मृत्यु किटान गर्ने बार्थलाई कतिले वस्त्रबिनाको बादशाह पनि भन्ने गरेका छन् ।

लेखकको मृत्युलाई नजिकबाट नियाल्नेहरू भन्दछन् लेखकले जुन पाठ तयार गर्दछ त्यो पाठकमा गएपछि पाठकले आफ्नै किसिमबाट बुझिदिन्छ । तेसो हुँदा लेखकको स्वार्थभन्दा पाठकको बुझाइमा कुनै पनि साहित्यिक पाठ निर्भर हुन्छ । लेखकको स्वार्थ या उद्देश्यको पतन भएर पाठकको आफ्नै बोधको बाहुल्यता हुने हुँदा लेखकको मृत्यु स्वाभाविक हो भन्दै बार्थलाई धाप मार्छन् एकथरि विद्वानहरू भने अर्काथरि कुर्लिन्छन् लेखकको मृत्यु स्वीकार गर्नु भनेको सामन्तवाद स्वीकार गर्नु हो । थोरै थोरै दम दुवैथरिका विद्वानहरू तर्कमा देखिन्छ । पहिलो थरिका विद्वानहरूको तर्कमा यसकारण दम छ कि बार्थले उक्त निबन्धको अन्तिममा लेखकको मृत्युको मूल्य पाठकको जन्मले पूर्ति गर्नसक्ला भन्छन् । वास्तवमा लेखकको पाठमाथिको अधिनायकत्व समाप्त पारेर पाठको बहुलता पाठकले स्थापना गर्ने निष्कर्ष विद्वानहरू निकाल्दछन् जसले गर्दा पाठको परम्परागत केन्द्रीय लेखक विकेन्दि्रत हुन्छ । यसरी परम्परागत केन्द्रीय लेखकको मृत्यु हुन्छ भने बार्थले बुर्जुवा विचारधाराको सैद्घान्तिक व्याख्या तथा विश्लेषणमा धेरै समय बिताएकोले विषेशतः अर्काथरि विद्वानहरू बुर्जुवा बार्थको विरोध गर्दा यस प्रकारको लेखकको मृत्युलाई पनि सिङ्गै विरोध गरिपठाउँछन् । तेसैले जति यी दुवैथरिका विद्वानहरू ठीक छन् तेत्ति बेठीक पनि । निश्चित दृष्टिकोणका बन्दी अथवा कुनै दस्तावेजप्रति प्रतिबद्घ हुँदा जानिजानिकन कहिलेकाहीँ राम्रो कुराको विरोध हुन्छ भने कहिलेकाहीँ नराम्रो कुराको पनि समर्थन हुन्छ । लेखकको मृत्युमाथि नेपाली बौद्घकिहरूमा उचित र नयाँ विमर्शहरू हुँनु जरूरी देखिन्छ । लेखकको मृत्युलाई हेर्ने नेपाली विचारधारा के त ? हल खोज्नुको सट्टा अन्धाधुन्धको स्वीकरण र तिरस्कारले नेपाली विचारधाराको दुर्बलता मात्रै प्रदर्शित हुन्छ । धेरै जसो प्राज्ञहरू र प्राध्यापकहरू यसप्रकारको चिन्ता र चिन्तनभन्दा क्षणिक चर्चाका विषयहरूमाथि आकषिर्त भई पेटी-उभततथ) दर्शनतिर उन्मुख भएको पाइन्छ । म यस आलेखमा बार्थको लेखकको मृत्युलाई नेपाली विचारधाराले हेर्ने जमर्को गर्दै नेपाली सामाजिकतामा यसको प्रयोजन र उपादेयताका विषयमा तथा नयाँ लेखकको जन्म बारे संक्षिप्त विमर्श गर्नेछु ।

वैश्विक साहित्य सिद्घान्तव्यवस्थामा बार्थ प्रवर्तित लेखकको मृत्युको धारणा झुक्रिसकेको छ । तथापि, यसलाई महत्वपूर्ण दस्तावेजका रूपमा साहित्यिकहरूले लिने गरेका छन् । विषेशगरिकन माक्र्स र एङ्गेल्सको कम्युनिष्ट मेनिफेस्टो ले राजनीतिक वृतमा मच्चाएको हलचलझैं द डेथ अफ दि अथर ले पनि साहित्यिक वृतमा ठूलो प्रभाव पारेको छ । वार्थले लेखकको विषयमाथि लेखेर पुरै भाषा, साहित्य तथा लेखन परम्परामा नयाँ मान्यता स्थापित गरेका छन् जसले गर्दा भाषा र साहित्यमा मात्रै होइन अन्य मानवशास्त्रहरूमा समेत मृत्यु र अन्त्य-का धारणाहरू तिब्रताका साथ आए, आइरहेका छन् । इतिहासको अन्त्य, समालोचनाको अन्त्य, सिद्घान्तको अन्त्य, ग्राम्सीको मृत्यु आदिइत्यादि अन्त्यवादी (endemic) विचार तथा सिद्घान्तहरूको बोलवाला बिसौं शताब्दीको उत्तरार्धमा प्रबल देखिन्छ । लेखकको मृत्युको घोषणा भएपछि लेखकको खोजी शुरू भयो जसरी ईश्वरको मृत्युको घोषणापछि ईश्वरको खोजी शुरू भएको थियो । बार्थको यस घोषणाको दुई वर्षपछि माइकल फोकल्टले प्रश्न गरे- आखिर लेखक के हो ? यहाँबाट लेखकका विषयमा धेरै ठूलाठूला ग्रन्थहरू प्रकाशित भइसकेका छन्, रिडर रेस्पोन्स थे��"री पनि यसपछि विकसित भएको पाइन्छ । धेरै लेखक तथा सिद्घान्तकारहरूले लेखकको मृत्युलाई जति स्वीकार गरेका छन् तेत्ति नै अस्वीकार पनि । अस्तित्ववादका पिता सात्रेको साहित्य के हो ? पुस्तकजस्तै विवादास्पद लेखकको मृत्यु निबन्ध न बार्थकै नियतमा सम्पूर्ण वरण गर्न सकिन्छ न तर्काउन सकिन्छ ।

