Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : May 31, 2012 | Author : देश सुब्बा
Category : Article / लेख | Views : 811 | Rating :

  
देश सुब्बा

हङकङको नेपाली समुदायमा अविश्वासको पहाड उठेको छ । कसले कसलाई विश्वास गर्ने पत्तो छैन । विश्वासको हात, मुख, अनुहार पनि त हुँदैन यस्तै हुन्छ भनेर देखाउन । यसको एउटा मात्र आधार हुन्छ, आधार ढलेपछि गर्लाम्मगुर्लुम्म ढल्छ । नेपाली समाज यसरी नै उभेको छ आधारहिन । कता समाउने, कता टेक्ने, कता उभिने मात्रै विश्वास अड्ने एउटै खम्बा छ अविश्वास । हामी मात्र होइन, विश्व नै यसरी उभेको हुनुपर्छ र त एउटा राष्ट्रले भनेको अर्को राष्ट्रले विश्वास गर्दैन र युद्ध हुन्छ । विन लादेन, सद्दाम, गदाफिहरू मारिन्छन्, ट्वीन टावरमा हवाइजहाज छिराइन्छ । नेपालमा बन्दै गरेको संविधान बीचमा तुहाइन्छ ।

वास्तवमा मान्छेको बनौट यसरी बनेको छ-केही भ्रमले, केही शंकाले, केही विश्वासले । यस्तै यस्तो मानवीय गुण, गुणको अभिव्यक्तिले । अभिव्यक्ति मौलिक छन्, गुण मौलिक छन्, र त्यसलाई ग्रहण गर्ने, बुझ्ने, चेतना, ज्ञान आ-आफ्नै 'रोल मोडल' का हुन्छन्, 'सिद्धान्त'का हुन्छन् र 'अध्यात्म'का ।

मैले कानुनी कारिन्दा भएर 'मेसी एण्ड क्लेमेन्ट' ल र्फममा काम गर्ने सिलसिलामा साह्रै नजिकबाट स्पर्श गरेका मेरा आफ्नै अनुभूति, ज्ञानका सानो 'समाज शास्त्र', 'मानव शास्त्र', मनोविज्ञान मात्र हुन् यी शब्दका उड्दै गरेका परेवाहरू ।

