Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : April 14, 2012 | Author : कोरङ्गी प्रेम
Category : Memoir / संस्मरण | Views : 974 | Unrated

  
कोरङ्गी प्रेम

       विश्व बिख्यात तानशाह एडोल्फ हिट्लरले आफु जन्मेको घरलाई वाउ आमाको घर भनेका छन् त्यस्तै मैले पनि आफु जन्मेको घर र मेरो जन्मस्थान बाघा गाउँलाई वाउ आमाको घर भन्न रुचाउँछु, मेरो वाउको गाउँ भन्न रुचाउँछु किनकी त्यो गाउँमा मेरो छुट्टै पहिचान र अस्तित्व नभएको कारणले पनि म आफ्नै गाउँमा एउटा पाहुना सरह भएको छु । एउटा परदेशी जस्तो भएको छु, जो निश्चित समय डुल्छ घुम्छ अनि समय सकिए पछि पोको पन्तेरो बोकेर आफ्नै वासस्थानमा फर्कन्छ । बाल्यकाल थाहै नपाई बित्यो । त्यो भन्दा अलि माथिको शिक्षा लिन राजधानी खाल्डो (काठमाण्डौ) छिरीयो । दालभात र डुकुको जोहो गर्न निकै धौधौ पर्ने त्यो जमानामा मरेर दसैंमा एकपल्ट घर गईन्थ्यो अनि १ महिनाको बसाई पछि भाईटिकाको भोलिपल्ट हुँदा नहुँदै त्यो खाल्डोको गुरुत्वाकर्षणले चुम्बकले फलाम ताने झैं तानेर त्यै खाल्डोमा जाकी दिन्थ्यो जस्को कारणले पनि त्यो गाउँको वनजंगल, ढुङ्गा माटो र गाउँलेहरुको नजरमा म संधै एउटा परदेशी जस्तो बनीरहेँ । त्यस पछिका अधिकांश दिनहरु मैले त्यै खाल्डो (काठमाण्डौ) मा रोजीराटीको निम्ति संघर्ष गर्दै बिताएँ । मलाई भोक, रोग र गरीवीसँग लड्न त्यै खाल्डोले सिकायो । ०४८ साल देखि ०६३ सम्म १५ वर्ष मेरो जीवनको अत्यन्तै उवर्रशील समय त्यै खाल्डोमा बित्यो । तसर्थ पनि त्यो खाल्डोको मठ्, मन्दिर, गल्ली र क्याम्पसहरुसँग मेरो गहिरो नाता सम्बन्ध छ जस्लाई चाहेर पनि भुल्न सक्तिन । विस्तारै देशकाल र परिस्थिीतिले बिदेशिन बाध्य तुल्यायो । अतः बिदेशीए पश्चात आफ्नो गाउँ फर्कन त्यती सजिलो नहुँदो रहेछ । त्यसैले आज म आफ्नै घरको लागि अनि आफ्नै गाउँको लागि एउटा परदेशी बनेको छु, पाहुना भएको छु जो कहिलेकाहि आफ्नो वाउको घर जान्छ, आफ्नो वाउको गाउँ जान्छ ।