नेपाली साहित्य जगतमा लेखकको मृत्युलाई लेखक खगेन्द्र संग्रौलाले अन्तर्वार्तामा यसरी अस्वीकार गरेका छन्- लेखकको मृत्यु भइसक्यो भन्नुको अर्थ के हो भने शब्दकर्मको, चिन्तनको जीवनमा अब कुनै पनि प्रयोजन छैन । मलाई के लाग्छ भने यो विश्वको शोसक शासकहरूको दर्शन हो । विश्वका उत्पीडितहरूको निम्ति शब्दकर्मको अर्थ छ । परिवर्तनको अर्थ छ, नयाँपनको अर्थ छ । सो लेखकको मृत्युमा मेरो विमति छ । म त जीवित छु । आकृति साहित्यिक, दुबई, बर्ष ४, अङ्क १, २०६३

अब अर्को विमति पनि हेरौं- लेखकको एकाधिकार समाप्त पार्ने निहुँमा पाठक मात्रैको एकाधिकार खोजिनु हुँदैन । सो, लेखकको मृत्यु घोषणा एउटा विडम्बना मात्र हो । यसमा मेरो विमति छ ।

श्रवण मुकारूङ, सिलौटी टाइम्स, बर्ष ३, अङ्क १, २०६४

खगेन्द्र संग्रौलाको विमति अलि देब्रे तिरको राजनीति लाग्छ । लेखकको मृत्युको सोझो भाषिक अर्थतर्फको जोडमा संग्रौला खटिएको देखिन्छ । बार्थले लेखकको मृत्युमा शब्दकर्म र चिन्तनको प्रयोजन समाप्त भएको लेखेका छैनन् - उनी लेख्छन् भाषाले विषय थाहा पाउँछ व्यक्तिलाई होइन । शोसक शासकहरूको दर्शन लेखकको मृत्यु होइन । यो उत्पीडितहरूको आवाज हो । परिवर्तन र नयाँपनको आवाज हो । बार्थले अधिनायकी लेखकको मृत्युको घोषणा गरेका छन् । अधिनायकी या निरङ्कुश लेखकलाई नेपाली विचारधाराबाट निर्मूल गर्दै नयाँ लोकतान्त्रिक लेखकको वकालत गर्नु आजको आवश्यकता हो । बार्थ लेखक विरोधी होइनन् तर पुरानो लेखकीय दादागिरीको चाहिँ विरोधी छन् आफ्नो लेखकको मृत्यु निबन्धमा । पुराना नेपाली लेखकका पुराना विचारहरूको मृत्यु नै हाम्रो सन्दर्भमा लेखकको मृत्यु हो । यसकारण उपेक्षित र उत्पीडित जातिका निम्ति कलम समातेको जिकीर गर्ने खगेन्द्र संग्रौलाको नियत भनेको अति ब्राम्हणवादी, अति हिन्दुवादी तथा अति प्रतिगामी लेखकहरूलाई बचाउनु हो- लाग्दोरहेछ/ अबको समालोचनाले लेखकको नियत या नश्ल खोतल्नुपर्छ, व्याख्याको राजनीति बुझ्नुपर्छ ।३

लेखकको मृत्युमा उनको विमति हुनुका कारण अर्को पनि हुन सक्छ । त्यो भनेको बुर्जुवा बार्थ । बार्थले बुर्जुवा विचारधारालाई पनि व्यवस्थित रेखाङ्कन गरेका कारण विश्वका धेरै कम्युनिष्टहरू उनका विरोधी छन् । तर, (माथि नै भनिए झैं) उनीहरूले बुर्जुवा बार्थको विरोध गर्दा क्रान्तिकारी बार्थको पनि विरोध गरिपठाउँछन् । यो दुर्भाग्य हो पुरानो वामपन्थी बुद्घजिविहरूको । नववामपन्थीहरू कुनै पनि कुराको राम्रोसित संश्लेषण गरिकन मात्रै बोल्छन्- लेख्छन् । उदाहरण, फेडरिक जेम्सनको लिनुहोस् कि डेभिड हार्भेको लिनुहोस् । तेसो र हिजोको माक्र्सवाद नवमाक्र्सवाद हुँदै आज साइबर-माक्र्सवादका रूपमा आइरहेको छ । नेपाली लेखकको मृत्यु भनेको वि.सं. १८३१ देखि यता राज्य र नेपाली साहित्यमा हालीमुहाली गर्ने क्षेत्रीबाहुन लेखकहरूको मृत्यु नसोचेर बार्थले भनेझैं निरङ्कुश र प्रतिगामी लेखकको मृत्यु सोच्नु पर्दछ । किनभने हामीलाई अग्रगामी, प्रगतिशील अथवा सृजनशील नयाा लेखक जन्माउनु छ जसले बहुलताको सम्मान गर्दै उत्पीडित तथा उपेक्षित जाति, वर्ग तथा लिङ्गको उत्थान र विकासमा लेखकीय प्रयत्न गर्न सकोस् । सप्पैभन्दा ठूला दार्शनिक माक्र्सले बोले- दार्शनिकहरूले जीवन र जगतको व्याख्या मात्रै गरे तर मानिसको समस्या भनेको जीवन र जगतको परिवर्तन गर्नु हो । नेपाली विचारधाराको सापेक्षमा बार्थको लेखकको मृत्यु धारणालाई तेही परिवर्तनको पक्रिया मानौं अथवा ब्राम्हणवादी र एकलवादी सोच परिसोचको मृत्यु मानौं अथवा सारा अतिवादहरूको मृत्यु मानौं ।- लेखकहरू असल विचारले जीवित हुनुपर्छ ।

