Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : March 11, 2012 | Author : युवराज नयाँघरे
Category : Essay / निबन्ध | Views : 780 | Rating :

  
युवराज नयाँघरे

      चाल्न थालेको जीवन उमेर जत्तिकै भो !

      जीवन चाल्दै छु म । चालेर हात थाके, आँखा गले, औँला बाउँडिए । तर नसकिने स्थितिमा छु जीवनलाई चाल्न । जानेदेखि बुझेर चालेँ । नजान्दै पनि चालिआएकै हो जीवनलाई । अँहँ, सकिएन चाल्न ।

      घरमा श्रीमतीले पातलो चाल्नीले भान्सामा चाल्दैछिन् पीठो । एकदमै मसिन्न्याएर पीठो चालिरहेकी छन् उनी । हल्लाई-हल्लाई अथवा ढकढकाई-ढकढकाई पीठो चाल्ने उनको तन्मय निहालिरहेको छु छेउमै बसेर  । तिनले पीठो घोटेर चाल्नी चलाएको हेर्छु गहिरिएर ।

      चालिएँ म यसरी नै थुप्रै घामपानीमा ।

      उनले पीठो चालिरहेको कामलाई विचार्दैछु म पुस्तकमा घोत्लिएर । फरक पाटा हुन् यी । सिद्घान्त र व्यवहारका दुई भागालोजस्तो ।

      सोच्छु-जीवन धूलै त हो नि !

      हामी थाहा पाएर चाल्छौँ, थाहा नपाई चाल्छौँ । चेतनाले डोर्रिएर जीवन धूलो निफन्छौँ नाङ्लामा । अचेतनले घचेटिएर जीवन चाल्छौँ चाल्नामा । हो, चाल्न र निफन्न कुनै कसुर बाँकी राखेका छैनौँ हामीले ।

      जीवन धूलोलाई मैले चालेँ अनेक पद्धतिमा ।

      चाल्नु परेपछि त्यो क्रम हुँदोरहेछ, गति हुँदोरहेछ । निरन्तर चाल्न बाँकी नरहेका अरु धेरै कुरा हुन सक्छन् । मैले प्रष्ट जानेको सामाग्री हो जीवन धुलो-जसलाई चालेकोचालेकै छु म । नियमित र वशमा परी-परी ।

      कहिल्यै नरोकिई यसलाई चालेको हुँ मैले ।

      समयका विचित्र अप्ठ्यारा हुन्, समयका सहज सिाढी हुन्-सबैमा चालेको छु जीवन धूलोलाई । मौसम, अवस्था वा रुचिभित्र साँगुरिएर चलिना म । झन्झट, परिणाम वा तोकका घेरामा थामिइना म । मैले चालिरहेँ जीवन धूलोलाई । धेरै दुष्कर वा दुस्साहसका रुपमा जीवन देखिए पनि-चाल्न रोकिनँ यसलाई ।

      नाङ्ला र चाल्ना भान्साकोठाका सिँगारपटार ।

      पत्नीले चाल्नी चलाएर पिठो चालिरहेको गतिले मेरो आफ्नो जीवनसँग गाँसिन्छ । पीठै हुँ म पनि त । यो अनेक प्रकारका चाल्नीमा रगडिएर चालिन रोकिएन अथवा थामिएन । आाफै गति बनाएर यो चालिएकोचालिएकै त भयो नि ।

      धेरै खालका चाल्ना छन् भान्सामा ।

      चामल चाल्ने, पीठो चाल्ने वा मसला चाल्ने किसिमका चाल्नाहरू दराजका खण्डे कोठामा थन्किएका छन् । आवश्यकता बोध भयो कि ती बाहिरिन्छन् । अनि परिचयसाथ काम पाउँछन् चाल्नीले ।

      फरक चाल्नीले काम पाउँछन् फरकै ।

      चामल चाल्नेले मिल्दै मिल्दैन पीठो चाल्न । मसला चाल्नेले तोरी चाल्न मिल्दैन । अथवा गहुँ चाल्नेले सम्भव छैन धान चाल्न । यिनको मूल्य र अर्थ यहीँनिर निक्र्यौल हुन्छ ।

      जीवन जस्तै भिन्न र फरक ।

      फरक चरित्रले पाएको मूल्य । भिन्न कामले ल्याएको अर्थ । अलग कर्तव्यले दिएको परिणाम ।      

