प्रज्ञा प्रतिष्ठान नेपालका सदस्य साहित्यकार तथा प्राध्यपक डा. गोविन्द राज भट्टराई वेलायत आउनु भएको अवसरमा काङमाङ नरेशले लिएको अन्तरवार्तको सारसंक्षेप:
प्रश्न: तपाई वेलायत आउनुको मुख्य उदेश्य के हो ?
उत्तर: म वेलायत आउनुको मुख्य उदेश्य अ.ने.सा.स.ले आयोजना गरेको दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा अतिथीको रुपमा एउटा कार्यपत्र प्रस्तुत गर्दै सहभागी हुन आएको हुँ ।
प्रश्न: अरु कुनै कार्यक्रम पनि छ की ?
उत्तर: अन्य कार्यक्रमहरू पनि छन् । नेपाली प्रतिभा प्रतिष्ठान वेलायतले आयोजना गर्ने साहित्यिक अन्तरक्रिया कार्यक्रममा मेरो सहभागिता हुने छ । त्यस्तै फ्रान्समा एउटा कार्यक्रम छ त्यसमा मेरो सहभागिता हुने छ र अन्य व्याक्तिगत भेटघाटहरू पनि छन् ।
प्रश्न: तपाई नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य हुनुहुन्छ, अहिले नेपाली साहित्यको स्थिति कस्तो छ ?
उत्तर: नेपाली साहित्यको स्थिति विगतको तुलनामा अत्यन्तै उच्च रहेको छ । सबै विधामा शिर्ष लेखनहरू भैरहेका छन् । सम्भावनाको स्थिति पनि धेरै राम्रो छ । धेरै स्रष्टाहरू जन्मिएका कारणले पनि धेरै उत्साहाजनक स्थिति छ ।
प्रश्न: नेपाली साहित्यकारहरूको आर्थिक पक्ष कस्तो छ ? के अब लेखेर बाँच्न सक्छन् लेखकहरू ?
उत्तर: अहिलेको समयमा राम्रो लेख्न सक्ने स्रष्टाहरूले लेखनबाटै आफ्नो जीविकोपार्जन गर्ने स्थिति आएको छ । शिक्षित वर्गहरू भर्खरै बढ्दै गरेको मुलुकमा यो सकरात्मक भन्नु पर्छ ।
प्रश्न: तपाईको विचारमा कति प्रतिशत नेपालीहरूले किनेर पुस्तक पढ्छन् होला ?
उत्तर: तपाईले वास्तवमा ज्यादै महत्वपूर्ण प्रश्न सोध्नु भयो । हामीले यसको तथ्यांक राखेका छैनौं तर पनि के बुझ्न सकिन्छ भने एउटा कृतिको राम्रो सम्पादन गरेर हरेक कौशल पुरा गरी निकालेको कृति छ भने एक वर्षमा एक संस्करण थपिदै गएको छ । उपन्यास, संस्मरण, कथा, नियात्रा, जीवनी जस्ता कृतिहरू धेरै बिक्रि हुन थालेको छ । एक कृति बराबर ५० देखी ६० हजारले पढिरहेका छन् । त्यसैले पनि नेपालीहरूले पुस्तक किनेर पढ्ने बानी बढिरहेको बुझ्न सकिन्छ ।
प्रश्न: उत्तर आधुनिकवाद अथवा पोष्ट मोडर्निजम नेपाली साहित्यमा ल्याउने मध्यको तपाई पनि एक हुनुहुन्छ, यसले नेपाली साहित्यमा कास्तो महत्व र प्रभाव राखेको छ ?
