जोमसोमले हातहातमा थमायो स्याउ !
निकै दिनदेखि हर्हराइरहेथ्यो आँत । मन भरङ्गिएथ्यो । छातीमा हैरानीको आँधी बहिरहेथ्यो बेतोडले ।
रसिला स्याउ कर्याप्प टोकेपछि शरीर फुर्फुरियो । 'मिठो' कुद्यो ज्यानभरि !
हावा चल्दै थियो बेस्सरी । हुप्प बादल फुलेको थियो । दक्षिणतिर अँध्यारो-अँध्यारो भइरहेथ्यो । सेताम्मे नीलगिरिको उत्ताउलो बैँस बादलमा उडिरहेथ्यो, कुइरोमा छरिइरहेथ्यो अनि हावामा पोखिइरहेथ्यो । सत्ते, मन मेरो भो दुई ˆयाक ।
हामी लक्र्यौँ मुक्तिनाथतिर । ट्याक्टर गुड्दैछ एकोहोरो । कानै खाने चर्को आवाज छ । हो, नपचाई भएकै छैन । केही समय जोमसोम बजारको पूर्वी पाटो छिचोलेपछि हेलियौँ कालीगण्डकीको ढुङ्गेनी बगरमा । तीनचार ठाउँमा हम्मे-हम्मे भो खोलाको जाघार तर्न ।
पूर्वतिर हुँइकिएका छौँ हामी ।
वरपर देखिन्छन् ठिङ्गे घर । राता र उराठलाग्दा नाङ्गे डाँडा । खरिखुन्नै ढिस्का र अटुट बहिरहेको हावासँग भेटघाट बाक्लिएको छ, छ ।
अवाक् छन् आँखा ।
एकदमै अनौठो भूमिसँग देखादेख भइरा'छ । हरेक ढिस्का, हरेक खोँच र हरेक भिरालाले मनै खल्बलाउने गर्छन् पटक-पटक ।
डाँडाहरू छन् खुइले-खुइले । चिरिएका चट्टान । राताम्मे थुम्का र गहिरा गल्छीहरूको श्रृङ्खला छ जताततै । उत्तरतिर लमतन्निएको पठारले झन् छक्कै पारिरहेछ हामीलाई ।
एकोहोरो उत्तर लागेका छौँ खोलैखोला । बगरै बाटो, बाटै बगर । प्रकृतिले आँफै बनाइदिएको छ ढुक्कले ।
फर्केर सुनितालाई हेर्छु-पिल्लिएर आँसु मात्र नझारेकी ! उनको हबिगत छ बिजोगको । भालेको डाकदेखि एकै ठाउँमा कच्याककुचुकिएर डिब्बामा डल्लो परेर बसेकी छन्, बरा !
क्यै मद्घत गर्ने हालतमा छैन म ।
कालीको डरलाग्दो छालमा हेलिइरहेका चौँरीका बथान छन् । भारीले भरिभराउ चौंरी छन् बाटोमा लुरुलुरु । रित्ता चौंरी मतमताएर, सिँगौरी खेल्दाखेल्दै वा कामेच्छाले औडाहा भएर पस्ता छन् भेलमा । अनौठो मान्दै आँखा च्याती-च्याती हेरिरहेछु म ।
जति उत्तर गयो उति अनौठो, अचम्म र अवाक् लागिरहेछ । एउटा झ्याम्म रुख देखिएन, एउटा हरियो झ्याङ देखिएन । खाली हिउँले खाएर ताछिएका डाँडा छन् । नाङ्गा, खरिखुन्नै र मनै अत्याउने भीर छन् । ठाडा भीर, गहिरा गल्छी र चिल्ला चट्टानमा कोरिएका देखिन्छन् गोरेटाहरू ।
हुनहुनाएको छ हावा । हावाले सर्लक्कै निलेको चिसो घाम आउँछ घरीघरी ।
लगातार हुँइकिएपछि झारखोङ मानेबाट छुट्टीएर उत्तर हुत्तियौँ हामी । अर्को बाटो चोइटिएर गयो उपल्लो मुस्ताङ । एकपछि अर्को नाङ्गा थुम्का चुनौती दिइरहेथे पृथ्वीको अग्लाइलाई, मान्छेको साहसलाई र पौरखीका पैतालालाई ।
कहालीलाग्दा खोँच र चेप देखिन्छन् बेस्सरी ।
दिन उज्यालो छ । नीलो आकाशमा बादलको छिरलबिरल छ जतासुकै । जहाँसुकै मज्जाले देखिने घमाइलो दिन भेटिएकोमा रमाएको छु मज्जाले ।