      चाल्नु परेको छ जीवनलाई । हरेक अवस्था र स्थितिमा । नचालिरहने त सन्दर्भ वा प्रसङ्गै भएन । जीवनका लम्काइलाई निहाल्न नि चाल्नै पर्यो । जीवनका स्थितिलाई नापजोख गर्न नि चाल्नै पर्यो । अथवा मौनतामा रहन नि चालिनै पर्यो । विषाद वा अनुकूलको थुम्कामा एक खुट्टा राखेर जित्दैन जीवनले ।

      धान चाल्ने चाल्नी बन्छन् तारका जालीले ।

      धेरै पटक केटाकेटीमा मसिना औंला चाल्नीमा दलेर आनन्दित हुन्थेँ म । आँगनमा धान चाल्न राखिएका चाल्नीमा हत्केला घोटेर आउने मुसुमसे मस्तीमा पटक-पटक नजिकिएको हुन्थेँ म । उमेर अनुसारको मज्जामा साधनको सहज उपस्थिति ।

       'पसिना चाल्ने हो नि यसमा ।'

       बा भन्नुहुन्थ्यो ।

       'लाटा, बुझ्दैनस् तँ । जब आँफैले धान रोपी उमार्छस् । अनि चाल्न थाल्छस् र पत्तो पाउँछस्-पसिना चाल्नुको अर्थ !'

       लाटो भन्ने गालीबाट मनमा पस्थे केही कुरा ।

       आज पत्नीले भान्सामा चलाइरहेको चाल्नी चलाएको मिहीन आवाज सुन्छु, गति हेर्छु र लय निहाल्छु । जीवन यसरी नै चालिँदै-चालिँदै आएको रहेछ । धेरै अघिदेखि मैले चालिरहेको चाल्नी घरका हरेक सदस्यमा आइरहेको रहेछ साटिँदै ।

       एक दिन फुर्सदमा हेरेँ चाल्नीका प्रकार ।

       घरमा कति किसिमका चाल्नी रहेछन् ? कुरा ओर्लिए मनमा । भान्सामा पसेा त्यहाँ देखेँ पीठो, मसला, चामल चाल्ने चाल्नी । भाडारमा बालुवा चाल्ने मोटो चाल्नी देखेा । यी सबैका बनौट, रुप र प्वाल आ-आफ्नै काम अनुसारका थिए । आकारमा चरित्र टाँसिएको हुँदो रै'छ । चाल्नीका प्वालमा बस्तुका चरित्र थिए लिपिस्सै ।

       हरेक चाल्नीमा चरित्र हुँदो रहेछ ।

       पाएको कामलाई आँगालेर फत्ते गर्थे ती । जिम्मा जे थियो-त्यसलाई स्वीकारपूर्ण पार्थे कामलाई । अथवा हात लागेका कामलाई पन्छाउन मिल्दैन्थ्यो ज्याबललाई ।

      चामल चाल्नेले पीठो चाल्न सक्तैनथे । बालुवा चाल्नेले धान चाल्न मिल्दैन्थ्यो । तोरी चाल्नेले मकै चाल्न हुदैन्थ्यो । यी सबै बस्तु थिए । बस्तुले आकारको मूल्य बोकेर आएका हुनाले ती चालिनलाई पनि त्यस्तै साधनको खाँचो थियो अनिवार्य ।

      जीवन धूलो यहाँनिर एउटै भयो-जेमा पनि चालिने जस्तै-जस्तै ।

      सानो छँदा तराईको खेतमा धान काटिसकेपछि पराल र नलसहितका भुस बढारिरहेका आइमाईका हुल देख्थेँ म । एउटै कपडाले तलदेखि माथिसम्म केही प्रतिशत ढाकिएका हुन्थे ती ।  गरीबीका रेखा यहाँनिर शून्यावस्थामा देखिन्थ्यो, आकारसाथ ।

      बिहानैदेखि गरा र खेतका चौकुना बढारिरहेका ती साँझपख थुप्रिएको त्यो धूलो चाल्नीले चाल्थे पटक-पटक । एकदुई गर्दै तीनचार पटकसम्म चाल्थे । र, मुस्किलले एक-आधाढक्की धान लिएर घरको चुलो बाल्न दगुर्थे झमक्क साँझमा ।

      धेरै खेत हुने हाम्रो त पुरा वर्ष पुग्दैनथ्यो अन्न खान । खेतै नभएका तिनको अवस्थाबारे सकिन्न, घोत्लिन । खेतका लहलह धान काटेर लगेपछि रहलपहल वा भुँइमा खसेका धानका बाला र धूलो बढारी चाली-चाली बाँच्ने तिनको सिङ्गो जीवन कसरी बित्थ्यो कसरी ? असहजका काँडाले कोर्छन् मलाई ।