उत्तर: अघिको नेपाली साहित्य राजनिति विभाजन भित्र पर्ने मात्र हुन्थ्यो । उत्तर आधुनिक्ताको धारणा विश्वव्यापि भएको र त्यो धारणा प्रवेश गराई सकेपछि हामीलाई धेरै विभाजन गर्न सजिलो भयो । जस्तो कि तपाईको लेखन प्रयोगमा के छ ? अथवा पारामपरित शैलीमा सुन्दरता आउँछ कि ? तपाईको लेखनमा युद्ध क्षेत्रबाट आएको युद्ध साहित्य अथवा सैन्य साहित्य छ कि ? तपाईको लेखनमा डायस्पोरिक समुदायको पृष्ठभूमीमा लेखिएको छ कि ? तपाईको लेखन साइबर जगतको नजिकबाट ईलेक्ट्रोनिक छेउछाउ हुने गरी लेखिएको छ कि ? हरेक दृष्टिकोणहरूबाट पो लेखिएको छ कि ? जीवन अनेक दृष्टिकोणको भएकोले गर्दा धेरै दृष्टिको मान्छेहरूको बसाई हुने गरेको यो धरातलमा धेरै धेरै हाँगाहरू लेख्ने जीवनको सम्भावनाहरू उत्तर आधुनिक्ताले खोलि दियो । यो बहुलतामा, विविधतापूर्णका जीवन हुन्छ भन्ने मान्यताहरू स्थापना गरिदियो । त्यस्तै ईथ्निक समुहबाट लेखिईने साहित्यको अर्कै सौन्द्धर्य हुन्छ । ईथ्निक अध्ययनले यसको हेरचाह गर्दछ । यस्तो विभिन्न किसिमबाट साहित्यलाई केलाउने हाँगाहरू नै उत्तरआधुनिक साहित्य हो । पहिला २ वटा हाँगाहरू थिए अहिले १२ ��"ं १५ ��"ं हाँगाहरू भएका छन् ।
प्रश्न: नेपाली साहित्यमा मकै पर्व देखि अहिलेसम्म धेरै साहित्यिक आन्दोलन र वादहरू आए, यो हुनु राम्रो हो कि साहित्यलाई केन्द्रिय करण गर्नु राम्रो हो ?
उत्तर: विश्व साहित्य र नेपाली साहित्यलाई हेर्दा यस्ता वाद र आन्दोलनहरू आएनन् भने पलाउँन छाडेको वृक्ष जस्तै हुँदोरहेछ । केही पुराना पातहरू हरेक सृजनमा झर्दै जान्छन् नयाँ पातहरू पलाउँदै आउँछन् । भाषा साहित्यको, लेखन शैलीको र विचारको एउटा जीवनताको निरन्तरताको लक्षण नै नयाँ विचार र नयाँ आन्दोलनहरू थपिँदै जाने कुरो रहेछ । जस्तै हामीले लेखिने भाषामा संस्कृत भाषामा कुनै नयाँ कुरा खोलौं भन्दा पनि नयाँ कुरा खुल्दैन त्यो वृक्ष सुकिसकेको छ । त्यसैले यो जीवन निरन्तरताको लक्षण हो ।
प्रश्न: डायस्पोरिक नेपाली साहित्यको भविष्य कस्तो देख्नु हुन्छ ?
उत्तर:यसको भविष्य अत्यन्तै राम्रो छ । अंग्रेजी र अन्य साहित्यले विश्लेषण गरेको हेर्ने हो भने आफ्नो जन्मभूमीबाट अलग भएर कर्मभूमीमा बसेर पनि अनेक किसिमको साहित्य, संगीत र कलाको सृजना गर्ने धेरै भाषाहरू छन् । झण्डै झण्डै विश्वको एक चौथाई जनसंख्या अन्य भूमीमा गई बसेर आफ्नो कला, साहित्य र संगीतको परिचय दिने गरेका छन् । यो एउटा परिचयको कर्म हो । मैले झण्डै २०० पृष्ट भन्दा बढी डायस्पोरिक साहित्यको बारेमा डायस्पोरिक साहित्यको पठन पाठनको बारेमा लेखेँ होला । त्यसलाई त्रि.वि.विले स्वीकार गरी सकेको छ ।अहिले डायस्पोरिक साहित्यको सानो युनिट पढाई भईरहेको छ,जस्तै तपाई र मिजासले सम्पादन गरेको सिमाहीन विम्बहरू, हङकङका कविताहरू आदि पढाई भैरहेको अवस्था छ । यो एउटा नेपाली साहित्यको भेराईटि हो । यस्ता कयौं भेराईटीहरू मिलेर मात्र मूल साहित्य बन्दछ । यो समग्र नेपालीहरूको पहिचान हो ।
प्रश्न: गैर आवासिय साहित्य र डायस्पोरिक नेपाली साहित्यमा के भिन्नता छ ?