मलाई एकिन संझना छैन, यस भन्दा अघिल्लो पटक म मेरो जन्मथलो बाघा गाउँ गएको तथापि मेरो मामाघर कुरुवा एउटा बुढो गुरुङ बाजेले लग्भग लग्भग यो दुनियाँबाट बिदा लिंदै छ भन्ने आकस्मिक खवरले २०५८ साल तिर हो क्यार मादीमूलखर्क हुँदै बाघा पुगेको थिएँ । त्यस पश्चात १ दशक पछि डिसेम्वर १ तारिख २०११ विहिवारको दिन बल्ल नेपाल जाने मेसो मिल्यो । साथमा आदरणिय काका चन्द्र बहादुर गुरुङ र १ जना भाइ थिए । काका ब्रिटिश एक्स आर्मी भएकोले बुढाको देश विदेश खाएको कुरा अनि विश्वयुद्घ लडेको कुरा सुन्दा आङ सिरीङग हुन्थ्यो । जे होस् त्यो लडाईको गफले हाम्रो यात्रा भने सहज बनेको थियो । यात्रा भरी मैले मेरी छोरी श्रेया र मेरी अर्धाङ्गीनी आँखा वरीपरी नाचिरहेको पाएँ । छोरी श्रेयाले भनेको मेरो बाबा भन्ने शब्द कानमा वारम्वार गुन्जिरहन्थ्यो । हरेक रात मेरो कोखिलामा फुसुक्क निदाउने मेरी छोरी आज त्यो गुँढमा मलाई नदेख्दा कति रोई रहेकी होली ! कराई रहेकी होली ! अनि उनकी आमालाई फकाई फुल्याई गर्न कत्तिको सास्ती परिरहेको होला ! आदि ईत्यादिले प्लेन भित्र निस्सासिएको महशुस हुन्थ्यो । त्यो बुढो जहाजले हाम्रो ऋणै खाए झैं सकि नसकि घिसारेर हावामा उडाई रहेथ्यो । यदि बिचैमा केही भैहाल्यो भने ? किनकी संसारमा थुप्रै प्लेन दुर्घटनाहरु घटेका छन् । के बेर ? म बाँच्दा मसँग थुप्रै मान्छेहरु बाँचेका छन् तसर्थ यदि म मरे भने ति सबै मर्ने छन् यस्तै यस्तै । तर एक मन्ले सोच्दथें । राम् राम ! मैले के सोचेको त्यस्तो ? यस्ता थुप्रै तर्कनाहरु लाहुरे बुढाका गफलाई यसो साईड लगाएर सुटक्क थाहै नपाई उब्जिरहन्थे । नेपालको रातको १ बजेको हुंदो हो हामी काठमाण्डौको एअरपोर्टमा सकुशल उत्र्यौं । बिस्तारै हामी ब्याग लिने स्थलमा पुग्यौं । जब म त्यो ठाउं पुगे मलाई कर्ण शाक्यद्वारा लिखित "सोच" पुस्तकको संझना आयो । त्यो पुस्तकमा लेखकले के उल्लेख गरेका छन भने "एकताका भारतका राष्ट्रपति बैज्ञानिक डा. अब्दुल कलामले राष्ट्र र जनताको नाममा सम्बोधन गर्दै थिए । सबैलाई राष्ट्रपतिले के भन्ने हो खुल्दुली लागिराखेको थियो । यतिकैमा डा. कलामले शुरु गरे "तपाईहरु जब भारत छाडेर अरब वा खाडी मुलुक वा सिंगापुर, मलेशिया या कतै जानुहुन्छ तब ल्पेनबाट उत्रनासाथ जहां पायो त्यही थुक्नु हुन्न, जता पायो त्यतै दिशापिसाब गर्नु हुन्न, पान चपाएर रोड मै प्याच्च थुक्नु हुन्न । त्यहां तपाईंहरु डस्वनिमा थुक्नु हुन्छ । दिशा पिशाबको लागि ट्वाईलेट जानु हुन्छ, चुरोट बिंडीको ठुट्टा डस्वीनमा फ्याक्नु हुन्छ । एउटा सभ्य मानिसको परिचय दिनु हुन्छ तर जब भारत आउनुहुन्छ जहां पायो त्यही थुक्नु हुन्छ, जता पायो त्यतै चुरोटको ठुट्टा, खैनी फाल्नु हुन्छ, जे मन लाग्यो त्यही गर्नु हुन्छ" आदि । मलाई पनि ठ्याक्कै त्यसैको संझना आयो । सामन पोका पारेको प्लाष्टिक, कार्टन बक्स, थोत्रा चोयाका डोकाहरु कुनामा बेग्रेल्ती छरपस्टिएका थिए । त्यति