Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : December 28, 2011 | Author : गणेश राई
Category : Review / समिक्षा | Views : 629 | Rating :

  
गणेश राई
Author

. सैन्य/युद्धसाहित्यको पक्षमाः

नकारात्मकता युद्धप्रति आम मानिसको साझा धारणा रहँदारहँदै पनि युद्ध मानिसदेखि बिच्छेदित् रही अन्तिम अन्त्य हुन सक्तैन । मानवसमाजको सृष्टिसँगै टाँसिई आएको गम्भीर विषय हो अभिघात पीडा अथवा युद्धको गहिरो दुखाई । मानवजातिको अस्तित्वसँगसँगै युद्धको पनि समानान्तर उपस्थिति रहने सास्वत सत्यलाई मान्छेले अस्विकार गर्न सक्तैन । युद्ध नलडेको भूगोल खोई कहाँ छ ? कहाँ छ रगत नमुछिएको माटो ? जताततै लडाइँ छ । बमको पड्काई छ । हिंसाले बिस्कुन फिजिएको छ मान्छेको लास । युद्ध रोक्ने भगिरथ प्रयत्नको बावजुद मिसाइल बिष्फोट भइरहेछ मान्छेको हृदय भत्काउँदै । पाइलापाइलामा मान्छेसित नारिएर युद्ध हिँडिरहेछ । धड्कन धड्कनमा युद्ध मान्छेभित्र हुर्किरहेछ । अहम् अथवा इगोको मृत्यु सम्भव भएमात्र युद्धको पनि मृत्यु सम्भव हुनेछ । युद्ध हिजो थियो । आज छ । र, भोलि पनि त्यो रहने छ निरन्तर । मान्छेको बिचारमा आएको परिवर्तनसितै युद्धको प्रारुप पनि बद्लिनेछ अवश्य । प्रविधिले युद्धलाई अरु घातक बनाएको छ । त्यो क्रम अरु निर्ममतातिर बढ्ने छ । हिजोभन्दा आज र भोलि युद्ध अझ् महङ्गो ठहरिने छ र रहस्यमय पनि । मान्छे र लडाई एक अर्काका परिपुरक जस्तो अन्यौन्याश्रति सत्यलाई मान्छेले नकार्न मिल्दैन ।

यसै युद्धको विषयलाई लेखे धेरैले संस्मरणात्मक कलाले कुँदेर । यही विषयलाई पक्रे थुप्रैले काव्यिक विम्ब र भावले माझेर । आख्यानमा योद्धाहरू अमर मृत्यु मरे । ती विम्ब, प्रतिक र शैलिले लडाईको कहालिलाग्ने स्थितिलाई बल्झाउँदै आँखामै बिउँतिए । ती अमर साहित्यकार दरिए । दुख्दै पढे मान्छेले युद्धसाहित्य । आँसुले पढे । मुर्छा पर्दै बौरिदै पढे । भक्कानिदै भत्किदै पढ्नु युद्धलेखनको नियति । आत्माको कन्दरा रसाउँदै बङ्करको मृत्युसैंयाबाट आत्मियहरूलाई लेखिएको चिट्ठीपत्र, चिहानबाट मायालुहरूलाई मुटु चुडाउँदै पठाइएको प्रेमपत्रको प्रकाशन, आफै मरेको भावनाले ओतप्रोत कविताको मानवीय महत्वले मान्छेहरू जिउँदै थला परे । युद्धविपत्ति आफैलाई परेको तिनलाई गहिरो आभास भयो । युद्ध लडिन भन्दा धेरै पढिन पर्ने पो रहेछ-पढ्ने जतिले बुझेँ । मानवचेत युद्ध रोक्न तम्सियो । यद्यपि त्यो निरन्तर लडिरहेछ-नयाँ रुप, नयाँ जालसाझि र नवीन टेक्नोलोजिको उत्पादनले सुसज्जित भई ।

