Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : October 19, 2012 | Author : गणेश राई
Category : Review / समिक्षा | Views : 999 | Unrated

  
गणेश राई
Author

        भौगोलिकताले जर्जर, मानवताले एकपक्षीय, बिचार र सम्वेदनशिलतामा अतिवादको सघन ऐजेरु झाँगिएको हेलमान्डको एक अञ्जुलि माटोमा तालिवानि सपनाका जुहार पप्पिफूलका राता कोमल पत्रहरूमा मृत्युको छायाँ बनी खसेको समय युद्धसित घनिष्ट सम्बन्धित यौटा कविले प्रेमको कविता लेख्छ या घृणाको । जीवनको कविता कोर्छ या मृत्युको । अथवा यसो भनौं जीवनवादी विम्व ऊ फुराउछ कविताका हरफमा वा मृत्युउत्सव उराल्छ ठेस लागेको आत्मामा । प्रत्येक पाइलाहरूमा, हरेक यात्राहरूमा निस्पृह जीवन मात्र जीवनको निस्पृहताको ढुकढुकि बोकी आँसुको लाचार शीत बनी खसेको खण्डहर बिहानी कवि शीतमा डुबुल्की मार्दै भावनात्मक जीवन मात्र रङ्गीदैन रहेछ सत्यताको प्रत्यक्ष साक्षि पनि बस्दोरहेछ:

प्रिय तिमीदेखि हजारौं माइल टाढा

हेलमान्ड प्रोविन्सको मुसाक्वालामा

मृत्युसित जुद्धै सेन्ट्रिपोष्टमा उभिएको छु .....

म यति विक्षिप्त छु

प्रिय मलाई लामो लामो प्रेमले भरिएको चिट्ठी पठाउँनु ।   (चिट्ठीको माग फारम)

त्रासले त्राहिमाम् त्यो निरीह सेन्ट्रिपोष्टमा खटिएको बिचरा योद्धा प्रेमले जीवन बाध्न चाहन्छ, मृत्युको मुखमा पनि ऊ जीवनप्रतिको प्रेमको अनुराग माग्छ । त्यस्तो प्रेम जुन प्रेमको शक्तिले आक्रोस र क्रोधलाई पनि माया गरोस् र युद्धको सहज व्यबस्थापन गरोस् । बमगोलाको चोटले पटपटी चिरिएको रुखो जमिनमा मृत्युसित साक्षात्कार गरीरहेको आफ्नो प्रिय योद्धालाई प्रेमिल चिट्ठी लेख्नुको काव्यिक अर्थको गहिराई मोति टिप्न डुबेकोजस्तै लाग्छ । ब्रुनाईको बाँफिलो बाँफमा निस्सासिदै मुसाक्वालाको जर्जर उभिएको धोद्रे रुखमा जीवनको हरियो पात खिँलिदिने सहयोद्धा कविको चेतनाले किन्चित भावनात्मक खहरे बगाएको होइन त्यो सैन्य छाउनीभित्रको बन्दी हृदयले खेपेको विराट वास्तविकता बगेको हो । राइफल नबोके पनि उनी राइफलको भाषा स्पस्ट बुझ्ने योद्धा हुन् । दीपाको एक पाटो जीवन हेलमान्डमा मृत्युबिरुद्ध जुझिरहेको छ र बाँकि पाटो ब्रुनाईको छाउनीभित्र दुखिरहेको छ ।

दुख्न पर्ने जति दुख्छ त्यो भन्दा सयौं गुना बढी दुख्नेसित सम्बन्धित दुख्दो रहेछ । उनका कविताले बोलेका समग्र भाषा यही प्रकृतिका कित्तामा सग्लो उभिएका छन् । पराजयको विपरित विजय । हार जित । वर्षौवर्ष चलिरहने युद्ध कुनै पक्षले नहारिदिएको परिणति । दीपा दह्रो उभिएकी छन् मनोवैज्ञानिक लडाइँमा आफ्नो पक्षको विजयको खातिर । कसैले नहारि दिए के कसैले जित्छ - छोटो तर पेचिलो प्रहार उनको सृजनाको एटम बम हो ।

युद्धमा तिमीले जित्छौं - जित्छौं - जित्छौं --- यदी मैले हारिदिइनँ भने !   (युद्धमा)

जीवनप्रतिका असिम सपनाहरू बार्दलिमा चाप गुँरास बनी फुलेका छन् ढकमक्क । त्यो र्स्पर्सहीन देख्न सकिन्छ । त्यो निलो आकाश र चराको चिरविर । बाहिर ल्याम्पपोस्टमा बत्ति नबलेको आभास हुन्छ । नत्र किन क्यान्डल लाइट सल्काउने जीवनमा । दीपा र उनको युद्धनायक यौटा मेस पार्टीमा व्यस्त भइरहँदा जीवन कुनै क्षण स्वयम् जल्दाजल्दै जलेर रित्तिने क्यान्डल लाइटमा अनुदित हुन्छ । जीवन गुँरासको फूलमा पनि अनुदित हुन्छ । यद्यपि मनभित्र सघन अन्तरद्वन्द्व छ जीवनप्रतिको दुविधाको । सन्त्रासले टाउँको ठडाएको छ । युद्धको आँधी चल्न के बेर । उनी सहयोद्धाभन्दा बढी योद्धा हुन् । उनको कविताको पाइँनले युद्ध साहित्य सिरुपातेजस्तो धारिलो उधिएको छ ।