खरानिएको रङ छ धर्तीको ।
चम्किँदैछ भोक । एका बिहानै बाटो तताएथ्यौँ हामीले । अघिल्लो दिन पनि पीर, थकान र बाटोको गलाइकै कारण टिपिएको थियो एक गाँस । पेटमा त्यसको प्रभाव रित्तिइसकेथ्यो बिहानै । हो, हिजो खाएँथेँ भन्ने मसिनो स्वाद मात्र बास बसेथ्यो जिब्रोमा ।
एक्लेभट्टी पुगिएछ ।
यहीँबाट एउटा गोरेटो उकालियो डरलाग्दो भीरको भित्तो भएर । त्यसमा मान्छे हिँडेको देखिनँ, थियो त हावाको हुँइहुँइ ।
मरुभूमिमा लम्रङलम्रङ हिँडेजस्तो अचम्मका कुरा फत्किरा'छन् ।
इँटा राखिएजस्ता राता डाँडैडाँडा, अबीर पोखिएजस्ता थुम्कैथुम्का, आगोको भुङ्ग्रोजस्ता पहाडैपहाड छन् चारै दिशा । हरियाली देखिए मन उफ्रिन्थ्यो पाँच हात माथि । हावाले घाँटीको गलबन्दी उडाउँ-उडाउँ भन्दैछ ।
जे होस् लोप्पा खुवाएन दिनले !
खुलेको छ मज्जाले । नीलो आकाशमुनिका राता थुम्कामा लर्कंदै छु । कति धेरै रहस्यको लस्कर ! जे पनि छक्कै पार्ने, अचम्मै पार्ने, पक्कै पार्ने !!
बुरबुरे बालुवाको पठारमा झुम्के काँडेझारका पोथ्रापोथ्री छन् खुबै । भीरभरि छन् प्वालैप्वाल । बाटो तरेली-तरेली भएर हाम्फाली रहेछ उत्तरतिरै । त्यसैलाई पछ्याएर गएकागएकै छौँ हामी ।
सबै चुप छन्, सबैका ओठ अवाक् छन् र सबै लाट्टीएका लाग्छन् । यो चुपचाप, अवाक् र लाट्टीएको परिवेश यसै धर्तीको उपहार हुनपर्छ ! मनको तर्कना छ त्यत्तिकै ।
माथि उत्तरतिरका थुम्कामा हिउँ परेको देखिन्छ थोरथोरै । तल-तलसम्म हिउँ पग्लेर खाली कुदेको देखिन्छ ।
पूर्वतिर चिल्ला न चिल्ला टुप्लुकिन्छन् पहाडका लहर । सम्मिएका तर सिङ्गो ढुङ्गाबाट एउटै ढिक्के पहाड हो कि भन्ने पनि आँखाले देख्छन् । पुरै पठार । हावाका हजारौँ प्रहारले बोटबिरुवा क्यै उम्रिन नसकेका धर्तीका कठोर रुपहरू । चुच्चा, तिखा हाड थुप्रेर बनेका पहाड लाग्छन् । हिउँ ताछेर खाल्डाखुल्डी परेका पहाडका थाप्ला । बिछट्टै अनौठो मानिरहेछु म पटक-पटक ।
कालीका तीरैतीर छौँ ।
'जे गरे नि कागबेनीमा आमालाई सम्झेर श्राद्ध नगरी हुन्न !'
सुनिताको इच्छा सुनेको छु ।
त्यसलाई पूरा नगरी भएकै थिएन मैले । चोलेन्द्र दाइ र मन्जु भाउजू परे निष्ठावान् । फेरि वैष्णवहरूको दह्रै जत्थामा थिएँ म । ती सबैको उर्दीले नै ट्याक्टर रोकिन्छ होला कागबेनीमा !
यो एउटा आधार बनाएर ढुक्क छु म ।
गन्तव्य हेर्छु पानीको । हेर्छु, पानीले धोएका डरलाग्दा चट्टानहरू । पानीशून्य दाँयाबाँयाका भीरपाखा हेर्छु । पानीले गहिर्याएका गल्छी हेर्छु । पानीबिनै सप्लाएका काँडे पोथ्रा फुलेको हेर्छु ।
जीवन, समय र सङ्घर्षका नतिजा यी सबैका फग्लेटामा हुनुपर्छ ।
कागबेनी पुगिएछ ।
'एक घन्टामा श्राद्ध, होम, यज्ञ के-के गर्नुहुन्छ ! मात्र एक घन्टा !'