हेक्का राख्न पर्ने गम्भीर विषय-जो कोही युवा आफूजस्तै मान्छे मार्ने उद्देश्यले सिपाही बनेको हुँदैन । न त बहादुरी देखाई सम्मान प्राप्त गर्ने लाचार अभिलाषाले सैनिक बनेको हुन्छ । सामान्य सरल भाषामा भन्नुपर्दा रोजगारिको निम्ति सैन्य पेसामा लाग्नु विकल्पको अन्तिम विकल्पमात्र बाँकि हुन सक्छ । मान्छे मार्ने पेसा रहर होइन कसैको । लहड त झन् हुनै सक्तैन । समयको गुलाम बन्नु मान्छेको अनैक्षिक बाध्यता । परिस्थितिको द्योतक-डेथ सर्टिफिकेट खल्तिमा बोकेर हिँडेजस्तो सिपाही जीवनको मनोदशा । युद्ध अस्वीकृत हुँदाहुँदै पनि जब्बरजस्ती स्वीकार्न अनिच्छुक इच्छा गर्नु पर्ने सिपाही कर्म । हुकुमले कसेको सिपाही जीवन होमिन्छ युद्धको भड्खालोमा आफ्नै जीवनको लास बोकी । यद्यपि हेरिरहन्छ बिचरा ! सिपाही आफ्नै जिन्दगीको उज्यालो दीयो धिपधिपाइरहेको ।

गन्तव्य हुँदाहुँदै पनि झाडि फाँड्न नसकी गोरेटो बनाउँन नसकेको स्थिति थियो र छ नेपाली युद्धलेखनको अवस्था । झम्पल लिई गन्तव्य पुग्ने यात्रामा भीर चट्टान फुँटाउदै, हँसिया खुकुरीले झाडि फाँड्दै अब गन्तव्य पुग्ने यात्रामा निस्कने समय ढिला भइसकेको छ । इम्फाल र बिसेनपुरले युद्धको विवरण मागिरहेछ । टिग्रिस र इरावतीले लडाईको कहानी खोजिरहेछ । फोकल्याण्ड, इराक, कोसोभो, कारगिल, इस्टटिमोर, अफगानिस्तान आदिको राइफलले लडेको युद्ध अब कलमले मागिरहेछ । स्रष्टा नरेशको चेतनाले युद्ध बोकेको सिताङ देख्यो । उनले लेखे युद्धको विराट वीभिषिका । उठाऔं कलमहरू ! खिपौं अक्षरहरू ! बालौं चेतनाहरू !!!

 

. युद्ध बोकेको सिताङको सदृश्यताः

त्यो बिचरा ! जेठा कतिन्जेल भाग्न र लुक्न सक्थ्यो र आफ्नै निधारमा कोरिएको भाग्यरेखासित । जता गयो उतै पछ्याउँने छाँयाजस्तो, खेदिरहेथ्यो उसलाई आफ्नै कर्मले । खर्कलेखको गाईबस्तु गोठमा उसले देखेको क्षणिक सुरक्षा तुहुनु ऊ भर्तिमा नारिनु थियो । आखिर त्यो तुह्यो-सातुसामलको अभावले उसलाई घर डोर्याएजस्तै बाउसितको रगतको सम्बन्धको प्रगाढताको अभावमा ऊभित्र मानवता विराट छट्पटायो ।  भर्ति हुनु पर्ने राणाको उर्दीले गोठ भागेको ऊ राणा शासककै अगाडि निहुरिन पर्यो परिबन्दले । उसको भर्ति हुने मन्जुरीको कत्रो तागत बाउले तत्काल छुट्कारा पायो शासकको कब्जाबाट । जेठा योद्धा बन्ने अनेकौं संघर्ष पछि  जापानी सेनाको मेसिनगनको निसाना या हिटलरको तोपको चारो बन्न मानबहादुर कहलियो ।

नेपाली जातिभित्रका पनि मतुवाली भनिने वर्गभित्रका समग्रमा मगुरालि युवाका इच्छा विपरित बलजफि्त ब्रिटिस इस्ट इन्डिया कम्पनिमा भर्ति हुन पर्ने उर्दीको चिरफार गरीएको साझा नियतिको गुमनाम विषयबस्तुलाई कृति आरम्भको प्रस्थान बनाइनाले कृतिले ऐतिहासिक अदेखा पक्षलाई सतहमा उतारेको छ । स्रष्टा नरेश काममाङले यौटा अलिखित यद्यपि जनश्रुतिमा यदाकदा सुनिएको तीतो सत्यलाई सबैको सामु प्रष्ट पारिदिएका छन् । रोयल्टि बापत मिल्ने गतिलो रकमको लोभ र ब्रिटिस आक्रमणबाट बाँच्न मगुराली युवाहरूलाई जबरजस्ती उर्दी लगाई ब्रिटिस सेनमा भर्ति हुन पठाइने राणा शासकको परम्परागत षड्यन्त्रलाई उजागर गरीएको छ ।