लेखकको एकाधिकार समाप्त पारेर पाठकको एकाधिकार लाद्ने सवालमा पनि लेखकको मृत्यु घोषणा भएको होइन । बरू यो घोषणाले लेखक र पाठकबीचको समन्वयको खोजी गरेको छ । बार्थले लेखेका छन् लेखकको मृत्युको मूल्य पाठकको जन्मले तिर्छ । यदी यसलाई पाठकको एकाधिकार, सर्वोपरी या वर्चस्व भन्ने हो भने पनि यो लोकतन्त्रमा जनता नै सर्वेसर्वा भने झैं हो । राजनीतिको शासक नै साहित्यमा लेखक हुन्छ र साहित्यको पाठक नै राजनीतिमा जनता हुन्छ । बार्थले पाठकको जन्म मात्रै गराएका छन्, वर्गिकरण गरेका छैनन् । त्यो पाठक निरङ्कुश र एकाधिकारवादी भयो भने आफ्नो विमति हुने श्रवण मुकारूङको तर्क जायज छ । तर, पाठक निरङ्कुश र एकाधिकारवादी भइनहालेको अवस्थामा उहाँको विमति अलि अनौठो किसिमको कुटनीति लाग्छ ।४ तर, यो उहाँको अनुभव पनि हुनसक्छ किनभने इतिहासमा कहीँकहीँ नागरिक समाज या जनता निरङ्कुश भएको पनि पाइन्छ । यस्तो बेला पाठकलाई कविवर मोहन कोइरालाकै कविताहरू उपयुक्त देखिन्छ । कवि कोइरालाका अमूर्त कविताहरूमा अर्थ टाँसेर बोल्ने लेख्नेहरू हामीहरू नै हौं, अमेरिकनहरू आएका छैनन् उनलाई कविका रूपमा ग्रहण गर्न । तेसअर्थमा हामीले विचार गर्नुपर्ने कुरा भनेको हाम्रा पाठकहरूको किसिम पनि हो । धेरै किसिमका लेखक भएपछि धेरै किसिमका पाठक पनि हुन्छन् । धेरै किसिमका पाठकहरू मध्ये आदिबासीजनजाति, उत्पीडित तथा उपेक्षित पाठकहरूको किसिम पनि एउटा हो नै । यसकारण नेपाली समाजको बहुलतामा नेपाली पाठकहरूको पनि बहुलता छ । र, जहाँ बहुलता हुन्छ त्यहाँ एकाधिकार हुँदैन, एकाधिकार भइहालेको खण्डमा पनि त्यो कृतिम हुन्छ, स्थायी हुँदैन । परम्परागत लेखकको मृत्युपछि जन्मने नयाँ लेखक नेपाली समाजको यो बहुलतामा बाँच्नेछ ।

नेपाली साहित्यमा भइरहेको लेखकको मृत्युलाई भानुभक्तको शालिक तोडिनुसित पनि व्याख्या गर्नु मिल्छ । तर, बार्थको निबन्ध लेखकको मृत्युको प्रयोजन लेखकको अन्त्यसित नभएर लेखकलाई विमर्शमा ल्याई नयाँ लेखकको घोषणा गर्नु थियो । भानुभक्तको शालिक तोडिनु पनि लेखकलाई विमर्शमा ल्याउनु नै हो । खस नेपाली भाषाका आदिबासीमूलका लेखकहरू भानुभक्तलाई पुरै वर्जित गरेर जान सक्दैनन् न उनको नाममा गरिने भाषिक तथा साँस्कृतिक अतिक्रमण र अतिरञ्जन स्वीकार्न सक्छन् । भाषिक एकिकरणका नाममा अन्यको जीवनदर्शन नै ध्वस्त बनाउनु यस एकाइसौं शताब्दिमा घोर निन्दनीय कृत्य हो, मानवीय विकास र प्रगतिकै लागि बाधक प्रतिविचार हो । अङ्गे्रजी र खस नेपाली भाषामा लेख्ने तर आफ्नै मातृभाषामा लेख्न नसक्ने आदिबासीजनजाति लेखकहरूको एउटा नयाँ पुस्ता नेपाली सामाजिकतामा फैलिदैँछ । मातृभाषीहरूको तर्फबाट तर्क गर्ने हो भने यस अवस्थालाई पनि लेखककै मृत्यु धारणा ख्याप्प मिल्छ । यसको साथसाथै आदिबासीजनजाति मूलका यी लेखकहरूले जुन वैचारिक र सैद्घान्तिक आधारमा लेखनकार्यलाई अगाडि बढाउँदैछन् तेसले समग्र नेपाली साहित्यमा नयाँपन भित्रिदैछ । यो नयाँपन रूप र सार दुवैमा देखिदैछ । यसो र नेपाली साहित्यमा नयाा लेखक जन्मिसकेको छ ।