अविश्वासको भुंग्रोमा विश्वास जल्नु स्वाभाविकै छ । हेर्दाहेर्दै हाम्रा विश्वासका घरहरू अविश्वासको दन्किन्दै गरेका आगोमा बलिरहेका छन् र हामी रोमका निरोहरू बाँसुरी बजाउदै हेरिरहेका छौं जलिरहेको रोम । हो हाम्रो हङकङको नेपाली घर यस्तै छ । महान चित्रकार पाब्लो पिकासो श्रीमतीहरूलाई छल्न एउटीलाई एउटा ढोकाबाट निकाल्थे, अर्कीलाई अर्को ढोकाबाट भित्र पसाउने कलाकारिताजस्तै । कुनै एउटा मान्छेलाई यस्तै एउटा अविश्वासबाट छिराएर अर्को अविश्वासबाट निकाल्ने अविश्वासको व्यवसाय भैरहेको छ हङकङमा । अविश्वासहरूको हानाहान छ, अर्को अविश्वासले अर्को अविश्वासको हत्या गर्छ, बलात्कार गर्छ । मैले भरखरै गर्न थालेको कानुनी पेशामा यसको साम्राज्यवादी र विस्तारवादी मौलाउदो नीति रहेछ । हङकङमा यसको प्रयोग पनि बाक्लै भएको पाइन्छ । यही अविश्वासमा खेती गरिरहेछन्, अन्न उमारिरहेका छन् अविश्वासका कृषकहरू । जताततै यसको बिगबिगी छ । अविश्वासलाई नै सत्यको उडिरहने चङ्गा सम्झेर मान्छेहरू चङ्गा टिप्न दौडिरहेका छन् । अविश्वासै अविश्वास बोकेर विश्वास भेट्न दौडिएका हामी, विश्वासको नाममा अर्को अविश्वास भेट्छौं र विश्वासको बखान गर्छौ । यक्ष प्रश्न यही छ । किन उठ्छ अविस्वासै अविश्वास ? यसको प्रमुख कारण विश्वासको सफा मास्कमा अविस्वासिलो मान्छे । चिन्न गाह्रो छ, कसको मास्क सक्कली, कसको मास्क नक्कली । एकछिन अगाडि सक्कलीजस्तो देखिएको मान्छेले केही समय पछाडि थाहै नपाई अर्को नक्कली अनुहार देखाउछ । एकछिन अघि आफूलाई विश्वसिलो लागिरहेको मान्छे, एकैछिन पछि कसैले कुरा लगाइदिएपछि आफ्नै विश्वासको गला रेट्न तयार हुन्छ । एकछिन अघि आफन्त भन्दै पछिपछि कुद्दै जाँदा बीच बाटैमा पराइ भइदिन्छ र 'सोक्पा खुट्टा' ले पछाडि फर्किनुपर्छ । यसरी फर्किन्दा गुमिसकेको हुन्छ, केही परिश्रम, केही द्रव्य । त्योभन्दा ठूलो कुरा चिनेजानेदेखिको विश्वास, गाउँघर देखिको विश्वास । आफन्तको छानामा छोपिएको विश्वास । म आफै पनि घुम्दै यही 'रुम्जाटार' मा आइपुगेको छु । मप्रतिका जनविश्वास हल्लिन्दै, पहेलिन्दै गरेको स्पष्ट देख्न थालेको छु । मैले बनाएको विश्वासको खम्बा सुनै सुन देखिने पोखरीमा छिर्नासाथ हल्लिन थालेको छ । यो मेरो व्यक्तिगत कमजोरी भन्दा पनि पेशाले बोकेको चरित्र हो । पेशामा अल्झेको चरित्र हो । यो पेशा नै ग्राहकले बाँचेको पेशा हो । विश्वास र अविश्वासले बाँचेको पेशा हो । यसलाई मिथ्याको महाजंगलमा चलिरहेको हावाले हल्लाउछ । मैले देखिरहेको छु फोहरमा डुबेको सुनको महल । अविश्वासमा अडेका यसका हल्लिने खम्बाहरू । अनि मान्छे भुमरीमा घुम्न थाल्छन्, कुन सक्कली कुन नक्कली । भन्दा सबैले आफूलाई सक्कली बताउछन्, इमान्दार बताउछन्, धेरै ज्ञान भएको बताउछन् । शंकर लामिछानेले "एब्स्ट्रयाक्ट चिन्तन र प्याज" पुस्तकमा प्याजका पत्रहरू छोडाउदै लग्यो, नयाँ पत्र देखा पर्छन् । ती पनि उप्किन्छन् र बाँकी रहन्छ अर्को पत्र भनेर लेखेझैँ अविश्वासका पनि पत्रैपत्र हुन्छन् । कोट्याउदै जाँदा पत्रैपत्र निस्किने । एउटा कुरा मान्नैपर्छ, सबैका मास्क हटाउदै जाँदा पत्र निस्किन्दै जान्छन् । तर कति राम्रो पत्र निस्किन्छन् कति कुहिएको । भित्रपट्टीको कुहिएको पत्र बाहिरबाट थाहा पाउन सकिन्दैन, त्यसैले मान्छे घुम्छन्, भ्रममा सत्य भन्दै । यस्तो हङकङका तपाई हामीमा मात्र हुने होइन, विश्वको दर्शनमा पनि यस्तै हुन्छ । पश्चिममा ४०० बि.सी. तिर दर्शनको शुरुवात भयो, त्यो पत्रलाई पछि धर्मले छोप्यो । लामो समय धर्मले दर्शन छोपेपछि १४ सौं शताब्दीबाट पत्रैपत्र गर्दै, दर्शन, विज्ञान, धर्म आए र सबैले सत्य भने । फेरि पनि मान्छेहरू भ्रममा परेर घुमिरहे । यस्तै एक ठाउँमा प्लेटो सामान्य सांसारिक मानिसको तुलना यस्तो मानिससँग गर्छन्, "जो जन्मैदेखि एउटा गुफामा जंजीरले यसरी जकडिएर कैद भएका छन् कि अगाडिको पर्खाल सिवाय उनीहरूले केही देख्दैनन् । यो अगाडिको पर्खालमा केही छायाँ बन्छ । कैदी यही छायाँलाई सत्य ठान्छन् र यसैको लालसामा जिन्दगी बिताउछन्, तर यसमा कुनै-कुनै ज्ञानी पनि हुन्छन्, जो पछाडि फर्केर वास्तविकता देख्न सक्छन् कि जेलाई सत्य मानेका थिए त्यो सत्यको आभासमात्र हो, सत्य पछाडि छ । पर्खाल पछाडि बलिरहेको आगोको कारण छायाँ देखिएको थियो । यस्ता मानिस जब गुफा बाहिर निस्किन्छन् तब सूर्यको उज्यालोमा उनीहरूले अझ धेरै सत्यको साक्षात्कार गर्छन् र उनीहरू वस्तुको वास्तविकतालाई बुझ्न सक्छन् । तब फेरि छायाँले उनीहरूलाई मोहित गर्दैन ।"