छुट्टी पाइयो एक घन्टाको ।
धेरै तल बगरमै बस्यो ट्याक्टर । निकै माथि पर्दो रहेछ काग र बेनी खोला मिसिएको दोभान । बगरैबगर हिँडेर दोभानमा पुग्यो हाम्रो जत्था ।
बाफरे कति चीसो पानी ! छालकै बाच्छिटा यति चीसो भए पानीमै डुबुल्किँदा के गति होला ! हातमुख धोएर स्नानविधि गर्न खोज्या' । सुनिताले खप्की लाएर भनिन्-'एक दिन पितृका निम्ति किन दुःख नखप्ने ?'
लौ-लौ, म खेप्ने भएँ । तिनकै एक अंश त हुँ नि म !
झटपट नुहाइधुवाइ गरी आमालाई सम्झेँ मैले । सुनिताले पनि पानीकै तर्पण दिइन् आमालाई ।
हाम्रा निम्ति सिङ्गो जीवन दिने, आफू रित्तिएर हामीलाई भरिपूर्ण तुल्याउने र आफू कृपण भए पनि हामीलाई धनधान्य तुल्याउने आमालाई मैले एक पटक कालीको पानीमा हेरेँ, बेनीको पानीमा हेरेँ ।
जीवन यस्तै अनन्त पानीका बगाइजस्तै भएर अविच्छिन्न छ । तैपनि जीवन भन्ने अमूल्य प्राप्ति, अथाह अर्थ र अगम महत्वका पछाडि 'आमा' गाँसिनु भएको छ सँधै ।
मैले एक पटक कालीगण्डकी बहेतिर हेर्दै आमा शब्दको गूढता पर्गेल्न खोजेँ ।
माथि दामोदरकुण्ड जाने भीरैभीरको गोरेटोतिर कुप्रिएर लर्किरहेका कुइरेको लर्कन हेर्दै गोविन्द बोले-'अर्को पटक आमाको नाममा योग गर्न त्यता जानु पर्छ होला !'
मलाई लाग्यो-यो झ्वाँकी मान्छेलाई सन्काइदियो भने अहिले नै पनि त्यता लाग्न के बेर ?
संसारमा धेरै सनकहरूले धर्मको नाममा वितण्डा मच्चाएका अथाह कथा छन्, घटना छन् र इतिहासले पल्टा खाएका छन् । धर्मको अतिवादिताले लोप्पा खाएर घोसेमुन्टो लाउने जमात नि कम छैन !
कागबेनी रै'छ निकै हरियोपरियो र रसिलो ठाउँ ।
अनौठा घर र गुम्बा । ढुङ्गा छापिएका गोरेटाले जेलिएको झुरुप्प बस्ती । रातगाले युवतीको जत्था । हातहातमा माने घुमाएर भट्भट्याइरहेका वृद्घाहरू । एकचुल्ठे कपाल बाटेका बूढाहरूको लर्को । चौंरी खेदिरहेका युवकहरू ।
मनमा यी चित्र शान्त भएर बसिरहेछन् ।
फापर फुलेका चक्ला-चक्ला खेत । अघिसम्म रातो मात्र देखिरहेका आँखाले एक्कासि हरिया खेत देख्ता तिर्मिराए एकछिन त ! सुन्दरता नि बिजाउँदो रै' छ बेलाबखत । के हो, के हो जस्तो !!
लेकाली चराहरू उडिरहेका छन् हावामा तैरिएर ।
ढुङ्गै खाएर बाँच्ने कि ! माटै खाएर जिउने कि ! माटो र ढुङ्गो बाहेक क्यै नभएको यो पठारमा उडिरहेका चरा कसरी हृस्टपुष्ट भएका नि ?
