मेरो कविताको
एक सुन्दर हरफ हेरेर
त्यसै-त्यसै मन कुँडाउने
ए समकालीन कवि !
यो सहरको
सागुरो गल्लीतिर
बारम्बार भेट भैरहँदा
नमस्कार गरेन भनेर
रिसाउने ए स्थानीय नेता !
कुनै आमसभामा
महान व्यक्तित्व जसरी
गजक्क आसीन हुँदा
राम्रो सम्वोधन गरेन भनी
सधैं दुखेसो पोखिरहने
ए सभाका सभापती महोदय !
र,
प्रेम दिवसको दिन
एउटा बहुमूल्य उपहार
रातो गुलाफको फूल
र "आई लभ यू"
भनेन भनेर आँशु झार्ने
ए मेरी प्रियसी !
राष्ट्रिय झण्डा जस्तो
लिएर किन हिडिरहेछौ
पलभरको जिन्दगीमा पूर्वाग्रही भावना ?
किन राखिरहेछौ पूर्वाग्रहीसोच ?
किन बनाउदैछौ पूर्वाग्रही योजना ?
किन गरिरहेछौ पूर्वाग्रही व्यवहार ?
जस्तो कि गरेकोछु मैले
गर्नै नहुने-जघन्य अपराध,
बरु सोध,
दासताको कथा
जीवन जीउनुको पीडा
र
जीवनको महत्वहरू
सायद, थाहा हुनुपर्छ
माङखिम, गुम्बा, र मस्जिततिर
चर्च, सेमिचोङ र मन्दिरतिर
अनवरत जादै गरेका
त्यी परम भक्तजनहरूलाई,
तर कुनैदिन
म सायद,
अमानवीय गोली खाएर
अपहेलनाको होमातिन पाखातिर
निर्घात मारिन्छु विचारा
दिलबहादुर लिम्वू जसरी
निर्दयी वैभवताको पञ्जाले
समातेर थुनिएको छु निरन्तर
विवशताको जन्जालभित्र
जहाँ
लुटिन्छन् मेरा अस्तित्वका अस्मिताहरू
पल-पल मरेर फेरी
जीवन्त मरिदिन्छु सायद
लाचारीको सब्वेंमुनि-छोंमा सरह,
तब
आउँनु तिमी त्यहीं
निष्प्रण सेता हिउँका ढिस्कोमाथि
सधैं उदास-उदास भैरहने
सधै आँसुमा नै डुबिरहने
रातो मुर्दाघर छेउ
र
चढाउँनु एउटा श्रद्वाको फूल
नभए,
फ्यालिदिनु पूर्वाग्रही समवेदनाहरू
र अन्तमा हल्लाइदिनु
नितान्त पूर्वाग्रहरहित अलबिदाका हातहरू । |