यस्ता अविश्वास, विश्वास, सत्य, असत्य हाम्रा अगाडि घुमिरहेका छन् । समाउन नसकिएका, भेट्न नसकिएका । तर त्यसैको पछाडि हामी कुनै बालकले चङ्गा जुधाइमा काटिएको चङ्गा भेट्न हेर्दै दौडिएका जस्तै दौडिरहेका छौं । समाजमा बेइमान छ, ठगि छ, अविश्वास छ । यो हामीले पछाडिबाट भोगेको अनुभूति, कष्ट, भय मात्र हुन् । पृथ्वीको पछाडि हेर्यो भने छायाँ मात्र देखिन्छ । समाजको पछाडि हेर्यौँ भने ढाँड मात्र देखिन्छ । ढाँडबाट समाजको अनुहार देखिन्दैन । यदि हामीले घुमाइघुमाइ हेर्यौ भने पृथ्वी होस, समाज होस, अँध्यारोभित्र उज्यालो देख्छौँ । हाम्रो सभ्यता यसको साक्षी हो । हामीले भोगिरहेको उच्च जीवन यसको प्रतिफल हो ।

हङकङको नेपाली समाजमा असत्य र बेइमानको मात्र राज्य छैन । केही अपराधिक गतिविधिलाई हेरेर नेपाली समाज अँध्यारो समाज भनिहाल्ने पक्षमा म छुइना । कानुनी व्यवशायबाट मन मारेका धेरै मान्छे भेट्छु, कुनै कुनै कुहिन लागेका फलमा भामराजस्तै झुमिरहेका मान्छे पनि देख्छु । एउटा सत्य कुरा के हो भने अँध्यारोलाई अँध्यारोले छेक्दैन । अँध्यारोलाई उज्यालोले छेक्छ । अँध्यारो देखिन उज्यालो चाहिन्छ । हामीले देखिएको सामाजिक, कानुनी अँध्यारो उज्यालोको उत्पादन हो ।

जसरी हङकङको नेपाली समाज मिथ्याको महाजंगलबाट गुज्रिन्दै छ, यसले 'सुनामी' ल्याउने संकेत गरिरहेको छ । जुन ढंगले असत्यहरू पकडेर हामी कुदिरहेका छौं, नराम्रो प्रवृत्तिलाई राम्रोको ढकनीले छोपिरहेका छौं, यो धारिलो बन्चरोले अन्तोत्वगत्वा कालिदासको खुट्टा काट्दैन हाम्रो खुट्टा काट्छ । अहिले त अलि अलि चोट लागेको छ र नै अलि अलि दुःखिरहेको छ-विशेष गरी अध्यागमन, क्षतिपूर्तिको मुद्दामा । यही प्रवृत्ति बढेर गयो भने अवश्य सुनामी आउँछ । खुट्टा काटिन सक्छ । सुनामी आएपछि कसरी खुट्टा जोगाउन सकिन्छ यही जिउँदा प्रश्न हाम्रो मथिङ्गगलमा ताण्डव गरिरहन्छ ।

वैज्ञानिकहरू विभिन्न किसिमका यन्त्र, प्रविधि बोकेर चारैतिर खतराको सिकार गरिरहेका हुन्छन् । सामुद्रीक सुनामी आउने बाटो छेकेर बसिरहेका हुन्छन् । फेरि पनि सुनामीले वैज्ञानिकका अत्याधुनिक आविष्कार, सुत्रहरू 'घोडे लात' हान्दै पछारेर अगाडि जान्छ । वैज्ञानिकहरू लाटाले पापा हेरेको जस्तै हेरिरहन्छन् । यस्ता घटना गत वर्ष मात्र जापानमा भयो, सात वर्ष अगाडि इण्डोनेशियामा भयो । हेर्दाहेर्दै गाडी बगे, पुल बग्यो, घरहरू लेदोमा मिसिएर बग्न थाले । संसारका वैज्ञानिकहरूले केवल रमिता हेरे, सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण गर्यो । तर कसैले रोक्न सकेनन् । यो त भयो वैज्ञानिकको कुरा ।

महाजंगलको कुरा बेग्लै छ । मिथ्याको महाजंगल हामीले बनाएका हौं । यसलाई व्याख्या हामीले गरेका हौं । यसको पछाडि हामी कुदेका हौं । मिथ्यालाई सत्य हामीले भनेका हौं । मिथ्यामा हामी आफै सशक्त पात्र भइरहेका छौं र घुमाउने झारले छुएको जस्तै घुमिरहेका छौं । त्यसैमा हामी आरोपलाई प्रत्यारोपले हान्छौं । प्रत्यारोपलाई ब्रम्हा अस्त्र भनौला, अग्नि वाण भनौंला । पौराणिक कालमा शिवजीले विष पिएपछि गोसाईकुण्ड गएका थिए सेलाउन । हामी पनि सेलाउन सक्छौं हाम्रा मिथ्या, अविश्वास, विश्वास कुनै सितल छहारीमा बसेर, सोचेर, विमर्श गरेर । तर हामी त्यसो गर्न चाहन्दैनौं, आगोको छायाँले देखेको कुरालाई प्लेटोले सत्य देखाएझै सत्य भन्दै बसेका छौँ । त्यसैले हामी मिथ्याको महाजंगलमा हराएका छौं । समयमा कान पकडेर उठबस गरेनौं भने यही हाम्रो समाजबाट सुनामी उठ्न सक्छ, भोल्कानो उठ्न सक्छ र एकदिन हामी अस्तित्व गुमाएर, अधिकार हराएर, पहिचान गुमाएर "तीन वटा बाँदर" जस्तै नराम्रो सुन्दिन, नराम्रो हेर्दिन, नराम्रो बोल्दिन भनेर कुनै भित्तामा सजिएका हुन सक्छौं ।

