आज फेरि मैले ढुङ्गाहरूलाई भेटें
तिमी जस्तै कठोर हृदय भएका ढुङ्गाहरू
तिमी जस्तै धेरै रुपरंग र बोली बचन फेर्ने ढुङ्गाहरू
कतै हिउँको ढिक्का भित्र च्यापिएर दुखीरहेका ढुङ्गाहरू
कतै खोलीको बगरमा स्वतन्त्र लडिरहेका ढुङ्गाहरू
कतै पहरा बनेर पहाडको छातीमा टाँसिरहेका ढुङ्गाहरू
कतै खहरेको भेलसंगै बहिरहेका ढुङ्गाहरू
माटो बनेर सृष्टि रच्नुको अल्छिले
बालुवा बनेर मरुभूमि हुनुको पिडाले
लडिरह्यो ऊ
तिमी र तिम्रा विचारहरू जस्तै
नदीको दुइ किनाराहरूमा
खेतबारीका कान्लाहरूमा
एउटै मूलको पानीलाई अलग-अलग धारमा छुट्याउँदै
एउटै दहको माछालाई अलग-अगल कुरमा बुच्याउँदै
एउटै गह्लालाई असंख्य आठा-फोक्टाहरूमा टुक्र्याउँदै
एउटै हलोका सियोहरूलाई ठाउँ-ठाउँमा अड्काउँदै
हो आज फेरि मैले त्यहि ढुङ्गाहरूलाई भेटें
तिमी जस्तै कठोर हृदय भएका ढुङ्गाहरू
तिमी जस्तै धेरै रुपरंग र बोली बचनहरू फेर्ने ढुङ्गाहरू । |