उता, बार्थको निबन्धलाई जुलिया क्रिस्टेभाले पाठ्यपारस्परिकताको सिद्घान्तका रूपमा बढी चर्चा गरेकी छन् भने धेरैको मान्यमा चाहिँ संरचनावादको महान् पाठका रूपमा लेखकको मृत्युलाई लिएका छन् । फोकल्टले लेखक के हो ? आलेखमा लेखकका विषयमा अरू निष्कर्ष थपेकाछन्- ....लेखकको विलय भएको छ । ईश्वर र मानिसको मृत्यु समानरूपमा भएको छ । लेखकको उपस्थितिभन्दा लेखकको कृत्य या कर्म पाठको प्रमुख तत्व हो ।

लेखकका बारे विमर्श हुनु नकारात्मक परिस्थिति होइन । विमर्शले नै नयाँ कुरा ल्याउँछ । लेखकको मृत्युलाई धेरैले धेरै अर्थबाट हेरेका छन् र उनीहरूले धेरै नौला सिद्घान्तहरू पनि निर्माण गरेका छन् । नेपाली साहित्य जगतमा लेखकको मृत्युको बहसले नयाँ लेखकको जन्म गराउँदै विविध सास्कृति र संस्कारका नेपाली पाठकहरूको सम्मान गर्नेछ भन्ने लाग्छ । केही समययता जातीय समालोचनामा कलम घोटिरहेका वैरागी काइँलाले लेखेका छन्- नेपाली समाज इन्द्रेणी संस्कृतिले बनेको समाज हो । इन्द्रेणीमा विविध रङ्ग भएझैं नेपाली समाजभित्र विविध जाति, भाषा, धर्म र संस्कृति छन् । बहुलतालाई स्वीकार नगर्ने प्रवृति लिएको ठालु संस्कृति नेपाली समाजमा लामो समयदेखि हावी रहेर नै आजसम्म हेर्न नरूचाइएका सामाजिक पाटाहरू धेरै छन् । यी सामाजिक पाटाहरूलाई एउटै शब्दमा विविधता भन्न सकिन्छ । नेपाली समाज र संस्कृतिको समग्रता यिनै विविधताको योगले नै रचना गर्दछन् । त्यसैले हिजोसम्म अर्थहीन ठानिएका नेपाली राष्ट्रियताको अवयवका रूपमा रहेका जातीय तत्वहरू पनि साहित्यको चासोको विषय बन्दै गइरहेको छ र साहित्यमा आफ्नो स्थानको आग्रह गरिरहेको देखिन्छ । -२०६२- कवि स्व. स्वप्नील स्मृतिको कविताकृतिको भूमिका/ रङ्गै रङ्गको भीरमा प्रतिरङ्ग साँस्कृतिक चेतबाट )

साहित्यमा नेपाली समाजको यस्तो विविधतालाई पुरै इन्कार गरेर लेख्ने लेखकहरूको मृत्यु गोविन्दराज भट्टराईकै दृष्टिकोणले हेरौं उत्तरआधुनिक ऐना-२०६२)मा- मानिसलाई लेखकको उपस्थितिमा विश्वास लाग्न छाडेको छ । साहित्यमा मात्रै होइन राज्यका विविध क्षेत्रमा उत्पीडित तथा उपेक्षित मानिसलाई हिजोको ठालु लेखकको उपस्थितिमा साँच्चै नै अविश्वास छ, घोर आपत्ति छ । नेपाली समाजमा पहिलोपटक लेखकको मृत्यु थाहा पाउने चिन्तक गोविन्दराज भट्टराईको व्याख्या तर कहीँकहीँ अमूर्त लाग्छ । जसले भ्रमहरू पनि प्रवाह गर्दछन् । तर, उत्तरआधुनिक ऐना समालोचना सिद्घान्तग्रन्थमा उनले परम्परागत लेखकको अन्त्य हुने क्रमको रेखाचित्र प्रस्तुत गरेर नयाँ लेखकको जन्मबारे जो छनक दिएका छन् त्यो भने दाद दिन लायक छ ।

लेखकको मृत्युसितै बार्थले पाठकको जन्म पनि घोषणा गरे । उनको घोषणापछि लेखकको जन्म, लेखकको पुर्नजन्म र लेखकका अवतारका सन्दर्भले साहित्यिक सिद्घान्तहरूमा बलियो उपस्थिति जनाएका छन् । सृजनशील अराजकतामा मान्यौं- कवित्व निस्सीमता अर्थात् लेखक-निराकार/ कविलेखक जातीय, सामाजिक र राजनीतिक सीमाभित्र रहेको हुने भएता पनि ऊ निश्चय नै त्यहीँ कुँजिएर बस्न सक्दैन । यसकारण ऊ जातीय, सामाजिक र राजनीतिकद्रोह गरेरै ज्ञानको अपारतामा बाँच्न चाहन्छ । हिन्दुधर्मशास्त्रलाई मात्र आधार मानेर साहित्य लेख्ने लेखकहरूको परम्परावादी मनमस्तिष्कमा विध्वंश मच्चाउँदै सृजनशील अराजकताको आन्दोलनले नेपाली साहित्यमा नयाँ विचार र चेतनाहरूको आँधि जो हुल्यो यसका प्रभावहरू नेपाली साहित्य लेखनमा प्रशस्तै देखिदैछन् । सम्भवतः नयाँ लेखकको व्यवस्थित रेखाङ्कन यहीँबाट शुरू भएको हो । आफूलाई खोज्दा अरूको अस्तित्वको पनि ख्याल गर्नु पर्छ भन्ने मन्त्रले परिचालित चेतना-अभियानमा आदिबासी इतर पनि समेटिएका छन् । मुठभेटको स्थितिभन्दा पनि सहमति र समन्वयको वातावरण नै नयाँ लेखकको तापक्रम हो ।

