चगुरुजी !
म जान्न युद्धभूमि
गोरा साहेबलाई भनिदिनुस्
मेरा नाबालक छोराछोरी छन्
एक तरुनी बुढी छ,
कपालमा हिउँ झरेको
अनुहारमा रेखाहरू कोरिएको
बाबाआमा छन्
म एक्लो छोरा
गुरुजी म जान्न युद्धभूमि
गोरा साहेबलाई भनिदिनुस् !
मलाई थाहा छ गुरुजी
म नै मारिन्छु युद्धमा
किनभने
म मान्छे मार्न सक्दिनँ,
विपक्षी योद्धाले मैले जस्तो सोच्दैन
मेरो निधारमा
छातीमा ठ्याक्.. ठ्याक्.. ठ्याक्..
हान्छ गोली
भोकदेखि बाँच्नका लागि
भर्ती भएको हुँ गुरुजी
मान्छे मार्न कहाँ सक्छु म ?
युद्धमा
न कुनै आतंकवादी मारिन्छन्
न कुनै विद्रोही
युद्धमा
न कुनै मानवता विरोधी मारिन्छन्
न कुनै सैतान
मारिनेहरू त गुरुजी
तपाईं र मजस्तै हुन्छन्
निक्खर मान्छेहरू
हाम्रोजस्तै कथा हुन्छन् प्रतेक ऊनीहरूको
तेसो र गुरुजी
म जाँदै जान्न युद्धभूमि
बरु फर्किन्छु आफ्नै देश !
गोरा साहेबलाई भनिदिनुस्
युद्धमा एकजना सिपाही मर्दा
ऊसितै मर्छन् अरु धेरै
र बाँचुन्जेल मरिरहन्छन् घरपरिवार
गोरा साहेबलाई भनिदिनुस्
युद्धले कुनै पनि समस्या हल गर्दैन
बरु झन् विकराल समस्या उत्पन्न गर्दछ
र विश्वमा अशान्ति मच्चाइरहन्छ प्रतेक दिन
गोरा साहेबलाई भनिदिनुस्
बिस्कुट र युद्धमा फरक छ
विस्की र युद्धमा समानता छैन
गल्फ र युद्धमा पनि भिन्नता छ !
गोरा साहेबलाई भनिदिनुस्
मलाई विक्रम भवनसम्म छोडियोस्
तेसपछि म लाग्छु
शान्तिभूमिको बाटो
पुरानो बानेश्वर शान्तिनगर
बरु बाल्छु आफ्नै देशमा टायर ! |