जीवन मरणको दोसााधमा बाउआमा, भाइबहिनी, पि्रयजन आदिसित बिदा समेत हुन नपाई युद्ध भड्खालोमा जाकिन पर्ने जीवनको सन्दर्भमा कस्तो बिचित्र जीवन ; गोठाले जेठा फलामे अनुशासनमा बाँधिई सैन्य तालिममा नारिन्छ । युद्ध लड्ने क्रममा भिषण परिस्थितिको सामना गर्छ । ऊभित्र अनकौं भावनाका बाढीहरू उर्लिन्छन् कहालि लाग्ने गरी । जीवन भनेको व्यर्थैजस्तो पनि लाग्छ-क्षणक्षणमा मर्नु पर्ने, सम्झनामा बौरिदै बाँच्नु पर्ने । यौटा भ्रमभन्दा अर्थोक केही होइन जीवन भनेजस्तो । आफ्नै दृष्टिसामु सहयोद्धाहरू मरेको देखेर ऊ भक्कानिन्छ । आफू जीवित छु भन्ने विश्वास आफैलाई नलाग्ने भयावह मनोदशाले उसलाई अठ्याउँछ । युद्धत्रासबीच पनि तर मानवता नमर्दो रहेछ । उसले बगाएको रगत र पसिना, उसले भोगेको जीवन भोगाई, त्रासैत्रासमा बाँच्न पर्ने मानसिक पीडाले ऊ आफै थाक्छ, दुख्छ । सैनिक हुनुको कर्त्तव्यबोधले ऊ अर्कै जीवनमा बद्लिन्छ । सैनिक जीवन भनेको बदलिरहने मौशमजस्तो पो रहेछ-उसले यही बुझ्छ ।

युद्ध-अनेकौं ज्यानहरूको असामयिक मृत्यु । मानवताको निर्लुप्त समाप्ति । अङगभङग, घाईते, असक्तहरूको मानौं सम्मेलन । भय, पीर, चिन्ता, वेदना र जलनले किचिई बाँच्न पर्ने दरिद्रताको पर्याय । नरेशले लडाई लडिरहेको योद्धाजीवनलाई भयावह प्रस्तुत गरेका छन् । लडाईमा भाग्नु पर्ने अर्थात विथ्ड्रवल भइरहेको अवस्थाको सजिव चित्रणले छाडिने ती अशक्त चेलीहरूप्रति श्रद्धाभाव अनायासै जागेर आउँछ । आफैलाई भार भएको जिन्दगीले खोई के अरुको भार उठाउँला भनेजस्तो कस्तो विकराल स्थिति । तिनले सायद बर्मामै जीवन बिसाए ।

युद्ध चलिरहँदा सार्जन्ट दर्जामा मान बढेको मानहादुर लडाईको अन्त्यपछि काम पर्दा भाडो नत्र बन्यो ठाँडो भनेकै स्थितिमा आफ्नो थातथलोमा निचोरिएको कागतिको रुपमा फ्याकिनु पर्ने बाध्यताले नेपाली शासकका पैसा र शत्तामोहप्रतिको अकाट्य सत्यलाई उजागर गरेको छ । आफ्नो नागरिकको उपहासमा ती नपुङसक बेवास्ता रहनु कस्तो लाचार बिडम्बना ! उसको जीवनले अनेकौं दुःख सास्तीका कहर काट्यो । उसका परिवारजन पीरैपीरमा मर्दै बाँच्दै रहे । युद्धत्रासदीको यो अदेखा यातनालाई कुन सहानुभूतिको झुटो शब्दले क्षतिपूर्ति गर्न सक्ला ? मतुवाली नेपाली समाजभित्रको यो दारुण दुखाई अभोगा नेपालीलाई दुख्यो कि दुखेन । खुकुरीको चोट अचानोलाई भनेजस्तो रमितेलाई मात्र रमिता पो भयो कि !

