गुराँस फुली सक्यो, बन पाखा मनोरम भयो घर फर्की आउ परदेशी श्यादर जरि आयो घैटोमा जाँड छिप्पियो पोङ्गमा रक्सी भरिदै छ एरी, खट्टे, सोप्ले कसाबिसा पाक्दै छ किरात चाड उभौली खाँदै मनाउन घर सम्झेर झट्टै फर्की आउ परदेशी काफल ,ऐसेलु पाक्यो सुनाखरी फुल्यो हरियो श्यौली बोक्दै नाच्ने किसानी चाड आयो खेत बारी जोति खनी नयाँ बाली लाउनु छ माटोको पूजा गर्न फर्की आउ परदेशी दुइटा बिरुवा रोपेर एउटा बुढो रुख काटेर जानवरको छाला मोडेर श्याँदर बाजा बनिन्छ धनुष कांड भिरेर शिकारी पुर्खाको याद गर्दै सलाक गाउदै ढोल बजाउन फर्की आउ परदेशी महान पर्व हो किरातीको बैशाखे पुर्णिमामा पर्छ उभौली पितृ पूजा, भुमि पूजा, सामुहिक भोज गज्जवको संस्कार छ पर्व आउदा सधैं घरबासिलाई परदेशीको यादले पोल्छ गाउँ घर सुन्य भा छ लाठे जति परदेश लागेर बुढा पाका लालाबाला एक्लो ठान्छन न्यास्रो मानेर हर्षको सौगात बोकेर भरोसाको लौरी बनेर उभौलीको छेका पारेर पितृ र प्रकृति पुज्नलाई श्यादर जरि मनाउन घर फर्की आउ परदेशी परदेशलाई भुलेर घरदेशलाई सम्झेर फर्की आउ परदेशी । बेलायत |