म क्षयरोगग्रस्त भुइंफुट्टा मान्छे मेरो समीप नआऊ तिमिलाई पनि सर्नसक्छ यो रोग यदि मेरो नजिक आउन चाहन्छौ भने चुँडाइदेउ शोषणका साङ्लीहरु जसले मलाई सदियौंदेखि जकडिरहेछ मिल्काइदेउ अभावग्रस्त तारबारहरु जसले मलाई युगौंदेखि कैदी बनाइरहेछ भत्काइदेउ विभेदका अग्ला पर्खालहरु जसले मलाई दूरदृष्टि लाउन रोक लगाइरहेछ । त्यसैले विन्ती छाडिदेऊ न्यायको नौटंकी तिम्रै भरौटेले भरिएको कचहरीमा बन्दगर बलात्कार सर्वहारा मनुवाहरुका आलो सपनामाथि अब म सक्दिन आफ्नै बहिनीको कुमारित्व बेचेर तिम्रा हर साँझ रंगीन बनाउन सक्दै सक्दिन आफ्नै नौरंगी उद्यश्यहरुको घाँटी निमोठेर तिम्रा हरेक निर्लज्ज आश्वासनहरुको साक्षि बक्न । ऊ ------ पर हेर त देख्यौ ? बुढी बदिनी ओइलिएको जोवन काखि च्यापेर डाँको छाड्दैछ त्यसैको मास्तिर हेर त ओभानो पाखाभरि छाउगोठहरु कस्तरी कुरुप खित्का छाडिरहेछ अझै मास्तिर हेर त हिमाली सकसहरु, हामीलाई बाउसे बनाएर तिमिले रोपेका फसल यिनै हैन र ! म क्षयरोगग्रस्त भुइंफुट्टा मान्छे आजाद भई निर्जन मसानबाट भोकहरुका लश्कर अघिपछि लाउँदै आउँदैछु तिम्रो शीशमहल तर्फ मेचीकालीका आदीम सुस्केराहरु सुसेल्दै नांगो आङहरुका राँकेजुलुस लिएर आउँदैछु घोषणापत्रमा सिमित तिम्रो दरिद्र चेत ब्युँताउन र फहराउनेछु तिम्रै शीरमाथि आफ्नै हातले सिएको चन्द्र र सुर्य । हो सिंहदरवार ! एकमुठ्ठी विचारको पुल्ठो सल्काएर एउटा सग्लो मगज निर्माण गर्न आउँदैछु, म क्षयरोगग्रस्त भुइंफुट्टा मान्छे मेरो समीप नआऊ तिमिलाई पनि सर्नसक्छ यो रोग । |