संवेदनशिल क्षेत्रमा त्यस्तो फोहर ? आफुलाई मुलुकका ठेकेदार भन्नेहरु पनि त्यै बाटो भएर नेपाली जनताले तिरेको ट्याक्समा रजाई गर्दै सारा संसार डुल्छन । मोज्मस्ती गर्छन । नेपाली समाजले पचाउनै नसक्ने खालका संस्कृतिः चुप्पा खाने, जानीनजानी अंग्रेजी बोल्नु पर्ने अनि बुख्याचाको (नर्सरीमा चराले बिऊ खान्छ की भनेर तर्साउन राखिएको)  जस्तो फेसन् गर्ने संस्कृति भित्र्याउंछन् तर त्यो सानो फोहरको ब्यबस्था गर्न सक्तैनन् सायद त्यस्को प्रबन्ध एनआरएन वा कुनै आईएनजिओले गर्नु पर्ने होला । तसर्थ त्यो फोहरको वातावरणले मलाई पनि भित्तामा थुक्न मन् लाग्यो । नेपाली हुनुको नाताले एउटा नेपालीले गरेको त्यो कार्यमा २,४ वटा चुरोटको ठुट्टा र पानीको बोटल झटारो हानेर सहयोग गर्न मन् लाग्यो । यस्तै तर्कनाका साथ म एअरपोर्टबाट बाहिरीएं र लागे शंखमुल तर्फ । भोलिपल्ट १ दिनको काठमाण्डौ वसाई पश्चात मेरो यात्रा तय भैसकेको थियो आफ्नो जिल्लाको सदरमुकाम खाँदवारी तर्फ । तसर्थ भोलिपल्ट समाजको मुखपत्रको निरन्तर प्रकाशनको लागि सदैब सहयोग र प्रोत्साहित गर्नु हुने आदरणिय दाइ श्री लिला नाथ राई ज्यूलाई भेटें । पर्सिपल्ट सदरमुकाम खाँदवारी पुँगे करिव १३ वर्ष पछि मुलुक भन्दा बाहिर बसेता पनि सधैं आफ्नो मातृभूमि र जिल्लासँग सुमधुर सम्बन्ध बनिरहोस् भन्नका खातिर संखुवासभा प्रतिभा पुरस्कार स्थापना गर्ने उदेश्यले । पछिल्लो समयमा खाँदबारी धेरै बिकास भैसकेको रहेछ । पर्वाञ्चलकै ठूलो अनि आवश्यक परेमा जेट विमान समेत बस्न सक्ने क्षमता भएको तुम्लिङ्गटार विमानस्थान कालोपत्रे भएको रहेछ । त्यहांबाट खाँदबारी मानेभन्ज्याङ्ग हुँदै चिचिला सम्म कच्ची बाटो पुगेको रहेछ । त्यस्तैगरी तुम्लिङ्गटारबाट सभा खोला हुदै खराङ्ग चैनपुर, पोखरी, नुन्ढाकीसम्म कच्ची सडक । अनि बाघाबाट ओखरबोट्टे मादीमूलखर्क, आहाले हुदै मंगलबारे चौकीसम्म सडक पुगेकोले त्यहांको जनजीवन धेरै सहज  भएको पाएं । बिजुलीबत्तीको राम्रो प्रबन्ध भएको अनि सूचना र संचारको क्षेत्रमा खाँदवारी उद्योग वाणिज्य महासंघबाट संचालित खाँदबारी एफएम र निजी क्षेत्रबाट संचालित गुरांश एफ्एम् । त्यस्तै पुर्वान्चलकै पहाडी जिल्लाहरुमा पहिलो डिग्री कलेज बरुण बहुमुखी क्याम्पस खाँदबारी अन्यमा संखुवासभा बहुमुखी क्याम्पस चैनपुर र मादी बहुमुखी क्याम्पस मादीले यस जिल्लाको शैक्षिक स्तरलाई धेरै माथि उकासेको रहेछ । जिल्लाको विकासको निम्ति जतिपनि सहयोगहरु आउंछन् सबै शिक्षाको क्षेत्रमा मात्र आउने हुनाले शिक्षा बाहेक अरु पनि क्षेत्रहरु छन् जस्तै कृषि, समाजसेवा, ब्यपार उधोगधन्दा, महिला पर्यटन आदि जस्को माधययमबाट पनि यस जिल्लाको नाम ईज्जत र प्रतिष्ठालाई उंचो बनाउने काम गरिएकोछ तसर्थ ति सबै क्षेत्रलाई प्रोत्साहित गर्ने ध्येयले संखुवासभा प्रतिभा पुरस्कारको स्थापना गर्ने निर्णयका साथ हामीले योजना बनायौं त्यसैको कार्यन्वयनको लागि म जिल्ला पुगेको थिएं ।