मनको उपर्तल्ली खुबै छ ।
हामीले छोडेको ट्याक्टर निकै माथि आएर बसेको कुरो सुनियो । अनि हामी कागबेनी माझैको उकालो चढ्यौँ दिग्दारिएर । हरेक औँसी र विशेषतः जमरे औँसीमा श्राद्घ गर्नेको धुइरो लाग्दो रै'छ यतातिर । हुनसम्मको भीड थुप्रिदो रहेछ यतिखेर ।
निकै उकाली कटेपछि भेटियो मूलबाटो ।
बाफरे, कागबेनीको अद्भूत सुन्दरता त यहाँबाट पो देखिँदोरै'छ । दोभानको बस्ती । गलैँचे पाराको हरियोपरियो । पारिको चट्टाने पठार । उत्तरतिर ठडिएर फैलिएको घुर्मैलो पठार । गहिरो गल्छी । त्यस परतिर हुनसम्म अग्लिएको राताम्मे थली । रङैरङे तरेलीजस्तो ।
राता पहाड, हरिया खेत र नीलो नदी । यी सबैको तहैतहले आँखै मात्तिए । हुनसम्म मात्तिए ।
मैदानजस्तो, फाँटजस्तो, लमतन्न टारजस्तो । यी सबै खालका विषमता भेटिन्थे यहाँको धर्तीमा ।
ढुङ्गाका थुप्रा-थुप्रा देखिरहेथेँ म जतासुकै ।
अनि सोधेँ ।
'के हुन् ती ?'
'ए, ती भगवान्का अन्तिम घर !'
'कसले बनाएको ?'
'मुक्तिनाथ दर्शन गर्न आउनेले । याँ भन्दा अग्लो ठाउँ अब छैन । त्यसैले भगवान्को अन्तिम घर बनाएको !'
उत्तर सुन्छु चालकको ।
आँखै तिर्मिराउने धर्तीका फग्लेटा । कान गुम्म छन् । दिमागमा भावको स्थिर चित्र छैन ।
हावा हुनहुनाएर आएको परैबाट सुनिन्थ्यो । सुइँ-सुइँ ध्वनि बटारिएर आउँथ्यो र ठूलो कम्पन दिन्थ्यो भित्ते भीरमा । अनि आवाज थर्किन्थ्यो खोँचमा ।
लडाउनै खोज्थ्यो हावाले । यति भयानक चल्थ्यो हावाको फुइँकी-पूर्वबाट आएको मान्छे फनक्क फर्किन्थ्यो पश्चिमतिर । पुर्लुक्क-पुर्लुक्क लडेका देखिन्थे बाटो हिँडिरहेका बटुवाहरू । कत्तिको भारीतारी त आङबाट खोसेर हावाले पर-परसम्म उडाइदिन्थ्यो । त्यसबेला हाँसोभन्दा करुणा आउँथ्यो ओँठबाट ।
हावाले ओँठ, नाकका डाँडी, निधारको पाटो र कन्चेटमा फुस्रो बनाएर फुटाइसकेको थियो पटपटी । ओँठका कुनामा जतिखेरै थुप्रेको हुन्थ्यो किर्किरे बालुवा । नाके प्वालमा धुलो जब्बरिएर जमेको थियो बेस्सरी ।
हैरानी हुन्थ्यो हावाको झोँक्का ।
घर्घराएको ट्याक्टर हुँइकिएको छ एकनासले पूर्वतिर । बाटो अब झन् डरलाग्दो छ । मुटु अत्याउने बाटोले सिरिङ्ङै पार्छ । सासै लैजालाजस्तो छ ।
अचम्मको डाँडोमा छौँ । दुनियाँकै अग्लो ठाउँ यै जस्तो । रगतमा छक्क र अचम्म बोकेर चेतना दगुरिरा'छ ।
ठाडो र फस्के बाटो । बायाँपट्टी डरलाग्दो खोँच छ । गल्छीले गर्दा उक्लिरहेको ट्याक्टर एकै पटक तल झ्वाम्म खस्लाखस्ला लाग्दोरै'छ । जति उक्लिरहेका छौँ-सास नपुगेजस्तो भइरहेछ । पट्ट-पट्ट हुँदो छ छातीमा ।
टाउको रिंगिएको लाग्दैछ ।
शरीरमा असजिलो भइरहेछ । घना उकालीको छुवाइ भएजस्तो छ शरीरमा । हावापानीको ज्यान पर्यो । भिन्न ठामको हावापानीले थिल्थिल्यायो ज्यानलाई ।
'आकाशै पो छोइँदो छ कि !'