तारी गाई र माले गोरुकै सन्तानको गोठालो बन्न विश्वयुद्ध विजेता नायक मानबहादुर पुनः आफ्नै गाउँठाउँ फर्किन्छ । विश्वविजेताको अपमान कति लज्जाजनक छ-शरमलाग्दो छ युद्धपदक छातीमा सिउँरी गोठालो बन्न पर्ने बाध्यता । उसलाई बेच्नेले सोच्यो न खरिदनेले सोच्यो । बैंश रित्तिएपछिको उदेकलाग्दो यो प्रवितिको जम्काभेट पन्यासिक संयोग र कलामात्र होइन परन्तु खाटि वास्तविकता हो ।  ताराहाङ र रणबहादुरहरू युद्धको कथा चाख मानिमानि सुनिरहँदा कथा भन्ने बूढो लाहुरे मानबहादुर कति पल्ट मर्यो र बिउतियो । लछप्प भिज्यो आासुले उसको दृष्टिचेत । त्यो भीषणता अरुभित्र होइन उसैभित्र अथाह खप्टिई रहेको थियो । आम योद्धाको समानान्तर जीवन भोगाईको कारुणिक अवस्थाले इतिहासको सच्चाई मागिरहेछ ।

 

. उपन्यासको ऐतिहासिकता र पात्रान्मक भावभूमिः

उपन्यासले पर्याप्त दोस्रो विश्वयुद्धलाई समेटेको छ उपन्यासकार अफ्गानिस्तानकालका योद्धा भएपनि । केही मात्रामा पहिलो विश्वयुद्धलाई पनि यसले जोडेको छ । बिसेनपुर, इम्फाल, इरावती नदी अथवा बर्माको युद्धभूमिमा गोर्खाली पराक्रम वीरतापूर्ण जसरी लडेको थियो त्यसरी नै लडेको छ यथार्थ कृतिगत युद्धमा पनि । यसमा लडाकाहरू अनेकौं छन् । लडाई भन्नसाथ सहभागिता बहुआयामिक हुने हुनाले विभिन्न योद्धाहरूको समानान्तर बहादुरीको सामेल सान्दर्भि छ । सोहि अनुसार युद्धस्थलगत विविधताः कहिले उत्तर अफ्रिकि मुलुक, कहिले युरोप, कुनै समय मध्यपूर्व र अत्यधिक पूर्वी एसियाका भूगोलका अनेक जलथलमा योद्धा लडेको छ । जीवनको असलि अर्थ खोट्याउँन राइफलले जीवन थेगेर लड्दै हिँडेको फिरन्ते इतर जीवनको निर्भयपाटा स्वाभाविक लाग्दछ । स्टारवार अर्थात भूउपग्रहको माध्यमले अत्याधुनिक युद्धमा रुपान्तरित आजको लडाई त्यसैको प्रतिकपि हो । 

कृतिगत ऐतिहासिकतालाई पक्रेर विश्लेषण गर्नु पर्दा ब्रिटिस सेनाको सर्वोच्च युद्धपदक भिक्टोरिया क्रस विजेता गोर्खालीहरू प्रायः सबैलाई समेट्नु अर्को सफलता र उपलब्धि हो नरेशको तीक्ष्णताको । सन् १८५६, जनवरी २९ मा महारानी भिक्टोरियाबाट स्थापित भिक्टोरिया क्रस प्राप्त गर्ने सन्दर्भमा समेत गोर्खाली वीरताको बेवास्ता आरम्भिक कालमा गरिएबाट भेद्भावको लामो इतिहास रहेको तथ्य छर्लङ्ग बुझ्न सकिन्छ । ब्रिटिस सेनाले जत्तिकै दुःखकष्ट र युद्धको महामारिमा बलिदानि गर्ने र अझ् उच्च पराक्रम गर्ने गोर्खालीहरूको वीरताले भिक्टोरिया क्रस पाउनबाट वन्चित गरिएको तथ्य उनीहरूको सेवा र बलिदानको कदर नगरीएको ठहर्छ । प्रथम र दोस्रो विश्वयुद्ध अनि बोर्नियोको युद्धमा अमर युद्धबहादुरी प्रदर्शन गरेबापत तेह्र जना गोर्खाली सिपाही भी.सी. पदकबाट सम्मानित बने । वीरताको यो साँचो कथा, बहादुरिको सर्वोच्चता कृतिभित्र समेटिनु ऐतिहासिक सृजनशिलताको नमूना हो ।