करिव दिनको ३,४ बजेको हुंदो हो बरुण बहुमुखी क्याम्पस खाँदबारीका क्यामपस प्रमूख श्री टिकाराम गरुङ ज्यूसँग भेट भयो र त्यो सांझ सिम्सिम् पानी परेकोले भेटघाटको काम भोलि गर्ने शर्तमा बेलैमा तिनपाने र नौं सिंगे भालेको तिते ब्यबस्था ग-यौं । तिनपाने र तितेले हाम्रो राम्रैसँग सेवा ग-यो । भोलिपल्ट सवेरै देखि मलाई श्री टिकाराम सरले भट्भटेमा खाँदबारी सबै डुलाउनु भो । बिहानै क्याम्पसमा सबै प्राध्यापकहरुको बिचमा छलफल तथा भेट्घाट कार्यक्रम राख्नु भएको रहेछ । मैले हामी हङकङमा बस्ने संखुवासभालीहरुको तर्फबाट जिल्लाको विकासमा केही गर्न सकिन्छ की भनेर एउटा अक्षय कोष खोल्ने निर्णय गरेका छौं जस्को ब्याजबाट हरेक वर्ष हरेक क्षेत्रका प्रतिभाहरुलाई सम्मान गर्ने उदेश्य रहेको जानकारी गराएं । जिल्लामा जति पनि पुरस्काहरु हुन्छन प्रायजसो शिक्षाको क्षेत्रमा मात्र केन्द्रीत हुने हुनाले शिक्षालाई मात्र प्राथमिकता नदिई अन्य क्षेत्रलाई पनि उत्तिकै महत्वका साथ हेरिनु पर्दछ भन्ने मान्यताले यो पुरस्कार स्थापना गर्ने जानकारी गराएं । त्यस पश्चात सबैबाट उक्त प्रस्तावको स्वागत गरियो र सो पुरस्कार स्थापनाको निम्ति गर्नु पर्ने सहयोगको कुनै कसूर बांकि नराख्ने बचन दिनुभयो । खाँदबारी बस्दा मैले उद्योग वाणिज्य संघ खादवारीका संस्थापक अध्यक्ष श्री श्याम सुन्दर उदास, प्रजिअ श्री कैलाशनाथ खरेल, उद्योग वाणिज्य संघका अध्यक्ष श्री अनन्त गौलीसँग भेटघाट गरें । त्यस्तैगरी खाँदबारी एफएमबाट यो पुरस्कार र संखुवासभा समाज हङकङको बारेमा सबै जिल्लावासीहरुमा जानकारी गराएं । ५१० रोपनी जग्गामा अवस्थित श्री बरुण बहुमुखी क्याम्पस सबै डुलि भ्याएं । अर्को मेरो एउटा मुख्य उदेश्य भनेको हिमालय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक श्री जंग बहादुर प्रसाद ठाकुरसँग बसेर हाम्रो संखुवासभा डटकमको लागि अनौपचारिक रुपमै भए पनि कुराकानी गर्ने ठूलो धोको थियो तर समय अभावको कारण त्यो पुरा हुन सकेन जस्को कारण मलाई मेरो जिल्लाको यात्रा कता कता ब्यर्थ लागिरहे छ । उहांको बारेमा एउटा लेख प्रकाशन गर्ने अवसर संखुवासभा समाज हङकङलाई प्राप्त भएको छ जस्को कारण आज यो समाजको मुख पत्रको महत्व अझ बढेको छ । यसरी २ दिनको बसाईमा अन्तिम रात कान्छी फूपूको घर भन्ज्याङ्ग गई बसें । जीवनको उतरार्ध तिर ढल्की सकेकी मेरी फूपू बिना सन्तान अस्ताउन लागेको घाम जस्तै जिई रहेकी थिई । गतसाल फूपाजुको मृत्युले अझ शोकमा डुबेकी तिनी शरद ऋतुको वृक्ष झैं खङ्ग्रङ्ग सुकेकी थिई । भोलिपल्ट सांझ ८ बजे पुगेँ बाघा । स्वभावैले छोराको आगमनमा वुवाआमाको खुशीको सिमा नहुनु स्वभाविकै हो । मैले पनि १०, १२ वर्ष पछि वुवा आमा आफन्त नातागोता भेट्दा खुशीले नाचें तर मेरो वाल्यकालका साथी सङ्गीहरुले गाउँ छोडेको अनि त्यो वेला संगै दाउरा घाँस गाई गोठालो गर्दाको बाजे बज्यै बुढापाकाहरु सबैको मृत्यु भैसकेकोले उहांहरुको अनुपस्थितीमा त्यो गाउँ नै मलाई अन्धकार लाग्यो । उहांहरुको मृत्युमा शशरीर उपस्थित भएर शिर्फ एउटा फूल चढाई श्रदान्जलि दिन नपाउंदाको क्षण संझिदा मुटु छियाछिया भएर आयो । कपाल पाकेको बुढो शरीर लिएर वुवा आमा फूपूहरु मेरो बाटो कुरीरहेका थिए । भाइ बहिनीहरु सबै आ-आफ्नो बाटो लागिसकेकोले त्यो घर सुनसान् थियो । गाउंघर सबै युवाविहिन भएकोले केटाकेटी र बुढाबुढीहरुले जसोतसो धानिरहेकोहेको रहेछ । खेतवारी घर आगन वनजंगलले ढाकी सकेछ । मैले सानोमा गाई बाख्रा चराएको वारीको कान्लाहरुमा आँखा डुलाएं, कोरली गाई र खैरी भैंसीलाई घाँस काटेको खन्नीउ नेबारा र दुदेलोको रुखहरु खोजे अनि त्यो बैशाख जेष्ठको टन्टलापुर घाममा बाजो फुटाएको ताक्मारे बलौटे र रमिते खेतको गरा गरालाई चनौटेको डांडाबाट चियाएं तर वारीको कांन्लाहरु भत्कीएर पहिरो गैसकेछ । खनिउ, नेबारा र दुदेलोको नामोनिसाना रहेनछ अनि त्यो धान फल्ने खेतका गराहरु बाजो पल्टीएर वनजंगल भैसकेछ । मैले सानोमा मकै भटमास् मर्काउंदै घाँस दाउरा गरेको वनपाखा अनि मेलापात गर्दाको साथीसंगीको अनुपस्थितीमा म मन्मनै रोएं । मेरो वाल्यकालको एक किसिमको त्यो सुखानुभतिलाई संझिएं । कति अन्जान, कति रमाईला थिए ती समयहरु ? ती जमानाहरु ? अब त  चाहेर पनि भोग्न सक्दिन, नत पाउन नै सक्छु । २, ४ दिनको बाघा बसाई पछि मावली गाउँ मादीमूलखर्क लागें । क्षमा काका माईजुहरु सबैलाई भेटें । सबै भन्दा महत्वपूर्ण मामा घर माझखर्क पुगें । करीव ०५७, ५८ सालतिर नै काठमाण्डौ बसाई सरेकोले घर आंगन झारै झारले पुरेको, आंगनको पाली भत्कीएर जग मात्र बांकीरहेको, घरको टिन खिया लागेर खैरो भैसकेको रहेछ । मामाघर आउंदा मामासँग सुत्ने झ्याल ढोका ढीकहरु भत्कीएर अलि अलि मात्र बांकीरहेछ । सानोमा मैले आउने गरेको मेरो मावलो घर आज भूत घर झैं देख्दा त्यो आंगनमा बसेर धर्धरी रोएं । यसरी डुल्ने क्रममा जिल्लाको प्रतिष्ठीत अंग्रेजी शिक्षक श्री ईन्द्र मणी कोरङ्गीलाई भेटे उहां श्री बिनोद उच्च माबिमा कार्यरत हुनुहुंदोरहेछ । त्यस्तै गरी हजुरवा जिविसका पूर्व सभापति श्री चन्द्र कुमार घोण्डेसँग भेट गरें । उहांको आफ्नै गाउँ आहलेमा बसेर गाउँको सेवामै जुटिरहनु भएको रहेछ । मैले उहासँग हाम्रो संखुवासभा डटकमको लागि अनौपचारकि रुपमा अन्तरवार्ता लिए त्यस पश्चात हजुरआमाले मेरो अनुरोधमा शुद्ध ब्राहृमण भोजन गराउनु भो । साह्रै मिठो त्यो खाटी गाईको घ्यू छेरपाटेले समात्लाकी भन्ने डर मान्दै निकै बजाएँ । यसरी छुट्ने बेलामा अनायसै मेरो आँखाबाट आँसु चुहियो फर्केर हेरें हजुरआमा पनि आँखा पुछ्दै हुनुहुन्थ्यो । म एउटा छोरो मान्छे थिएं । त्यसैले रुंदै हिड्नु मेरो नामर्दा पन् थियो । अत: पछि हजुरको पनातीनी लिएर आइहाल्छु नी भन्दै सम्हालिएर मुटु दरो पारी फेरी लागे बाघा जुन मेरो बाउको घर हो, मेरो वाउको गाउँ हो । 