      कति पाउँथे तिनले धान ? फेरि पाएको धानभित्र सबै चामल हुन्थ्यो र ? तैपनि तिनले चाल्नी बोकेर चहार्न छोडेका छैनन् धान काटेका रित्ता गरा र खेत । मैले थाहा पाए सम्मका मङ्सिरमा तिनले चलाउन छोडेनन् चाल्नी ।

      पत्नीले चाल्नी चलाई-चलाई छुट्टाइन् ढुटो र पीठो ।

      चाल्नीले चालेको जीवनबारे हेर्छु । त्यो भित्रको ढुङ्गा, माटो, भुस वा छेस्काछेस्की पर्गेल्छु । जीवनमा आइपर्ने चोट, असहजता, घृणा र अवगाल सबै रहेछन् भुसजस्तै । चाल्नीबाट बुरुर्र तल खसेको पीठो नै प्राप्ति रहेछ, गौरव रहेछ ।

      घर अगिल्तिरको चौरमा साना केटाकेटीहरू पातमा प्वाल पारेर ढुङ्गा र माटोका चाल्छन् स-साना डल्लाडल्ली । तिनलाई नि अभ्यास गर्नु छ-जीवन धूलो चाल्ने । अभ्यस्त कति हुन सक्छन् ती, पर्खनु छ । हो, प्रयास छ अटुट ।

      तोरी र सर्स्युँ दुईको रङै फरक । तोरी चालिरहनुभएकी आमाको अनुहार छेउमै बसेर हेर्थेँ म । उहाँ एक निष्ठासाथ सर्स्युँ र तोरी छुट्टाउन सकौँ भन्ने भावमा रहनु हुन्थ्यो ।

      मैले सोझो कुरो सोधेा आमालाई-'आखिर दुबैबाट तेल आउँछ नि । किन छुट्टाउनु पर्यो चाली-चाली !'

      'मिसिएको तेल मीठो हुँदैन नि । तिम्रा मुखमा मीठै परोस् भनी दुःख बिसाउनु पर्या छ !'

      उत्तर सुनेको थिएँ ।

      हुँदा-हुँदा सेतो तिल र कालो तिल चाली-चाली छानेर छुट्टाएको देखेको थिएँ मैले । सोध्दा उत्तर सुनिएथ्यो-'कालो देउताका लागि, सेतो मान्छेका लागि । मान्छेको देउतालाई र देउताको मान्छेलाई नहोस् भनेर यसरी चाल्नु पर्या हो !'

      प्रकृतिको उत्पादनले पनि चालिएरै अर्थ पाउनुपर्दो रहेछ । मूल्य, महत्व र मनितो कमाउँदो रहेछ ।

      बगरमा बालुवा चालेर जीवन डोर्याउनेहरूको अनुहारसँग धेरै पटक भेटघाट भएको छ मेरो । अनेक खोलामा बालुवा चालिरहेका हुन्छन् तिनका हात । मोटा र खस्रा तार जालीमा बग्दो पानीबाट ढुङ्गेनी कण  झिकेर मसिना बालुवा चाल्नेहरूका पाखुरामा हुन्छ-पाँगो माटो छुट्याएको बालुवाले आय आर्जन गराउँछ धेरै ।     

      'जाली मोटो नपार है, मसिनो पार !'

      ठेकेदारले  थर्काइरहेको हुन्छ खोलाको किनारबाट ।

      बालुवा चाल्नेहरूको गुनासो आपसमै हुन्छ-'हामीलाई चाल्नीको तार मसिनो बनाऊ भन्दै परतिर लगेर मोटो बालुवा मिसाउँछ ।'

      'यता हामी ठगिने, उता मोटाउने ऊ !'