म कानुनी व्यावशायमा लागेपछि अनौठा अनुभूति गर्दैछु । अहिलेसम्म नदेखेको संसार देख्दैछु । कहिले नभोगेको अनुभूति गर्दैछु । विश्वास गरेका मान्छेको मास्कभित्रको अनुहार हेर्दैछु । काँडा छन्, फूल छन्, रूखको पछाडिबाट लुकेर वाण हान्ने 'बाली' छन् । मित्र भएर पनि सत्रुको पक्षमा उभिन्ने रावणका भाइ 'विभिषण' छन् । निर्दोष मान्छे अन्यायमा परेको हेरिरहने 'धृतराष्ट्र आँखा' छन् । म धृतराष्ट्रजस्तो हेरेर बस्न पनि सक्दिना, 'शकुनी'को पासा पनि खेल्न सक्दिना । प्रमाणपत्र विहीन मसित एउटा बोली छ, 'बाय' पाएर अगाडि बढेको यस खेलको खेलाडी हुँ, न मसित कुनै शिक्षा छ, न अनुभव । तर पनि यही बोलीले मिथ्याको महाजंगलमा 'आवाज' फालिरहेको छु । ठूलो ल र्फममा काम गरेको हुनाले समस्याका समस्याहरूले मसित पनि आश राख्नु स्वाभाविकै हो । हुन सक्छ मसित केही जीवित विश्वास छ । तर मरिसकेका कानुनका बाटाहरू न मैले खोल्नु सक्छ न कसैले । मात्रै जीवित बाटाहरूमा बोलीले होस, विचारले होस, पानी छर्किन सकिन्छ । बस म त्यति मात्र गर्न सकिरहेको छु । मिथ्याको यस महाजंगलमा मिथ्याबारे केही बोल्ने प्रयास गरिरहेको छु । सुनामीका संकेतहरू भूकम्प नाप्ने सिस्मोग्राफ यन्त्रजस्तै बताइरहेको छु । फेरि पनि यहाँ विश्वास हुन सक्छन्, अविश्वास हुन सक्छन् । हामी फेरि पनि मिथ्याको महाजंगलमा पसेर हराउन सक्छौँ, हराइरहेका छौँ । यही क्रम चलिरहेको छ, बाँचिरहेको छ, बचाइरहेको छ । 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Article / लेख category

महाभूकम्प र सुअवसर
लाहुरेहरू र आदिवासी जनजातीहरू अनागारिक जस्तो
मिथ्याको महाजंगलमा हङकङका नेपाली
नेपाली साहित्यमा युद्ध चेतनाको उपस्थिती
२०६८ सालको नयाँ वर्षले मलाई टेक नाथ रिजाल र भुटानी शरणार्थीहरूको ताजा सम्झाना गरायो
प्रशासनिक काम, स्रष्टाको पहिचान
कविताको फूल र दिमागको रेखा
भौतिक सौन्दर्य कि बौद्धिक सौन्दर्य ?
कविताको कमाल
प्रवासी किरातीहरूले कसरी अध्यन गर्ने किरात सौन्दर्यशास्त्र ?
म घर जाँदैछु
पुरानो आँखाले नयाँ वस्तु हेर्नु भयानक खतरा हुँदोरहेछ
सपनाको देश र माछाको अस्थिपिञ्जर
समुच्च विचारसँग म.....
नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा
सम्पादकीय
गीत शुभ र मंछी गल्ली
सृजनशील अराजकता अर्थात अराजकताको अन्त्य

    Links
Column / स्तम्भ

    Random Pick
बाटो माथि गह्रौँ मान्छेहरू हिड्छन् बाटो मागि हलौं मान्छेहरू हिड्छन् बाटो माथि अघाएका मान्छेहरू हिड्छन् बाटो माथि भोकाएका मान्छेहरू हिड्छन् तर बाटो भने चुपचाप छ अन्तहीन ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
595555
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com