बढ्दैछन् त्यो शहरमा दास खाने मान्छेहरु!
अघाएनन् कहिल्यै ति लाश खाने मान्छेहरु!
खुकुरी धार लगाएर आउँदैछु म सीमानामा
पख मेरो नक्सा अनि इतिहास खाने मान्छेहरु !
यो ढुङ्गा-माटो, प्रकृति तिम्रै मात्र कसरी भो ?
जवाफ देउ ए! मेरो बसोबास खाने मान्छेहरु !
मलाई मारी मेरै घरमा ठूलो उत्सव मनाउँदैछन्
मेरो धर्ती-आकाश अनि प्रकाश खाने मान्छेहरु !
बानेश्वर,सिंहदरबार,बालुवाटारमै छन् कति !
भ्रष्टचारको रोजीछाडी गाँस खाने मान्छेहरु !
बलात्कारको मुद्दा जिती अधिकारवादी भाछन्
अस्मिताको ठमेलमा मधुमास खाने मान्छेहरु !
त्यो समयको कठघरामा उभिनै पर्छ एकदिन,
ज्ञान/विज्ञान, श्रृजनाको अभ्यास खाने मान्छेहरु ! |