यसैक्रममा-अराजनीतिक ईश्वरवल्लभले रचनात्मक घोषणा गरे अवतार-अवतरण-२०६०) अर्थात् लेखक-अवतार । हिन्दुधर्मशास्त्रमा वणिर्त अवतारसिद्घान्तलाई आधार मानेर लेखकहरूको पनि अवतार हुन्छ अथवा कुनै पनि साहित्यिक पाठको अवतार हुन्छ भनिकन प्रारम्भ गरिएको यस मान्यताले तर बिचैमा दम तोड्यो । यसको एक मात्र कारण प्रागभूमिको बहुलता र विविधता मापन गरिएन । जे भएपनि पुरानो लेखकहरूको बाक्लो उपस्थितिले क्षयबोध भइरहेको चेतनामा तिक्ष्ण झट्का दिदै नयाँ लेखकको छाया-प्रतिरूपको भने झल्को पाइन्छ अवतारअवतरणमा ।

वि.सं. २०५७देखि यता नेपाली साहित्यक्षेत्रमा जति पनि साहित्यिक अभियानहरू सञ्चालित भए भइरहेका छन् , जति पनि राम्रा कविलेखकहरूको आगमन-पुनर्आगमन भए भइरहेका छन् यसको एउटै सशक्त कारण भनेको हिजोको एकाधिकारवादी परम्परागत लेखकको मृत्यु या विलय भई बहुलवादी नयाँ लेखकको जन्म हुनुले हो । चाहे बुर्जुवा लेखक होस् या प्रगतिशील, चाहे उच्चवर्गका लेखक होस् या सर्वहारा, चाहे आदर्शवादी लेखक होस् या भौतिकवादी अबका दिनमा कुनै पनि पाठशालाका लेखकहरू नेपाली सामाजिकतामा विद्यमान वैचारिक अनेकानेक र साँस्कृतिक वैविध्यलाई इन्कार गरेर अघि बढ्न सक्दैनन् । नयाँ लेखक भन्नु नै बैरागी काइँलाले भने झैं इन्दे्रणी रङ्गको लेखक हो जसले नेपाली समाजमा भएका विविधतालाई स-सम्मान लेख्छ ।

अन्तमा, लेखकका विषयमा उठेका यस्ता विचारहरूले नै यथार्थमा नेपाली साहित्यको विशालता सुम्सुम्याउन सकिन्छ । तेसैले लेखकको मृत्यु स्वीकार्नु भनेको नयाँ लेखकको जन्मलाई स्वागत गर्नु हो । अझ यतिबेला नेपालमा नयाँ लेखकको खोजी तिब्र हुँदैछ । यसो र, यथास्थितिवादी लेखकहरू वैचारिक रूपमा विचलित देखिएका छन् । पुरातन विचार र मान्यतामा लेखेर स्थापित भएका लेखकका निम्ति नयाँ थोक स्वीकार्नु साह्रो हुन्छ । तर, असल लेखकले सधैँ समय र समाजको गतिलाई आत्मसात् गर्ने हुँदा लेखकको मृत्यु धारणालाई पनि सकारात्मक रूपमा लिएर पुरानो लेखकको मलामी जान सकिन्छ । नयाँ लेखकका निम्ति धेरैधेरै विमर्शहरूको खाँचो रहेको उल्लेख गर्दै प्रचलित नेपाली साहित्यमा व्याप्त सम्पूर्ण भ्रमहरू चिरेर सृजनशील नयाँ लेखक हुर्काउने सत्कर्ममा तमाम नेपाली लेखक तथा बुद्घिजिविहरूको सहभागिता प्रथम सर्त छ ।

टिप्पणी

१. -रोलाँ बार्थले भाषा र सामाजिक जगतको सम्बन्धका बारेमा धेरै लेखे । उनले प्रारम्भिक निबन्धहरूमा लेखे- लेखनको कुनै पनि रूप या शैली लेखकको स्वतन्त्र अभिव्यक्तिको विषय होइन । लेखन सधैँ सामाजिक र विचारवैज्ञानिक मूल्यहरूले सु-सज्जित हुन्छ र भाषा कहिले पनि दोषरहीत हुँदैन । उनले संरचनावादको विकासमा धेरै योगदान दिएका छन् । उनले सङ्केतविज्ञान-कझष्ययिनथ) लाई पनि बौद्घकि जीवनको अभिन्न अवयव बनाए । उनका महत्वपूर्ण कृतिहरूमा मिथोलोजिज्, इलिमेन्ट्स् अफ सिमियोलजी, एस्/जेड आदि हुन् । उनको निबन्ध लेखकको मृत्यु इमेज, टेक्स र म्युजिक नामक कृतिमा समेटिएको पाइन्छ । रोलाँ बार्थको आधारभूत लेखकीय व्यक्तित्व थाहा पाउनका निम्ति डेभिड मेक्येको क्रिटिकल थे��"री र लेखकको मृत्युका बारेमा सामान्य धारणा निमार्ण गर्न एन्ड्रयू बेनेटको दी अथर हेर्न सक्नु हुनेछ ।-