उकाली उक्लेको मनले तर्कना गरिरहन्छ । खिङ्गा पुगेपछि ओह्रालियो बाटो । फेरि तेर्छियो धुलाम्मे सडक । थुप्रै मोड भेटिए । पाहुना छौँ पहेँलपुर थलीका ।
मेरो सिट उही छ-कालोपानीदेखिकै । चालककै छेउमा । उसका हरेक कुराले नवीन तथ्य प्राप्त भइरहेछ । थुप्रै रहस्य ऊ ओकलिरहेछ सजिलैसँग । सरलताभित्र लुकेको ज्ञान सबभन्दा सत्य हुँदो रहेछ ।
साँच्चि अकासै छोइन्छ कि क्या हो !
नजिक, एकदम नजिक भइरहेछु नीलो आकाशसँग । होचो भएको सगर र अग्लिरहेको पहाड । आँखाले मुस्किलसँग छुट्याउँछन् ।
रोकिँदै, दम फुलाउँदै, बेस्सरी धुँवा छोड्दै कुदिरहेछ ढ्याब्रे ट्याक्टर । उकालीमा उसलाई पर्छ हम्मेहम्मे । आवाजको थुप्रो थुप्रिन्छ वरपर । मान्छे हो भने उहिल्यै यत्तिको भारीतारी मिल्क्याएर यो 'निष्ठुर धर्ती' छोडेर लापत्ता भइसक्दो हो, मेसिन पर्यो बिचरो !
उत्तरपट्टीको खोँच ठोकिन्छ आँखामा । घरी-घरी झ्वासझ्वास्ती ठोक्किने त्यो मनै अत्याउने गल्छीले शरीरै चिस्याउँछ । चोरी-चोरी हेर्ने आँखा नि यतिखेर भागिरहेछन् पटक-पटक ।
उक्लिरहेको ट्याक्टरमा बान्ता गर्नेहरू बग्रेल्ती भए । निकै भए लेक लागेर लल्याकलुलुकिनेहरू । त्रिपुण्डक लगाएकी एउटी बूढियाले चाम बाँधेकोबाँधेकै गरिन् । आँखा पर-पर लगेर खुट्टा तनक्क तन्काउने एक किशोरीले अत्याइहालिन् हामीलाई ।
मेरो त बिजोग छ कुम गलेर । पिँध पोलेको छ उधुमसँग । खुट्टा एकनासले झुन्डिएकाले होला- सुन्निएर अग्राखजस्ता अररा न अररा भएका छन् ।
मलाई ठूलो पीर थियो सुनिताको ।
ओखती खाई-खाई गएकी छन् उनी । कथम् कदाचित मन्दिर नपुग्दै मासिकश्राव भइदिए......? मन आधामासु भइराथ्यो । पुलुपुलु हेर्दै, त्यस्तो नभइदिएहुन्थ्यो मात्र भनिरहेथेँ म पटकपटक ।
जेमराजै रै'छ बालुवैबालुवाको उकाली ।
झारकोट पुगेपछि अलिक हलुकियो मन । बाटोमा पोथ्रे बिरुवा बाक्लै भेटिए । हरिया रुखपात देखिए । पहेालै पात गरेका ती रुख थिए एकदमै पुड्का । पानी कुलकुलाएको देखियो । घरका छानामा दाउरा राखिएका थिए टन्न । दुर्गम डाँडामा देखिन्थ्यो सम्पन्न जीवनशैली ।
'दाउरा राख्ने धनीमानी हो !'
'ए, त्यसो पो !'
चालकले बुझाए ।
टम्म घर थिए झारकोटमा । एउटा भव्य, कलात्मक र विशेष झ्यालढोकाले सजिएको घर माझगाउँमा देखिन्थ्यो । अनि त्यस वरपर अरु थुप्रै ससाना, झुप्रा र होचा घर थिए स्याउँस्याउँती । त्यसको अर्थ धेरै प्रकारले लाग्न सक्थ्यो । मुखियाको आँगनीमा निर्धनका झुप्राझुप्री.......!
यस्तै बुझे मेरा आँखाले ।
अनेक हिमाली बालीनाली देखिन्थे खेतका गरामा । पानीले सबैतिर स्पर्श गरेको लाग्थ्यो । गुजुमुज्ज बस्ती थियो यो । गोरेटा बाटा र अस्मेल घरको लुकामारीले सिँगारिएथ्यो झारकोट ।
मलाई निकै मन पर्यो झारकोट ।
बाँयापट्टी फैलिरहेको झारकोटका छेउछेउमा उकालिरह्यौँ हामी । चकमन्न डाँडा, खोँच र पठारले मेरा आँखा ठुँगिरहेथे एकनासले !