      हुलले बालुवा चाल्दै उदास र हैरानी साटिरहेकै हुन्छन् ।

      हरेक ठाउँमा प्रयोग छ चाल्नीको । त्यो प्रयोगले सबल-दुर्बल, अपेक्षा-उपेक्षा र मृत्यु -जीवनका हात परेका छन् प्रमाणपत्र । यी प्रमाणपत्रले चाल्नी चाल्दाका गति देखाउँछन्, तरिका बताउँछन् र उपलब्धि चिनाउँछन् ।

      आफ्नै चाल्नीले चालिएको जीवन धूलो हुँ म ।

      हो, चालिएको छु धेरै पटक । पटक-पटक हल्लाइएको छु चाल्नीमा हालेर । खेप-खेप ��"ँलाले चलाई-चलाई चालिएको छ मलाई । मोटो, मसिनो, ठिक्कको अनि अति मसिनो प्वाल भएको चाल्नीमा चालियो मलाई ।

      चालिन बाँकी छ अझै मलाई ।

      एउटा पुरानो स्मृतिमा उभिएर हेर्छु आफूलाई । अर्थ र समयको साँघुरो स्थिति थियो मभित्र । कति बुझेँ त्यसबेला । ख्याल छैन पटक्कै । स्मृतिले बूढी��"ँला देखाएर झस्काएपछि यतिबेला त्यो स्मृतिमा पुगेँ म ।

      घर नजिकै थियो पञ्चकन्या राइस मिल ।

      धेरै साथीसाथ मिल नजिकैको खेत र चौरमा गोठालो हुन्थेा गाईबाख्राको । चैतको टन्टलापुर घाममा मिलका बगैँचामा फलेका फलफूल चोर्थे केटाहरू । हातमा लाठो लिएर बसेका हट्टाकट्टा चौकीदार वल्लो छेउदेखि पल्लो छेउसम्म पुगिरहेका हुन्थे उद्यानमा ।

      उनी कतिखेर सियाँलमा सुत्लान् र हामी बगैँचामा पस्ने भन्ने ध्याउन्न हुन्थ्यो । कतिबेला हामीलाई हामी लघारेर उनी सफल, कहिले हामी सफल ।

      आफ्नो असफलतामा उनको गर्जन हुन्थ्यो-'पख्, तिमेरलाई चाल्नो हुने गरी ठटाउँछु !'

      बोली नै डरलाग्दो भएपछि दण्ड कस्तो हुन्थ्यो होला ? सातो जान्थ्यो हाम्रो ।

      बेलाबखत दया जाग्थ्यो उनमा ।

      'एइ, खानका काल हो । उसिनेका चामल खान आऔ !'

      स्नेही स्वर सुनिन्थ्यो चौकीदारको ।

      अनि हामी भुराहरू गुडुडु छिर्थ्यौं मिलमा । लाइन लगाएर मिलभित्र पसाउँथे हामीलाई । चामल चालिरहेका बढेबढे फलामे चाल्नीका छेउमा उभ्याइन्थ्यौँ हामी । अनि चकित परेर हेर्थेँ म । माथिबाट खसेका चामलका रास चाल्नामा दगुरादगुर हुँदै तलतिर चालिइरहेका हुन्थे ।

      'केटा हो, चाल्नोबाट उच्छिटिएका चामल मात्र खाने नि !'

      कृपा हुन्थ्यो उनको ।

      चाल्नीबाट उफ्रिएर भुइँमा खसेका चामल टिप्न लुछाचाडी गर्थ्यौं हामी । एकनासे प्वालमा एकनासका चामल । बिस्तारै चलेको चाल्नीबाट थोरै उच्छिटिन्थे चामल । चाँडो चले धेरै खस्थे । धेरै जसो साह्रै धीमा गतिमा चल्थ्यो र चामलका एकाध गेडाका लागि राम्रै मारमुङ्ग्री चल्थ्यो हाम्रो हुलमा ।     

      'थुइया, चाल्नीको प्वाल एकदमै सानो हुनु नि !'

      'किन नि ?'     

      'सानो भएपछि चामल तल नखसी बाहिरै आउँथ्यो नि !'      

      'होत्त, है !'

      अलिक बुज्रग बोल्थ्यो हामी मध्येको ।

      चौकीदारले एकदमै माया गरेथ्यो, कृपा गरेथ्यो र तिर्न नसकिने रिन लाएथ्यो-चाल्नी बाहिरको चामलका गेडा खान दिएर हामीलाई ।

      उफ्, कति चालिएछ निष्ठुरतापूर्वक जीवनलाई !