२. -सन् १८२८मा हेगल-१७७०-१८३१)ले आफ्नो एक प्रवचनमा कलाको मृत्यु भएको जिकीर गरे । उनले आधुनिक मानिसलाई नाटक, उपन्यास र कविता होइन व्याख्या र कारण आवश्यक छ र यसको पूर्ति दर्शनशास्त्रले मात्रै पूरा गर्छ तेसकारण कलाको मृत्यु भयो भनेका छन् । कलाको ठाउँ दर्शनशास्त्रले लिने आशावादी धारणाको कारण उनले कलाको मृत्यु या अन्त्य देखे, कलाका सवालमा उनी निराशावादी छन् । फेडरिक नित्से-१८४४-१९००) नास्तिक थिएनन् तर उनले ईश्वरको मृत्युको घोषणा गरे । क्रिश्चियनिटीको पतनको चिन्ताबाट प्रतिपादित विचारलाई ईश्वरको मृत्युमा घिसारेर परोक्ष ईश्वरकै वकालत गरेका छन् उनले । उनले परम्परागत ईश्वरको विश्वास र धारणामाथि प्रहार गर्दै नयाँ ईश्वरको मान्यता स्थापित गरेका छन् र त्यो नयाँ ईश्वर भनेको महामानव अथवा सुपरम्यान लेखेका छन्- अतिमानव अथवा ��"भरहृयुमन कहेका छन् । बौद्घदर्शनबाट प्रभावित सोफेनआवर-१७८८-१८६०)द्वारा प्रवर्तित जगत ईच्छा र प्रतिनिधित्वका रूपमा भन्ने दर्शनबाट प्रभावित नित्सेले तर सोफेनआवरको निराशावादी दर्शन अन्तमा इन्कार गरे । हेगलले कलाको मृत्यु र नित्सेले ईश्वरको मृत्यु घोषणा गर्नुका पछिल्तिर नयाँ विचारको उदय र स्थापनातिर बल दिनु देखिन्छ ।-


३. -खगेन्द्र संग्रौला नेपालका चिरपरिचित प्रगतिशील विचारधाराका माक्र्सवादी लेखक हुन् । आफ्नो उट्पट्याङ शैलीका कारण बेला बेला विवादमा पनि मुछिदै आउनु भएको उहाँ आफ्नो लेखनलाई जातीय मुक्तिका लागि होइन वर्गिय मुक्तिका लागि प्रयोग गर्नुहुन्छ । तर, नेपालका आदिवासी जनजातिप्रति सहानुभूति र लगाव भएको बताउनुहुने संग्रौलाज्यूले गोर्खाभर्तिमा जनजाति युवाहरूलाई भर्ति गरी विदेश लैजानुको उद्देश्य बारे यसप्रकार आफ्नो विचार प्रचार गर्नुभएको छ पालाम मासिकको बर्ष ३ अङ्क १ को अन्तर्वार्तामा -स्वभावतः सोझो र चारित्रिक रूपमा बहादुर हुनु । किनभने तागाधारीहरू सूचना र ज्ञानसम्म पहुँच पुगेका हुनाले चतुर र बाठा थिए । तिनीहरूमाथि भर पर्न सकिदैन । मङ्गोल समुदाय एकदमै मिलेको लाटो, सोझो, सुरवीर अथवा आँधो भनिएर लगिएका हुन् । हकको दाबी नगर्ने, मालिकप्रति बफादार र परिआएको बेलामा ज्यानै दिने । मङ्गोलहरूको बफादारीमा कुनै शङ्का नभएको हुनाले त्यस आधारमा नै त्यो जातिलाई रोजिएको हो ।

पृथ्वीनारायण शाहले तथाकथित एकिकरणका नाममा मगर, गुरूङ, नेवार, राई, लिम्बू लगायत अन्य विविध जातिका राज्यहरूलाई अनेक षडयन्त्र गरी हडपेपछि विद्रोहको सम्भावनालाई ध्यानमा राखेर विजित राज्यका जातिलाई केही न केही विषेश व्यवस्था गरिदिए । उनले लिम्बुवानलाई युद्घ र जालझेल दुवैबाट हराउन नसकेपछि लिम्बू शासकहरूसित भने सम्झौता र सहमति बनाए । यो सम्झौता र सहमति अनुसार दक्षिणको कम्पनी सरकार-बेलायत) सित खतरा हुनसक्ने तर्क गर्दै (युनाइटेड स्टेटस् अफ) नेपालमा लिम्बुवान समावेश हुनुपर्ने र यसो गर्दा लिम्बुवानको शासनव्यवस्था उनले नलिने स्वयम् लिम्बूहरूलाई नै दिने निर्णय गरिएको थियो । गोर्खा राज्य र लिम्बुवान राज्यबीच भएको यो सम्झौता र सहमतिलाई प्राप्त ऐतिहासिक दस्तावेजहरूका अनुसार किपट-प्रथाका रूपमा व्याख्या विश्लेषण गर्ने गरिएको पाइन्छ । तर, पछि बिस्तारै राज्यसञ्चालनमा लिम्बुवानको स्वायत्ततालाई केन्द्रले अस्वीकार गर्दै लग्यो र अन्ततः महेन्द्रले भूमिसुधारका नाममा किपटव्यवस्था या स्वशासनको नामोनिशान मेटाइदिए । प्राय धेरै इतिहासकार र राजनीतिशास्त्रीहरूले किपटव्यवस्थालाई सामन्तवादका रूपमा व्याख्या गर्ने गरेका छन् तर यो गलत हो । लिम्बुवानको अस्तित्वलाई राम्रोसित अध्ययन गर्ने हो भने किपटव्यवस्था अन्तर्गत कुनै पनि लिम्बूहरू भूमिहीन थिएनन् । सबै लिम्बूहरू आ-आफ्नो सुतिखेती गरिखान्थे आफ्नो जमिनमा । हो, कसैको खेतमा धेरै अन्न फल्थ्यो होला या कसैले खेती नगरेर सिक्किमसित व्यापार गरे होलान् । अतः लिम्बूवानमा सामन्तवाद घुसाइएको र हुर्काइएको भने राणा शासनको पालामा हो । तेसकारण किपटव्यवस्थासित सामन्तवादको कुनै सरोकार थिएन ।

