मरूभूमि जस्तो अतृप्तता
छ जीवनमा
कुनै चीजले पनि
तृप्त गराउन सक्दैन !
जानी-जानीकन भिडिएको छु
सूर्योदय देखि सूर्यास्तसम्मको दौडमा
म र मेरो रंग पोतेर
उज्ज्याला अनुहारभरि
केवल आफ्नो तस्वीर हेर्न चाहने म मान्छे !
म चाहन्छु
मेरो समयमा
आफ्नै अनुहारको बिम्ब उत्रियोस
मेरो क्यानभासमा पीडाको ध्वाँसो खनिएर
धमिलिएको यो समय
चाहनाहरूको रंग पोखिएर
छताछुल्ल छ यो रात
असमन्जसमा छु
मैले उतार्न चाहेको त्यो प्रतिबिम्ब कुन होर ! |