अनेक पात्रहरूको अभूतपूर्ण सम्मेलन र सन्तुलन हो युद्ध । विविध पात्रहरू रहँदारहँदै पनि पात्रको पनि पात्र मानबहादुरको जीवनले खेलेको कथानक पात्रभूमिकाको अहम रोलले उपन्यासको गतिशिलतालाई जीवन्त जीवन दिएको छ । त्यो सिताङ नदीझैं बेरोकटोक बगेको छ निरन्तर । निमित्तपात्र अर्थात कटूवाल या मेसेन्जरकोजस्तो सम्बादको मेसोले कथालाई एकार्कासित बुन्ने कार्यमा ऊ आफै चुडिदै पनि कथालाई जोडाएको छ । टासाएको छ कलाको बलियो जुईनाले । वारि पारि बेवास्ता फालिएको जीवनलाई मानौं उसले जोड्ने धर्म गरेको छ साघुँ टाँगिई । यो विविध संस्मरणात्मक आलेख नभई उपन्यास हो कलाले भरिएको । युद्धउपन्यास हो विभिन्न पात्रले बलिवेदिमा जीवन लडाएको । उपन्यास पहिलो प्रयास हुँदाहुँदै पनि स्रष्टा नरेशले उपन्यासकारको कित्तामा दरिन गरेको अथाह प्रयत्न पठनीय छ । कृतिले त्यसै भन्छ ।

 

. सैन्य र युद्धउपन्यासमा दोहोरिने विषयबस्तुबीचको सन्तुलनः

अधिक अध्याय युद्धैयुद्धको वीभत्सले भरिपूर्ण भएतापनि राइफल बोकेको तर गोलि नपड्केको केही कथानक पनि छ कृतिमा । युद्ध गोलि पड्काईको अपार सम्मेलन हो । त्यहाँ गोलिसँगै जीवन पनि पड्किन्छ । मृत्युसित जीवन साटिन्छ । युद्धमा प्रत्येकको हारजित हुन्छ । योद्धायोद्धाको जीवनको फैसला हुन्छ । युद्ध बोकेको सिताङ मा पनि त्यसरी नै फैसला गरिएको छ योद्धाजीवनको । बर्माको सिताङ नदीले गोर्खाली जीवन निलेको कथा धेरै पुरानो यथार्थ हो-झण्डै सत्तरि वर्ष पहिलेको । त्यो गणेश राईकृत युद्ध एम्बुसमा राइफलको सङ्गीतमा साङगोपाङगो छ । यहाँ यस कृतिमा पनि वणिर्त छ । उही विषयवस्तु र भौगोलिकता समान रहँदारहँदै पनि त्यो फरक भाषामा छ, कलामा छ । प्रस्तुति र वर्णनात्मक पृथकता शैलिमा छ । यसर्थ उही विषय जति लेखिए पनि त्यो नौलो लाग्नुको अर्थ यही हो । पठनीय रहनुको गुहृय यसरी नै हो ।

सैन्यउपन्यासमा गोलि नपड्के पनि जीवन नभुटिए पनि त्यहाँ युद्ध अगाडिको अभ्यास हुन्छ । त्रास हुन्छ । जसले युद्धमा योद्धालाई सामेल हुन तयार गर्छ । परिस्कृत गर्छ । त्यसर्थः युद्धको पूर्व तयारी हो सैन्यउपन्यास । बिना तयारी अभ्यासरहीत मेसिनगनको भुङग्रोमा हामफाल्ने दुस्साहस कसैले गर्दैन । कला र सिपले जीवन बलियो बाँधेर जीवनको अनन्य फैसलामा सामेल हुनु भनेको पल्लो किनारासम्म जीवन खिायाउनुको सुकिलो सङकेत हो ।