      एक दिन चाल्नी हातमा लिएर हेरेा-यसको आकारसँग गाँसिएको चरित्र । चाल्नीले पाएको रुप । हेर्दा कुनै ठूलो र मानक स्थिति देखा पर्दैन । अथाह उपलब्धि र परिणाम पस्किदैान । तर त्यस पछिल्तिरको नतिजालाई जीवनको धूलोसँग नगाँसी धरै पाइन्न । जीवन धूलोसँग मूल्याङ्कन नगरी अर्थ प्रवाह गर्नै सकिन्न ।

      धेरै होइन भनेको ठाउँमा केही हो भएर आइरहेछ चाल्नी ।

      आरोह अवरोहमा म वरपरका दृश्यमा धेरै पटक पोखिएर भेट्छु । प्रश्न गर्न तम्तयार कक्षाको कमजोर विद्यार्थी जस्तो-शिक्षक जिल्लिएर हेरिरहेको हालतमा छु म ।

      बस्तुलाई छान्छ चाल्नीले ।

      बढी प्रयोग हाम्रै भान्सामा हुन्छ । त्यो भए राम्रो, नभए उत्तिको पीडादायी कुरो भएन । तैपनि नमीठो खाने, अस्वस्थ्यकर वा दाँतमा ढुङ्गामाटो नरड्किऊन् भन्ने हैरानीबाट मुक्त हुन घरमा भित्रिएका हुन् चाल्नी । यी अब भान्साकोठाका स्थायी मित्र !    

      'हत्तेरिका, नचालेको पीठो पकाएको हो कि क्या हो ?'

      मेरा नाकनिके मामाले गहुँको सानो टुँडो रोटीमा भेटेपछि भोकै उठेको ख्याल छ मलाई ।

      उनले धेरै पटक भनेको सम्झन्छु-'टुप्पी हल्लाउनु र चुरा बजाउनु दुई मिल्दा जस्ता देखिए नि स्वादमा अकासपत्तालको फरक छ । लोग्नेमान्छेले चालेको पीठोमा हात्ती समेत छिर्छ, आइमाईले चालेको पीठोमा भुसुना नि खस्न पाउँदैन !'

      सुन्दा अतिशयोक्ति लागे पनि स्त्री कला र साधनाको सम्मान हुनुपर्छ यो ।

      यसरी नै बुझ्छु म । मैले बुझेको पाककलामा समर्पण र सावधानीको एकोहोरो तथ्य छ उभिएको । यो उभ्याइले चाल्नी बनाएको छ गृहिणीको घरसंसारलाई ।

      सामान्य हुँदैन एउटा बस्तुभित्रको ज्ञानले घेरेको आकाश । एउटा सामग्रीभित्र लुकेको शिक्षाले आँचेटेको धर्ती हुँदैन सरल । यी आकाश र धर्तीका मिल्दा कोणमा अविदित दर्शनले बसेको हुन्छ तर्क तानेर ।

      त्यही हो मेरो घरको चाल्नी ।

      छिमेकमा बन्दै छ घर । त्यहाँ थुप्रै छन् ढुङ्गा, इाटा छानिरहेका कर्मीहरू । अनेक तर्क र विचार सुन्छु म यी इाटा र ढुङ्गाका छनौटसँगै । कुन र कसरी राख्ने ढुङ्गा ? अथवा कुन र कहाँ राख्ने इँटा ? सरोबरी छलफल भएर बनिरहेको छ घर ।

      पानीमा बालुवा पखालिरहेकी एउटी हासिली आइमाईलाई ठेकेदारले भन्यो-'तिमी जस्तै उज्यालो होस् है बालुवा !'

      'भै हाल्छ नि ! आफूलाई नाफा कम राखी बाक्लो तारको जाली दिनु पर्यो नि मलाई !'

      हासिलीले ड्रमको पानीमा बालुवा पखाल्दै दिएको उत्तर थियो यो ।

      चाल्नी वरपर भेटेका अरु थुप्रै पात्र छन्, प्रवृत्ति छन् र परिवेश छन् । मलाई यिनले पटक-पटक आँफैतिर हेर्न भनेका छन् । आफूलाई कति पटक मैले चालेँ । आफ्नो चालिएको धूलोमा कति कण छन् बालुवाका, ढुङ्गाका, माटोका वा सिन्कासिन्कीका ।

      के म चालिन सकिएको जीवन धूलो हुँ ? के चालेर समाप्त गरिएको जीवन धूलो हुँ म ? कुन तहको चाल्नीमा चालिएँ म ?

      अल्झिन्छु प्रश्नका प्रसङ्गमा ।

      नाङ्लो र चाल्नी एकै ठाउँमा राखेथेा मैले ।    

      'यी भालेपोथी हुन्-यिनलाई यसो नगर !'

