म हुँ गोर्खाली
राष्ट्रियता हराएको
परिचय गुमाएको
बाच्नलाई खान एक पेट
मिठोको लोभमा
भएर जिब्रोको दासी
मेरो नाम हो गोर्खाली,
टिष्टा-काकडाका पहरेदार
थिए मेरो पुर्खा नेपाली
मेचि-महाकालीमा खुम्चियो
म हुँ वीर गोर्खाली,
युद्धमा उम्रिएको पप्पि फूल
बोकेर बारुदको भकारी
अरुको निम्ति दिन्छु ज्यान
हुँकुम पाउनु मेरो शान
प्राण भन्दा प्यारोछ कर्तब्य
अरुको सिमाना रक्षा गर्नु
हो मेरो प्रमुख काम
लाग्छ मनै हुँ वीर बहादुर
किनकि
राष्ट्रियता हराएको
परिचय गुमाएको
न देशले साथ दिएको
न मालिकले हात दिएको
हिजो युद्धमा सर्वस्व गुमाएर पनि जितेको
आज कठघरामा जितेर पनि लुटिएको
बल्छिको माछा झै तडपिदै
हुँनलाई तेस्रो दर्जाको नागरीक
स्वईच्छाले राष्ट्रियता गुमाएको
हुँ म वीर गोर्खाली,
आमाले आशु नझारेस
माटोले श्राप नदिएस
देउराली भञ्याङ,चौतारी
नभुल्नु मलाई दौतरी
फ्याक्नेछु गोर्खाको पगरी
हुँनेछु एक दिन फेरि नेपाली
म हुँ नेपाली ।
(नोट:यो कविता नेपाली महासंघद्वारा आयोजित कविता प्रतियोगितामा दोस्रो भएको थियो) |