सैन्य वा युद्धउपन्यासमा एकै पदावलि पटकपटक आउँछन् । ती दोहोरिन्छन, कहिले तेहरिनेमात्र होइन प्रशस्त प्रयोगमा आउँछन् । टेक्निकल वर्डहरू, हतियारका नामहरू, आक्रमणका अर्डरहरू आदि इन्यादि उस्तै हुन्छन् दुरुस्त । ती दोहोरिए पनि चाहे तेहरिय पनि ती केवल साधन हुन् साध्य होइनन् । साध्य त ती हुन् जो जीवनको जोखिम उठाउँछन् । अन्ततः जीवन पार तार्छन । सैन्यकथानक र युद्धकथानकताको प्रारुप र विभिन्नता उस्तो अन्तर नलाग्न पनि सक्छ । तथापि, सैन्यतयारीको क्लाइमेक्स युद्ध हो । नाम्चेबाट सगरमाथा हेरेर चित्त बुझाउनु र सगरमाथाको शिरमा पाइला टेक्नुको तात्विक भिन्नता जति छ त्यस्तै हो सैन्य र युद्धबीचको अन्तर पनि । यस सत्वमा नरेश काममाङको युद्ध बोकेको सिताङ विशुद्ध युद्धसाहित्य हो

 

 . यस कृतिले कहेका अनन्य पक्षः

यो कृतिले यावत कुरो कहेको छ । सुक्ष्म विचरण यसले मागेको आवश्यक्ता हो । योभित्र युद्ध छ । युद्धसँगै सैन्य जोडिएको छ । पात्र र प्रवृति विविध छन् । भौगोलिकताको परिविन्दु एकस्थानमा सीमित छैन् । अनेक स्थान छन् । फाल्टो भूगोल, फाल्टो पर्यावरण-ठाउँ पिच्छे नयाँ लाग्ने भिन्न अवस्थिति । आजको साइवर युगीन विश्वमानवजस्तो लाग्ने त्यो दिनको इतिहासको युद्ध परिवेश र त्यसको पात्रको चरित्र ।

यो कृति युद्धउपन्यास हो भनेर माथि नै भनिसकियो । त्यति हुँदाहुँदै पनि योभित्र समेटिएका अन्य पाटाहरू पनि छन् । अरु पक्षहरूलाई अन्य कोणबाट पनि हेरिन पर्ने आवश्यक्ता मागेको छ यस उपन्यासले । यसलाई डायस्पोरिक चिन्तनले पनि बुझ्न सकिन्छ । यहाँभित्र थुप्रै पटक भक्कानिदै नोस्टाल्जिक बल्झेको छ बहुपात्र । यौटा उदाहरण-अस्पतालको बेडबाटै घाइते अवस्थामा यौटा पात्रलाई आमाको देहावसानले घर कुदाउँदै पुर्याउँछ । सम्झनामै भए पनि  आमाको लास अघि ऊ छाती पिट्दै रुन्छ । उसको मनोदशाले डोर्याई उसलाई आफू रहेको वर्तमानदेखि उखेलेर अतिततिर प्रतिस्थानान्तर गराउँनु भनेको ऊ एकातिर शारीरिक उभिनु र मन अर्कोतिर केन्दि्रत गर्नु हो । यसमा छपक्कै डायस्पोरा दुखेको छ । यो डायस्पोरिक लेखनले अभिभुत छ ।

साँस्कृतिक कोणबाट पनि यसलाई दरिलो उभ्याउन सकिने प्रसस्त आधारहरू यसभित्र छन् । किराँत समुदायभित्रको राई जातिको बलिष्ठ सम्बन्ध यसभित्र जोडिई आएको छ । किराँत साँस्कृतिक चेत अथवा किराँत सौन्दर्यशास्त्रको सिद्धान्तबाट पनि यसलाई मिहिन बुझ्न सकिने बलिया आधारहरू छन् । विवाहसंस्कारका आदिम पक्षहरू, साकेला गीत र नाँचका प्रचलित मान्यताहरू, धामी बिजुवा आदिका साँस्कृतिक महत्वहरू पनि यहाँभित्र अटाइएको हुनाले यसलाई साँस्कृतिक विम्बले निर्मित चेतयुक्त कृतिको लहरमा उभ्याई दाँज्न सकिन्छ । यौटै कृतिभित्र यति बृहत विषयवस्तु अटाउँन सक्नु लेखकको लेखकीय क्षमताको र विविध ज्ञानको कारणले सामर्थ भएको हो । उनीबाट आयामिक आशा अरु गर्न सकिन्छ ।

