भरखरै सुनें, गतिलो निर्णय लिनु भएछ-
अनिकालमा राशन पाए जस्तो
काकाकुललाई पानीको वर्षा भए जस्तो
गाई जात्रे नाटकमा नयाँ श्रृखलाहरू थप्नलाई
मध्य रात नै किन पर्खन नपरोस्
आखिरमा गरेरै छाड्नु भो
लोभि पापीमा पुन: मिलाएर वाड्नु भो
चलिआएको परम्परालाई कायमै राख्नु भो
धन्य छ, धन्य यहाँको लगनशिलतालाई ।
भन्छन्- एकलै नखानु, वाँडेर खानु,
चोरेर नखानु वरू मागेर खानु
क्यावात ! आपसमा वाडेर खाने वुद्धिलाई
दिनमा नै तारा देखाउने खाने सुद्धिलाई
नाटकेलाई बधाई छ, लोभी पापीलाई स्वागत छ
काले काले मिलेर खाउ भालेको बधाई छ ।
भरखरै छापाहरूमा पढे, गतिलो स्मरणियवाणी वोल्नु भएछ-
कतै पोलपोट पो होकी जस्तो
हतियारको सिरानीमा मस्त निदाउने तालिवान जस्तो
ज्यानहरूमा फलाम साट्ने
रगतसँग वारूद भाज्ने
हिजो पनि मात्नु भो
आज पनि मात्नु भो
यो वान्दुके नशाको धङधङीले कहिले नछाड्ने भो
धन्य छ, धन्य यहाँको आर्दशलाई ।
आहानै छ- हण्डीमा सातु छ भने मूसा नाच्छन रे
भदौमा आँखा फुटेको डिङगो सधैं हरियो देख्छन रे
के वोलौ र फलामे वुद्धिलाई
के भनौ र रगतसँग वारूद साटने सुद्धिलाई
फलामे सलाम छ, वारदे सलाम छ
फलाम जस्तै वारूद जस्तै कालो सलाम छ ।
भरखरै देखे, प्रशन्न मुद्रामा छाती खोलेर साक्षी बस्नु भएछ
कतै रोटी जोख्ने तराजु बोकेको वादर पो हो की जस्तो
पशुपतिको साँढेलाई स्यालले पो पछ्याइ रा छ की जस्तो
लड्डु पाए नाइटो फर्केको थाहा नपाउने
सिन्को नभाच्ने अरूलाई पनि गरि खान नदिने
हिजो पनि डाट्नु भो
आज पनि डाट्नु भो
यो जनतालाई ठगी खाने प्रवृति कहिले नहटने भो
धन्य छ धन्य यहाँको परम्परालाई ।
भन्ने गर्छन- अल्छे तिघ्रो स्वादे जिव्रो काम लाग्दैन रे
अरूको शिकारमा पल्केकाले आफू शिकार गर्दैन रे
के बोलौ र वादरे वुद्धिलाई
के भनौ र छेपारे सुद्धिलाई
वाँदरे दर्शन छ, छेपारै जदौ छ
वाँदरे जस्तै छेपारे जस्तै दर्शन जदौ राम राम छ ।
भन्न मन लागेको छ, यहाँलाई पनि क्यावात छ,
भन्न कर लागेको छ, वहालाई पनि धन्यवाद छ
के गर्ने लोभी पापी आए पनि नमस्ते छ
वन्दुके आए पनि सलाम छ
छेपारे आए पनि जय राम छ
किन की हामी दिन मात्र जान्दछौ
त्यसैले हामीलाई पनि बधाई छ बधाई । |