तथाकथित एकिकृत नेपाल राज्यका शासकहरूले लिम्बुवानलाई मात्रै होइन पृथिनारायणको प्रस्ताव -युनाइटेड स्टेटस् अफ) नेपालमा सहभागी अन्य राज्यहरूलाई पनि धोका दिदैं लगे र ती राज्यहरूको अस्तित्वलाई जरैबाट समाप्त पार्ने नीति अपनाए भने विद्रोहको सम्भावनालाई पनि सधैं आत्मसात गरे । गोर्खाभर्तिमा आदिबासीजनजाति विषेशगरिकन मगर, गुरूङ, सुनुवार, शेर्पा, राई, लिम्बू आदिलाई भर्ति गरी विदेश पठाउनु भनेको यी जाति आँधो, मूर्ख, लाटो या हक दाबी नगर्ने भएर होइन । विद्रोह गरेर फेरि आफ्नो राज्य फिर्ता नलगुन्, आफूहरू सधैँ नेपाल राज्यमा हाबी हुन सकौं भनेर शक्ति र सत्ता मुट्ठीमा लिएका शासकहरूले यथार्थमा आदिबासीजनजातिका विषेश जातिहरूलाई भर्ति गरी विदेश पठाएका हुन् । जनजातिहरूलाई राजनीतिक रूपले पछि पार्नक तथाकथित सूचना र ज्ञानका हकदार आफैले आफैलाई चतुर र बाठा ठान्ने तागाधारी जातिले जुन मनोवैज्ञानिक युद्घ लामो समयदेखि गर्दै आएको छ अब उप्रान्त यसलाई नचिरी हुन्न । यी एक देश, एक भेष, एक भुसा, एक भाषा, एक धर्म, एक सास्कृति र एक जातिका सिद्घान्तकार र प्रयोगमार्गीहरूले सधैँ आफूलाई सक्षम शासकीय जातिका रूपमा प्रस्तुत गर्दै अन्य देश-लिम्बुवान, खम्बुवान, कोइचवान..आदि राज्यहरू), अन्य भेष, अन्य भुसा, अन्य भाषा, अन्य धर्म, अन्य सास्कृति र अन्य जातिहरूलाई असक्षम र शासित जाति- या दास)का रूपमा व्याख्या गर्दै आए, अझै पनि तीहरूले यस माटोका असली हकदारहरूलाई लघुताबोध उत्पन्न गराउने अभिव्यक्तिहरू दिन्छन् । यो बुझ्नुपर्दछ । कुनै पनि जातिको विकास तब हुन्छ जब उसमा जातीय अहम्को विकास हुन्छ । तेसकारण नेपालका शासकवर्गले यहाँका रैथाने, उत्पीडित र उपेक्षित जातिको जातीय अहम्लाई दबाउन अनेक प्रपञ्च रच्दछन् । आदिबासीहरू लाटोसोझो, आँदोमूर्ख, घामट हुन्छन् भन्नु तेही प्रपञ्च अन्तर्गत पर्दछ । वास्तवमा आदिबासीजनजातिहरू पनि उत्तिकै बाठा, उत्तिकै ज्ञानी, उत्तिकै सक्षम छन्, उत्तिकै सभ्य र उत्तिकै सुसंस्कृत जाति हुन् ।

तथाकथित शासकवर्ग वेदका सापेक्षमा विद्वान या टाठाबाठा होलान् तर मुन्धुम्को सापेक्षमा आँदोमूर्ख, घामट र लाटोसोझो हुन्छन् । कुनै पनि जातिलाई मानवीय संज्ञानका आधारमा व्याख्या गर्दा त्यो जातिको भाषा, शास्त्र, संस्कृति र सभ्यता निरपेक्ष हुँदैन । तेसकारण आदिबासीजनजातिको बौद्घकि स्तर कति विकसित छ भनेर जाँच्दा वेद या हिन्दुशास्त्रको मापनयन्त्रले सही तथ्याङ्क दिदैँन जसरी यौटा हिन्दुधर्मावलम्बीलाई किरातशास्त्र अनुरूप उसको चेतनाको तह मापन गर्न सकिदैन । नेपालमा शासकवर्गले आदिबासीजनजातिहरूलाई लाटोसोझो भन्नुको पछाडि उनीहरूको चेतना निर्धारण गर्ने संयन्त्र हिन्दुशास्त्र भएकोले हो । यदी आदिबासीजनजातिहरूलाई आदिबासीजनजातिहरूकै भाषा, शास्त्र, संस्कृति र सभ्यता अनुसार जाँच्ने हो भने नेपालका आर्यहरूझैं उनीहरू पनि सक्षम, बौद्घकि र संवेदनशील छन् । खग्रेन्द्र संग्रौलाज्यूलाई म यौटा प्रश्न गर्न चाहन्छु- के तपाइँलाई धान नाच्न आउँछ ? पक्कै आउँदैन किनभने हिन्दुशास्त्रमा धान किन कसरी कहाँ कहिले नाचिन्छ भनेर लेखिएको छैन । तेसकारण धानै नाच्न नआउनेलाई लिम्बूशास्त्र सापेक्षमा बाठो या विद्वान भन्न सकिदैन । हरेक जातिको विद्वत्तता र मूर्ख्र्याइँ तेसकारण तेही जातिकै पाठशालाले मात्रै निर्धारण गर्न सक्दछ । हरेक किरातीहरूको वैचारिक प्रणालीमा डा. स्वामी प्रपन्नाचार्य हेर्न खोज्नु तर्कसंगत हुणदैन । आजसम्म आदिबासीजनजातिहरूलाई हिन्दुधर्मदर्शनले मार्त्रै जोख्न खोजिएकोले राज्यको तीनै संयन्त्रमा उनीहरूको उपस्थिति समानुपातिक र समावेशी देखिदैन ।-

