बोकेर खियाको धूलो
नाकको प्वालभरि
आँखीभौ जुँगा केशभरि
जून जूलाईको हुप्प फुलेको गर्मीभरि
यौटा 'युटोपिया'को आङ्गभरि
पुँजीको चाङ्गभरि
बजारको टाङ्गभरि,
रातो माटोले लिपेको
नेपालको आफ्नै घरजस्तो भएर,
अनुहार आकार रूप रङ्ग नचिनिने भएर
सिमाने साइँलाको छोरा
बिजुले माइला
यो सहरको भीडमा
'सिफू' भएको छ !
सिफू भए पछि बिजुले माइला
फलामसित फलाम जोड्ने
पक्का बलियो 'नट र बोल्टु' भएको छ !
पोहोर साल उसले काउलूनको त्यो
एक सय अठार तले
'इन्टरनेसनल कमर्स सेन्टर' बनाइसकेपछि
उसको छातिमा खै ! के के जाति सल्बलायो अरे
अरेको कुरा भरे भन्छु
अहिले चैं मेरो आँखाले देखेको कुरा भन्छु
-त्यो साँझ जोर्डनको भट्टी पसलमा
बिजुले माइलाले तीस क्यान् बियर खाएकै हो
झोंकले आँखा नदेखेर
कि उसलाई उसले बनाएको बिल्डिंगमा
एक्कै छिन् थकाई मार्नु दिएन छन्
'सिफु लिदौ मौ छो '(यहाँ नबस्) भनेछ चाइनिजले,
बिल्डिंग बनाइसकेपछि
त्याँ भित्र छिर्नु बस्नुको लागि
टाई सुट लाउनु पर्छ
बिजिनेसमैन हुनु पर्छ
ब्रिफकेस बोक्नु पर्छ
स्रोत र साधनलाई यता उता गरेर
नाफा निकाल्नु सक्नु पर्छ
इथोपियाको गाँस खोसेर
आफ्नो कुकुरलाई बिस्कुट दिनु सक्नु पर्छ
ह्या ! बिजुले माइला,
तिम्रो त मुटुक् छ
यो सब गर्नु सक्दैनौ
बरु टाढाबाट हेर्नु र मनमनै आफैसित भन्नु
हाउ त्यो एयरपोर्ट पनि मैले बनाको..
हाउ त्यो चिङ्यी पुलको के कुरा, झन्नै खसेको आफै...'
यो सहरमा के के बनायौ, फुर्सदमा गन्नु !
सिफू भए पछि बिजुले माइला
आधा भएको छ
दिमाग आधा, शरीर आधा
आँखा आधा, ��"ंला आधा
खुट्टा आधा, कान आधा
जिन्दगी पनि आधा,
सिफू हुनुलाई यो सहरमा
मान्छेले आधा हुनु पर्ने रहेछ !
सिफू भए पछि
आज बिजुले माइला 'नट र बल्टु' खुस्केर
ग्यारेजमा थन्केको पार्टपुर्जाहरू जस्तो भएको छ
बोलीको तार छिने जस्तो
कान थापेर सुन्दा पनि नसुनिने भएको छ
फलामको खियाले खाए पछि
मान्छे सिफू हुँदो रहेछ !
बोकेर खियाको धूलो
नाकको प्वालभरि
आज मेरो गाउँले दाजु
यो हंगकंगको श्रम बजारमा
सिफू भएको छ ! |