अन्त्यमा, गाउँमा बस्दा मैले घर परिवार साथी संगी मेरो गाउँ र जिल्लाको लागि थुप्रै थुप्रै सपनाहरु बांडेर आएको छु । तसर्थ ती सपनाहरु जसरी पनि पुरा गर्नु छ यदि पुरा गर्न नसके मलाई पनि गाउंलेहरुले एउटा नेता मन्त्री जस्तै बिकासे नेताको बिल्ला नलगाई देलान् भन्न सक्तिन । यसरी १ हप्ताको बसाई पछि वुवाआमासँग छुट्न असाध्यै गाह्रो भो । मन् थाम्न सकिन धुरुधुरु रोएं । मैले पनि कल्पना गरें । मेरो पनि एउटी छोरी छे उनले पनि मेरो वुवा आमा जस्तै म बुढो भएको बेला एक्लै छोडेर हिंड्दा म कसरी बांच्थे होला ? कसरी जिउंथे होला ? आदि ईत्यादि । सोचे हामी मानव सर्वश्रेष्ठ प्राणी भन्दछौं ।  खोई कस्तो श्रेष्ठता ? पशुले त आफ्ना साखा सन्तानहरु आँखा वरीपरी राखेर बांच्दछन् तर हामी त चाहेर पनि आफ्ना सन्तानसँग संधै बस्न सक्तैनौं । आफ्ना सन्तानलाई आँखा वरीपरी देखिरहन सक्तैनौं । अतः आज म मात्र होईन म जस्ता लाखौंलाख नेपालीहरु आफ्नो घरको निम्ति पाहुना भएका छन् आफ्नै गाउँको निम्ति परदेशी बनेका छन् यस्को कारकतत्व भनेको नेता भनौंदाहरु जो आफूलाई मुलुकका ठेकेदार ठान्छन तिनिहरुको कुकृत्यले हो तसर्थ यो नव वर्ष २०६९ सालले मुलुकमा शान्ति र नयां संविधान जारी गरी राजनैतिक स्थिरता कायम गरोस जस्को कारण बिदेशिएका नेपालीहरु कहिले काहि मात्र नभएर हरेक साल आफ्नो वावुको घर जाने स्थिति बनोस् आफ्नो वावुको गाउँ जाने स्थिति बनोस यसैमा नेपाल र नेपालीको भाग्य र भविष्य छ ।