'रोल्पा, रुकुमकाहरू काम गर्न यता आउँछन् । यताका चैँ पोखरा-बाग्लुङ र्झछन् !'
चालकका फतफत रोकिएका छैनन् ।
उत्तरतिर घोर अनौठा खोँच र चेप देखिन्थे चट्टानका । मनै अत्याउने भीर र सातै लाने चिल्ला पठार देखेर घरीघरी आँखा चिम्लन्थेँ म । गहिरा गल्छी र भयानक डाँडामा मान्छेका सिलिङबिलिङ काम गराइ देख्ता आँखा बल्किन्थे, ओठ अवाक् बन्थे र पक्क पर्थ्यो हृदय ।
जहाँ नि बाँच्दो रै'छ मान्छे त !
दक्षिणतिरको लमतन्ने डाँडोमा हावाले उडाइरहेका मसिना ढुङ्गा छन्, हावामा हुत्तिरहेका कीरा छन् र हावामा बेगिइरहेका चराचुरुङ्गी छन् ।
ससाना काँडे पोथ्रामा फुलिरहेका कलेजी रङका फूलको गन्धले अलिक पछि लोभ्याउँछ रे मान्छेलाई ! त्यस गन्धले मात्तिएर बटुवा ढल्छन् रे पुक्लुक्क-पुक्लुक्क ।
अनेक अरे र रे का कुरा खुब सुनिरा'छु म ।
नपत्याउने कुरा नि भएन । आधार, प्रमाण र तर्कपूर्णै लाग्दैछन् मलाई तिनका बोलवचन । कारण यै हो, सुन्ने म धेरै परको परेँ-बोल्नेहरू भए यै ठामथलो र हावापानीका ।
चार दिन हुँदैछ घर छोडेको ।
साना नानीहरूको ख्याल आइरहेको छ घरीघरी । यति लामो यात्रामा यसरी घरकै दैलो थुनेर हिँडेको थिइान म । बाबुआमा दुबै एकै पटक हिँड्दा, क्यै भइहाले.......? मनभरि उम्रन्छन् अनेक फूलकाँडा, काँडाफूल !
बाटामा निकै मान्छे भेटिए ।
उक्लिनेभन्दा तल झर्ने थिए बढ्ता । म तिनका सबै खाले रुपरङ्ग हेरिरहेछु ।
रोगले थला परेका, खुट्टा सुन्नाएर थल्लिएका, लेक लागेका, सास फेर्न नसकेर हिरिक्किएकाहरू बाटबाटामा भेटिन्थे । जताततै पसारिएका आइमाईहरू, ढुङ्गाका सिरानी लाएर दम फुलाई-फुलाई सुतेका देखिन्थे वृद्घहरू ।
बूढाबूढीहरू घोडामा तुर्लुङ्गिएर धर्म गर्न गइरहेका थिए । तरुनातरुनीहरू फोटो खिच्तै अचम्मले दगुरिरहेका थिए । उमेर ढल्कुवाहरू धर्म र कर्मका अर्थ केलाउँदै गइरहेका थिए ।
सबैका आआफ्नै थिए मोक्षमार्ग ।
भोक थियो, थकाइ थियो । सारा जीउमा निकै दिनदेखिको अनौठो अनुभूतिले मुसार्न छोडेको होइन । लौ जा, मैले त छोडिदिएँ । शरीरले जति नौलो स्पर्श पाउँछ......पाइरहोस्....।
साँझ ओर्लन खोज्दा हामी पुग्यौँ रानीपौवा ।
'अब एघार नम्बर हो याँदेखि !'
चालकले झिसमिसेदेखि घर्घराएको चारपाङ्ग्रे घ्याच्च रोके ।
अनि हामी ओल्र्यौं र स्याहार्यौँ झोलाझ्याम्टा । मैले हातमुख धोएर पानी खाएँ । शिखरको पानी मीठो थियो, चखिलो थियो र स्वादिलो थियो । फरक भाव भो शरीरका सबै पाटालाई । रगतमा सर्सरायो नौलो चमक । एकदमै अनौठो ।
'केही हिँडेपछि मुक्तिनाथ टेकिन्छ !'
खच्चडमा सामान कसिरहेका एकजना बूढाले बताए हामीलाई ।
हुन त धेरै अघिदेखि नै औँलाका टुप्पाले देखाउँदा देखिएथ्यो मुक्तिनाथको मन्दिर । त्यो काँ हो काँ भन्ने आँखाका निम्ति लाग्या थियो । तर छोट्टीएछ बाटो त सलक्र्कै ।
मैले आधा दिन लागेको बाटोतिर हेरेँ ।
'कति हिँडे कति !'