उत्तर: विश्वमा झण्डै २०० वटा डायस्पोराहरू छन् । त्यहाँ एउटा भारतवर्षमा मात्रै २८, ३० वटा भाषा छन् । ति भाषाले बनाएको भिन्न भिन्नै डायस्पोराहरू छन् । जस्तै नेपाली वेलायती डायस्पोरा, गुजराती क्यानेडियन डायस्पोरा, केरालाईट अमेरीकी डायस्पोरा, यस्ता डायस्पोराहरू विश्वमा झण्डै २०० वटा छन् । यसमा भाषाको बेग्लै स्वरूप, राजनैतिकको बेग्लै स्वरूप, जीवन चक्रको बेग्लै स्वरूपको अध्यन भैरहेको छ । यो एउटा हाँगा जस्तो हो । कुनै कुनै फूल, वृक्षमा २-३ रंगका फूलहरू फुलेका हुन्छन् । फूल र वृक्ष त एउटै हो तर त्योबाट पलाएर फुलेका फुलहरूको रंग अर्कै भए जस्तो यो तेस्रो भिन्न प्रकारको साहित्य हो ।
प्रश्न: तपाईले भूमीका लेख्नु भएको धेरै कृतिहरूले मदन पुरस्कार पाएको छ तपाईलाई कस्तो लाग्छ, आफूले भूमीका लेखेको कृतीले पुरस्कार पाउँदा तर आफुले नपाउँदा ?
उत्तर:मलाई रमाईलो लाग्छ । मैले भूमीका लेखेको जम्मा ५ वटा कृतिहरूले यसपाली सम्म यो पुस्कार पायो । यसपालीको झमकको जीवन फूल की काडाँले मदन पुरस्कार पाउँदा म धेरै खुशी भए त्यो खुशी जत्तिको खुशी मैले पाए भने पनि हुन सक्दिन होला । म एउटा निमित्त मात्र हुँ । एउटा माली जस्तो मात्र हुँ जस्तो लाग्छ ।
प्रश्न: मदन पुरस्कार त निश्पक्ष दिदैन भन्ने हल्ला जहिले पनि चलीरहन्छ, तपाईलाई कस्तो लाग्छ ?
उत्तर:त्यस्तो टिप्पनी म गर्न सक्दिन । पुरस्कारको लागि ४०० देखी ५०० प्रत्यासी कृतिहरू हुन्छन् प्रत्येक वर्ष । सबै कृतिहरू राम्रो नै हुन्छन् तर सबैलाई पुरस्कृत गर्न नसकिने हुन्छ । सकेसम्म कमिटीले निश्पक्ष भएर नै काम गरेको पाएका छौं । यति पुरानो संस्था चुक्न र नझुक्न पर्ने हो । मलाई चाहि निश्पक्ष नै भए जस्तो लाग्छ ।
प्रश्न: साहित्यमा लाग्नु भएको कति वर्ष भयो ?
उत्तर: २०३१ सालमा मुग्लान भन्ने उपन्यास मेरो पहिलो कृति हो त्यसैले ३७ वर्ष भएछ ।
प्रश्न: यति लामो नेपाली साहित्यमा योग्दान दिनु भयो, मदन पुरस्कार पाउँछु भन्ने लाग्दैन ?
उत्तर: हाँस्नु हुन्छ । पाउँछु जस्तो त लाग्यो होला तर मेरो कृति अरुको भन्दा कम्जोरी होला भन्छु र चुपचाप बस्छु ।
प्रश्न: तपाईको हातमा कतिवटा कृति भूमीकाको लागी स्रष्टाहरूले थमाई दिएका छन् ?
उत्तर: त्यस्तै ४१ वटा जति कृतिहरू थमाई दिएका होलान् ।
प्रश्न: अन्तमा के भन्न चाहानु हुन्छ ?
उत्तर: यहाँ ४ वटा साहित्यिक संस्थाहरू सक्रिय भएर लागीरहेको रहेछ । सम्भव भएमा ठाउँ ठाउँमा नेपाली पुस्तकालयहरू खोल्न सके राम्रो हुन्छ । नेपाली बस्तिहरू भएको ठाउँहरूमा नेपाली पठन पाठनको शुरु गर्न सके भविष्यमा नेपालीहरूको लागि राम्रो हुन्छ जस्तो लाग्छ । नेपाली साहित्यलाई अनुवाद गर्न आवश्यक छ, त्यसैले अनुवाद गरेर नेपाली साहित्यलाई विश्वामा चिनाउँन आवश्यक छ । तपाई र मिजासले सिमाहिन विम्बको अनुवाद गराउँदै हुनु हुन्छ हो यस्ता खालका कृतिहरूको अनुवाद गर्न आवश्यक छ । यो कामको शुरुवात गरि सक्नु भएकोले डायस्पोरामा रहेका साहित्यकारहरूले नै यस्लाई निरन्तरता दिनुहोस् भन्न चहान्छु ।
|