जन्मँदा हिमालरुपी छाना, अनि तराई रुपी काख दिने
चोट लाग्दा मलाई, माटोरुपी मलहम दिने
निन्द्रा लाग्दा मलाई, घाँसरुपी ओच्छ्यान दिने
मेरी मातृभूमिका लागि मैले के गरेँ र !
हिमाल चढे उनकै शिर, तराई झरे उनकै पाउ
आशीर्वाद सँधै उनको, जता जता म जाऊँ
जन्मे त्यहीं, हुर्कें त्यहीं, पाखुरीमा बल चढेपछि
विदेशिएँ सम्पन्न बन्न, बिर्सिई सबै प्लेन चढेपछि
तर मेरी मातृभूमि भएकिछिन् विपन्न
ऋणले उठ्नै नसक्नेगरी थला परिछिन् रे !
बनेका संरचना पनि भत्किए रे, भत्काइए रे !
हडताल गर्नेहरुको होडबाजी चलेको छ रे !
आजकल त उनले घुम्टो उघार्नै पाउँदिनन् रे !
किनकि हरदिन नयाँ बन्दको घोषणा हुन्छ रे !
आफ्ना सन्तानलाई खुवाउन अन्नको जोहो गर्न पाउँदिनन् रे !
अनि सुत्केरी व्यथा लागेकी छोरीलाई
अस्पताल पठाउन पाउँदिनन् रे !
सुन्दर शान्त र विशाल भनिन्थिईन् पहिले
भत्किएकी, झगडाकी खानी अनि
साँध मिचिएकी छिन् रे अहिले !
न नयाँ बाटो छ, न नयाँ संरचना
केवल नयाँ नयाँ रुपका द्वन्द्व छन्
मेरी मातृभूमिको काखमा अहिले,
म सम्पन्न भएकोले के पाएँ र !
आमाले दुःख पाएको बेला
वलिष्ठ पाखुराले के बनाएँ !
आमाको काख भत्किएको बेला
वुद्धिजीवी कहलिएर के भयो र !
आमाको मनस्थिति बिग्रिएको बेला
जन्मको सार्थकता भोग्ने धूनमा
यसो सोंच्दछु, मैले के गरें !
मातृभूमिको लागि
मैले आखिर के नै गरें र !
यो पोखरेली झ्याल कविता वाचन प्रतियोगितामा उत्कृष्ट तेश्रोमा छानिएको कविता हो।
"पोखरेली झ्याल कविता वाचन प्रतियोगितामा तेश्रो हुनु भएकोमा
कवि राजेन्द्र थापालाई बधाई तथा शुभकामना व्यक्त गर्दछ" ।
सृजनशील साहित्य समाज, हङकङ