      तोरी चालिरहेका छिमेकका कार्की दाइले भनेथे ।

      उनले अथ्र्याएथे-'भालेपोथी अरुहरू । यो काम र नतिजाको तस्वीर हो !'

      यतिखेर केही जानेको जस्तो मधुरो बत्ती छ मनमा । पिलपिल बल्दै बत्तीले उज्यालो दिन्छ-'कामै नहुनु र परिणामको ठूलो बखान । अथवा सानो बखान नभए पनि ठूलै काम हुनु !'

      धेरै अघि तमोरका किनारमा बालुवा चालिरहेका एक दम्पत्ति भेटिए ।

      'के भेटिन्छ र यत्तिको मरिहत्ते गरेको ?'

      'सुन पाइन्छ नि !'

      'एक दिनमा कति पाइन्छ ?'

      'महिनौँ बालुवा चाल्दा एक लाल पाइन्छ !'

      बाफरे, म आत्तिएँ । सुन जस्तो गर्बिलो जीवन समाप्त भइरहेथ्यो । सुन जस्तो मूल्यवान समय बगिरहेथ्यो । यी जोडीले बालुवा चालेर सुन खोजिरहेको दुस्साहसलाई मैले विस्मयपूर्वक हेर्नु पर्यो । अज्ञात पीडामा अवाक् भए मेरा आँखा । मेरो अन्तःस्करण प्रश्नका मुङ्राले कुटियो ।

      'चाल्नी किन्नै हम्मेहम्मे भो !'

      स्वास्नी चाँहिले भनेको कुरोले एक पटक फेरि सुन-कथाको 'निर्धन व्यथा' देखापर्यो ।                   

      भान्सामा पत्नीले चालिरहेको चाल्नी हल्लिएको हेरिरहेको छु म निरन्तर । त्यो चाल्नीका पछाडि मेरा जीवनका भुस, बियाँ र कनिका आइरहेका हुँदा हुन् । हो, तिनको पहिचान कुन दिनदेखि मैले गरेँ ! यो भयरहित भएर बोल्न सकिरहेको छैन ।

      बेत, बाँस, निगालो, धागो, पाट, तार सबै जालीका चाल्नीले हरेक पल चालिनु नै जीवन ठानेँ मैले ।

      चालिँदा-चालिँदा यो जीवन धूलो कहिले चालेर सकिएला ? अथवा योग्य जीवन धूलो हुने कहिले ? चाल्नोमा अझै कति बस्ने म ?

      अन्तिम चाल्नो खोज्नु छ जीवनको !

 

                           ००

परिचय

नाम : युवराज नयाँघरे

जन्म : २०२६ असोज १९, इलाम ।

शिक्षा : स्नातक

विधा : निबन्ध, नियात्रा ।

कृति:

        संवेदनाका स्वरहरू - २०५४ -निबन्ध सङ्ग्रह

        मुहूर्तको वरिपरि - २०५५ -निबन्ध सङ्ग्रह      

        मखुण्डाको मन - २०५५ -निबन्ध सङ्ग्रह

        काठमाण्डौलाई कोर्रा - २०५८ -निबन्ध सङ्ग्रह

        नीलडाम - २०६१ -निबन्ध सङ्ग्रह

        अनाम पहाडमा फनफनी- २०६२ -नियात्रा सङ्ग्रह      

        एक हातको ताली - २०६५ -निबन्ध सङ्ग्रह

        घामको चुम्बन - २०६७ -नियात्रा सङ्ग्रह

 

पुरस्कार:

        मदन पुरस्कार, शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार, मोती पुरस्कार, उत्तमशान्ति पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार आदि ।

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Essay / निबन्ध category

चिन्ता गर्नुपर्छ
मृत्यु फरवार्ड
भोग
चाल्दै-चाल्दै जीवन धूलो !
भुँवरीमा भिखम
पिञ्जडा भित्र कैद भएर आफ्नै गीत गाइरहेका क्यानरी चरीहरू
रातो राम्रो गुलियो मीठो
बाटो म्याद !
आँसु चुहेको कार्यक्रम
झिम्केको झोला
गिरिजाबाबु,अपनत्वभावको सिद्धान्त र हिन्दु हैन अध्यात्मीक राष्ट्र
नियात्रा इराकका रातहरू

    Links
Column / स्तम्भ

    Random Pick
एभेन नदिको किनारमा
भिक्टोरियन क्याफे
नदिमा पानी बगेझै
क्याफेका ग्राहकहरू
आउँछ-जान्छ
पहिले आएकाहरू

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
688948
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com