 

. अन्त्योत्तेर अन्त्यः

युद्धलेखनको ऐतिहासिक पाटोलाई उप्काउँने, सम्वाद गर्ने, फेरि उप्काउँने र शब्दमा उतार्ने गहन जिम्मेवारीलाई पूरा गर्न थुप्रै मेहेनतको आवश्यक पर्दछ । इतिहासको लेखन या पुनर्लेखनले प्रचुर अध्ययन माग्दछ । तथ्यपरकता पनि खोज्दछ यस्ता ऐतिहासिक कृतिले । सन्दर्भस्रोततर्फ प्रशस्त मष्तिस्क खर्चिन पर्ने हुन्छ । अथक प्रयासले साधै मीठो सङ्गीतको लय दिन्छ । हो, त्यस्तै रहेको पाएको छु मैले यो कृतिमा पनि ।

स्रष्टा नरेश काममाङले प्रशंसनीय काम गरे-ऐतिहासिक पक्षले अभिभूत भएको । उनको आलोकले युद्ध बोकेको सिताङ आलोकित छ । त्यो उज्यालो परैबाट देख्न सकिन्छ छर्लङ्ग । अनुकरण गर्नु असाध्यै राम्रो हो असल कामको । अनुकरण गरुन् र लेखुन् अरु स्रष्टाले पनि युद्ध या सैन्यसाहित्यको फाँटमा । अन्य कृति पनि आउँलान् । यस्तै कार्यले यस क्षेत्रलाई अरु सघन पार्ने हो । त्यो कसै अरुले पार्दैन योद्धा आफैले पार्ने हो । कुादाउनु पर्छ कलम नरेशले जस्तै मष्तिस्को आयतन उधारी ।

अन्त्यमा, नरेशको जिम्मेवारी बढेको छ । उनी कवि र गीतकार त थिए नै । अब आख्यानको पगरी अर्थात उपन्यासकारको भारी उनको थाप्लोमा थपिएको छ । यो थपिनु निश्चित चुनौति र जिम्मेवारी बढ्नु हो । चुपचाप बस्ने समय अब उनको रहेन । उनलाई यस कृतिको निम्ति हार्दिक आभार । बधाई ।

युद्ध बोकेको सिताङ को प्रकाशन जिम्मेवारी लिने नेपाली प्रतिभा प्रतिष्ठान बेलायत/ब्रुनाईका अधिकारीहरू पनि हार्दिक आभारका भागिदार छन् । उत्प्रेरित गरे उनीहरूले नरेशलाई यस कृतिको प्रकाशन गरेर ।

यस कृतिबारे लेखिरहँदा म पटकपटक युद्धको निम्ति निस्केा । पुरानो सम्झनाले मलाई युद्धमोर्चामा उभ्यायो । म पुगेँ बर्माको सिताङ नदीमा । एम्बुसमा परेँ । जापानी आक्रमणमा पनि परेँ । बाँकटे पौडेर जसोतसो मृत्युलाई छलेँ । कसो ?  म पुनः मान्छे भई बिउतिएँ ?  सलाम युद्ध बोकेको सिताङ ।

आलङने सेवा !

लन्डन (इस्टहाम) बेलायत ।

११.११.११




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
एक्लो पारी गयौ तिमी, सम्झनामा बाँच्छु प्यारी
तिमी मेरी नभए नि, चोखो माया साँच्छु प्यारी
जुन्किरीको उज्यालोमा, रमाउन सिक्दैछु म
बन्द भए सारा ढोका, झ्यालबाट देख्दैछु म
परेलीमा सजाइ राखें, गयौ मलाइ माया मारी
तिमी मेरी नभए नि, चोखो माया साँच्छु प्यारी

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
596081
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com