अघि टेकेको बाटोले धेरै परबाट बोल्यो ।
बरु वरपर छरिएर बसेको थियो समय । उसको मौनतालाई मैले सबभन्दा गम्भीरताले अँगालेको ठानेँ ।
पूर्वतिर लाग्यौँ हामी ।
सानो बजार आयो । पसल भेटिए । साइनबोर्ड थिए । स्याउका सुकुटी, जिम्मुका झोला, जङ्गली च्याउ र चौंरीका भुत्ले मुठा जताततै बेच्न राखिएका थिए । मैले भाउ सोधेा, नकिन्ने सोचले ।
केही लम्कादै मन्दिर देखियो-माथि उबडखाबड थुम्कामा ।
दिन बिरसिलो होला भन्ने पीर छ । दक्षिणतिर कालो बादल मडारिादैछ बेस्कन ।
बिस्तारै रानीपौवा धर्मशालामा पुग्यो हाम्रो बगाल । सादा मन, सादा भोजन र सादा पद्घति होस् भन्ने राखेको चाहना पुरै भइरहेछ । धर्मशालामै सुत्ने भएपछि भइगो नि यसै धर्म !
१८६३ सालमा रणबहादुर शाहले निर्माण गराएका रहेछन् यो पौवालाई । दुई तल्ला माथि गएर आफ्नो खानपान र ओछ्यानको परिबन्द मिलाउन लाग्यौँ ।
हार लाएर सुत्नुपर्ने खण्ड देखियो । सन्न्यासीले बाँडेको सदावर्त खानुपर्ने भयो ।
धर्म गर्न आएपछि सबै कुरो त्याज्य हुने नै भो नि । अनि हरेक सादगी र सरलतालाई स्वीकार्नै पर्ने भो । तीर्थालुको भीडभाड थियो चर्को । महा भीडमा थपिएछौँ हामी ।
'बूढी, नअल्मलिकन मन्दिर चैँ पुगिहालौँ । तिम्रो नि हालत ठीक छैन !'
मैले सुनिताका कानमा फुसफुसाएँ ।
उनलाई पनि यै सुन्ने चाहना थियो शायद । भीडबाट सरक्क निस्क्यौँ हामी । बीचमा खाली राखेर वरिपरि घेरिएर बनेको रानीपौवा एकदमै भव्य थियो, विशाल थियो र कोठैकोठाले बनिबनाउ थियो । काठे चिर्पटले बनेथ्यो पौवा ।
मैले बाहिर आएर त्यो विशाल धर्मशाला हेरेँ ।
'लाखौँ मान्छेले बास पाउने ठाउँ त भएछ !'
मैले कीर्तिकलाको महत्वलाई मानेँ ।
राजाले धन खर्चे । ठाँट देखाए । लोकको हित गरे । निर्माण गरे । पुण्य कमाए । यस्ता अरु धेरै विशेषण गाँसियो होला-यो पौवा बनाउँदा ।
हावा, स्याँठ, लेक र ठिहीबाट हजारौँ बचे । यो धर्मशालामा धेरैले सुरक्षा, साथ र स्पर्श पाए-कीर्तिकथा त्यसमै गाँसिएको हुनुपर्छ । यै हुनुपर्छ धर्मको अर्थ ।
मन्दिरतिर हुँइकियौँ हामी जोईपोइ ।
अलिक तर्पायाँ हिँडेपछि भर्याङ भएर मास्तिर चढियो । भित्तोमा पुगियो भनिनसक्दै फेरि ठडियो अर्को कालो पहाडको भीर । अनि टुप्लुकियो मन्दिर ।
शान्त र चकमन्न मन्दिरको गजुर हेरेर म थामिएँ । दम फुलेथ्यो अचाक्ली । आँखा चारैतिर डुलाएँ । एकदमै भिन्न, एकदमै अचम्म र एकदमै पृथक् वातावरणमा ज्यान टेकाएँछु, बा ! तेह्र हजार फिट उचाइको मुक्तिनाथबाट सबै वरपर आँखा कुद्छन्, मन फाल हाल्छ ।
पूर्वपट्टी बादलले घेरेको डरलाग्दो पहाड थियो गजधुम्मिएको । बीचको गल्छी त्यहीँ आएर ठोक्किएको थियो ।
'त्यो थोराङ पास हो !'