अस्तु ।

 

मावादिन १ बाघा संखुवासभा, हाल हङकङ

mailto:pmkorangi@yahoo.com

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Memoir / संस्मरण category

गीत संगीत मेरो मनको मृगतृष्णा मात्र भयो
म मुसुमुसु हाँस्दै अस्पतालबाट बाहिरिए
हङकङका साहित्यिक जमातमा भिज्न नसक्दा (डायरि नं २० अगस्त २०१४)
हङकङ, जीवन र भयभीतताको पराकाष्ठा
बन्दुक, बन्दना, जुवा र जुली
रोसीका हजार छाल
नीलगिरिको केरकार
कालु पाँडे हराएको खबर
मुक्तिनाथलाई स्वस्ति-स्वस्ति !
हर्क र बिस्मातसँगसँगै (सुरुसुरुमा कविता छापिंदाको प्रभावहरू)
चोखो प्रेमको अनन्त पिडा
मेरो वाउको गाउँ
प्यारी संगीनीको अन्तिम जीवन यात्रा
हङकङबाट काठमाण्डौसम्म
फ्रान्कोनियाको मेट्रो
मेरील्याण्डका उडुस
घुम्दै जाँदा साथीसँग मुक्का हाना हान
हेल्सेको रेडियो

    Links
Column / स्तम्भ

    Random Pick
भन्छ्यौ तिमी
घाम सँधै, एकै ठाँमबाट उदाउँछ
तर मलाई टुलुटुलु हेरेर बस्या ४१ वर्षे
क्षितिजले गिज्याँउछ त्यसो हो भन्दा ।
तिमी नै भन अब
घाम सँधै कहाँ एउटै पूर्व क्षितिजको पिठिमबाट उदाउँछ र.....

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
691263
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com