युद्ध नहुनु पर्ने । नलडिनु पर्ने मान्छेले मान्छे मार्ने खेल । तथापि यो निरन्तर लडिरहेछ । बुद्ध र गान्धिको अहिंसात्मक पथमा पाइलै राख्न नचाहिरहेको अवस्था छ युद्ध सरदारहरूले । युद्ध नहोस् । त्यसको समुल अन्त्य होस् । त्यसको देहावसान होस् र त्यसलाई बागमतीमा जलाउ । अथवा बनकालीमा गाडौं । युद्ध नचाहने कोही छ भने त्यो स्वयम् योद्धाहरू हुन् । उनीहरूलाई गोलाबारुदको व्यापारी हुन छैन । ढलेको लासहरूमा घाटा नाफाको क्यालकुलेटर दबाउनु छैन । सन्धीको बन्दी । स्वतन्त्र हुने कुनै सन्धीपत्रमा लाहाछाप ठोक्न सकिदैन-

किन सुगौली सन्धीले मलाई बाधिरहन्छ ?

किन १९४७ को सन्धीले मलाई भेटिरहन्छ ?                

किन जेनेभा कन्भेन्सनले मलाई पछ्याउछ ?              (अर्को दिन)

होला जस्तो छैन युद्धको अन्त्य । युद्ध बिरोधी बिचारहरूले किन युद्धको आयु छोट्याउन सकेन । आइन्सटाइनको बम बनाउने सिद्धान्तको नयाँ खोजि भइरहदा बुद्धको शालिक बामियानको पाखामा ध्वस्त छ क्षतविक्षत । शालिकले के बिगार गर्यो तालिवानको । कविले प्रश्न तेर्साएकी छन्-

के म बाँचिरहँदा युद्धको मृत्यु हुन्छ ?

त्यसो भए म बाँच्न चाहन्छु ।

हो, कलम बाँच्यो भने बिचार बाँच्ने छ । युद्ध बाँच्यो भने अर्थोक के बाँच्छ र शिवाय मृत्यु ।

युद्ध, सहअस्तित्व र सिर्जना युद्ध साहित्यको अर्को प्राप्ति हो । यस्तो प्राप्ति जसभित्र छायायोद्धाले मनोवैज्ञानिक युद्ध लडेको छ । बैचारिक लडाइँ लडेको छ । योद्धा आफैले लडेको युद्धको अनुभव र तुलनात्मक छायायोद्धाको सन्त्रासपूर्ण स्थितिलाई काबुमा राखी युद्धभूमिमा खटिरहेको योद्धाको जीवन्त जीवनको वस्तुस्थिति उतार्न सक्नु दीपाको सिर्जनाको सप्पैभन्दा ठूलो शक्ति हो । नारी चेतनाले युद्धलाई सुतासुता र ग्रामग्राम नापतौल गरेर यसलाई ठ्याक्क आकारिकृत गर्दै लेखेको सम्भवतः पहिलो काव्य हो नेपाली साहित्यमा दीपाको यो कृति । उनलाई अनेक बधाई ।

कृतिको अर्को शक्ति भनेको हेलमान्ड अर्थात् युद्धमा खटिने त खटियो मुसाक्वालाको पट्रोलिङ्गमा दुश्मनको खोजि गर्न अथवा सेन्ट्री पोष्टमा शत्रुको चियो गर्न । यद्यपि, योद्धाको छाडिएको छाँयाजीवन अथवा उसकी सिम्माको तत्क्षणको मनोस्थिति र सोचाई, भावनात्मक सम्वेग र सन्त्रास, भौतिक उभ्याई र भविष्यत परिणतिको चिन्ताप्रति काव्यात्मक भाषाशैलि एवम् बौद्धिक  विश्लेशणात्मक उनको क्षमताको उपस्थितिले नारीहरूका युद्धप्रतिको धारणाको पनि  पटाक्षेप हुनु कृतिको सबल पक्ष हो । सरवाकको घना जङ्गल छेउ बु्रनाईमा रहेकी युद्धसाहित्यको फाँटमा सशक्त हस्ताक्षर दीपाले लाबुवान (सरवाक) मा अवस्थित गोर्खाली चिहानघारीको अवलोकन गर्न सके सरवाकको युद्धविषय कलम खार्न मद्दत गर्ने थियो साथै अर्को कृतिलाई बल पुर्याउने थियो कि !

उनको चेतनाले युद्धलाई अनेक तहमा बुझ्न सक्छ । अनेक स्थिति र अवस्था छन् । युद्ध साहित्यको फाँटमा उनलाई न्यानो स्वागत गर्न पाउनु अहोभाग्य ठानेको छु मैले । टुङ्ग्याउदा टुङ्ग्याउदै यो अन्तिम हरफसँगै बिट मारेँ ।

पृथ्वीनारायण शाहहरू यो बहुरङ्गीन नेपाल

तिम्रो मात्र होइन

म र मजस्तै हारिदिनेहरूको पनि हो ।            (हार्नेहरूको अस्तित्व)

चेतना भया । आलङ्ने सेवा ।                            

 

इस्टहाम लन्डन ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
डाइनामाइट कात्रोले बेरिएका विष्फोटक तालिबानबिरुद्ध
म गोर्खाली कृष्ण दुरा
लडिरहेथेँ मुसाक्वालामा जीवनसित जीवनको भोकयुद्ध
म नेपाली युवराज राई
अभाव उचालिएर हेलमाण्ड्को खुरखुरे डाँडाजस्तो तिखो
थापिरहेथेँ जीवनको सौदावाजि अभावबिरुद्ध

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
597291
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com