एकजना वृद्घाले अड्की-अड्की बताइन् । मनाङको नजिकै पो पुगिएछ ।
उत्तर र दक्षिणपट्टी डाँडा थिए विचित्र-विचित्रका । अक्करे पहाड र छाती भरङै हुने भीर थिए जतासुकै । खुइले डाँडा र हेर्दै सातो जाने चेप थिए जताततै ।
हामीले झट्पट् नुहायौँ एकसय आठ धारामा । तालुको रगत जम्ला जस्तै भो चिसोले । जीउ त कक्रियो । हतारिएर लुगा लाए पनि खुट्टाका औँला झर्ला जस्ता भइरहे.....भइरहे....। क्यै गरी आङ तातेन । लुगलुगाइरह्यो ज्यान ।
पूजारी थिइन् तरुनी लमिनी । झुमा भन्दारहेछन् उनलाई । सुनितासँगै पूजापाठ गरेँ । आरती हेरेँ साँझको । मुक्तिनाथको महात्म्य सुनेँ । बिछट्टैको र अद्भूत प्रकृति हेर्न पाएको जति उल्लास थियो छातीमा-त्यत्तिकै सन्तोष पत्नीको इच्छा पूरा गरेकामा भइरहेको थियो मलाई । अर्धाङ्गिनी रमाएकोमा प्रसन्न, मै नि !
हेरिरहेछु पहाडका फेदीहरू । देखिरहेछु बादलको अद्भूत सुन्दरता । सुनिरहेछु चरम उचाइमा बादलको हुनहुनाइ ।
घोर अनौठो लाग्छ हावा । सुइँयय चलेको हावाको आवाज यी पहाडमा नौलो ध्वनि उमारेर र्फकन्थ्यो घरीघरी । चौबीसै घन्टा सत्ता चल्छ रे हावाको !
मैले आफ्नो पुस्तक चढाएँ, नीलडाम ।
'मन्दिरमा नि पुस्तक ?'
'हो, लेखकको सबै सम्पत्ति पुस्तकै हुन् नि !'
जवाफ सुनिन् झुमाले ।
मन्दिरअघि ठूलो पोखरी थियो । एकसय आठ धारामा नुहाएपछि सामुको पोखरीमा डुबुल्किए कलियुगको पाप पखालिने मान्यता रहेछ । त्यै मान्यता मान्न धेरै बूढाबूढी चोबलिँदै थिए चिसो पानीमा नीलो-नीलो भएर ।
बाहिरको पटाङ्गिनीमा थुप्रै विदेशी थिए । एउटी बेलायती कुइरेनीसँग कुराकानी भयो मेरो । उसले मुक्तिनाथलाई लिएर पढाइ अगाडि बढाउँदै रहिछ । दाना थियो उसको नाम ।
'हिन्दु मन्दिरमा बुद्घको किन प्रभाव ?'
उसको प्रश्नलाई मैले बलियो उत्तर दिन सकिनँ ।
हामीले धेरै समय बितायौँ मन्दिर वरपर । बत्ती बाल्दै, चारो छरेर परेवालाई खुवाउँदै, वरपरका भित्तामा लेखिएका पङक्ति पढ्दै, हरेक गजुर निहाल्दै घुमिरहेको छु म ।
यसैका निम्ति आइयो त्यत्ति टाढाबाट । केलाई हतार, किन हतार, कसका लागि हतार ! लाग्यो, यस्तै निर्विकार कुरा लाग्यो मलाई त ।
'यस्तै एकान्तमा, यस्तै असहजतामा, यस्तै विकटतामा नै बस्छन् होला भगवान् !'
मनमा कुरा खेल्छन् ।
जीवन त परीक्षा नै परीक्षाको घडी त हो नि । धेरै परीक्षामा बसेर म यहाँ आइपुगेथेँ । मनले भन्यो पनि-'मुक्तिनाथ, तिमीलाई चोखो मनको स्वस्ति-स्वस्ति !'
संसारका सबै तीर्थ गइसकेपछि पुग्नु रे मुक्तिनाथ ! तर प्रथम तीर्थयात्रा भो मेरो त !! लाग्दैछ- ईश्वरका निम्ति आदि-अन्त्य एउटै हो ।
रानीपौवा झर्दा रातले गम्लङै अँगाल्यो हामीलाई !
००० |