४. -कवि श्रवण मुकारूङ एकल कविता वाचनका निम्ति हङकङ आउनु भएको बेला बिसे नगर्चीको बयान कविताले कविको मृत्यु गराएको उल्लेख गरेको थिएँ । उहाँले निधार निचरेर सोध्नुभयो- कसरी ? मैले प्रष्ट पार्ने प्रयत्न गरें- लोकतन्त्रका निम्ति दर्जनौं कविहरू सडकमा ��"र्ले । प्रहरीसित लाप्पा खेले । प्रहरी भ्यानमा आँटी नआँटी घुसेर लोकतन्त्रको नारा घन्काए । तर कविको आवाज कसैले सुनेन । जब बिसे नगर्चीको बयान कविता प्रकाशित भयो तब लाखौं जनता साँच्चै जुर्मुराए र लोकतन्त्र ल्याइछाडे । ४६ सालको प्रजातन्त्र कविहरूले ल्याए होलान् तर ६३ सालको लोकतन्त्र बिसे नगर्ची कविताले ल्याएको हो । तेसकारण कवि शक्तिको मृत्यु भएछ र कविता शक्तिको जन्म भएछ । यो सुनेर कवि श्रवण मुकारूङ डि माइनरमा हाँस्नु भएको थियो । -

सन्दर्भसूचि
गड इज डेड- फेडरिक नित्से
डेथ अफ् आर्ट- हेगल
ट्रेजेडी एन्ड भ्यालु अफ् आर्ट- सोफेनआवर
द डेथ अफ् दी अथर- रोलाँ बार्थ
वाट् इज एन् अथर ?- माइकल फोकल्ट
दी अथर- एन्ड्रयू बेनेट
गड एन्ड द स्टेट- मिखाइल बाकुनिन
साहित्यको अपहरण..- इन्द्रबहादुर राई
समानान्तर नेपाली साहित्य- वैरागी काइँला
कवितामा नस्लबोध र करङको हिरासत- वैरागी काइँला
उत्तरआधुनिक ऐना- गोविन्दराज भट्टराई
लेखकको मृत्यु स्वीकार्नु भनेको शोसकसामन्तहरूको विचार स्वीकार्नु हो- खगे्रन्द्र संग्रौला
अग्रज कविहरूसागको विमति यहीँनेर छ- श्रवण मुकारूङ
राजनीति र नयाँ नेपाली साहित्यको सवाल- हाङयुग अज्ञात
सृजनशील अराजकताको आन्दोलन-२०५७)- हाङयुग अज्ञात, राजन मुकारूङ, उपेन्द्र सुब्बा
सृजनशील उत्तरवर्ती पान्थर- पुष्प सुब्बा, भवानी तावा, राज माङ्लाक, समीर आदि
विषेश रङवाद सातदोबाटो- धमेन्द्र नेम्बाङ, स्वप्नील स्मृति, समदर्शी काइँला, चन्द्रवीर तुम्बापो
मुक्त लेखन दमक- सुन्दर कुरूप, प्रकाश आङदेम्बे, टङ्क आचार्य
जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले- नरेश सुनुवार
पालामको मूच्र्छना- प्रकाश थाम्सुहाङ




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Criticism / समालोचना category

Glancing on Hongkong Ma Kavita
लुङखुम क्याम्प उपन्यासमा युद्ध विरोधी स्वर
घामको चुम्बनमा लोकबोलीको चमत्कार
कवि आँकालाको 'सन्तानहरू'मा पाठकीय समालोचना
देशपरदेशका तस्वीर
'एक हातको ताली' निबन्ध सङ्ग्रहको अन्तरङ्ग विश्लेषण
'एक हातको ताली'मा आलोक
अमर सैन्य-साहित्यको सिर्जनामा श्रीगणेश
मिथकीय बिम्व, विनिर्माणवादी चिन्तन र नारीवादी चेतनामा: मेरो जोकाष्टा आमाको समर्थनमा
नयाँ लेखकको जन्म
बौद्धिक नश्लीय साँस्कृतिक चिन्तनको प्रभावमा जिन्दगीको पहाड र अस्तित्वको राकुदेले सेकसेलेले.....

    Links
Column / स्तम्भ

    Random Pick
हो,
मृत्युलाई बिर्सेर कायापलट फेर्न खोज्ने हामी मान्छे
दनदनी आगोले नजल्ने बिचार पनि-
एक दिन अवश्य मर्छ
हिटलर मरे
माक्स मरे

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
691585
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com